भारत-पाकिस्तान युद्धविरामपछि शनिबार राति दुई देशबिच के भयो?


हिजो (शनिबार) साँझ भारत र पाकिस्तानबिच युद्धविरामको घोषणा भएको केही घण्टापछि दुवै देशले एकअर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन्।

शनिबार अबेर भारतीय विदेश सचिव विक्रम मिश्रीले भने, ‘हामीले गरेको सम्झौताको निरन्तर उल्लङ्घन भइरहेको छ।’

यसैबीच, पाकिस्तानको विदेश मन्त्रालयले भनेको छ, ‘भारतले केही क्षेत्रमा युद्धविराम उल्लंघन गरिरहेको भए पनि यो युद्धविरामप्रति प्रतिबद्ध छ।’

युद्धविराम घोषणा भएको केही घण्टापछि श्रीनगरमा उपस्थित बीबीसी टोलीले विस्फोटको आवाज सुनेको बीबीसीले समाचारमा उल्लेख गरेको छ।

शनिबार राति जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा प्रश्न गर्दै भने, ‘युद्धविराम के भयो? श्रीनगरभरि विस्फोटका आवाजहरू सुनिएका छन्।’

यसैबीच, गुजरातका गृह राज्यमन्त्री हर्ष संघवीले पनि भने, ‘कच्छ जिल्लामा धेरै ड्रोनहरू देखिएका छन्। अब पूर्ण रूपमा ब्ल्याकआउट लागू गरिने छ।’

युद्धविरामको घोषणापछि पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले शनिबार राति राष्ट्रका नाममा सम्बोधन गरे। उनले भने, ‘यो पाकिस्तानको लागि ऐतिहासिक जित हो।’

अमृतसर रेड अलर्टमा

आइतबार बिहान अमृतसरमा साइरनको ठूलो आवाज सुनियो। यसपछि, उपायुक्त साक्षी सहनीले एक एडभाइजरी जारी गरिन्।

यसमा भनिएको थियो, ‘बिजुली आपूर्ति पुनर्स्थापित भएको छ, तर जिल्ला (अमृतसर) अझै पनि रेड अलर्टमा छ।’

एडभाइजरीमा भनिएको छ, ‘मानिसहरूलाई बाहिर ननिस्कन, घर भित्रै बस्न र झ्यालबाट टाढा रहन अनुरोध गरिएको छ। जब यो सबै सुरक्षित हुन्छ, अधिकारीहरूले हरियो संकेत जारी गर्ने छन्। कृपया शान्त रहनुहोस् र सबै निर्देशनहरू पालना गर्नुहोस्।’

राति अबेरसम्म भारतले के भन्यो?

राति अबेर भारतीय विदेश सचिव विक्रम मिश्रीले विशेष पत्रकार सम्मेलन गरे। उनले भने, ‘पछिल्ला केही दिनदेखि भइरहेको सैन्य कारबाही रोक्न शनिबार साँझ सम्झौता भएको छ। पछिल्ला केही घण्टादेखि पाकिस्तानले यो सम्झौताको घोर उल्लंघन गरिरहेको छ। भारतीय सेनाले यस सीमा अतिक्रमणको जवाफ दिइरहेको छ र त्यसको सामना गरिरहेको छ। यो अतिक्रमण अत्यन्तै निन्दनीय छ र यसको लागि पाकिस्तान जिम्मेवार छ।’

करिब साढे दुई मिनेटको यस पत्रकार सम्मेलनमा विक्रम मिश्रीले भने, ‘हामी विश्वास गर्छौं कि पाकिस्तानले यो अवस्थालाई राम्ररी बुझ्नुपर्छ र यो अतिक्रमण रोक्न तुरुन्तै उचित कारबाही गर्नुपर्छ।’

उनले सेनालाई परिस्थितिमाथि नजिकबाट निगरानी गरिरहेको र कुनै पनि अतिक्रमणको सामना गर्न ठोस र कडा कारबाही गर्न आदेश दिइएको बताएका थिए।

पाकिस्तानले के भन्यो?

भारतको जवाफमा पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘पाकिस्तान इमान्दारीपूर्वक युद्धविराम पालना गर्न प्रतिबद्ध छ। केही क्षेत्रमा भारतले गरेको उल्लंघनको बाबजुद पनि हाम्रा सेनाहरूले जिम्मेवारी र संयमका साथ परिस्थितिलाई सम्हालिरहेका छन्।’

उनले अगाडि भने, ‘हामी विश्वास गर्छौं कि युद्धविराम पालनामा कुनै पनि समस्या वार्ताबाट समाधान गरिनुपर्छ। जमिनमा रहेका सेनाहरूले पनि संयम अपनाउनुपर्छ।’

शाहबाज शरीफले के भने?

