प्रकाशित मिति : चैत्र २०, २०८१ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दिउँसो ह्वाइट हाउसमा आयोजित एक समारोहमा हालसम्मकै सबैभन्दा ठूलो भन्सार शुल्कको घोषणा गरेका छन् । उनले सबै व्यापारिक साझेदारहरूमाथि १० प्रतिशत भन्सार शुल्क लगाउने र दर्जनौं अन्य देशहरूमाथि दोहोरो अंकको भन्सार शुल्क घोषणा गरेका छन् ।
यी भन्सार शुल्कहरू १०० भन्दा बढी व्यापारिक साझेदारहरूमाथि लागू हुनेछन्, जसमा युरोपेली संघ, चीन, बेलायत र भारत समावेश छन्। ट्रम्पको योजनाअनुसार अमेरिकाले चिनियाँ सामानहरूमा हालको २० प्रतिशत शुल्कको अतिरिक्त ३४ प्रतिशतको नयाँ भन्सार शुल्क लगाउनेछ, जुन उनले पहिले नै बेइजिङमाथि लगाएका थिए।
ट्रम्पका केही सबैभन्दा उच्च दरहरू अमेरिकी मित्र राष्ट्रहरूमाथि लागू हुन्छन्, जसमा युरोपेली संघबाट आयातमा २० प्रतिशत भन्सार शुल्क र जापानबाट आउने सामानहरूमा २४ प्रतिशत भन्सार शुल्क समावेश छ। भारतले अमेरिकामा आफ्नो निर्यातमा २६ प्रतिशत भन्सार शुल्कको सामना गर्नुपर्नेछ।
नयाँ भन्सार शुल्कहरू ट्रम्पले पहिले नै छुट्टै शुल्क लगाएका स्टिल र एलुमिनियम, सवारी साधन र तिनका पार्टपुर्जाहरू लगायतका उत्पादनहरूमा लागू हुने छैनन्। ऊर्जा र अमेरिकामा उपलब्ध नभएका अन्य निश्चित खनिजहरू पनि यो शुल्कबाट बाहिर राखिनेछन्।
विश्लेषकहरू अझै पनि भन्सार शुल्कको स्तर कसरी निर्धारण गरिएको हो भनेर पत्ता लगाउने प्रयास गरिरहेका छन् । केहीले संख्याहरूबारे भ्रम भएको बताएका छन्। ट्रम्पको भनाइलाई समर्थन गर्दै ह्वाइट हाउसका अधिकारीहरूले भन्सार शुल्कको बचाउ गरेका छन् । उनीहरूले अन्य देशहरूको हानिकारक व्यापारिक अभ्यासहरूले अमेरिकाको लागि ठूलो र निरन्तर व्यापार घाटा निम्त्याएको बताुउका छन् । काठ, तामा, सेमिकन्डक्टर, औषधि र महत्वपूर्ण खनिजहरू जस्ता अन्य उत्पादनहरूमा थप भन्सार शुल्क लाग्न सक्छ।
अधिकारीहरूले अमेरिकी मित्र राष्ट्रहरूसँग पनि कम भन्सार दरका लागि मोलमोलाइ गर्न खासै रुचि नभएको बताएका छन् । यी मित्र राष्ट्रहरूले पछिल्ला दिनहरूमा अमेरिकी निर्यातमा आफ्ना शुल्कहरू घटाउने प्रस्ताव गरेका थिए। ट्रम्पले अन्य देशहरूलाई ती देशहरूको व्यापारिक अभ्यासका आधारमा लाग्नुपर्ने दरको आधा मात्र शुल्क लगाइएको बताएका छन् । उनले आफ्ना नीतिहरूलाई राष्ट्रिय संकटको जवाफको रूपमा प्रस्तुत गर्दै घरेलु उत्पादन बढाउन आवश्यक भएको बताएका छन् ।

