प्रकाशित मिति : फाल्गुन १०, २०८१ शनिबार
राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका तीन जना अधिकारीविरुद्ध मुद्धा दायर भएको छ ।
राष्ट्रपतिको कार्यक्रममा पहुँच नभएको भन्दै (एपी) ले राष्ट्रपति ट्रम्प प्रशासनका तीन जना अधिकारीविरुद्ध शुक्रबार मुद्दा दायर गरेको हो ।
ह्वाइट हाउसले समाचार एजेन्सीको पहुँचमा प्रतिबन्ध लगाउन थालेको १० दिनपछि वासिङ्टन डिसीस्थित अमेरिकी जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।
ट्रम्पले मनोनीत गरेका अमेरिकी जिल्ला न्यायाधीश ट्रेभर म्याकफेडेनलाई यो मुद्दा हेर्ने जिम्मेवारी दिइएको छ । एपीले आफ्नो मुद्दा ह्वाइट हाउसले भाषण नियन्त्रण गर्न गरेको असंवैधानिक प्रयासको बारेमा रहेको बताएको छ ।
ह्वाइट हाउसका चिफ अफ स्टाफ सुसन विल्स, डेपुटी चिफ अफ स्टाफ टेलर बुडोविच र प्रेस सेक्रेटरी कारोलिन लेभिटविरुद्ध मुद्धा दायर गरिएको हो ।
“प्रेस र संयुक्त राज्य अमेरिकाका सबै मानिसहरूलाई आफ्नै शब्द छनौट गर्ने अधिकार छ र सरकारद्वारा प्रतिशोध नलियोस्” अमेरिकी एसोसिएटेट प्रेस (एपी)ले दायर गरेको मुद्धामा भनिएको छ ।
गत महिना एपीले एक ‘स्टाइल नोट’मा ‘मेक्सिकोको खाडीले ४०० वर्षभन्दा बढी समयदेखि यो नाम बोकेको’ उल्लेख गरेको थियो ।
यसको प्रतिक्रियामा आएको राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशमा ‘संयुक्त राज्य अमेरिकाभित्र मात्र यो अधिकार बोकेको’ उल्लेख गरिएको थियो ।
एपीले भनेको छ, “एपीको सम्पादकीय स्वतन्त्रता र समाचार सङ्कलन गर्ने र रिपोर्ट गर्ने क्षमतामाथि लक्षित आक्रमण पहिलो संशोधनको मूल मर्ममा प्रहार गरिएको छ।
यसअघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एपीलाई ‘कट्टर वामपन्थी सङ्गठन’ को संज्ञा दिएका थिए । ह्वाइट हाउसले एपीका पत्रकारहरूलाई एयर फोर्स वान र ओभल अफिसमा प्रवेश रोकेको छ ।
बिहीबार राजधानी वासिङ्टनमा रिपब्लिकन गभर्नर्स एसोसिएशनलाई सम्बोधन गर्दै ट्रम्पले भने, “हाम्रो एउटा समाचार संस्थासँग लडाइँ छ, जुन एक ‘कट्टर वामपन्थी सङ्गठन’ हो ।
लामो समयदेखि अमेरिकी पत्रकारिताको रूपमा रहेको १८० वर्ष पुरानो यो सञ्चारमाध्यमले अमेरिका र विश्वभरका छापा, टिभी र रेडियो प्रकाशन तथा प्रशारणहरूका लागि समाचार प्रदान गर्दछ ।



