छाउनी टोल बन्यो रेड लडाकु बस्ती


२०२९ सालतिर रुपन्देहीको सीतापुर क्षेत्र तिनाउ खोलाले छाडेको ऐलानी जग्गा थियो । खोलाले छाडेपछि यो सार्वजनिक जमिन केही टाठाबाठा जमिनदारले ओगट्न थाले । त्यसपछि तत्कालीन नेकपा (पुष्पलाल समूह) का जिल्ला सचिव भीमनारायण थारुले जिल्ला कमिटीको बैठक बसाएर छलफल गरे र सार्वजनिक जग्गा जमिनदारलाई ओगट्न दिनुभन्दा भूमिहीन गरिबको बस्ती बसाउनु न्यायिक हुने निष्कर्ष निकाले ।

त्यसपछि जिल्लाका विभिन्न ठाउँमा रहेका भूमिहीन किसानहरुलाई यस ठाउँमा ल्याएर बस्ती बसाउने क्रम सुरू भयो । तर, बेला बेला डाँका लाग्ने, कहिले बाढी पस्ने भएपछि केही परिवार ठाउँ छाडेर हिँडे । त्यस ठाउँमा फेरि नयाँ भूमिहीन आएर बसे । यो क्रम केही समय चलिनै रह्यो । यस सम्बन्धमा यहाँका अगुवा नेता राधेश्याम थारु  भन्छन्–

सुरूमा रुपन्देही जिल्लाका विभिन्न क्षेत्रमा रहेका २६ परिवार यस ठाउँमा आएर बस्न थाले । बस्तीका सबै बासिन्दा कृषि श्रमिक थिए । जमिनदारको खेतबारीमा काम गरेर ल्याएको अन्नले यस बस्तीको जीवन चल्थ्यो । कम्युनिस्टहरुको सहयोगमा बस्ती बसाइएकाले सुरूदेखि नै यो क्षेत्र कम्युनिस्ट पार्टीको आधार इलाका बन्यो । यहाँका सबै बासिन्दालाई नियमित प्रशिक्षण गरिन्थ्यो । त्यतिखेर कसैमा पनि व्यक्तिगत स्वार्थ थिएन । पञ्चायती व्यवस्था पाँच जना मानिसले ९५ जनामाथि शासन गर्ने प्रणाली थियो । त्यसैले त्यसको अन्त्य गरेपछि मात्र शोषणको अन्त्य हुन्छ र हामी मुक्त हुन्छौं भन्ने कुराले कस्तै दुःख भोगेर पनि पार्टीलाई सहयोग गर्न सबैजना तयार हुन्थ्यौं । आक्रमण भैहाल्यो भने शत्रु पक्षसँग कसरी लड्ने भन्ने पूरै तयारी भएकाले यसलाई रेड लडाकु बस्तीपनि भनिन्थ्यो । त्यसैले यो सेनाको बस्ती छाउनीजस्तो भन्दाभन्दै बस्तीको नामै छाउनीरह्यो । अहिले पनि यो बस्तीलाई छाउनी टोलभनिन्छ ।

सुरूमा २६ घरपरिवारको बसोबास भएको यस बस्तीमा चमार, लोध, धोबीको बाहुल्यसँगै केही घर थारुका थिए । सबै परिवार निम्नवर्गीय श्रमजीवी भएकाले दिनभरि जमिनदारको खेतखलियानमा काम गर्न जान्थे तर कामअनुसार उचित पारिश्रमिक थिएन । ठुलाबडा भनिनेले जे भन्यो, त्यही मान्नुपर्थ्यो ।

यस्तो अवस्थामा बस्तीमा आएर गरिबको पक्षमा न्यायको कुरा गरेको सुन्दा ‘यिनीहरु नै हुन् गरिबका हिमायती’ भन्दै श्रमिक जनताको सिङ्गो बस्ती नै कम्युनिस्ट पार्टीको पक्षमा एकजुट भयो । फुसका झुप्राबाट बनेको सिङ्गो बस्ती क्रान्तिकारीहरुका लागि आधार इलाका र भूमिगत कार्यकर्ताको नियमित आश्रयस्थल बन्न पुग्यो । यस बस्तीमा सुरूमा पुष्पलाल समूहका मोदनाथ प्रश्रित, जीवराज आश्रित, शान्ता मानवीहरुको आवतजावत थियो ।

