यी पाँच अर्थपूर्ण दृश्य, जसले संसद् बैठकलाई फरक देखायो


१८ माघ, काठमाडौं । संसदीय व्यवस्थामा अभ्यास र नजिरलाई कानुनसरह मान्ने गरिन्छ । संसदीय व्यवस्था अवलम्बन गरेका मुलुकमा सांसदहरू नयाँ–नयाँ अभ्यास र नजिर स्थापित गर्न प्रयास गरिरहेका हुन्छन् । नेपाल पनि यस्ता कैयन उदाहरण छन् ।

शुक्रबार संसद्‌मा केही नयाँ र फरक दृश्य देखिए । गत भदौ ३१ गते अन्त्य भएको संसद्को अधिवेशन शुक्रबारबाट सुरु भएको हो ।

पहिलो दिन संसद्‌मा दलहरूले एक अर्काप्रति केही सन्देश दिने प्रयास गरे, सत्तापक्ष र प्रतिपक्षले एक अर्कोप्रति हावी हुने प्रष्ट संकेत गरे । सभामुखको भूमिका कस्तो हुन्छ भन्ने विषयमा समेत केही आशंकासहितका संकेत मिलेको सांसदहरू बताउँछन् ।

पहिलो : आफैँ समय तोकेर बैठक बहिष्कार

चार महिनापछि बसेको संसद् बैठकको सुरुमै आफ्नो कुरा राख्ने तयारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को थियो । तर, रास्वपाको त्यो तयारीले काम गरेन ।

दिउँसो १ बजेका लागि तय भएको बैठक केही मिनेट ढिलो गरी सुरु भयो । सभामुख देवराज घिमिरेले कार्यसूचीमा अगाडि बढाउन खोज्दा रास्वपाले अवरोध गर्‍यो र आकस्मिक समय माग्यो । तर, रास्वपाले पाएन ।

आधा घण्टासम्म सवालजवाफ चल्यो । सभामुख घिमिरेले समय दिएनन । बरु, आफ्नै समयमा कुरा राख्न आग्रह गरिरहे ।

रास्वपाले अवरोध नछाडेपछि सभामुख संसद्को कार्यसूचीमा अघि बढे ।

रास्वपाका सांसदहरूले आफैं समय तोके अनि १५ मिनेका लागि भन्दै बैठककक्षबाट बाहिरिए । र केहीबेरमा फर्किए

संसद् सचिवालयका पूर्वसचिव सोमबहादुर थापाका अनुसार आफैं समय तोकेर बैठक बहिष्कार गरिएको नेपालको संसदीय इतिहासमा यो नयाँ अभ्यास हो ।

‘आफैं समय तोकेर बाहिरिने नयाँ अभ्यास हो । तर, बहिष्कार र विरोधबीच सभा अगाडि बढाउने प्रवृत्ति चाहिँ नयाँ होइन,’ थापाले अनलाइनखबरसँग भने ।

रास्वपाले आफूहरूको बहिष्कारलाई ‘सांकेतिक विरोध’ भनेको छ ।

दोस्रो : ओली बोल्दा प्रचण्ड पढिरहे

हिउँदे अधिवेशनको पहिलो दिन शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका तय भएको थियो । सोही अनुसार एमाले संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरे ।

संसदीय परम्परा अनुसार प्रधानमन्त्रीले सम्बोधन गरेपछि प्रमुख प्रतिपक्षी दलका नेताले सम्बोधन गर्नुपर्ने हुन्थ्यो । सोही अनुसार प्रमुख प्रतिपक्षी दलका माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले बोल्ने तयारी पनि थियो ।

तर, दुई कारणले रोकियो ।

पहिलो कारण बन्यो, सभामुखले पठाएको सन्देश । दोस्रो, प्रचण्डको काउन्टर तयारी ।

माओवादी नेताहरूका अनुसार प्रमुख सचेतक हितराज पाण्डेमार्फत् सभामुखले प्रचण्डका लागि २० मिनेटको समय तोकिदिएका थिए ।

सभामुखले समय तोकिदिएपछि प्रचण्डले पनि नेताहरूमार्फत् नै संसद् सचिवालयलाई अर्को सन्देश फर्काइदिए ।

सभामुखको आग्रह मानेको र प्रधानमन्त्री ओलीको सम्बोधनलाई तयारीका साथ काउन्टर गर्नेगरी प्रचण्डले आज सम्बोधन नगरेका हुन् ।

