घाम पहेंलिंदै पश्चिम कुनातिर दौडिरहेको अपराह्न छिमेकका ढकाल बा अन्तिम सास गनिरहेका थिए । नयाँमा सेतो तर पुरानो भएर घुर्मैलो रंगमा बदलिएको गोलगञ्जी बाहिरबाटै करङ गन्ती गर्न सकिने गरी पातलिएको बुढो शरीरका अन्तिम समय अलिक कष्टकर थिए ।
किलकिलेबाट पेटमा पठाएको पातलो गाँस कुन बाटो भएर जाँदैछ भन्ने करिब करिब हेरेरै थाहा हुनेगरिको क्लान्त काया बोकेर पश्चिम सिरानमा पल्टिएको उनको शरीरले प्राणवायुलाई मुश्किलले लिने—छोड्ने गरिरहेको थियो । यो हविगतमा तुलसाको मोठ नजिक लैजानुपर्छ भन्ने आवाज अलिक ठूलो स्वरमा निस्कियो ।
कसैले खासै वास्ता नगर्ने बालक भएर होला मलाई त्यो करुणाप्रद दृश्य नजिकै गएर आँखाभरि हेर्न कसैले छेकेन । गुन्द्रीमा झ्यानापुल्टुङ गर्दै खाटबाट भुईंमा झार्दा बाको शरीर थोरै बजारियो । ईश्वरको मन्दिर जाँदै गरेका उनलाई न ऐय्या न आत्था !
जसै सिकुवामा लम्पसार परेका ढकाल बाले अन्तिम सास लिंदाका बखत घर पछाडि खेतमा जोत्न गएका एकभाइ छोरा र धानको भाउ काट्न बजार गएका अर्का छोरा आइपुग्न केही ढिला भएको म सम्झन्छु । गाउँमा फेरि एउटा एकोहोरो शंख बज्यो । बुढो भइसकेका पात झर्नुथियो, झर्यो भनेर चित्त बुझाउने मेलो त छँदैथियो ।
आमाको निगरानी ममाथि अलिक ज्यादै हुनुका अनेक कारण होलान् । कम बोल्ने, धेरैसँग तुरुन्तै अरू जस्तो खुलेर घुलमिल हुन नजान्ने, एक्लै खेल्दाखेल्दै घन्टौं बितेको पत्तै नपाउने जस्ता बानी भएकोले हुन सक्छ मप्रति आमा त्यस रूपमा प्रस्तुत हुने गर्नुभएको ।
भोलिपल्टको त्यो बिहान बाटो पर्तिरको आँगनमा पूर्व सिरानीमा पातलो गजेरामाथि सुतेको बाको शरीर परैबाट देखिन्थ्यो । बिहान पनि ठूलाहरूका गोडाका चेप—कुनाबाट म लाश हेरिरहेको थिएँ । मेरो साथी रमेश, बाको नाति मेरो आन्द्रै गाँसिएको साथीले मेरो साथ छोड्दैनथ्यो त्यो बेला ।
उमेरले मभन्दा केही कान्छो थियो ऊ । तर अनेक कल्पनामा उड्न सिपालु । एकदिन उसले उसकै घर पछाडि सानो बाह्रघरेको भालुहोलीको पूर्वी डिलमा उभिएर भनेको सम्झिन्छु,– यो होली त राजाले मात्र नाघ्न सक्छन् होला ! मैले पनि जान्ने भएर ‘हो’ भन्दिएँ ।
त्यो जाडो बिहान हजुरबुवाको लाश ऊ पनि मसँगै उसैगरी हेरिरहेको थियो । आँखा उघ्रिएको, सेतो कपडाले घाँटी मुन्तिरको भाग पूरै ढाकेको, हड्डीमा छाला टाँसिएका खुट्टा केही उठेको लाशको निधारमा थोरै मयल जमेको एक रुपैयाँको ढ्याक, जसलाई हामी डलर भन्थ्यौं, राखिएको र निधारको बाँकी धेरै भागमा भिजाएको चन्दनमा मुछिएका पहेंला अक्षता अड्याइएको परैबाट देखिन्थ्यो ।
रमेशलाई पनि त्यस्तै लाग्यो कि मलाई थाहा भएन, तर धेरैपटक मेरा आँखा बाका निधारमा पहेंला अक्षता बीच अड्याइएको एक रुपैयाँको त्यो ढ्याकमा पुगेर अडिए । सिंहदेवी स्कूलको कार्यालय पछाडिको श्रेष्ठको दोकान र ढकाल बाका निधारको ढ्याक मनमनै जोड्न खोजें तर सकिनँ । अनि अन्तिममा आफ्नै हात र मनलाई सम्झाएँ । अर्थात् आज सम्झिंदा धन्न पछि हटेछु !