अबेर राति राष्ट्रका नाममा सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले पाकिस्तानी सेना, नौसेना र सशस्त्र बलका अधिकारीहरूलाई नाम लिएर बधाई दिँदै भने, ‘यो पाकिस्तानको लागि ऐतिहासिक विजय हो।’

शरीफले आफ्नो सम्बोधनको सुरुवात गर्दै भने, ‘यदि कसैले हाम्रो स्वतन्त्रतालाई चुनौती दियो भने, हामी आफ्नो रक्षाको लागि जे पनि गर्नेछौं।’

उनले आफ्नो देशमाथि लगाइएका आरोपहरू ‘आधारहीन’ भएको र यसको अनुसन्धान हुनुपर्ने बताए। भारतले शाहबाज शरीफको सम्बोधनमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

युद्धविरामको लागि शरीफले अमेरिका र चीनलाई धन्यवाद दिए। शरीफले भने, ‘म राष्ट्रपति ट्रम्पप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु। युद्धविराममा वासिङ्टनले महत्त्वपूर्ण भूमिका खेलेको छ।’

चीनलाई उल्लेख गर्दै उनले भने, ‘म मेरो धेरै प्यारो, धेरै विश्वासिलो र धेरै प्यारो मित्र चीनलाई पनि धन्यवाद दिन्छु।’

शनिबार साँझ युद्धविरामको घोषणा गरिएको थियो

भारत र पाकिस्तान बीचको तनावको सुरुवात २२ अप्रिलमा जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलासँगै भएको थियो। यस आक्रमणमा २६ जनाको मृत्यु भएको थियो।

भारतले यसको लागि पाकिस्तानलाई दोष दियो भने पाकिस्तानले यसलाई अस्वीकार गर्दै घटनाको स्वतन्त्र अनुसन्धानको माग गर्दै यसमा सहयोग गर्ने प्रस्ताव राख्यो।

अप्रिल २३ मा सुरक्षा मामिलामा भएको मन्त्रिपरिषद्को बैठकमा भारतले पाकिस्तानसँगको सिन्धु जल सन्धि तत्काल प्रभावबाट निलम्बन गर्ने, पाकिस्तानसँग कूटनीतिक सम्बन्ध सीमित गर्ने, पाकिस्तानी नागरिकहरूको भिसा रद्द गर्ने जस्ता कडा निर्णयहरू गर्‍यो।

यसको प्रतिक्रियामा पाकिस्तानले शिमला सम्झौतासहित सबै द्विपक्षीय सम्झौताहरू निलम्बनको घोषणा गर्‍यो। पछि दुवै देशले एकअर्काको विमानका लागि आफ्नो हवाई क्षेत्र बन्द गरे।

भारतले मे ६ र ७ को मध्यरातमा ‘अपरेशन सिन्दूर’ अन्तर्गत पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका धेरै ठाउँमा आक्रमण गरेको थियो। पाकिस्तानले यस आक्रमणमा ठूलो क्षति र धेरै मृत्यु भएको स्वीकार गरेको थियो।

मे ७ देखि पाकिस्तानले जम्मू कश्मीरको नियन्त्रण रेखामा गोलाबारी बढाएको छ र भारतले गोलाबारीबाट आफ्ना १६ जना नागरिकको मृत्यु भएको र धेरै घाइते भएको बताएको छ।

शनिबार पाकिस्तानी सेनाको जनसम्पर्क विभागले भारतविरुद्ध प्रतिआक्रमण सुरु गरेको घोषणा गर्‍यो। पाकिस्तानी सेनाको जनसम्पर्क विभाग, आईएसपीआरका अनुसार पाकिस्तानले प्रतिशोधात्मक कारबाहीलाई ‘अपरेशन बुन्यान मार्सुस’ नाम दिएको छ।

यसैबीच, शनिबार भारतीय समय अनुसार साँझ ५:३० बजेतिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल पोस्ट आयो जसमा भारत र पाकिस्तानबीच युद्धविरामको बारेमा जानकारी दिइएको थियो।

यसको लगत्तै विदेशमन्त्री मार्को रुबियो, पाकिस्तानका उपप्रधानमन्त्री इशाक दार र भारतको विदेश मन्त्रालयले यो खबरको पुष्टि गरे।

यद्यपि, युद्धविरामको घोषणा गर्दा भारतीय सेनाले भन्यो, ‘सेना युद्धविरामको सम्बन्धमा भएको सम्झौताको पालना गर्नेछ, तर सेना भारतको सार्वभौमसत्ता कायम राख्न ‘सतर्क’ रहनेछ।’

भारतीय विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘भारतले सबै प्रकारका आतंकवादविरुद्ध निरन्तर कडा र अटल अडान लिएको छ। यसले त्यसो गरिरहनेछ।’ एजेन्सी

प्रकाशित: २८ वैशाख २०८२ १०:५९ आइतबार





Source link

Leave a Comment