यी पाँच अर्थपूर्ण दृश्य, जसले संसद् बैठकलाई फरक देखायो

यी सबै पृष्ठभूमि प्रधानमन्त्री ओलीलाई थाहा नहुने कुरै भएन । थाहा हुनासाथ ओलीले आफ्नो सम्बोधनको दुई कपी तयार थप प्रिन्ट गर्न सचिवालयका सदस्यहरूलाई भने ।

ओलीले रोष्ट्रममा जानुअघि ओलीले एउटा कपी प्रचण्डको हातमा थमाए । अर्को सँगै बोकेर रोष्ट्रमबाट वाचन गर्न थाले ।

रोष्ट्रममा ओलीले झण्डै एक घण्टा सम्बोधन गरे । सम्बोधनको अन्त्यतिर मात्रै उनले लिखित मन्तव्यबाहिर रहे बोले ।

रोचक के देखियो भने ओलीले रोष्ट्रममा लिखित सम्बोधन पढेर सुनाइरहँदा प्रचण्ड भने ओलीले दिएको त्यही कपी पढ्न तल्लीन देखिन्थे ।

ओली सम्बोधनका केही ‘पञ्चलाइन’ मा पुगेपछि अडिन्थे अनि प्रचण्डतिर हेर्थे । तर, प्रचण्डले लगातार ओलीको लिखित पढिरहे ।

प्रचण्डको कुनै रियाक्सन थिएन ।

ओलीले लिखित सम्बोधन सकाउनु केही मिनेट अगाडि सायद प्रचण्डले पढिसकेका थिए । सम्बोधन सकाएर फ्लोरतिर आउँदैगर्दा प्रचण्डलाई ओलीले प्रश्न तेर्स्याए, ‘धेरै कडा त भएन नि ?’

प्रचण्डले पनि छोटो जवाफ फर्काइहाले, ‘तपाईंको आफ्नै तरिका छँदैछ नि !’ प्रचण्ड र ओलीको त्यो सवालजवाफले वरपर रहेका नेताहरू मुस्कुराए ।

तेस्रो : विधेयक रोकिए फेरि अध्यादेश !

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले संसद्ले विधेयक रोके फेरि अध्यादेश आउने प्रष्ट संकेत गरेका छन् ।

‘यस सम्मानित सदनमा हामी सबैले आफैंलाई एकपटक सोध्नुपर्ने एउटा प्रश्न हो– के हामीले संसद्‌मा कानुन निर्माणको सवालमा आफ्नो दायित्व पूरा गरिरहेका छौं त ? एउटै कानुन बनाउन हामी किन आधा दशकसम्म लगाइरहेका छौं ?,’ प्रधानमन्त्रीको प्रश्न छ ।

संसद्‌मा अवरोध र विरोध भइरहने र विधेयक निर्माणले गति नलिने हो भने अधिवेशन अन्त्य गरेर सरकारले फेरि पनि अध्यादेश ल्याउने प्रष्ट सन्देश ओलीले दिएका हुन् ।

‘आवश्यक भएकैले सरकारले विधेयक ल्याउँछ । त्यसको हतारो यस सम्मानीत सदनले नै महसुस नगर्ने हो भने सुशासन कहाँबाट आउँछ ?,’ ओलीको अर्को प्रश्न छ ।

संसद् नरहेका बेला सरकारले विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । ती अध्यादेश शुक्रबार संसद्‌मा पेस भएका छन् । अब ६० दिन भित्र ती सबै अध्यादेश प्रतिस्थापन विधेयक आएर पास भइसक्नुपर्छ ।

अन्यथा, अध्यादेशले परिवर्तन गरेर र नयाँ लागू भएका प्रावधान निष्क्रिय हुन्छन् । अब विधेयक पनि ६० दिनभित्रै संसदले पास गरिसक्नुपर्नेगरी जानुपर्ने प्रधानमन्त्रीको प्रस्ताव छ ।

यी पाँच अर्थपूर्ण दृश्य, जसले संसद् बैठकलाई फरक देखायो

‘जसरी अध्यादेश संसद सुरु भएको मितिबाट ६० दिनभित्र कानुनको रुपमा प्रतिस्थापन गर्ने वा अस्वीकार गर्नैपर्छ, त्यसैगरी अबदेखि विधेयकलाई पनि ६० दिनभित्रै छिनोफानो गरौं,’ ओलीको प्रस्ताव छ ।

उनले अघि थपे, ‘छलफललाई असाध्यै समय पुगेन भने बढीमा पटक पटक गरी ३० दिनको समय ननघाऔं । हतारो भएरै ल्याइएको विधेयक ३/३ महिनाभित्र पनि पारित हुन सकेन भने त्यसले मुलुकलाई न्याय गर्दैन ।’