फेरि कसैले अलिक चर्काे आवाजमा एकोहोरो शंख फुक्यो । थाक्न लागेको क्लान्त श्वरमा रोएका महिला आवाजले आँगनलाई दुःखी बनाए । बुढो थियो, तर छानो थियो । ढल्यो । अब यो घरका मूलीलाई दशैंमा आशीर्वाद दिने हात रहेन । शंखको त्यो आवाजले हिन्दू आँगनमा शोकको बादल मडारिएको अर्थ दिन्छ । आउनुपर्ने जति आफन्त करिब करिब आइसकेका थिए । बुज्रुकहरूका मुखबाट मसिनो स्वरमा निस्कियो, ‘अब ढिला नगरौं ।’
000
त्यो बिहान घरबाट निस्कन मलाई कम्ती हम्मेहम्मे परेको थिएन । ढकाल बाको काजकिरिया चलिरहेको थियो । पाँचौं दिनको कुरा हुनुपर्छ । छिमेकमा कसैकहाँ त्यस्तो घटना हुँदा गाउँलेहरू मिलेर एकअर्का घरलाई उकास्न सघाउने जिउँदो चलन ऊ बेला अलिक राम्रो थियो ।
दुना—टपरी गाँस्न, गोेठका गाईवस्तुलाई घाँस–पराल जुटाउने जस्ता कामहरू छिमेकीले गर्नुलाई सामान्य मानिन्थ्यो । अरू बेला मनमुटाव भएको रहेछ भने पनि अभरका त्यस्ता दिन अघिपछिको नमिठो नसम्झी एकअर्कालाई सघाउने मिलापी आदत अझै पनि कताकति बाँकी होला ।
खेल्दै पुगेको छिमेकीको बच्चोलाई आफ्ना नानीलाई सरह अघाउन्जी खुवाउने, खन्खाँचोमा मन फुकाएर सघाउने चलन बाक्लो थियो । हाम्रा घरका डल्ले र चौंरे राँगा गाउँभरिमा नामी थिए । घरमा तिनले भारी तान्ने गाडा थियो । गाउँका धेरै घरका धान—मकै बेच्नको लागि बजार लैजाने काम हाम्रो राँगा—गाडीले गर्दथ्यो ।
ढकाल बाको घरका लागि काजकिरियाबाट उकास्न चाहिने खर्च र अलिक समय खान पुग्नेगरी धान पिसाउन बजार लैजानुथियो । धानको कुस्त भारी लादिएको हाम्रो राँगागाडी बुवाले हाँक्नुभयो । मेरो दाउ भने फरक थियो । मलाई बुबासँग बजार जानु थियो । चकलेट खानु थियो ।
राजमार्गमा बस गुडेको देख्नु र त्यसको पूरा खबर पूरा घमण्डसाथ भोलिपल्ट मेरा बालसखाहरू रमेश, घनश्याम, किशोर, मट्याङ्ग्री आदिलाई सुनाउनु थियो । आमाका आँखा छल्दै घरबाट मास्तिर लागेको केहीबेरपछि बुबाले म पछुवा लागेको थाहा पाउनुभएछ । थोरै हप्काउँदै मलाई गाडीमाथि चढ्न र दह्रोसँग जुटको बोरा समाउन भन्नुभयो ।
भन्छन् नि दशा बाजा बजाएर आउँदैन । भयो पनि त्यस्तै । डल्ले र चौंरे राँगाले एकसुरले गाडा तानिरहेका थिए । म गाडामाथि धानको बोरा समाएर बसिरहेको थिएँ । अलिक मास्तिर पुगेपछि घिमिरे जेठाको घरको आडमा भर्खरै बनेको काठको पुल आयो । अचानक मैले समातेको धानको बोरासँगै म पनि खसें ।
