समाज विकासमा विज्ञानको प्रभाव : RajdhaniDaily.com


नेपाली समाजमा एउटा लोकोक्ति छ, उहिलेका कुरा खुइले । पाका पुस्ता भन्छन्, ‘अहिलेका मानिसलाई सुविधा त कति हो कति । अहिले प्रायः मानिसको हातमा मोबाइल छ । घाँस, दाउरा, खेत, खलो, वन वाटिका, देश परदेश जता भए पनि घर, परिवार, साथीभाइ आफन्तजन सबैसंग कुराकानी हुन सक्छ । बाजेको पालामा परदेश गएको छोरा कहाँ छ ? गन्तव्यमा पुगे वा नपुगेको थाहा हुने कुनै सूचना थिएन । घरमा गएकी छोरीको खबर थाहा पाउन मेलापर्व आउनुपथ्र्यो । समाजमा वर्षौंसम्म विदेशमा भएका श्रीमान्को पर्खाइमा जवानी बिताउने श्रीमतीहरू धेरै हुन्थे । परदेश गएका बुबाको पर्खाइमा बाल्यकाल बित्ने छोराछोरीहरू पनि समाजमा हुन्थे ।’ यो इतिहासबाट आजको युगसम्म आइपुग्दा विज्ञान र प्रविधिको विकासले मानव जीवनमा ठूलो फेरबदल ल्याइदिएको छ ।

विकसित देशहरूले विज्ञान र प्रविधिको क्षेत्रमा गरेको विकासको उपभोग आजका अल्पविकसित देशका मानिसहरूले गरिरहेका छन् । यातायात र सञ्चारको क्षेत्रमा भएको चामत्कारिक विकासले दुनियाँ बदलिएको छ । यातायातको सुविधाले केही दिन वा घण्टाको समयमा विश्वका देशहरू भ्रमण गर्न सकिने भएको छ । समाज गतिशील हुन्छ । यातायातको सुविधाले आज संसार एउटा गाउँजस्तो भएको छ । बीसौं शताब्दीको सुरुआतमा राइट दाजुभाइले आविष्कार गरेको हवाईजहाजले आजको समयसम्म आइपुग्दा आश्चर्यचकित पार्ने विमानहरू निर्माण भएका छन् । विज्ञानको उपलब्धि मानव जातिको कल्याणका लागि मात्र उपयोग भएको छैन । आकाशबाट मानवबस्तीहरू खरानी पार्न सक्ने लडाकू विमानहरू पनि प्रयोग भएका छन् । विज्ञानको नकारात्मक प्रयोग विश्व समुदायका लागि सुखद कुरा होइन । हुन सक्दैन । तथापि, वायुयानहरूको सुविधाले आज संसार साँघुरिएको छ ।

समयको विकाससँगै मानिसले आकाश, जमिन र जलमा द्रुतगतिमा हिँड्न सक्ने यातायातका अनेक प्रकारका साधनहरू निर्माण भए । एक ठाउँबाट अर्को ठाउँमा पुग्न मानिसलाई महिनांै लाग्ने ठाउँहरू अहिले घण्टामै पुग्न सकिने भएको छ । मानिस एक ठाउँबाट अर्को ठाउँमा पुग्न सक्ने साधनहरूको विकासमा मात्र विज्ञान र प्रविधि सीमित रहेन । सञ्चारको क्षेत्रमा भएको विकासले यो युगलाई नै प्रभाव पारिरहेको छ । यो युगमा जीवन बिताइरहेको समाजको जीवनशैली तीव्र रूपमा बदलिदिएको छ ।

अन्तरिक्षमा जाने रकेट, कृत्रिम भू–उपग्रह, तथा अन्तरिक्ष यानहरू अन्तरिक्षमा उडिरहेका छन् । घुमिरहेका छन् । आजका विकसित देशहरूले अन्तरिक्षमा नयाँ–नयाँ क्रान्ति गरिरहेका छन् । अन्तरिक्ष उडान थालिएको केही दशकपछाडिसम्मको अनुसन्धान र आविष्कारको यात्रामा आज चन्द्रलोकमा पानी, अक्सिजन र गुरुत्वाकर्षणको खोजी भइरहेको छ । चन्द्रलोकमा मानवबस्ती बसाउने योजनामा वैज्ञानिकहरू लागेका छन् । शुक्र र बृहस्पति ग्रहहरूमा मानव बस्ती बसाउनका लागि अनुसन्धान भइरहेको छ । यस कोणबाट हेर्दा विज्ञानले आजको मानिसलाई आश्चर्यजनक विकास र सुविधाहरूको उपलब्धता गराइदिएको छ ।

