प्रकाशित मिति : जेष्ठ १५, २०८२ बुधबार
अमेरिकाले विद्यार्थी भिसा अस्थायी रूपमा रोक्दा विश्वभरका विद्यार्थी अन्योलमा परेका छन्।
विश्वभरका विद्यार्थीहरू अमेरिका जाने तयारीमा रहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विद्यार्थी भिसा नयाँ अपोइन्टमेन्ट अस्थायी रूपमा रोक्ने योजना बनाएको खुलासा भएपछि उनीहरू चिन्तित र अन्योलमा परेका हुन्।
अमेरिकी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय विद्यार्थी र विनिमय कार्यक्रमअन्तर्गत भिसाका लागि सामाजिक सञ्जालको कडा छानबिन लागू गर्न लागेकाले भिसा अपोइन्टमेन्टहरूलाई अस्थायी रूपमा स्थगित गरिएको हो।
यो कदम ट्रम्पद्वारा अमेरिकाका केही प्रतिष्ठित विश्वविद्यालयहरूमाथि चलाइएको व्यापक अभियानको भाग हो, जसलाई उनले अत्यधिक उदार भएको आरोप लगाउँदै आएका छन्।
विद्यार्थीहरूका अनुसार अमेरिकी दूतावासहरूमा भिसा अपोइन्टमेन्टहरू उपलब्ध छैनन्, जसले गर्दा छात्रवृत्तिमा असर पर्ने सम्भावना बढेको छ।
विद्यार्थी भिसा अपोइन्टमेन्ट रोकिएको विषयमा विदेश मन्त्रालयकी प्रवक्ता टेमी ब्रुसले “देशभित्र प्रवेश गर्ने व्यक्तिहरूको पृष्ठभूमि जाँच गर्ने प्रक्रिया हामी गम्भीरतापूर्वक लिन्छौँ, र हामी त्यसलाई अझ कडाइका साथ अघि बढाउनेछौँ” भनेकी छिन्।
ट्रम्पले हार्वर्ड विश्वविद्यालयमाथि अन्तर्राष्ट्रिय विद्यार्थीहरू भर्ना गर्न प्रतिबन्ध लगाउने आदेश जारी गरेका छन्। यहुदी विरोधी व्यवहारविरुद्ध पर्याप्त कदम नचालेको आरोप उनले विश्वविद्यालयमाथि लगाइरहेका छन्।
हार्वर्डले त्यस विरुद्ध मुद्दा हालेको छ। अहिलेका लागि न्यायाधीशले उक्त प्रतिबन्ध स्थगित गरेका छन्। यो मुद्दाको सुनुवाइ मे २९ मा तोकिएको छ।
भारतका २४ वर्षीय आइनुल हुसेनले भने, “यदि मैले अध्ययन स्थगित गर्नु पऱ्यो भने मेरो छात्रवृत्ति गुम्न सक्छ।” उनी न्यु जर्सीको एक विश्वविद्यालयमा मास्टर्स गर्न गइरहेका थिए। बेलायतका ओलिभर क्रप्ली, जो कान्सास अध्ययन गर्न जान लागेका थिए, उनी पनि यो निर्णयबाट निराश छन्। हार्वर्डका विद्यार्थी अल्फ्रेड विलियमसनले भने, “पहिले अमेरिका जाने कुरामा उत्साहित थिएँ, तर अब भिसाको कुनै जानकारी छैन।”
अमेरिकी प्रशासनको यो नीति परिवर्तनले विद्यार्थीहरूका सपना, भविष्य र अवसरहरूलाई गम्भीर असर पुऱ्याउने देखिन्छ।