बुबाले गाडी रोक्न खोज्दा गाडीको पछाडिको दायाँपट्टिको फलामको बिट भएको चक्काले मेरो दायाँ खुट्टा किचेर अघि बढिसकेको थियो । अहिले पनि सम्झिंदा मुटु हल्लिन्छ । सातवर्षे बालकको घुँडाभन्दा एक इञ्चजति माथिबाट राँगागाडीको चक्का पार भइसकेको थियो । कानको जाली फुट्नेगरी म रोएको आवाज मेरै कानले सुनें । शरीर तातो र लल्याकलुलुक भएको म अझै पनि महसुस गर्दछु ।
हाय, कस्तो दुर्घटना । एक फुट जति मास्तिरबाट गाडीको चक्का गुडेको थियो भने त्यही दिन मेरो परलोक भइसकेको हुने । आज कल्पना गर्दा पनि आफ्नो मृत्युतुल्य त्यो अवस्थाले आफैंलाई रेट्छ, घरीघरी धड्कँदा धड्कँदैको मुटु छाती छेडेर बाहिर निस्किएला जस्तो लाग्छ ।
आज पनि अशुभ खबर बोकेर बज्ने एकोहोरो शंख, छिमेकीको आँगनमा लमतन्न सुतेको वयोवृद्ध लाश, लाशको निधारमा अड्याइएको मैलो ढ्याक र कालको छेउमा पुगेर कसोकसो संयोगले बाँचेर फर्किएको आफैंलाई विचरा भन्ने गरी सम्झाउँछ र बेस्कन हृदय काँप्छ
मेरो छातिभित्र अलिकति धुकधुकी ठम्याएपछि बुबाले आँसु पुछ्दै हतारहतार गाडीबाट धानका बोरा भलार्नुभयो । साथै रहनुभएका मेरा मामाघरका हजुरबुबाको घाँटीको मफलरले मेरो खुट्टो बाँध्नुभयो । घिमिरेकी छोरीले बटुकामा ल्याएको पानी पिलाइन् र थोरै पानीले मेरो अनुहार पुछिदिइन् । तिनको चिसो हात मेरो अनुहारमा सल्बलाएको अझै मेरो दिमागले स्मरण गर्दछ ।
एकैछिन अघि धान पिसाउन र बेच्न हिंडेका डल्ले र चौंरे राँगाले कालको छेउमा पुगेर फर्किएको मलाई लिएर राजमार्गतिरको बाटो समाते । बस चढ्नुअघि छोराको मुख हेर्न दौडेर आइपुग्नुभएकी आमाले परैबाट मलाई हेरेर आफूले ओढेको नीलो पछ्यौरी मेरा शिरतिर ओढिने गरी हुत्याइदिनुभयो । सामान्य हलचल हुँदा पनि मुटु फुट्ला झैं गरी खुट्टो दुखिरहेको थियो ।
राँगागाडीले किचेर मेरो खुट्टो भाँचिएको खबर सुनेपछि आमालाई सम्हालिन निकै कठिन भएछ । मगजको कुन तन्तु सल्बलाएर हो, कसै कसैले त म जीवित फर्किन नसक्ने अड्कल सहितको खबर पनि सुनाएछन् । चिसो पुसको बिहान पनि मेरो शरीर तातिएर पसिना आइरहेको थियो । त्यस्तो घटना हुँदा बहिनी तारा मात्र ७ महिनाकी थिई ।
आमा करिब करिब सुत्केरी अवस्थाबाट बाहिर निस्कँदै मात्र हुनुहुन्थ्यो । करिब ६ किलोमिटर टाढाबाट दौडँदै आइपुग्नुभएकी आमाले दबिएको स्वरमा मलाई ठिकैछस्, मलाई चिनिस् ? भनेर सोधेको सम्झना छ । मैले हजुर भनेर हल्का टाउको मात्र हल्लाएँ । आमाको त्यो गाढा नीलो रंगको पछ्यौरा पछिसम्मै मेरो सिरानीमा रहन्थ्यो ।