समयक्रममा केही नेताहरु पुष्पलाल समूहसँग असहमति राख्तै मुक्तिमोर्चा बनाएर छुट्टै काम गर्न थाले । छाउनी टोलमा आउने प्रायः सबै कमरेडहरु मुक्तिमोर्चातिर लागेका थिए । त्यहाँका जनतालाई यस्ता कुरामा खासै जानकारी थिएन । जसले आएर सम्पर्क गरिरहेका थिए, उनैको विश्वास गरे । उनैका पक्षमा निरन्तर लागिरहे । मुक्तिमोर्चा र कोकेबिच एकता भएर नेकपा (माले) बन्यो । यहाँका बासिन्दा पनि त्यही रुपमा नयाँ पार्टीको समर्थन गर्दै आबद्ध भए ।

राज्य पक्षका कोही पनि आए भने आश्रय लिएर बसेका नेताहरु भाग्न मिल्ने गरी पछाडिपट्टि गोप्य सुरूङ पनि बनाइएको थियो । भूमिगत नेताहरु किसानको घरमा बस्ता उनीहरुबिचको सम्बन्ध एकै परिवारको सदस्य जस्तो हुन्थ्यो ।

छाउनी टोलको बस्ती बसाउँदादेखि नै राधेश्याम थारु (तारापति) बस्तीका सबैले पत्याउने नेता र त्यतिखेरै पार्टी जिल्ला कमिटीका सदस्य थिए । परशुराम लोद बस्तीका सबैले मान्ने अगुवा थिए । उनी बस्तीका मानिसहरुलाई हार्मोनियम सिकाउने हुँदा सबैले मास्टरजी भन्थे । उनकी श्रीमती फगुनी लोदको पनि क्रान्तिकारी सोच थियो ।

यस बस्तीका दीनानाथ कवर, परशुराम लोद, धौतल लोदहरु पार्टीका भरपर्दा कमरेड थिए । उनीहरुको परिवारका महिला सकुन्तला चमार, सुकदेवी कवर, कुस्मी कवर लगायत विश्वासिला र आँटिला योद्धा बने । बालबालिकाहरुसमेत भरपर्दा सुरक्षा सिपाही भए । मास्टरजीका माहिला छोरा चन्द्रिका लोद सीपी मैनालीसँग असाध्यै मिल्ने हितैसी थिए । त्यस क्षेत्रमा रहँदा सीपीका अधिकांश पत्राचार उनै चन्द्रिकाले गर्थे । खानपिन व्यवस्थापनको नेतृत्व फगुनी लोदको हुन्थ्यो ।

गाउँमा नेताहरु भएको बेला प्रशासनका मानिस आइपुगे भने नेतालाई जोगाउन उनीहरु अनेक तिकडम गर्थे । एक दिन ईश्वर पोखरेल धौतल लोदको घरमा बसिरहेका थिए । एक्कासि गुप्तचर आएर सोधे– को हो यो गोरो नयाँ मान्छे ?

मास्टरजीले तुरून्तै जवाफ दिए– भित्ता कोरूवा । गर्मी भएर एकछिन पानी खाएर आराम गरेर बसेका ।

त्यतिखेर तराईमा औलोको समस्या भएकाले औलो उन्मूलनका लागि औषधि छर्ने र त्यसको मिति भित्तामा लेखेर रेकर्ड राख्ने चलन थियो । त्यो काम गर्नेलाई गाउँलेहरु ‘भित्ता कोरूवा’ भन्थे । त्यसपछि त्यो गुप्तचर आफ्नो बाटो लाग्यो, ईश्वर पोखरेल सुरक्षित ठाउँतिर ।