अन्यथा, सरकार वैकल्पिक व्यवस्था (अध्यादेश ल्याउन) बाध्य हुने उनको चेतावनी छ । ‘मैले आज यस सदनमा विनम्रतापूर्वक आफ्नो कुरा राख्नैपर्छ, सरकारले ल्याएको विधेयकलाई ९० दिन बित्दा पनि संसद्ले पारित गरेन भने सरकारले वैकल्पिक व्यवस्था (अध्यादेश जारी) गर्छ ।’

चौथो : फेरिएको वाकशैली

शुक्रबार संसद्‌मा देखिएको अर्को नयाँ दृश्य प्रधानमन्त्री ओलीको फेरिएको वाकशैली पनि हो । कानुन निर्माणमा ढिला भए फेरि पनि अध्यादेश आउने भनेर संसद्‌मै बोलिरहँदा पनि भाषण शैलीमा भने उनी नरम सुनिन्थे ।

लामो समय बोल्ने, अरुमाथि अनेक प्रश्न उठाउने, पट्यारलाग्दो बोल्ने र धेरै भन्दा धेरै ठट्टा मिसाउने शैलीलाई यसपटक पच्छ्याएनन् ।

विपक्षीमाथि कडा शब्दमा आलोचना गर्ने पनि प्रधानमन्त्री ओलीको शैली हो ।

तर, शुक्रबार त्यस्तो सुनिएनन् । बरु सरकारको आलोचना गर्न र गलत हुन लागेको खण्डमा सच्याउने गरी भूमिका खेल्न सुझाए । आलोचनाको नाममा मिथ्या प्रचार नगर्न आग्रह गरे ।

आर्थिक विकासका लागि आफू सहकार्यका लागि तयार रहेको भनेर उनले यसका लागि आग्रह गरे । विपक्षी दलहरूलाई उनको प्रश्न छ, ‘हामी संसद्‌मा पो पक्ष/प्रतिपक्ष हौं त । देश विकास, सुशासन र नागरिकको जीवनस्तर उकास्ने कुरामा पनि पक्ष विपक्ष हुन्छ र ?’

यी पाँच अर्थपूर्ण दृश्य, जसले संसद् बैठकलाई फरक देखायो

करिब एक घण्टा बोलेका ओलीले एउटा गीत मार्फत व्यङ्ग्य गरे । सत्ता गठबन्धन भत्किने भनेर विपक्षी दलहरूले प्रचार गरिरहेको तर त्यसमा सत्यता नरहेको बताउन ‘म त ढलेँ, ढलेँ’ बोलको गीत सम्झिए ।

‘विपक्षमा रहेका साथीहरूले एउटा कुरामा आफूलाई व्यर्थ्यै खेर फालिरहेको छ । सरकार ढल्छ, ढल्नै लाग्यो, पुस मसान्त, माघे संक्रान्ति आदि इत्यादी,’ प्रधानमन्त्री ओलीले भने, ‘एउटा गीत बजारमा ढलेँ, ढलेँ, भन्ने अलि प्रचारमा छ । त्यस्तै, प्राय आम रुपमा राजनीतिक नेताहरूले गाएको सुन्छु, ढल्यो, ढल्यो, ढल्यो । यो गीत मनोरन्जनका लागि पार्टी उत्सवमा सुहाउला । राजनीतिमा त्यति सुहाउँदैन ।’

विपक्षी दलहरूले आफूले राजनीतिक दल फुटाउन सहज हुनेगरी अध्यादेश ल्याउने तयारी गरेको भनेर गलत प्रचार गरेको भन्दै प्रष्टीकरण दिए ।

उनले भनेका छन्, ‘पार्टी टुक्र्याउने, भत्काउनेजस्ता खुद्रे कुराहरू यो सरकारको मेन्युमा छैन । ढुक्क हुनुस्–कांग्रेस एमाले सहितको यति बलियो सरकारको प्राथमकिता त्यस्तो हुन सक्दैन ।’

वर्तमान सरकार गठन गर्दा गत असार १७ गते मध्यराति भएको सहमतिलाई लिएर विपक्षी दलहरूले आलोचना गर्दै आएका छन् । ओलीले नरम भाषामा जवाफ फर्काए, ‘सरकार बनाउने र हटाउने थलो यही सम्मानित सदन हो, अन्त कतै होइन । दिनरातै यस्ता हल्ला गरेर आगामी तीन वर्ष बिताउनु जनताका लागि के फाइदा ?’

