प्रकाशित मिति : माघ २२, २०८१ मंगलबार
रुस समर्थित एकजना युक्रेनका नेताको रुसमा भएको बिष्फोटनमा मृत्यु भएको छ ।
पूर्वी युक्रेनको प्रोरूसियाका प्यारामिलिटरी समूहका नेता आर्मेन सर्ग्स्यान मस्को नजिक भएको बम बिष्फोटमा मारिएका हुन ।
रुसका सञ्चारमाध्यमले बिष्फोटपछि उनलाई तत्काल अस्पताल लगिएको भएपनि बचाउन नसकिएको बताएका छन ।
बिष्फोटबाट अन्य केहि व्यक्तिहरु पनि मारिएका छन । रुसले घटना युक्रेनले गराएको आरोप लगाएको छ । तर युक्रेनले प्रतिकृया दिएको छैन ।
किभमा भएको हत्यामा आर्मेनको सम्लग्नता रहेको भन्दै युक्रेनी सुरक्षा सेवाले अपराधीको प्रमुखको रुपमा घोषणा गरेको थियो । उनले युक्रेनबिरुद्ध लड्नका लागि कैदीलाई समेत भर्ती गर्ने गरेको आरोप युक्रेनले लगाएको छ ।
सामाजिक सञ्जालमा सेयर गरिएका चित्रहरूमा विस्फोट पछि ध्वस्त भएको प्रवेश द्वार र उडेको झ्याल र ढोका देखिएको छ ।
आर्मेन सर्ग्स्यान युक्रेनी डोनेट्स्क क्षेत्रको होरलीव्का शहरमा जन्मेका थिए । जुन क्षेत्र २०१४ देखि रूसले नियन्त्रणमा लिएको छ ।
रूसका उच्च अधिकारी भलरी ट्रांकोभ्स्की र रूसी कारागार प्रमुख सेर्गेई येभस्युकोभलाई २०२४ को अन्त्यमा रूसद्वारा नियन्त्रणमा लिइएको युक्रेनी क्षेत्रमा कार बम विस्फोटमा मारिएको थियो ।
रूसको सशस्त्र सेनामा एक उच्च पदस्थ जनरल र उनका सहायकलाई डिसेम्बरमा मस्कोमा युक्रेनी सुरक्षा सेवाले मारेको बताइएको थियो ।