अमेरिकी नागरिकताको परीक्षामा प्रस्तावित परिवर्तन लागु नहुने, २००८ कै प्रणालीको निरन्तरता



प्रकाशित मिति : पुस १५, २०८१ सोमबार

अमेरिकी नागरिकताको परीक्षामा प्रस्तावित परिवर्तन लागु नहुने, २००८ कै प्रणालीको निरन्तरता

युएससीआईएसले नागरिकताको परीक्षाको नयाँ प्रकृयाका लागि प्रस्तावित परिवर्तन लागु नगर्ने भएको छ । आज फेडरल रजिष्ट्ररमा सुचना प्रकाशित गर्दै प्रस्तावित परिवर्तन लागु नगरिने र सन् २००८ कै परीक्षा प्रणालीको निरन्तरता कायम रहने घोषणा गरिएको छ । प्रस्तावित परिवर्तनहरूले आवेदकहरूमा पार्न सक्ने चुनौतीहरूको बारेमा सरोकारवालाबाट चासोहरू उठाइएपछि युएससीआईएसले नयाँ परीक्षा प्रणालीको प्रस्ताव परित्याग गरेको हो ।

सन् २०२२ को डिसेम्बर १५ मा युएससीआईएसले नागरिकताको परीक्षाको नयाँ प्रकृयाका लागि प्रस्तावित परिवर्तनहरूको राष्ट्रव्यापी परीक्षण सञ्चालन गर्ने घोषणा गरेको थियो । जसमा परीक्षणमा अंग्रेजी बोल्ने भागमा परिवर्तनहरू र सिभिक्स भागमा सामग्री र ढाँचामा अपडेटहरू समावेश थिए ।

प्रस्तावमा अँग्रेजी पढाइ वा लेखन भागहरूमा भने परिवर्तनहरू भने समावेश थिएन । युएससीआईएसले सरोकारवालाबाट प्रतिक्रिया सङ्कलन गर्नका लागि विभिन्न सार्वजनिक कार्यक्रमहरु आयोजना गरेको थियो । सरोकारवालाहरूबाट १३ सय भन्दा बढी टिप्पणीहरू प्राप्त भएका थिए । धेरै टिप्पणीहरू प्रस्तावित परीक्षा प्रणालीको विपक्षमा थिए ।

यस अगाडि डोनाल्ड ट्रम्पको प्रशासनले २०२० मा अमेरिकी नागरिकता परीक्षा प्रणाली परिवर्तन गरेको थियो । ट्रम्पको परीक्षा प्रणालीले अमेरिकी नागरिकताको परीक्षा पास गर्न लामो र अझ गाह्रो बनाएको थियो । डेमोक्र्याटिक राष्ट्रपति जो बाइडेनले पदभार ग्रहण गरे पछि नागरिकतामा बाधाहरू हटाउने उद्देश्यले कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । त्यो भावनामा नागरिकता परीक्षा प्रणालीलाई उल्टाएर अघिल्लो संस्करणमा लगियो, जुन पछिल्लो पटक २००८ मा अद्यावधिक गरिएको थियो।

अमेरिकी नागरिकताको परीक्षामा प्रस्तावित परिवर्तन लागु नहुने, २००८ कै प्रणालीको निरन्तरता

अमेरिकी अधिकारीहरूले अमेरिकी परीक्षा प्रणाली धेरै बर्षदेखि अपडेट नभएको भन्दै २०२२ देखि परिवर्तनका लागि काम गरेका थिए । युएससीआईएसले नयाँ परीक्षा प्रणालीमा अंग्रेजी सीपको मूल्याङ्कन गर्न बोल्ने खण्ड थप्ने प्रस्ताव गरेको थियो । जस अन्तरगत अधिकारीले दैनिक गतिविधिहरू, मौसम वा खाना लगायतका सामान्य परिदृश्यका फोटोहरू देखाउने र आवेदकलाई फोटोहरू मौखिक रूपमा वर्णन गर्न लगाउने प्रस्ताव गरिएको थियो ।

हालको परीक्षा प्रणालीमा एक अधिकारीले नागरिकताको अन्तर्वार्ताको क्रममा बोल्ने क्षमताको मूल्याङ्कन गर्दै आएका छन् । व्यक्तिगत प्रश्नहरूको जवाफमा नै आवेदकले आफ्नो अँग्रेजी बोल्ने क्षमता प्रकट गर्दै आएका हुन्छन् । नयाँ प्रणाली अन्तरगत तस्बिरहरू हेरेर तिनीहरूलाई व्याख्या गर्न अझ गाह्रो हुनसक्ने भन्दै चिन्ता व्यक्त गरिएको थियो । युएससीआईएसका अधिकारीका अगाडि बोल्दा नर्भस हुनसक्नेबारे समेत आप्रवासीहरु चिन्तित थिए ।

प्रस्तावित परिवर्तनमा हालको मौखिक छोटो उत्तर ढाँचाको सट्टा अमेरिकी इतिहास र सरकारको सन्दर्भमा धेरै विकल्पबाट एउटा जवाफ छान्न मिल्नेगरी खण्डको निर्माण गर्ने प्रस्ताव गरिएको थियो । उदाहरणका लागि हालको प्रश्नमा अधिकारीले आवेदकलाई १९०० को शतकमा अमेरिकाले लडेको युद्धको नाम सोध्न सक्छन् । आवेदकले पहिलो विश्व युद्ध, दोस्रो विश्व युद्ध, कोरियाली युद्ध, भियतनाम युद्ध वा गल्फ युद्ध मध्ये एउटा जवाफ दिएमा उक्त जवाफ सही हुन्छ ।

अमेरिकी नागरिकताको परीक्षामा प्रस्तावित परिवर्तन लागु नहुने, २००८ कै प्रणालीको निरन्तरता

तर प्रस्तावित नयाँ ढाँचामा आवेदकले उक्त प्रश्न पढेर दिइएका ४ विकल्पमध्येबाट एउटा सही जवाफ छनौट गर्ने उल्लेख थियो । एक सही जवाफ छनोट गर्नको लागि आवेदकले १९०० को शतकमा अमेरिकाले लडेका सबै पाँचवटा युद्धहरू जान्नै पर्ने र त्यसका लागि भाषा प्रवीणता र परीक्षा लिने सीप उल्लेखनीय रूपमा उच्च स्तरको हुनुपर्ने भएको चिन्ता व्यक्त गरिएको थियो ।

हाल आवेदकले उत्तीर्ण हुनका लागि १० मध्ये छवटा प्रश्नहरूको सही जवाफ दिनुपर्छ। ती १० प्रश्नहरू १०० वटा प्रश्नहरूको बैंकबाट चयन गरिएका हुन्छन् । आवेदकलाई कुन प्रश्नहरू छनोट गरिनेछ भन्नेबारे जानकारी दिइदैन तर परीक्षा दिन अघि १ सय प्रश्नहरू हेर्न र अध्ययन गर्न सक्छन् ।





Source link

Leave a Comment