प्रकाशित मिति : माघ १४, २०८१ सोमबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले दुई आपराधिक मुद्दाहरूमा उनीविरुद्ध काम गर्ने न्याय मन्त्रालयका १२ भन्दा बढी वकिललाई बर्खास्त गरेको छ ।
कार्यवाहक महान्यायाधिवक्ता जेम्स म्याकहेनरीले ती वकिलहरूलाई ‘राष्ट्रपतिको एजेन्डालाई इमानदारीपूर्वक कार्यान्वयन गर्न विश्वास गर्न नसकिने’ भन्दै बर्खास्त गरेको सीबीएस न्यूजले जनाएको छ ।
बर्खास्त गरिएका वकिलहरू विशेष अधिवक्ता ज्याक स्मिथको टोलीका सदस्य थिए । यो टोलीले ट्रम्पले गोप्य कागजातहरूलाई गलत तरिकाले ह्यान्डल गरेको र २०२० को चुनावी पराजय उल्ट्याउन खोजेको आरोपमा छानबिन गरेको थियो ।
सोमबार गरिएको यो बर्खास्ती तत्काल लागू हुने जनाएको छ। ज्याक स्मिथलाई २०२२ मा ट्रम्पविरुद्धका दुई न्याय विभागका मुद्दाहरू हेर्न विशेष अधिवक्ता नियुक्त गरिएको थियो ।
ट्रम्पले पद सम्हाल्ने बित्तिकै उनलाई ‘दुई सेकेन्डभित्र’ बर्खास्त गर्ने घोषणा गरेका थिए । तर उनले ट्रम्पको पदग्रहण अघि नै राजीनामा दिएका थिए ।
यी दुई मुद्दामा ट्रम्पमाथि आपराधिक अभियोग लगाइएको थियो । तर, गत नोभेम्बरको चुनावी जितपछि यी मुद्दाहरू बन्द गरियो । अभियोजकहरूले न्याय विभागका नियमअनुसार कार्यरत राष्ट्रपतिलाई अभियोजन गर्न नपाइने जनाएका थिए ।
ज्याक स्मिथको टोलीका कुन सदस्यहरू बर्खास्त भएका हुन् भन्ने स्पष्ट भएको छैन। स्मिथको टोलीमा रहेका धेरैजसो वकिलहरू राष्ट्रिय सुरक्षा र भ्रष्टाचारसम्बन्धी मुद्दामा अनुभव भएका थिए । जसले विभिन्न प्रशासनमा काम गरेका थिए ।
सोमबार ती वकिलहरूलाई पत्र दिइएको थियो । ट्रम्पविरुद्ध अनुसन्धान र अभियोजनमा भूमिकाका भएका कारण उनीहरू न्याय विभागमा काम गर्न अनुपयुक्त मानिएको पत्रमा उल्लेख छ ।
यो बर्खास्ती न्याय विभागका शीर्ष अधिकारीहरूको व्यापक पुनर्संरचनापछिको हो । ट्रम्प र उनको टोलीले न्याय विभागले उनीविरुद्ध राजनीतिक रूपमा प्रेरित मुद्दा चलाएको आरोप लगाएका छन् ।
न्याय मन्त्रालयको नेतृत्वका लागि ट्रम्पले मनोनित गरेकी पाम बण्डीले पनि ट्रम्पको विचारलाई समर्थन गर्दै संघीय अभियोजनलाई वर्षौंदेखि हतियार बनाइएको बताएकी छिन्।

