श्रीमान् विदेश हुनेहरू चौघेरामै थुनिनुपर्ने हो ?


हिजोआज सामाजिक सञ्जालमा समय नबिताउनेहरू कमै होलान् । मनोरञ्जनको लागि टिकटक त अझ धेरैको रोजाइमा पर्ने गरेको छ। टिकटकलाई धेरैले आफ्नो क्षमता प्रदर्शन गर्ने, प्रचारप्रसार, व्यापार व्यवसाय, सचेतना अभिवृद्धि गर्ने एउटा महत्वपूर्ण प्लाटफर्मको रूपमा लिइरहेको देखिन्छ ।

मैले पछिल्लो दुई वर्षदेखि टिकटक चलाइरहेको छु । यसबाट मनोरञ्जनसँगै नयाँ सूचना थाहा पाउन सजिलो भएको छ। तर, टिकटकमा चाहिने र सकारात्मक सूचना मात्रै आउँदैन । हेर्दिनँ भन्दाभन्दै पनि कैयौं कन्टेन्ट पेजमा आफैं आइरहेका हुन्छन् ।

करिब डेढ महिनादेखि टिकटकमा हेर्न मन नलागेको कन्टेन्ट पनि आइरहेकै छ । जसले गर्दा मलाई त्यति धेरै सहजता महसुस भएको छैन । विषय हो, पछिल्लो समय भाइरलजस्तै बनेको ‘तिम्रो बुढो विदेशमा हो ? अनि तिमीसँग हिंड्ने भुसतिघ्रे को?’ बोलको गीत र त्यसमा गरिएका थरिथरिका अभिनय ।

हरेकपटक स्क्रोल गर्दा बज्ने यो गीतमा गरिएका अभिनयले मलाई बिझाइरहेको छ । अनि, वैदेशिक रोजगारमा आवद्ध परिवारका सदस्यहरूलाई कताकता गिज्याइरहेको महसुस भइरहेको छ। यो गीतमा बनेका टिकटक हेर्दा/सुन्दा यस्तो लाग्छ कि, श्रीमान् वैदेशिक रोजगारमा गएकाले घरमा एक्लै रहेका श्रीमतीहरू परपुरुषसँगको सम्बन्धमा हुन्छन् नै ।

यही क्षेत्रमा काम गर्ने भएकाले पनि होला, मलाई गीतभित्रको यो असंवेदनशीलता पटक्कै मन परेन । श्रीमान् वैदेशिक रोजगारीका लागि विदेश गएपछि घर–परिवार सम्हालेर बसेका महिलाहरूमाथि यस्ता गीत र गरिएका अभिनयले कस्तो चोट परेको होला ?

‘तिम्रो बुढो विदेशमा हो? अनि तिमीसँग हिँड्ने भुसतिघ्रे को ?’ बोलको गीत भाइरल बनेको केही सातापछि फेरि पुरुषहरूलाई लक्षित गर्दै अभिनय थालियो, ‘तिम्रो बुढी विदेशमा हो? त्यसो भए तिमीसँग हिँड्ने को?’ झट्ट सुन्दा त आनन्द पनि लाग्यो, ‘कति महिलालाई मात्रै आक्षेप लगाउनु? पुरुषको पनि पालो आएछ । ठिक्क पर्यो ।’ तर, त्यो विचार एकैछिनमा सेलायो ।

संवेदनशील भएर सोच्दा लाग्यो, के यसरी आरोप–प्रत्यारोप उपयुक्त होला ? यसले आप्रवासीका परिवारलाई हेर्ने दृष्टिकोण कस्तो बन्ला ? आखिर एकले अर्कालाई दोषारोपण गरिरहँदा कसले के जित्ला? हाम्रो समाज कहाँ पुग्ला ?

करिब साता दिनअघि म विराटनगरमा रहेको एउटा कस्मेटिक पसलमा पुगेको थिएँ। ग्राहकको घुइँचो थियो । मैले सामान खरिद गर्न केहीबेर कुर्नपर्यो । फुर्सदमा मेरो हात टिकटिकमै पुग्यो। टिकटक खोल्ने बित्तिकै बज्यो उही गितमा बनेको टिकटक ।

म कस्मेटिक पसलको नियमितजस्तै ग्राहक हुँ । त्यसैले पसल संचालन गर्ने महिलाका श्रीमान् वैदेशिक रोजगारमा रहेको कुरा मलाइ राम्रो ज्ञान थियो । हामीबीच केही घनिष्ठता पनि छ । त्यही भएर पनि होला उनले भनी हालिन्, ‘मलाई यो गीतमा बनेको टिकटक सुन्यो कि रिस उठ्छ !’ उनले यस्ता गीत र अभिनयले आफूलाई गिज्याएको महसुस हुने गरेको बताइन् । मलाई पनि ननिको लाग्यो ।