बसको दुई वटा सिटमा लमतन्न सुतेको म तीन घन्टापछि विराटनगरमा डाक्टर रामेश्वरलाल करुवाको क्लिनिकमा पुर्याइएँ । ती दिन भाँचिएको खुट्टोमा ब्याण्डेज लगाउँदा आजको जमानामा जस्तो खास ठाउँमा मात्र नदुख्ने गरी इन्जेक्सन लगाउने स्तरको उपचार पद्धति आइसकेको थिएन ।
त्यस्तो उपचारको लागि त मधौरुको पूरै शरीर बेहोश बनाउने गरिन्थ्यो । मलाई त्यसै गरियो । होशमा आउँदा मेरो पेटको माथिल्लो भागदेखि एउटा खुट्टोको पाइतालासम्म सेतो प्लास्टर लगाइएको म मुढो जस्तै गह्रौं शरीरमा थिएँ ।
मेरालागि केही न्याना कपडा लिएर सानोबाह्रघरेबाट मामा पुण्यप्रसाद विराटनगर पुग्नुभएछ । प्लास्टर गरिएको आधा शरीरमा उत्तानो परेर पल्टिएको मेरा आँखाले बडो दयालु र भरोसालायक नजरसाथ उभिनुभएको मामालाई देखें । मामाका नरम हत्केला मेरो निधारमा परे । पानीमा भिजाएर गुलियो पाइनापल बिस्कुट बुवाले मेरो मुखमा घरीघरी हालिदिंदै हुनुहुन्थ्यो ।
अघिल्लो बिहान चकलेट खाने सुरमा बुबाका पछि लागेको म भोलिपल्ट मुढो जस्तो सुताएको हविगतमा सानोबाह्रघरे पुर्याइएँ । घाइते मलाई हेर्न आँगनदेखि बाटैसम्म मानिसहरू उभिएका थिए । म चढेको उही गाडी बिसाएर सुबानीका राँगाहरू पहिल्यै तयार कुँडो खान इनारको छेउतिर लागे ।
काँडाको वास्तै नगरी आफू चढेको बयरका पात शिशिरले गाँजेर मूर्झाइरहेको, म उफ्रिने आँगन पनि थाकेर शान्त भए जस्तो । हरेक दिन म चढेर खेल्ने बडहर र आँपका रूखहरूसम्म आँखा पुगे । वातावरण पूरै सन्नाटा । मसँगै खाली खुट्टै दौडिएर स्कूल पुग्ने मेरा साथीहरू मेरो करुण हालत देखेर आँगनको डिलतिर टोलाइरहेका । फेरि आमाको न्यानो हातले मेरो निधार र टाउको छामे ।
दायाँ घुँडा मास्तिर चारअमल हड्डी छुट्टिएको स्पष्टै देखिने दुई वटा एक्सरे भएको ठूलो खैरो खाम, दुई-तीन पुरिया नखोलिएका पाइनापल बिस्कुटका पुरिया भएको प्लास्टिकको झोला सहित म सुतेको च्यादर चार-पाँच जनाले एकैसाथ उचालेर मुश्किलले टाँड माथि पुर्याए । मैले त्यसपछिको करिब एक वर्ष घरमा सुतेर बिताएँ ।
आज पनि हल्का हावा चलेको चिसो बिहानले अशुभ खबर बोकेर बज्ने एकोहोरो शंख, छिमेकीको आँगनमा लमतन्न सुतेको वयोवृद्ध लाश, लाशको निधारमा अड्याइएको मैलो ढ्याक र कालको छेउमा पुगेर कसोकसो संयोगले बाँचेर फर्किएको आफैंलाई विचरा भन्ने गरी सम्झाउँछ र बेस्कन हृदय काँप्छ ।
हालः टेक्सास, अमेरिका