त्यस्तै अर्को एक दिन पार्टी कार्यकर्ता भवानी सापकोटा त्यही गाउँमा थिए । प्रहरीले गाउँ घेरेको थाहा भयो । उनलाई बस्तीको पछाडिपट्टिबाट निकालेर दिनभरि खरबारी र बाँसघारीको बिचमा लुकाए । साँझ परेपछि त्यहाँबाट निकालेर सुरक्षित ठाउँतर्फ लगे । त्यस बस्तीसँग जोडिएका यी र यस्ता रोचक घटना धेरै छन् ।

पार्टीका भूमिगत नेता–कार्यकर्ता यहाँ आउने, खाने र बस्ने काम निरन्तर हुने भएकाले बस्तीका घरहरुमा भित्रभित्रै वारपार गर्न सकिने ढोकाहरु लस्करै बनाइएको थियो ।

बाटो पछाडिपट्टि पनि ढोका थियो । राज्य पक्षका कोही पनि आए भने आश्रय लिएर बसेका नेताहरु भाग्न मिल्ने गरी पछाडिपट्टि गोप्य सुरूङ पनि बनाइएको थियो । भूमिगत नेताहरु किसानको घरमा बस्ता उनीहरुबिचको सम्बन्ध एकै परिवारको सदस्य जस्तो हुन्थ्यो ।

यस बस्तीमा आश्रय लिएर बस्ता शान्ता मानवीको अनुभव यस्तो छ–

शकुन्तला चमारको घर मेरो मुख्य आश्रयस्थल थियो । त्यतिखेर बिहानभरि काम गरेपछि खाजामा एक सेर भुजा र दिनभरि काम गरेको ३४ सेर धान ज्यालाका रुपमा दिइन्थ्यो । बिहानभरि काम गरेर मजेत्रोमा पोको पारेर ल्याएको खाजा घरका सबै परिवार र भूमिगत नेताकार्यकर्ताबिच बाँडेर खाइन्थ्यो । अनि दिनभरिको ज्यालाले साँझबिहानको खाना । हामी दिनभरि घरभित्र बसेर गर्न मिल्ने काम (बच्चा हेर्ने, खाना बनाउने, सरसफाइ गर्ने) सघाउँथ्यौं । बाँकी समय लेखपढ गर्ने र राति भएपछि सङ्गठन बनाउन हिँड्थ्यौं । ती दिनहरुमा अधिकांश भूमिगत नेताकार्यकर्ताको दिनचर्या यस्तै हुन्थ्यो । अलि बढी नै सुरक्षित ठाउँ छ भने कोही कोही भूमिगत नेताहरु श्रमिकको विश्वास जित्न र सम्पर्क बढाउन कहिलेकाहीँ आश्रयदातासँगै खेतखलियानमा काम गर्न पनि जाने गरिन्थ्यो ।

छाउनी टोलनजिकै वधौली गाउँ छ । त्यहाँ सूर्यबहादुर खाती नामका जमिनदार थिए । उनी कहाँ काम गर्ने हरूवाचरूवादेखि ज्यालादारीमा काम गर्ने श्रमिकले चलनचल्तीमा पाउनुपर्ने पारिश्रमिक कहिल्यै पाउँदैनथिए । भूमिगत नेता र यस बस्तीका बासिन्दाबिच ‘यो अत्याचार विरूद्ध केही गर्नुपर्छ’ भन्ने छलफल हुँदा ‘सूर्यबहादुर खातीको भकारी फुटाउने र श्रमिकहरुलाई अन्न बाँडिदिने’ निधो गरे ।