यो त एउटा प्रतिनिधि पीडा मात्रै हो । आप्रवासनमा रहेका व्यक्ति र परिवारका सदस्य विशेषतः महिलाहरूलाई हेर्ने दृष्टिकोण समाजको तल्लो तहसम्मै त्यति सकारात्मक छैन । आप्रवासनको क्षेत्रमा समुदायस्तरमै रहेर काम गरेका कारण पनि त्यस्ता महिलाले भोगेका डरलाग्दा अनुभवहरूलाई प्रत्यक्ष देख्न, सुन्न र अनुभूति गर्न पाएको छु ।

वैदेशिक रोजगारी आमनेपालीको बाध्यता बनेको छ । परिवारको सुख खोज्दै रोजगारीका लागि आफ्ना प्रियजनबाट अलग्गिएर सात समुद्रपारी वैदेशिक रोजगारमा जान उनीहरू विवश छन् । यो भुल्न हुँदैन कि, यो विवशता पुरुषले मात्र भोगिरहेका छन् । काखे र दूधे छोराछोरी छाडेर वा अन्य परिजनबाट बिछोडिएर वैदेशिक रोजगारीमा जाने महिलाहरू पनि बढिरहेका छन् ।

श्रीमान् परदेशमा रहँदा कसैले कसैलाई सामाजिक लान्छाना वा आरोपलगायका छन्, दुर्व्यवहार र गालीगलौज गरिरहेका छन् । श्रीमान् विदेश गएका बेला गाउँ, समाज र आफन्तबाटै घरमा बस्न अप्ठ्यारो हुने खालका व्यवहार भएका छन् भने यो कानुनी रूपमा अक्षम्य अपराध हो

तथ्याङ्कअनुसार वैदेशिक रोजगारीमा गएकामध्ये पाँच प्रतिशत हारहारी महिला छन् । रोजगारी खोज्दै, केवल पैसा कमाउने उद्देश्यले दिनकै २२ सयले देशको भूमि छोड्छन् । उनीहरू कुन सकसले उता काम गर्लान् ? अनि उनीहरू फर्किएर आउने दिन गनेर देशमा पखेर्र बस्नेहरूको सकस कति होला ? अझ श्रीमान् वर्षौं वर्ष विदेश हुँदा बालबच्चा हुर्काउँदै पारिवारिक तथा सामाजिक जिम्मेवारी निर्वाह गरेको लेखाजोखा कसले गर्ला? त्यो जसलाई परेको छ उसैलाई थाहा छ ।

विदेशमा श्रीमान् रहेका श्रीमतीहरू अर्कैसँग हिँड्छन्, पैसा उडाउँछन्, श्रीमान्को दुःख बुझ्दैनन् भनेर नेपाली समाजले जबरजस्ती गलत भाष्य निर्माण गरेको छ । अर्कैसँग हिँड्ने नहिड्ने कुरा श्रीमान विदेशमा हुनु नहुनुले निर्धारण गर्दैन । अनि महिलाहरू सुन्दर बन्ने, हिँड्ने रमाउने कुराको साइनो श्रीमान् विदेशमा भएको विषयसँग जोडिँदैन ।

अर्को कुरा, श्रीमान् विदेशमा हुने महिलाहरू यता कुनै पुरुषसँग हिँड्नै नहुने ? कुनै पुरुषसँग हिँड्यो, बोल्यो, चिया कफी खायो कि आरोप लगाइहाल्नुपर्ने ? त्यो पुरुष उसको दाइभाइ हुन सक्दैन? आफन्त हुन सक्दैन? वा असल मनको सह्रृदयी साथी हुन सक्दैन ?

यो गीतमा उफ्रीउफ्री विभिन्न रुपरंग धारणा गरेर नाच्नेहरू पुरुषभन्दा महिला बढी छन् । श्रीमान् विदेश हुनेहरू चौघेरामै थुनिएर बस्नुपर्ने हो ? उनीहरू बाहिर ननिस्कनु? काम नगर्नु ? नहिँड्नु ? नबोल्नु ?

यस विषयमा पुरुषहरूले मात्रै हैन, महिलाहरूले पनि उत्तिकै बनाएको देखिन्छ । कम्तीमा यो गीतले के भन्न खोजेको हो ? मैले के गरिरहेको छु ? यसले के सन्देश दिन्छ भन्ने कुरा ख्याल गर्नुपर्ने होइन र ? यसले त वैदेशिक रोजगारीमा रहेका सदस्यको परिवार उसका बालबालिकालाई पनि कस्तो असर पर्ला ? विचार गर्नु पर्दैन ?

