७५ वर्षपछि बल्ल अन्नपूर्ण प्रथम (नर्थ) चिनाउँदै


फ्रान्सेली नागरिक मौरिस हर्जोग नेतृत्वले ७५ वर्षअघि पहिलोपटक ८०९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेर किर्तिमानी राखेको थियो। सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथमको सफल आरोहण भएको थियो। आठहजार मिटर उचाइभन्दा माथि मानव पाइला पुगेको त्यो पहिलो दिन थियो। हर्जोगसँगै अर्का आरोही लुइस लिचेनेल पनि साथमा थिए।

अन्नपूर्णमा मानव पाइला पुगेको त्यही दिनका सम्झनामा अहिलेपनि हरेक वर्ष जुन ३ लाई ‘अन्नपूर्ण डे’का रुपमा मनाइँदै आइएको छ। पर्यटन व्यावसायीले यो दिन विशेष कार्यक्रम गर्दै आएका छन्। अन्नपूर्ण प्रथम आरोहणको हिरक महोत्सवको अवसर पारेर योपटक अन्नपूर्ण प्रथम बेसक्याम्प (नर्थ साइड) मा विशेष कार्यक्रमको आयोजना गरिएको छ। अन्नपूर्ण प्रथमको उत्तरीखण्डमा पर्ने यो आधारशिविरमा यो नै पहिलोपटक कार्यक्रम हुन थालेको हो।  

पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेका अनुसार अन्नपूर्ण प्रथम आरोहणको त्यो दिनलाई पारेर पदयात्रामा जानेगरि मौरिस पुत्र माथिएस हर्जाेग, मौरिसका नाती सहितको टिम पोखरा हुँदै शनिबार अन्नपूर्ण क्षेत्रमा गएको छ। मौरिस हर्जाेजको छोरा, नाती, भिडियोग्राफर र संगीतकर्मी सहित १५ जनाको टोली आएको लामिछानेले बताए। समूहमा केही पर्वतारोही पनि छन्।  

‘अन्नपूर्ण प्रथमको यात्रामा अहिले मौरिसका छोरा, नाती सहितको समूह हिडेको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नाच्र्याङ हुँदै उनीहरु आधारशिविरसम्मको पदयात्रामा जाँदैछन,’ लामिछानेले भने, ‘पदयात्राको क्रममा पदमार्गको सार्दीखोलामा सांगीतिक प्रस्तुती पनि दिनेछन।’ पोखराबाट तीनदिन लगाएर टिम अन्नपूर्ण प्रथमको आधारशिविर पुग्ने उनले बताए। अन्नपूर्ण प्रथम (नर्थ)को बेसक्याम्प ४१९० मिटरमा पर्छ।  

बेसक्याम्पमा आरोहीहरु मौरिस हर्जाेग, लुईस लिचेनेल र नेपाली आरोही सोनाम वाङचुक शेर्पाको शालिक अनावरणको तयारी छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शालिक शालिक अनावरण गर्ने कार्यक्रम रहेको पनि लामिछानेले बताए। लामिछानेका अनुसार अहिलेसम्म अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्ग भनेर कास्कीको घान्द्रुक हुँदै आउजाउ गर्ने क्षेत्रलाई चिनिन्छ। अहिले बढी चहलपहल भएको एबिसी कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्छ। अन्नपूर्ण आधारशिविर भनेर दक्षिणतिरको भागलाई धेरैले चिनाएपनि खासमा मौरिस हर्जाेग समूहले अन्नपूर्ण प्रथम उत्तरतिरबाट आरोहण गरेका थिए।  

‘सबैको ध्यान दक्षिणतिर गएकोले पदयात्रा पनि चम्केको हो  दक्षिणतिर बढी चहलपहल छ। तर, नर्थतिर पर्यटकीय गतिविधि भएनन्,’ लामिछानेले भने, ‘पदयात्रा चलेपछि सेवा सुविधा पनि दक्षिणतिर थपिएका छन। पाहुनाको चाप पनि दक्षिणतिरै छ।’

 तर, नर्थ भेगबाट अन्नपूर्ण प्रथमको पहिलो आरोहण भएको थियो, त्यो क्षेत्र अहिलेसम्म ओझेलमा परेकोले त्यसलाइ प्रचारप्रसार गर्नका लागि यो कार्यक्रम गरेको लामिछानेले बताए।

‘अन्नपूर्ण प्रथमको नर्थसाइडलाई विश्वव्यापीकरण गर्न सकियोस भनेर पहल गरिएको छ। दक्षिणतिरको आधारशिविरि पनि चलिरहोस, तर अब उत्तरतिर पनि जान सकियोस भनेर प्रचार गर्न खोजिएको हो,’ उनले भने। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पनि त्यही क्षेत्रमा होटल खोल्न सुविधा दिएको उनले बताए। ‘ढिला गरि नर्थ साइड एक्स्प्लोर हुँदैछ,’ उनले भने।

अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेर किर्तिमानी कायम गरेका मौरिस हर्जाेगका छोरा माथिएस सहितलाई पोखरामा स्वागत गरिँदै। आरोहणको ७५ वर्षगाठको अवसर पारेर माथिएस सहितको टिम अन्नपूर्ण प्रथमको आधारशिविर जाँदैछ। तस्बिरः नागरिक