२०३३ सालमा भएको उक्त आन्दोलनबारे राधेश्याम थारुको भनाइ  यस्तो छ–

जमिनदार सूर्यबहादुर खातीको अत्याचार विरूद्ध उनको भकारी फोरेर गरिबको पारिश्रमिक दिने र अन्यायपूर्ण रुपमा बनाइएका तमसुक च्यात्ने निर्णय भयो । कार्यान्वयनका लागि तुलसी चौधरीको कमान्डमा साथीहरु गए । तर, उक्त कुरा थाहा पाएपछि गाउँका अरु मानिस पनि आएर मिसिएछन् । उनीहरुले भकारी मात्र फोरेनन्, गरगहनासमेत लुट्ने र बन्दुक खोस्ने काम पनि गरेछन् । उक्त बन्दुक पछि पार्टीलाई बुझाइयो । अन्य सामान सम्बन्धित व्यक्तिहरुले नै लगे । जमिनदार पहिला नै घर छाडेर भागिसकेका थिए । उनका श्रीमती र केटाकेटी मात्र घरमा रहेकाले तमसुक च्यात्ने काम भने हुन सकेन । उक्त घटनापछि गङ्गा केवटकी श्रीमती (नाम थाहा हुन नसकेको) सहित पार्वती यादव, वर्षाती केवट, वर्षाती थारु, सम्पाती केवट, सुकदेइ केवट र ६ जना महिला गिरफ्तार भए । भकारी आन्दोलनपछि बस्तीमा निगरानी र दमन बढ्यो । त्यस्तो अवस्था आएपछि सङ्गठन निर्माण र सञ्चालनको काममा थप सतर्कता अपनाउन थालियो तर काम छाडिएन ।

त्यहीबिच २०३३ सालको अन्त्यतिर नक्खु जेलब्रेक गरेर फरार भएका प्रदीप नेपाल यो बस्तीमा आइपुगेपछि छाउनी टोलमा कोअर्डिनेसन केन्द्रको प्रवेश भयो । मुक्तिमोर्चा र कोकेका कमरेडहरुबिच एकता वार्ता सुरू भइसकेको थियो । २०३४ सालमा कोअर्डिनेसन केन्द्र र मुक्तिमोर्चाको एकीकरण भएपछि पनि यस क्षेत्रमा प्रदीप नेपालको बसाइ लामै भयो । पछि गोपाल शाक्य, वामदेव गौतम, विष्णु पौडेल, शान्ता मानवी, सीपी मैनालीहरु पनि समय समयमा आउँथे । नेताहरु एक ठाउँबाट अर्को ठाउँमा जाँदा अगाडि, पछाडि लागेर बस्तीका कार्यकर्ताले सुरक्षा दिन्थे । तर, कहाँ जाँदै छन् भन्ने थाहा नदिन अर्को आश्रयस्थलभन्दा केही परैबाट साथमा गएका साथीहरु फर्काइन्थे । यसरी त्यस बेला गोपनीयताकोे असाध्यै कडा नियम अपनाइन्थ्यो ।

सङ्गठन निर्माण र विस्तारका लागि बस्तीका मानिसहरु अरु गाउँसम्म जाने, नेताहरुलाई कार्यथलोमै खेतालाका रुपमा लगेर भेट गराउने, कामको सन्दर्भमा कुराकानी गरेर व्यक्तिको विश्वसनीयता पहिचान गराउने काम हुन्थ्यो ।