यातायातको क्षेत्रमा भएको विकासले मानिस अन्तरिक्षमा यात्रा गरिरहेको छ । पानीमा हिँडिरहेको छ । जमिनमा गुडिरहेको छ । पहाडहरू छेंडेर सुरुङमा दौडिरहेको छ । विज्ञानको आविष्कार यातायातको क्षेत्रमा मात्र सीमित रहेन । कम्प्युटर र मोबाइलमा सेटिङ गर्न सकिने इन्टरनेटको विकास गरेर मानिसहरूलाई सेकेन्डको समयमा भूगोलका कुनाकाप्चाका समाचारहरू थाहा पाउने भएको छ । कम्प्युटर र मोबाइलद्वारा सञ्चालित इन्टरनेटले आजको युगलाई एउटा गाउँजस्तो बनाएको छ । हरेक महादेशमा बस्ने मानिसहरूबीचमा आपसी भेट गराएको छ ।

पहिले पहिले राज्यले जनतालाई सूचना दिनका लागि दमाहा बजाइन्थ्यो, झ्याली पिटाइन्थ्यो । कर्नाल फुकिन्थे । तर, आजभोलि सेकेन्डभरमा विश्वका कुनाकाप्चाका समाचारहरू पढ्न र सुन्न पाइने सुविधा छ । सूचना र प्रविधिको क्षेत्रमा भएको विकासले मानिसको जीवनशैली नै परिवर्तन गरिदिएको छ । अहिले स्मार्ट मोबाइल मानिसको हातहातमा छ । आधुनिक युगका लागि विज्ञानले उपहारका रूपमा दिएको डिजिटल सुविधाले विश्वका मानिसहरू घरै बसी बसी देश दुनियाँको खबर सुन्न, देख्न र बुभ्mन सक्ने अवस्था छ ।

इन्टर भनेको भित्री र नेट भनेको जालो हो । आजको दुनियाँमा इन्टरको प्रयोग हरेक क्षेत्रमा हुने गरेको छ । शिक्षा, स्वास्थ्य, व्यापार, यातायात, कृषिलगायतका क्षेत्रमा इन्टरनेटले खेलेको भूमिका ठूलो छ । डिजिटल प्रणाली सुरु भएर भूगोलको एउटा कुनाबाट अर्को कुनामा रहेको कम्प्युटर तथा मोबाइलको सेटसँग सम्बन्ध स्थापना गरी दूर शिक्षा, अनलाइन सिकाइ, ई–लाइबे्ररी, खोज, अनुसन्धानलगायतको क्षेत्रमा इन्टरनेटको प्रयोग अत्यन्त प्रभावकारी मानिन्छ । यसका साथै इन्टरनेटभित्र अडियो, भिडियो,लगायतका सुविधाहरूको उपलब्धता भएसँगै डिजिटल सञ्जालमा मिनेटभित्र नै संसारका कुनाकाप्चाहरूमा रहेका आफन्तजन, इष्टमित्र, साथीसँगीहरूसँग फेस टु फेस कुराकानी गर्ने सुविधा छ ।

इन्टरनेटलाई ज्ञानको सागरको रूपमा उपयोग गर्नेहरूको संख्या ठूलो छ । गुगललाई ज्ञानको स्रोत तथा गुरुहरूको पनि गुरु मानिन्छ । पढाइ, लेखाइ, खोज, अन्वेषण, अनुसन्धान तथा विश्व जगत्मा भएको ज्ञानको स्रोतको रूपमा गुगलको व्यापक उपयोग हुँदै आएको छ । सञ्चारको कुरा गर्दा मानिस वा घरपरिवारका सदस्यहरूलाई समाचार पठाउने माध्यम हुलाक थियो । हुलाकबाट पठाएका चिठीपत्रहरू प््रााप्त गर्न महिनौं लाग्थ्यो । अहिले इन्टरनेटको सुविधाका कारण आज हरेक सेकेन्डमा समाचार पठाउने मात्र होइन, भिडियोहरूमा भेटघाट सक्ने कम्प्युटर, ल्यापटप, ट्याब, मोबाइलजस्ता उपकरणहरूको सुविधा छ ।

