न्युयोर्क राज्य मोटर सवारी विभाग (डीएमभी) ले नियोजित रूपमा गराइने गाडी दुर्घटनाको वृद्धिबारे चेतावनी दिएको छ। डीएमभीले चालकहरूलाई यस्ता ठगीजन्य दुर्घटनाबाट बच्न सावधानीपूर्वक गाडी चलाउन आग्रह गरेको छ। डीएमभी आयुक्त मार्क जे.एफ. श्रोडरले नियोजित दुर्घटना ‘बीमा ठगी’को रूप भएको र व्यक्तिले जानाजानी दुर्घटना गराएर बीमा रकम असुल्ने प्रयास गर्ने बताएका छन् । डीएमभीले अन्य चालकहरूको गतिविधि अनुमान गर्न, पछाडि धेरै नलाग्न र तत्काल प्रतिक्रिया जनाउने बानी बसाल्न सुझाव दिएको छ।
बीमा जानकारी संस्थाका अनुसार नियोजित दुर्घटनाका कारण मोटर बीमाको लागत बढिरहेको छ। यसले बीमाको औसत प्रिमियम वार्षिक १०० देखि ३०० डलरसम्म वृद्धि गरेको छ। न्युयोर्क यस्ता ठगीमा अत्यधिक प्रभावित राज्यहरूमध्ये एक हो, जहाँ २०२३ मा १,७२९ नियोजित दुर्घटनाहरू दर्ता भएका थिए, जसमा २०२२ को तुलनामा १४% र २०२१ को तुलनामा ३४% वृद्धि देखिएको छ। ट्राफिक धेरै हुने क्षेत्रमा ठगीका लागि दुर्घटना गराउने प्रवृत्ति बढी देखिएको छ।
सावधानीपूर्वक गाडी चलाउनु नै सुरक्षित रहने प्रमुख उपाय भएको डीएमभीले जनाएको छ। डीएमभीले आफ्नो अनलाइन ड्राइभर म्यानुअल र अभ्यास परीक्षणहरू उपलब्ध गराएको छ, जसले चालकहरूलाई सुरक्षित ड्राइभिङ गर्न मद्दत पुर्याउँछ। चालकहरूले सधैं सचेत रहनु, गाडी चलाउँदा दुवै हात स्टेयरिङमा राख्नु, अन्य सवारी साधन तथा पैदल यात्रुहरूबाट हुन सक्ने गल्तीहरू अनुमान गर्नु र सुरक्षित दूरी कायम गर्नु महत्त्वपूर्ण छ। स्टप वा यिल्ड साइन भएको स्थानमा अन्य सवारी साधन वास्तवमै रोक्छन् भन्ने अनुमान नगर्न डीएमभीले सुझाव दिएको छ। सुरक्षित गतिमा यात्रा गर्नु, संकेत दिने प्रणाली प्रयोग गर्नु, र लेन परिवर्तन गर्दा संकेत दिनु जस्ता अभ्यासहरूले दुर्घटना रोक्न सहयोग गर्छ।
चारमध्ये एक दुर्घटना पछाडिबाट ठोक्किएर हुने गर्छ, जुन प्रायः पछाडि धेरै नजिकै गाडी चलाउँदा हुन्छ। सिट बेल्ट लगाउनु जस्तो साधारण सावधानी अपनाउँदा पनि ठूलो दुर्घटनाबाट बच्न सकिन्छ। मदिरा, लागूऔषध, वा निद्रा लाग्ने औषधि सेवन गरी गाडी नचलाउन डीएमभीले आग्रह गरेको छ। गाडीको ब्रेक, टायर, र बत्तीहरू नियमित रूपमा जाँच गर्दा दुर्घटनाको सम्भावना कम गर्न सकिन्छ। साथै, मोबाइल फोन जस्ता उपकरणहरूको प्रयोग नगर्नु, विशेष गरी गाडी चलाउँदा ध्यान केन्द्रित राख्नु महत्त्वपूर्ण छ। डीएमभी स्वीकृत सावधानीपूर्वक डिफेन्सिभ रुपमा गाडी चलाउने तालिम लिँदा चालकहरूको ज्ञान ताजा रहन्छ, चालक अनुमतिपत्रका चार बिन्दु हटाउन सकिन्छ, र तीन वर्षसम्म बीमामा १०% छुट पाइन्छ।
यदि कुनै चालक दुर्घटनामा पर्छ भने, डीएमभीले तुरुन्तै ठगी रोक्न प्रहरीलाई खबर गर्ने, आफ्नो बीमा कम्पनीलाई जानकारी दिने, सबै गाडीहरूको क्षतिको स्पष्ट फोटो खिच्ने, अन्य गाडीको नम्बर प्लेट र बीमा जानकारी संकलन गर्ने, अन्य गाडीमा रहेका यात्रुहरूको सम्पर्क विवरण सुरक्षित गर्ने, अन्य चालकलाई नगद नदिनेजस्ता उपाय अपनाउन आग्रह गरेको छ। अनधिकृत टो ट्रक सेवाबाट सचेत रहनु, आकस्मिक रूपमा कानुनी वा चिकित्सकीय सहायता दिने व्यक्तिबाट सावधान रहनु, र डीएमभीमार्फत आधिकारिक दुर्घटना प्रतिवेदन दर्ता गर्नु महत्त्वपूर्ण छ।
न्युयोर्क राज्य वित्तीय सेवा विभागले नियोजित दुर्घटना तथा बीमा ठगीबारे जानकारी तथा आवश्यक स्रोतहरू उपलब्ध गराएको छ। ठगी पहिचान गर्ने र रिपोर्ट गर्ने तरिकाबारे न्युयोर्क राज्य वित्तीय सेवा विभाग वेबसाइटमा विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ। डीएमभीले चालकहरूलाई उच्च सतर्कता अपनाउन र सावधानीपूर्वक गाडी चलाउन जोड दिएको छ। सचेत भई गाडी चलाउँदा नक्कली दुर्घटनाबाट जोगिनुका साथै अनावश्यक आर्थिक क्षतिबाट बच्न सकिन्छ।