गत आर्थिक वर्षमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जाने व्यक्तिहरूको संख्या कुल आठ लाख सात हजार ६ सय ९३ छ । त्यसमध्ये ८८ हजार सात सय ६३ महिला छन् । संख्याले नै पुरुषहरू बढी वैदेशिक रोजगारमा गएको देखाउँदा घरमा कुरेर बस्ने महिलाका विषय, प्रसंग अलि बढी उठ्नु स्वाभाविक हो । तर, महिला र पुरुष उही संख्यामा वैदेशिक रोजगारमा जाने हो भने पक्कै स्वदेशमा रहेका पुरुषहरूको घटनाहरू बढी आउँथे होलान् ।

सुरक्षित आप्रवासनका लागि काम गरिरहेको सामी कार्यक्रमले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका २८ वटा स्थानीय तहमा गरेको आप्रवासनसँग सम्बन्धित सर्वेक्षणले कुल ८४ हजार ६ सय २३ वैदेशिक रोजगारमा गएका व्यक्तिमध्ये २१ सय २८ पुरुषले दोस्रो विवाह गरेका छन् । यो वैदेशिक रोजगारीमा जाने कुल संख्याको २.५ प्रतिशत हो । जबकि, सोही संख्यामा दोस्रो विवाह गर्ने महिलाहरू भने ३३५ अर्थात ०.४ प्रतिशत मात्रै छन् । अब तथ्याङ्कले नै बोलिसक्यो वास्तविकता के हो ? अनि, विना तथ्य वैदेशिक रोजगारले घर भाँडियो, समाज सकियो, पुरुष फर्कंदा श्रीमती र सम्पति दुवै छैनन् भन्ने भाष्यहरू निर्माण गरिएका छन्, जुन सर्वथा गलत छन् ।

यदि, भाष्य गलत होइन भन्नेहरू छन् भने तथ्य गलत हो भन्ने आधारसहित बहस गरौँ । फेरि, दास्रो विवाह विदेश जाँदा वा नजाँदा मात्रै हुने पनि त होइन । नेपालमै रहँदा पनि कति परिवारमा यस्ता घटनाहरू भई नै रहेका छन् । यहाँ महिला र पुरुषलाई तुलना गरेर को राम्रो, को नराम्रो भन्न खोजेको होइन । महिला सही पुरुष गलत भन्न खोजेको पनि हैन । खाली बोल्दा, लेख्दा, सामाजिक संजालको प्रयोग गर्दा अलि संवेदनशील बन्ने की  ! भन्ने मात्रै हो ।

टिकटक, फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जाल चलाउन कसैले सिकाउन नपर्ने हामीलाई मिडिया/सोसल मिडिया साक्षरता (लिटरेसी) कसले सिकाउला ? सोसल मिडियाको अनुगमन, नियमन कसले गर्ला ? उजुरी कसले गर्ला, कारबाही कसले गर्ला ? प्रश्नै प्रश्नका चाङहरू त छन्, तर जवाफ कसले देला ?

हो, बोल्न पाइन्छ । आफ्ना कुराहरू अभिव्यक्त गर्न पाइन्छ । संविधानले पनि विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हककै रूपमा सुनिश्चित गरेको छ । नेपालको संविधानको धारा १७ (२) (क) ले प्रत्येक नागरिकलाई ‘विचार र अभिव्यक्तिको स्वतन्त्रता हुने’ ग्यारेन्टी गरिदिएको छ । तर, त्यसको मतलब अर्काको नैतिकतामा प्रश्न उठाउने, अरुको भावनमा चोट पुर्याउने गरी गाउन, बोल्न त पाइँदैन । चाहे जुनसुकै तरिकाबाट होस्। सामाजिक सञ्जालबाट त झन् यस्ता आरोप, लान्छना लाउन पाइँदैन ।

श्रीमान् परदेशमा रहँदा कसैले कसैलाई सामाजिक लान्छाना वा आरोपलगायका छन्, दुर्व्यवहार र गालीगलौज गरिरहेका छन् । श्रीमान् विदेश गएका बेला गाउँ, समाज र आफन्तबाटै घरमा बस्न अप्ठ्यारो हुने खालका व्यवहार भएका छन् भने यो कानुनी रूपमा अक्षम्य अपराध हो । आफूमाथि भइरहेको दुर्व्यवहार, लान्छना, आरोप र त्रासलाई दबाएर बस्नेभन्दा पनि कानुनको सहायता लिने गर्नुपर्छ ।

मुलुकी अपराधसंहिता २०७४ ले पनि लेखेर, बोलेर, इसारा, सङ्केत वा चिह्न बनाएर अथवा कुनै पनि किसिमले श्रीमान् परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनुलाई अपराधको रूपमा परिभाषित गरेको छ । यस्ता कुनै पनि कसुर गर्ने, गराउने व्यक्तिलाइ दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्थासमेत कानुनले गरेको छ ।

त्यसैले रमाइलोको लागि प्रयोग गर्ने सामाजिक सञ्जालमा आफ्ना पोष्टहरू गर्नुअघि विचार गरौं । आफूले बोलिरहेको, अभिनय गरिरहेको विषयले अरुलाई चोट पुगेको पो छ कि ? वा कानुनविपरीत नै पो छ कि ? भोलि दण्ड नै पो हुन्छ कि ! समाजमा होस् कि सामाजिक सञ्जालमा सभ्यता प्रदर्शन गर्नु आफ्नो दायित्व सम्झौं ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School