म्याग्दीको अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुन पोहोरसम्म अन्नपूर्ण प्रथमको आधारशिविरसम्मको पदयात्रामा जाँदा खाने बस्नेकै समस्या रहेकोमा अब भने नरहेको बताउँछन। ‘पदयात्रामा जाँदा खाने र बस्ने सबै सामाग्रीको जोहो गरेर जानुपर्ने बाध्यता थियो। हामीले अहिले त्यो बाध्यतालाई हटाएका छौ,’ पुनले भने, ‘अहिले त पदमार्गका ठाउँठाउँमा होटल रहेका छन। खानबस्न सुविधा छ। पदमार्गमा अहिले होटल व्यावसाय संचालन गर्न दिने निर्णय गरेपछि ठाउँठाउँमा होटल पनि खुलेका छन।’  

उनका अनुसार अन्नपूर्ण गाउँपालिका–४ हुमखोलासम्म गाडी जान्छ। त्यहाँबाट पदयात्रा सुरु हुन्छ। हुमखोलाबाट सम्धीखर्क, गुफाफाँट, भुस्केटमेला हुँदै आधारशिविरि पुगिन्छ। हुमखोलाबाट एकैदिनमा आधारशिविर जान सकिने उनले बताए। हुमखोलाबाट सातघण्टामा आधाशिविर उक्लिन सकिने पनि अध्यक्ष पुनले बताए। ‘बाटो पनि सहज छ। यो रुटको पदयात्रामा जाने पदयात्रीले सबैभन्दा बढी सौन्दर्य र रोमाञ्चक अनूभुति गर्छन,’ उनले भने।  सबैभन्दा पहिले आरोहणमा जाँदा मौरिस र लुइसको समूह यही मार्ग हुँदै पदयात्रामा निस्केको भएपनि त्यो रुटको चर्चा कम भएको उनले बताए। 

‘सरकारले पनि वास्ता गरेन। पर्यटन बोर्ड सहितले पनि बेवास्ता गरे। स्थानीय तहले पनि चाँसो दिएनन। तर, अहिले गाउँपालिकाले प्राथमिकता दिएको छ। प्रचारप्रसार गरेपछि पर्यटक पनि आउन थालेका छन,’ उनले भने, ‘यतिसम्मकी अन्नपूर्ण आरोहण पोखरामा मनाइन्थ्यो। योवर्ष पहिलोपटक हाम्रै क्षेत्रमा अन्नपूर्ण दिवस मनाउन थालिएको छ।’  

पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकी अध्यक्ष कृष्ण आचार्यले पनि अहिलेसम्म एबिसी भनेर साउथतिरको मात्र बढी प्रचारप्रसार भएको बताउँछन। साउथतिरको क्षेत्रलाई पनि अन्नपूर्ण बेसक्याम्प नै भनिएकोले नर्थपट्टिको क्षेत्र केही ओझेलमा परेको आचार्यले बताए। तर, अन्नपूर्ण प्रथम बेसक्याम्प (नर्थतिर) पर्ने भएकोले यसको प्रवद्र्धन जरुरी रहेको उनले बताए।  

‘नर्थपट्टि अहिलेसम्म खासै गतिविधि भएका छैनन। त्यसले गर्दा ओझेलमा परेको छ। साउथतिर आफै प्रवर्द्धन भएको हो । तर, अब नर्थको पनि प्रवर्द्धन हुन्छ,’ उनले भने, ‘पहिलोपटक आरोहण भएको खण्डलाई बिर्सदा यो अवस्था आएको हो। अब भने अन्नपूर्ण प्रथम आरोहणको खास ठाउँको प्रवर्द्धन हुँदैछ।’ अन्नपूर्ण प्रथम आरोहण गरेको सम्झनामा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङ हुँदै अन्नपूर्ण आधारशिविर पुग्ने पदमार्गलाई ‘मौरिस हर्जोग ट्रेल’ नामाकरण समेत गरेको छ।

विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये दशौं स्थान (८०९१ मिटर) मा पर्ने अन्नपूर्ण प्रथममा पहिलो पटक मानव पाइला परेसँगै नेपालमा पर्वतीय पर्यटनको व्यवसायिक सुरुवात भएको मानिन्छ। उनै हर्जोगले नेपालबाट फर्किएर ‘अन्नपूर्ण’ पुस्तक लेखेसँगै नेपालको हिमाल आरोहणले अन्तर्राष्ट्रिय पर्वतीय पर्यटनमाझ झनै चर्चा पाएको थियो। त्यसकै कारण अहिले पनि हिमाल आरोहणमा विदेशी आरोहीको चाँसो बढ्ने गरेको व्यावसायीले बताउने गरेका छन। योपटक आरोहण दिवस मनाउने क्रममा दक्षिणतिर अन्नपूर्ण म्याराथन आयोजना गरिएको छ भने नर्थतिर पनि दौड प्रतियोगिता राखिएको छ।  

हिमाल आरोहणमा किर्तिमानी राखेर विदेशीमाझ नेपालको पहिचान फराकिलो बनाएका उनै हर्जोगका छोरा माथिएस हर्जाेग गत असोजमा समेत नेपाल आएका थिए। पिता मौरिसले अन्नपूर्णलाई विश्वभर चिनाएको र त्यही पहिचानका कारण अहिले नेपालमा वर्षेनौ सयौं आरोही हिमाल आरोहण गर्न आईपुग्छन। पिताले अन्नपूर्ण प्रथम आरोहण गरेको ७५ औं वार्षिकोत्सवका अवसरमा गरिने विशेष कार्यक्रमको तयारीको लागि छोरा माथिएस असोजमा नेपाल आएका थिए।  

प्रकाशित: १७ जेष्ठ २०८२ १७:०८ शनिबार





Source link

Leave a Comment