यस सन्दर्भमा राधेश्याम थारुको अनुभव यस्तो छ–

दिनभरि जमिनदारको खेतको काम र रातिराति पार्टीको काम हुन्थ्यो । हामी आफ्नो बस्तीबाहेक विभिन्न गाउँमा सङ्गठन बनाउन, सम्पर्क विस्तार गर्न जान्थ्यौं । ती बस्तीहरुमा विश्वासिला मान्छे पहिचान गरेपछि भूमिगत नेतालाई लगेर भेटाउने र पार्टीको कुरा सिकाउँदै सङ्गठित गथ्र्यौं । कहिलेकाहीँ नेताहरु आफै पनि खेतमा काम गर्न जाने र मेलामै श्रमिकसँग सम्बन्ध बढाउँदै विश्वास जित्ने काममा लाग्थे । यस क्रममा वामदेव गौतम र प्रदीप नेपाल अलि बढी नै खट्थे । उनीहरुले जमिनदारको खेतमा हलियाका रुपमा काम गरेर सम्पर्क बढाउने र कमाइ पनि गर्ने गरेका अनेक घटना छन् । सँगै काम गर्दा नेताप्रति श्रमिकको विश्वास बढ्थ्यो र गरीखाने श्रमिकलाई सङ्गठित गर्न सहज पनि हुन्थ्यो । कतिपय समयमा पार्टीको काम गरिरहेका बेला एक्कासि प्रहरी आउँथ्यो । त्यस्तो बेला नेताकार्यकर्तालाई महिलाको पहिरन लगाएर पनि भगाइयो । नेताहरु बस्तीमा आएपछि र अझ खास गरी कार्यक्रमहरु हुने समयमा निगरानीको जिम्मा महिला र बालबालिकालाई दिइन्थ्यो । सुरक्षाका लागि कोड भाषा प्रयोग हुन्थ्यो । त्यो भाषाबारे बस्तीका सबै जना जानकार हुन्थे । त्यही आधारमा शत्रु पक्ष आए चुप लाग्ने हो वा भाग्नेभगाउने ? तोकिएको कोडअनुसार खबर हुन्थ्यो ।

छाउनी टोलको सिङ्गै बस्ती कृषि श्रमिकका रुपमा बाँच्ने हुँदा नेताहरु आउँदा त्यही पारिश्रमिकबाट आफ्नो भाग काटेर खुवाउनुपर्थ्यो । चमार परिवारको परम्पराअनुसार कसैको घरमा भोजभतेर छ भने फालिएका वस्तुको सरसफाइ गर्नुपर्थ्यो । त्यो बस्तीमा गरिबी यति थियो कि कहिलेकाहीँ भोजभतेरमा बढी भएर फालिएको खाना पनि जम्मा गरेर ल्याउने, धोइपखाली गरेर सुकाउने र त्यही खाने अवस्था आउँथ्यो । यस्ता कुरा त्यस समयको संस्कार र गरिबी दुवै भएकाले सामान्य मानिन्थ्यो । यसरी ल्याएको खानेकुरासमेत भूमिगत नेता–कार्यकर्तासँग बाँडेर खानुपर्ने अवस्था हुन्थ्यो ।

त्यस क्षेत्रनजिक गणसारीको चमार गाउँमा भूमिगत काम गर्दा गोपाल शाक्यको अनुभव यस्तो छ-

चमार परिवार भूमिगत बस्ताको भरपर्दो आश्रयस्थल थियो । जनतासँग बस्ता उनीहरु जे खान्छन्, जहाँ बस्छन्, उनीहरुसँगै खाने–बस्ने गरे मात्र मन जित्न सकिन्छ भन्ने अवस्था र स्कुलिङ थियो । त्यसैले जति अप्ठ्यारो भए पनि हामी जनतासँगै हुन्थ्यौं । बस्तीको गरिबी र परम्पराका कारण भोजभतेरमा फालिएका र छाडिएका खानेकुरा ल्याएर धोइ–पखाली गरेर खाने चलन थियो । एकातिर भोक थियो, अर्कातिर जनताको विश्वास जित्नु थियो । त्यो परिवेशमा हामी आफैले पनि कैयौं पटक त्यस्तो खाना खाएका थियौं ।

छाउनी टोल बन्यो रेड लडाकु बस्ती
शान्ता मानवी (दायाँ), शकुन्तला चमार र छोरा–बुहारी

क्रान्तिका सुन्दर सपनाका अगाडि सब थोक सामान्य लाग्थे त्यतिखेर । दिनभरि काम गरेर आएका श्रमिकहरु रातभरि गाउँ गाउँमा पर्चा छर्न र पोस्टर टाँस्न हिँड्थे । शरीरमा पूरै ढाक्ने कपडा र पाइतालामा चप्पलसमेत हुँदैनथ्यो । खाली खुट्टा रातारात पर्चा, पोस्टर गर्न जाँदा क्रान्ति सम्झेर किसानहरु गर्व गर्थेे ।