विपक्षी दलहरूलाई सरकार नभएर जनताको एजेण्डामा केन्द्रित हुन सुझाए ।

‘बरु दैलेखमा उत्खनन् सफल भएको इन्धनको कुरा गर्नुस्, नागढुंगाको सुरुङमा कहिले यातायात चल्छ भन्ने प्रश्न गर्नुस्, भर्खरै ब्रेक थ्रु भएको किमाथांका–जोगवनी सडकले चीन र भारत जोडिंदा के फाइदा हुन्छ, त्यसको कुरा गर्नुस्,’ प्रधानमन्त्रीले भनेका छन्, ‘सरकारको म्युजिकल चेयर गेम भन्दा त जनताको जीवनमा त्यसले पो अर्थ राख्ला कि !’

पाँच : आदेशकै औचित्यमाथि प्रश्न

संसद्‌मा सभामुखको बोली कानुनसरह मानिन्छ । अझ सभामुखको आदेश त मान्न बाध्य हुनुपर्ने मान्यता, अभ्यास र कानुनी व्यवस्था समेत छ । तर, शुक्रबार प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेको आदेशले काम गरे ।

आकस्मिक समय मागेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले अवरोध गरेपछि बस्नका लागि सभामुख घिमिरेले पटक–पटक अनुरोध गरे ।

जति अनुरोध गर्दा समेत नमानेपछि सभामुख घिमिरेले चारवटा अधिवेशन सञ्चालन गरेको अनुभव रहेको स्मरण गर्दै प्रतिनिधिसभा नियमावलीले सभा सञ्चालनका विधि तय गरेको सुनाए । उनले सभामुखको निर्णय अनुसार अगाडि बढ्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै गलाउन खोजेका थिए । तर, रास्वपाका सांसदहरू गलेनन् ।

त्यसपछि सभामुख घिमिरेले सुरुमा चेतावनी दिए, ‘सभा सञ्चालन गर्नका लागि म विशेष अनुरोध गर्दछु । अन्यथा, अब यो ढंगबाट नजान (अवरोध नगरिरहन) को लागि पनि म यहाँहरूसँग अनुरोध गर्न चाहन्छु ।’

यी पाँच अर्थपूर्ण दृश्य, जसले संसद् बैठकलाई फरक देखायो

फेरि पनि रास्वपाका सांसदहरू बसेनन् । त्यसपछि सभामुखले बस्नका लागि आदेश नै गरे ।

‘माननीय सदस्यहरू विशेष अनुरोधले नपुगेर अब म आदेश गर्दछु । यहाँहरू बस्नुहोस्,’ सभामुख घिमिरेले भने ।

फ्लोबाट रास्वपा संसदीय दलका उपनेता बोले, ‘सम्माननीयज्यू यहाँको आदेश पालना गर्न सकिएन ।’

त्यसपछि सभामुख घिमिरेले सभामुखको समय नलिएर बोल्न नपाइने र सभामुखमाथि समेत प्रश्न उठाउन नपाइने कानुनी व्यवस्था देखाए ।

यससम्बन्धी प्रतिनिधिसभा नियमावलीका दफाहरू सभामुख घिमिरेले पढेरै सुनाए । फेरि पनि लागू भएन ।

प्रतिनिधि सभा नियमावलीको नियम २० मा बैठकमा पालन गर्नुपर्ने नियमहरू छ । जहाँ बैठक स्थगित भई सभामुख बैठकबाट बाहिर निस्केपछि मात्र सदस्यले बैठककक्ष छाड्नु पर्ने भनिएको छ । तर, यो नियमको पालना भएन । रास्वपाका सांसदहरू आफैँ समय तोकेर बाहिरिए ।

नियम २१ मा छलफलमा भाग लिने सदस्यले पालन गर्नु पर्ने नियम छ । जहाँ सभामुखको ध्यानाकर्षण गर्नका लागि उठ्नुपर्ने र सभामुखले ‘निजको नाम बोलाएपछि वा इशारा गरेपछि मात्र बोल्नुपर्ने’ भनिएको छ । निमम २१ को (ख) मा सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने भनिएको छ ।

सभामुखले यो व्यवस्था समेत स्मरण गरेर सांसदहरूलाई अवरोध नगर्न पटक–पटक आदेश गरे ।

तर, सभामुखको कुनै पनि आदेशले काम गरेन ।

सभामुखले हतार गरेर आदेश गर्नुपर्ने अवस्था नआउँदा नै आदेश गरेकाले त्यसको औचित्य नै कमजोर हुन पुगेको कतिपयको टिप्पणी छ ।





Source link

Leave a Comment