सिमसारा: फुल्न बिर्सिएको पैँयुको कथा

सिमसारा: फुल्न बिर्सिएको पैँयुको कथा


‘तपाईंको आँगन छेउमा रोपिराखेको पैयुँ, विचार गर्नुहोस् त। स्याप्प सुकेर उभिइराखे जस्तै लाग्छ। भित्रदेखि चाहिँ बहुत बलियो पो हुन्छ।’

भर्खरै बजारमा आएको बसन्त बस्नेत लिखित उपन्यास सिमसारामा उपन्यासको पात्र बिजुवा बाजेले पैयुँ र गोगनको कथा यसै भनेर समाप्त गरेका छन्।

उपन्यास पढ्दा अनुभूति हुन्छ, यो संसार, हामीले बाँचेको समाज र हाम्रो परिवेश कथाहरूको पुञ्ज हो। यहाँ प्रत्येक मानिससँग भन्नको लागि केही कथाहरू छन्। हरेक रुख, बिरुवा, चराचुरुङ्गीहरूले पनि आ-आफ्नै शैलीमा आ-आफ्नै भाकामा भनिरहेकै छन् कथा। र, ती कथामार्फत सिकाइरहेकै छन् हामीलाई बाँच्ने कला। तर, ती कथा बुझ्ने हृदय कहाँ हुन् खै र आम मानिसमा। त्यसैले त हामीलाई लेखक चाहिन्छ। अझ समाजमा ती कथा बुझ्न सक्ने लेखक, जसले आफ्नो चेतनाको द्वार हरबखत खुला छाडेको हुन्छ। जहाँबाट प्रवेश गर्न सकुन् आफ्नो गाउँघरमा बिजुवा बाजेले बोकेर हिँडेका कथा।

मस्तिष्कलाई झङ्कृत पारुन् आँगनमा फुल्ने पैयुँको बोटको कथाले। यस्तै कथालाई उपन्यासको कथामा बुनेर जीवनदर्शन प्रवाह गर्छन् बसन्त बस्नेत सिमसारामा।

उपन्यास सिमसारामा पैयुँको बोट उपन्यासका पात्रहरूको जीवनीको उतारचढावलाई प्रतिबिम्बित गर्नलाई प्रयोग गरिएको सशक्त विम्ब मात्र होइन, उपन्यासकारले प्रवाह गरेको विचारसमेत हो। उपन्यासमा नबोलेरै पैयुँले जीवन जिउने कला सिकाउन खोजिरहेको छ।

उसले मन्दाक्रान्तालाई उनीभित्र रहेको सामर्थ्यलाई चिन्न, बुझ्न आह्वान गरिरहेको छ। तर, उनले पैयुँको आवाज सुन्न सकिरहेकी छैनन्। त्यसैले त समाजले थोपरेको साँघुरो चौघेराभित्र आफ्नो खुसीलाई ‘बन्धक’ राखी हृदयलाई चिसो पारी बस्छिन् उनी।

जीवनको न्यानोपनलाई टाढा भगाइ बस्छिन्। बोली र व्यवहारलाई खस्रो पारी बस्छिन्। मन्दाक्रान्तले आम मानिसको प्रवृत्तिलाई प्रतिबिम्बित गर्छन्। हामी पनि त त्यसै गर्छौँ। आफ्नो सामर्थ्यलाई चिन्न, बुझ्न र इन्कार गर्छौँ। आफ्नो खुसीको चाबी अरूलाई सुम्पिन्छौँ, पति, सन्तान, बा, आमा, पत्नी, साथीभाइ, आफन्त र सायद दुश्मनलाई समेत। अनि खस्रो भइरहन्छौँ। चिसो भइरहन्छौँ। वाह ! सिमसराले गजब जीवनदर्शन प्रस्तुत गरेको छ।

जीवनदर्शन प्रस्तुत गर्न उपन्यासको शिल्प पक्षलाई बोझिलो नबनाइकन पनि त सम्भव रहेछ। मानव जीवनको उतारचढावलाई अत्यन्त सरल र सहज ढंगले पस्किने बस्नेतको खुबी सिमसारामा देख्न सकिन्छ। क्लिष्टतालाई मात्र उम्दा साहित्य मान्ने जमातलाई सरलता सृजनाको उत्कृष्टता हो भन्ने कुराको पुष्टि त भर्खरै नोबेल पुरस्कार प्राप्त कृति ‘द भेजिटेरियन’ ले पनि गरेकै छ त। बरु शिल्प संरचनामा नवीनता ल्याउने मोहमा उपन्यासलाई प्राविधिक जन्जालमा फस्नबाट थपक्क जोगाएका छन् बस्नेतले।

