प्रकाशित मिति : फाल्गुन ८, २०८१ बिहीबार

अमेरिकाको अध्यागमन अदालतबाट देशनिकालाको आदेश पाएकामध्ये झण्डै ४० प्रतिशत नेपालीहरु न्युयोर्कका बासिन्दाहरु रहेको तथ्यांकले देखाएको छ । अर्थात् अध्यागमन अदालतमा उनीहरुलाई देशनिकालाको फैसला हुँदा उनीहरुको ठेगाना न्युयोर्कमा रहेको थियो । देशनिकालाको आदेश पाएका झण्डै ३५ सय मध्ये झण्डै १४ सय जना न्युयोर्कका बासिन्दा रहेको एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांकले देखाएको छ । यो तथ्यांक विगत २० बर्षको हो ।
उनीहरुमध्ये झण्डै ३ हजार नेपालीहरु अहिलेपनि अमेरिकाभित्रै रहेको झण्डै १५ सयलाई टीपीएसले संरक्षण प्रदान गरेको तथा झण्डै १४ सय कुनै पनि संरक्षण विना अमेरिकामा नै लुकिछिपी बसेको तथ्यांकले देखाएको छ । हालै आइसले सार्वजनिक गरेको तथ्यांक अनुशार १३५६ जना नेपालीहरु देशनिकालाको आदेशपछि पनि टीपीएस लगायत विना कुनै संरक्षण अमेरिकामा नै बसिरहेका छन् । अर्थात् उनीहरु सन् २०१५ को जुनपछि देशनिकालाको आदेश पाउनेहरु हुन् । उनीहरु अहिले आइसले पक्राउ गरेर देशनिकालाको उच्च जोखिममा रहेकाहरु हुन् ।
देशनिकालाको आदेश पाएकाहरुमा झण्डै ५ सय जना क्यालिफोर्निया निवासी र झण्डै साढे ३ सय जना टेक्सास निवासी रहेको तथ्यांकले देखाएको छ । मेरिल्याण्ड निवासी झण्डै २ सय र जर्जिया निवासी झण्डै डेढसयजना रहेका छन् । देशनिकालाको आदेश पाएका झण्डै ३५ सय जनामा झण्डै २२ सय जनालाई कहिलेपनि हिराशतमा लिइएको थिएन भने झण्डै ८ सय जनालाई रिहा गरिएको थियो । झण्डै साढे ५ सय जनालाई पनि हिराशतमा राखिएका बेलामा देशनिकालाको आदेश भएकाले उनीहरु प्राय नेपाल फिर्ता भइसकेका छन् ।
देशनिकालको आदेश पाएकामध्ये झण्डै २३ सयले वकिल राखेका थिए भने झण्डै १२ सयले कुनै वकिल राखेका थिएनन् । देशनिकालको आदेश पाउनेहरु अदालती सुनुवाईको क्रममा उल्लेखित राज्यहरुमा रहेपनि त्यसपछि उनीहरु कुन राज्यमा छन् भन्नेबारे कुनै यकिन तथ्यांक सार्वजनिक भएको छैन । देशनिकालाको आदेश पाउने नेपाली सबैभन्दा धेरै सन् २०१९ मा थिए । उक्तबर्ष झण्डै साढे ३ सय नेपालीले देशनिकालको आदेश पाएकोमा १२१ जना न्युयोर्कमा ठेगाना भएकाहरु थिए ।
बाइडेनकालका ४ बर्षमा झण्डै ६ सय नेपालीहरुले देशनिकालाको आदेश पाएकोमा अघिल्लो ट्रम्प प्रशासनका ४ बर्षमा झण्डै ९ सय नेपालीहरुले देशनिकालाको आदेश पाएका थिए । चालु आर्थिक बर्षको ३ महिनामा ४० जना नेपालीहरुले अध्यागमन अदालतबाट देशनिकालाको आदेश पाइसकेका छन् ।