सीआईडीसँग सूची खोस्ता तीन महिना जेल

रुपन्देहीको छाउनी टोलका दीनानाथ कवरकी आमा सुकदेवी र श्रीमती कुस्मी कवर खेतीपातीको काममा जान घरबाहिर निस्कँदै थिए । सिभिल ड्रेसमा आएका मानिसहरुले झोलाबाट कागज निकालेर वारेन्टेड नेता–कार्यकर्ताको सूची पढ्दै यी मानिसहरु यतातिर छन् कि छैनन् ? कत्तिको आउँछन् ? भनेर सोधे । भूमिगत नेता–कार्यकर्ता जोगाउने तालिम प्राप्त ती सासूबुहारीले त्यो सूची खोसी बस्तीमा हल्ला गरे ।

त्यसपछि सीआईडीहरु त्यहाँबाट भागे । खोसिएको सूची पार्टीलाई बुझाए । सो कदमले वारेन्टेड नेता–कार्यकर्ता जोगाउन त सकियो तर अर्काे दिन हतियारसहितको प्रहरी टोली आएर सासू, बुहारी दुवैलाई गिरफ्तार गर्‍यो । घरमा सानो बच्चा भएकाले कुस्मीलाई केही समयपछि रिहा गरे, सुकदेवी भने तीन महिना जेल बसिन् ।

प्रहरी थानामा भएको सोधपुछबारे कुस्मी कवर भन्छिन्—

प्रहरीले हामीबाट सूचना लिने धेरै प्रयत्न गरे । हामीले कुनै गोपनीयता खोलेनौं । सबै कुरा थाहा छैन मात्र भन्यौं । सोधपुछपछि मेरो बच्चा सानो भएकाले छाडिदिए । छुटेर आएपछि पनि कमरेडहरुले साहस दिनुभयो । थुनामा रहेकी सासूआमालाई भेट्न जान्थें । आमा उल्टै ‘केही हुँदैन, नडराई आफ्नो काम गर्नु’ भनेर ढाढस दिनुहुन्थ्यो । तीन महिना जेल बसेर आउँदा त आमा झनै हिम्मतिली हुनुभएछ । हामीलाई पनि थप हिम्मत दिन थाल्नुभयो । बस्तीमा हाम्रो सिङ्गो समुदाय एकमत थियौं । त्यसैले प्रहरीको गिरफ्तारी र जेल बसाइले हामी कसैलाई पनि केही फरक परेन ।

छाउनी टोल बन्यो रेड लडाकु बस्ती
कुस्मी कवर

सुकदेवीको केही वर्षपहिले नै मृत्यु भइसक्यो । अहिले पनि सामान्य जीवन बिताउँदै गरेकी कुस्मी ती दिनहरु यसरी सम्झँदै भन्छिन्–

त्यतिखेर हामी साह्रै गरिब थियौं । फुसको छानो भएको घरमा कोठा थिएनन् । त्यसैले नेताहरुको सुरक्षा र सुत्ने ठाउँ व्यवस्थापन पनि गर्नुपर्ने भएकाले नेताहरुलाई घरभित्र सुताएर हामी परिवारै बाहिर पालीमा सुत्ने गथ्र्यौं । बिहान भएपछि हामी काममा जान्थ्यौं । दिनभरि काम गरेर ल्याएको ज्यालाले परिवार पाल्नुपर्थ्यो । ज्याला गरेर जे ल्याइन्थ्यो, भान्सामा त्यही पाक्थ्यो र कमरेडहरुसँग त्यही बाँडेर खान्थ्यौं । उहाँहरु घरभित्रको सबै काम सघाउनुहुन्थ्यो । निरन्तर पढ्ने–लेख्ने गर्नुहन्थ्यो । राति राति हामी सबैलाई राखेर पार्टीको कुरा सिकाउनुहुन्थ्यो । त्यतिबेला नेताहरु आउँदा र दुःखका बिच पनि आफ्नै घरमा राख्न पाउँदा असाध्यै खुसी लाग्थ्यो । आज परिस्थिति बदलिएको छ । महलमा पुगेका नेताहरुले हिजो आश्रय दिएर जोगाउने झुप्राहरु बिर्सिए । आज पनि हाम्रो व्यक्तिगत माग केही छैन । गरिबका पक्षमा राम्रो काम गर्नेबारे हाम्रा कुरा पनि सुनिदिए हुन्थ्यो, कहिलेकाहीँ त समय मिलाएर पुरानो बस्तीतिर पनि आइदिएहुन्थ्यो भन्ने लाग्छ । तर, उहाँहरुलाई कहिल्यै यो फुर्सद मिल्दैन । यसमा भने दुःख लाग्छ ।

