डीआर कंगोमा युद्ध रोक्ने सरकार र विद्रोहीबीच सहमति



प्रकाशित मिति : बैशाख ११, २०८२ बिहीबार

प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो ) र रुवान्डाले समर्थन गरेका भनिएका एम २३ विद्रोही समूहले देशको पूर्वी क्षेत्रमा जारी संघर्षलाई रोक्ने सहमति गरेका छन् ।

यो सहमति कतारको मध्यस्थतामा जारी शान्तिवार्ताको निष्कर्ष निस्किएसम्म लागू हुने बताइएको छ।

सन् २०२४ को जनवरीयता ७ हजार जनाभन्दा बढीको मृत्यु भइसकेको बताइएको यो द्वन्द्वका क्रममा यो पछिल्लो युद्धविरामको प्रयास हो । विद्रोहीहरूद्वारा पूर्वी कंगोमा आक्रमण तीव्र भएपछि सहमति खोजिएको हो ।

डीआर कंगोमा युद्ध रोक्ने सरकार र विद्रोहीबीच सहमति

डीआर कंगोमा युद्ध रोक्ने सरकार र विद्रोहीबीच सहमति

दुबै पक्षले संयुक्त रूपमा एक विज्ञप्ति जारी गर्दै खुला र रचनात्मक वार्ताका आधारमा शान्ति प्रक्रियामा अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

गत महिना कतारको राजधानी दोहामा भएको आकस्मिक बैठकमा कंगोका राष्ट्रपति फेलिक्स चिसेकेदी र रुवाण्डाका राष्ट्रपति पाउल कागामेले पनि निःशर्त युद्धविराम मा प्रतिबद्धता जनाएका थिए।

तर जनवरीदेखि एम २३ विद्रोहीहरूले गोमा र बुकावु जस्ता पूर्वी कंगोका दुई ठूला सहर कब्जा गरेपछि द्वन्द्वले भयावह रूप लिएको छ । यसले क्षेत्रीय युद्धको सम्भावना समेत बढाएको छ ।

कंगोले रुवाण्डामाथि एम २३ लाई हतियार आपूर्ति गरेको र प्रत्यक्ष रूपमा सेनासहित समर्थन गरिरहेको आरोप लगाउँदै आएको छ । यद्यपि संयुक्त राष्ट्रसंघ र अमेरिकाले पनि यस्ता आरोप पुष्टि गरेपनि रुवाण्डाले त्यसलाई अस्वीकार गर्दै आएको छ ।

रुवाण्डाले कंगोको सेनासँगको संघर्षमा आत्मरक्षाका लागि मात्र कार्य गरिरहेको दावी गरेको छ । कंगोका केही मिलिशियाहरू १९९४ को रुवाण्डा नरसंहारसँग सम्बन्धित रहेको दाबी समेत उसले गरेको छ ।

डीआर कंगोमा युद्ध रोक्ने सरकार र विद्रोहीबीच सहमति

कंगोले रुवाण्डामाथि पूर्वी क्षेत्रमा अवैध रूपमा खनिज सम्पदाको दोहन गर्ने गरेको आरोप पनि लगाएको छ । रुवाण्डाले आरोपलाई अस्वीकार गरेको छ।

एम २३ र कंगो सरकारद्वारा छुट्टाछुट्टै सार्वजनिक गरिएको विज्ञप्तिमा आपसी सहमतिअनुसार दुबै पक्षले तत्काल युद्धविराम लागू गर्ने, घृणास्पद भाषण तथा डर त्रास फैलाउने कार्यको पूर्ण अस्वीकार गर्ने, र स्थानीय समुदायलाई पनि यस्ता प्रतिबद्धता पालना गर्न आह्वान गर्ने निर्णय गरेका छन् ।

यो वक्तव्य कंगोको राष्ट्रिय टेलिभिजनमार्फत सार्वजनिक गरिएको थियो । एम २३ प्रवक्ता लोरेन्स कान्युकाले पनि एक्स मा पोस्ट गरेका थिए । युद्धविराम वार्ता सकिएसम्म लागू हुनेछ भनिएको छ ।

स्रोतहरूका अनुसार प्राविधिक समस्याहरूका कारण वार्ता लगभग असफल हुने अवस्थामा पुगेको थियो ।

यसअघि सन् २०२१ यता धेरै युद्धविराम घोषणा भए पनि ती लामो समयसम्म टिक्न सकेका छैनन् । यसपटकको सहमति पनि कति समयसम्म कायम रहन्छ भन्ने निश्चित छैन ।

गत महिना एम २३ ले अंगोलामा आयोजना गरिएको शान्तिवार्तामा सहभागी हुन अस्वीकार गरेपछि कतारले दुबै पक्षलाई वार्ताका लागि समेटेको हो।

कंगो सरकारले लामो समयसम्म एम २३ सँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गर्दै आएको थियो । एम २३ लाई उसले आतङ्ककारी समूह घोषित गर्दै आएको छ ।





Source link

Leave a Comment