प्राविधिक जटिलतामा नफसिकन गहन वैचारिकता बोकेर अघि बढेको उपन्यास हो सिमसारा। सिमसाराको शैली सरल छ तर, निरस भने छैन। डायरी, चिठीमार्फत केही पात्रको कथा प्रस्तुत गरेर कथावाचनमा रोचकता र विश्वसनीयता सृजना गरिएको छ। तर, प्रमुख पात्र र अत्यन्त शक्तिशाली पात्र मन्दाक्रान्ताको कथा उनी आफैंलाई भन्न नदिनुचाहिँ उनीमाथि गरिएको अन्याय हो भन्ने अनुभूति पाठकलाई हुनसक्छ।

पाठकले सम्बतसँग अपनत्व अनुभव गर्छन्। किनकि, सम्बतले आफ्नो कथा आफैँ सुनाएर पाठकलाई आफ्नो सुख-दुःखको साक्षी बनाएको छ। धनरुपको र उसकी कान्छी स्वास्नी छायाँदेवीको समेत मनोभाव तिनकै शब्दमा सुन्ने मौका पाएका छन् पाठकले। तिनले समेत पाठकको हृदयमा अपनत्व पैदा गरेका छन्। तर, मन्दाक्रान्ता भने दुःखको पहाड बोकीकन पनि संघर्षको नदी एक्लै तरीकन पनि चिसो र खस्री नै लाग्छिन्।

उनका हृदयको पीडा, उथलपुथल, उनको शब्दमा, उनको शैलीमा सुन्न पाएको भए ! भन्ने लागिरहन्छ पाठकलाई। तर जुन पात्रले आफ्नो कथा सुनाएका छन्। तिनको मनोविज्ञान अत्यन्त सूक्ष्म ढंगले प्रस्तुत गर्न उपन्यास सफल भएको छ।

पहाडको कथा बोकेको सिमसाराले पात्रको मनोविज्ञानलाई पहाडमा बग्ने कञ्चन नदी सतहमा रहेका ढुंगा, बालुवा, छर्लङ्ग देखिएझैँ छर्लङ्ग हुनेगरी प्रस्तुत गरेको छ। उपन्यासको परिवेश र पात्रको जीवनको उतारचढाव समानान्तर बाटोमा अघि बढेको छ।

उपन्यासमा पात्रको जीवनमा लेकमाझैँ खुसीको घाम अत्यन्त न्यून लाग्छ। दुःखको स्याठचाहिँ चली नै रहन्छ अनवरत। तिनको जीवनमा हरदम लागेको तुसारोले बेलाबेलामा पाठकको आँखामा पनि डम्म बादललागेझैँ हुन्छ र अक्षर देखिन छोड्छ।

डायरीमार्फत उपन्यासकापात्रहरूको दुःखको जड उद्घाटित गर्नु उपन्यासको अर्को शैलीगत विशेषता हो। वास्तवमा धनरुप ‘फियर अफ इन्टीमेसी’ बाट ग्रसित छ। आमाको मृत्युपश्चात् आमाको प्रेम र वत्सल्यबाट बाल्यकालमै वञ्चित धनरुपमा वयस्क हुँदै गर्दा फियर अफ इन्टिमेसी बढ्दै जान्छ।

फ्राइड भन्छन्, “आफू भावनात्मक रूपमा कसैसँग नजिक भएमा त्यो व्यक्ति आफूबाट फेरि टाढा हुन्छन् कि भन्ने डर बसेको हुन्छ। बाल्यकालमा आफ्नो बाबुआमा वा नजिकको व्यक्ति गुमाउने बालकमा।” त्यसैले जब ऊ वयस्क हुन्छ, कसैसँग भावनात्मक रूपमा नजिक हुनबाट आफूलाई रोक्छ। उपन्यासमा धनरुपको अवस्था त्यस्तै छ। उनी आफ्नो मनोदशा डायरीमा लेख्छन्-

एकछिन छातीमा न्यानो जस्तो भएर आउँछ। एकैछिनमा सेलाइहाल्छ। भनिगए नि, माया त मेरो हृदयमा धेरै बेर बस्दै बस्दैन। लुगामा लुटुपुटु पारी राखेर छाडेको कपूरको बास्नाझैँ त्यो केही समयलाई रहन्छ। त्यसपछि बिलाइजान्छ। मलाई चार्ज गरिराख्नुपर्छ। नत्र म छिट्टै चिसिन्छु। उकेरा लगाइबस्नुपर्छ, नत्र माटो मै सेलाउँछु।