जति नै दमन भए पनि र मनमा असन्तुष्टि रहे पनि यो बस्तीका बासिन्दा कम्युनिस्ट आन्दोलनबाट विमुख भएनन् । पञ्चायत कालभरि यो बस्ती भूमिगत नेता–कार्यकर्ताका लागि सुरक्षित र भरपर्दो आश्रय स्थलका रुपमा रहि नै रह्यो । बस्तीका सबै बासिन्दा निरन्तर पार्टी सङ्गठन निर्माणमा लागिरहे । अहिले पनि यो बस्तीका बासिन्दामा कम्युनिस्ट आन्दोलनप्रति अगाध श्रद्धा छ । तर, पार्टी नेतृत्वको प्रवृत्ति र पार्टी कामको प्रकृतिसँग भने उनीहरुको गुनासो छ ।

अहिलेको अवस्थाबारे राधेश्याम भन्छन्—

मुलुकमा लोकतन्त्र आएको छ । पार्टीको काम गर्दा पहिलाको जस्तो डरत्रास छैन । हाम्रो बस्ती पनि पहिलाभन्दा अहिले धेरै राम्रो भएको छ । काम गरेको पारिश्रमिक नगदमा मिल्छ । बाटोघाटो बनेको छ । बुढाबुढीले भत्ता पाएका छन् । महिलाहरु पनि निर्वाचित नेता भएका छन् । घरघरमा टिभी छ तर मुलुकभित्र रोजगारी छैन । हाम्रा तन्नेरी छोराहरु सबै विदेशमा छन् । राम्रो विद्यालय छैन । नेतृत्वले हिजो आफैंलाई जोगाउने र पार्टी बनाउने हामीजस्ता श्रमजीवीलाई बिर्सन थालेको छ । नेताहरु आफैं सत्तास्वार्थका लागि झगडा गर्न र पार्टी फुटाउन थालेका छन् । यस्ता कुराचाहिँ राम्रो लाग्दैन । सत्तामा पुगेको बेला त हिजो क्रान्तिको सपना देखाएझैँ काम गरिदिए मुलुक अर्कै हुन्थ्यो । जनता खुसी हुन्थे । तर त्यस्तो देखिएन । हामीलाई यसैमा मात्र दुःख लागेको छ ।

(एमाले नेतृ विन्दा पाण्डेले पञ्चायतकालको कठोर समयमा चुनौती झेलेर वामपन्थी नेताहरुलाई जोगाउन सेल्टर दिने दुई सयभन्दा बढी आम सर्वसाधारणको संस्मरणलाई एकत्रित गरी ‘भुइँमान्छे : आश्रय, सुरक्षा र सम्पर्कका साथी’ पुस्तक लेखेकी छन् । शोध अनुसन्धान र सिर्जनात्मकता दुवै मिसाएर लेखिएको यो किताब २१ फागुन अर्थात् सुखानी शहीद स्मृति दिवस पारेर झापामा विमोचन गर्ने कार्यक्रम छ । यो अंश त्यसै पुस्तकबाट साभार गरिएको हो । सांग्रिला बुक्सले छापेको कृतिको मूल्य ८५० रुपैयाँ राखिएको छ ।)

छाउनी टोल बन्यो रेड लडाकु बस्ती





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School