उहिलेका कुरा खुइले भन्ने पाका पुस्ताको बुझाइ वर्तमान समाजको जीवनशैलीसँग सान्दर्भिक देखिन्छ । ऊ बेलाका कुरा यो बेलामा एकादेशको कथा भएको छ । अहिले इन्टरनेटमा जोडिएका सामाजिक सञ्जालहरूले समाजलाई जोडेको छ । आपूmले चाहेका व्यक्तिहरूसँग भिडियोमा आफंै अगाडि देखेर, अनुभव गरेर हाउभाउसहित कुराकानी, दुःख सुख, सरसल्लाह आदि गर्न सकिने सुविधा छ । अहिले विश्व डिजिटलाइज्ड भइसकेको अवस्था छ । आज यो डिजिटल सञ्जाल मानिसलाई भेट गराउने माध्यममा मात्र सीमित छैन । यसको प्रयोग व्यापक छ । शिक्षा, स्वास्थ्य, व्यापार, उपचार, मनोरञ्जन, सरकारी कार्य, वायुयान, भौतिकशास्त्र, रसायनशास्त्र, जीव विज्ञान र इन्जिनियरिङ, कृषिलगायतको क्षेत्रमा कम्प्युटर, इन्टरनेट तथा सामाजिक सञ्जालहरूको प्रयोग र प्रभाव व्याप्त बन्दै गएको छ । यसका साथै बिरामीको स्वाथ्यको अवस्था पनि यसबाट बुभ्mन सकिने भएको छ ।

दूरसञ्चारका क्षेत्रमा भएको सुविधाले आजको मानिसले एक महादीपबाट अर्को महादीपमा वा एक ठाउँबाट अर्को ठाउँमा तत्कालै सम्पर्क गर्न सकिने भएको छ । यसको माध्यमबाट विश्व जगत्मा भएका विभिन्न प्रकारका ज्ञान प्राप्त गर्न सहज भएको छ । इन्टरनेटमा व्यापार, मनोरञ्जन, शिक्षा, कला, इमेल, रेडियो, भिडियो, टेलिफोन, प्mयाक्स, खेल, पुस्तकालय आदि इत्यादिको सुविधा उपलब्ध छ । सामाजिक सञ्जालभित्र फेसबुक, म्यासेन्जर, ट्वीटर, ह्वाट्सएप, टिकटकलगायतका सुविधाहरूले कतिपय मानिसहरू सामाजिक प्रतिष्ठा तथा अर्थोपार्जन गर्ने अवसर पाएका छन् ।

त्यसो त विज्ञानले वरदानको रूपमा मात्र काम गरिरहेको छैन । तथापि विज्ञानको आविष्कारबाट निर्माण भएका हरेक साधन तथा उपकरणहरूको प्रयोग मानिसले नै गर्ने भएकाले यसको उचित प्रयोग गर्न पर्दछ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले यसको दुरुपयोग पनि गर्ने गरेका समाचारहरू आइरहेका हुन्छन् । सामाजिक सञ्जालको अत्यधिक प्रयोग गरेर सिर्जर्नामक प्रतिभा हराउँदै गएको अवस्था छ । विद्यार्थीहरूमा पुस्तक पढ्ने रुचि कमजोर हुँदै गएको छ । सामाजिक सञ्जालले नयाँ पुस्ता सिर्जनात्मक काममा भन्दा मनोरञ्जनात्मक क्रियाकलापहरूमा व्यस्त बनाएको, एकोहोरो बनाएको र शारीरिक तथा मानसिक असर गरिरहेको पनि छ । तथापि यसको प्रयोग मानिसको हातमा भएकाले विज्ञानको यो उपहारलाई उपलब्धिको रूपमा लिनुपर्छ ।

अन्त्यमा, आजको युग विज्ञानले दिव्य जादु देखाएको युग हो । विज्ञान र प्रविधिको आविष्कारले आजका देशहरू विपन्नताबाट भौतिक सम्पन्नतातर्फ अगाडि बढिरहेका छन् । अविकासको अँध्यारोबाट विकासको उज्यालोतिर अगाडि बढ्न विज्ञान र प्रविधिले महत्वपूर्ण भूमिका खेलेको छ । यो युगलाईलाई नै बदलिदिएको छ । तसर्थ, विज्ञानको आविष्कारलाई विनाशमा होइन, निर्माणमा लगाउनुपर्छ । दुरुपयोग होइन, सदुपयोग गरांै ।

(Visited 4 times, 1 visits today)





Source link

Leave a Comment