उपन्यासले धनरुपको मनोविज्ञानलाई उजागर गरेर बहुविवाह गर्ने पात्रको निम्ति पनि घृणा होइन, सहानुभूति नै जगाउने काम गरेको छ। उपन्यासले ‘विवाह संस्था’ मा समेत बहस छेडेको छ। विवाह, यो समाजले बनाएको नियम र राज्यले बनाएको कानुनले मात्र समेट्ने विषय हो ? हामीले कतै कानून र नियमको परिधिभित्र विवाह संस्थाको नाममा व्यक्तिको स्वतन्त्रतालाई कुण्ठित बनाइरहेका त छैनौँ ? विवाह भनेको आफ्नो पत्नी अथवा पतिको व्यक्तिगत इच्छा, चाहना, स्वतन्त्रतालाई कुण्ठित गर्ने लाइसेन्स हो ?

समाज र राज्यले प्रदान गरेको ? धनरुपको जस्तै मानसिक अवस्थाबाट खराब बाल्यकालबाट गुज्रिएको पति वा पत्नीलाई आफ्नो जीवन साथीले कतिको चार्ज गरिराख्छन् ? तिनको हृदयमा प्रेमका ताप प्रदान गर्छन् कि गुनासोको सिरेटो चलाइबस्छन् मनदाक्रान्तालेझैँ ? आफ्नो जीवन साथीलाई आफ्नो निजी सम्पत्ति जस्तो व्यवहार गर्न नपाउँदा हुर्कँदै गरेको आफ्नो सन्तानको जीवनमा हिउँ जमाइदिएका त छैनन् ? तिनको बाल्यपन खोसिराखेका त छैनन् ? (जसरी सम्बतको बाल्यपन खोसिएको छ)

धनरुपलाई उसको मनस्थितिलाई बुझ्न नसक्नु नै मन्दाक्रान्ताको र सम्बतको जीवनमा, तिनको खुसीमा पहिरो जानुको कारकको रूपमा प्रस्तुत गरेर बस्नेतले पाठकलाई परिवारको सदस्यको मनोविज्ञान बुझ्न प्रेरित गरेका छन्। धनरुपले मसिनो आवाजमा भनिरहेकै छ त, “स्वास्नी छोराछोरीको लगाव मभित्र छैन। खासमा मलाई यही कान्छीको लगाव पनि उत्रो छैन।”

तर, त्यो मसिनो आवाजलाई सुन्न सक्ने धैर्यता, चाख र जाँगर कसैलाई छैन। अरुको कमजोरीमा मात्र ध्यान केन्द्रित गरेर दुःखको खाडल खन्ने अनि त्यसमै आफ्नो र आफन्तजनको खुसी बाँड्ने जो बानी परेको छ, आजको मानिसलाई, अनि मन्दाक्रान्ता अपवादमा पर्ने कुरै भएन। मन्दाक्रान्ताले उनको लोग्नेको मानसिक अवस्था बुझ्न सक्नु स्वाभाविक पनि छ। उनीले विद्यालयको शिक्षासमेत पाएकी छैनन्। लोग्नेलाई नै घरको मूल खाँबो भन्न सिकाउने समाजमा हुर्काएकी मन्दाक्रान्ताले मूल खाँबो धमिरा लागेर कमजोर भएको कुरा थाहा नपाउनु, बुझ्न नसक्नु, स्वाभाविक नै छ।

विवाहमा परिबारे प्रतिको जिम्मेवारी मात्र होइन, व्यक्तिगत स्वतन्त्रता पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ भन्ने सन्देश प्रवाह गर्न चाहना हुँदाहुँदै पनि यो सन्देश प्रवाह गर्न लेखक हिचकिचाएको हो कि भन्ने अनुभूति हुन्छ। लेखकको यो वैचारिकता उपन्यासको मुख्य पात्र तथा कथावाचक सम्बतमार्फत प्रवाह भएको छ। आफ्नो बुबाप्रति सम्बत कहिल्यै पनि नकारात्मक नहुन, बुबाप्रति असन्तुष्ट भएता पनि बहुविवाह गरेकै कारण बुबालाई घृणा भने नगर्नु, प्रत्यक्ष आक्रोश नपोख्नु, बुबाले सजायन पाउन भनेर इच्छा व्यक्त गर्नुले धनरुपको व्यक्तिगत स्वतन्त्रताको सम्मान गरेको अनुभूति हुन्छ। सम्बत त अझ सबैजना बुबा, आमा, कान्छयामा सबै सँगै बसे हुन्न भन्ने प्रस्तावसमेत गर्छ आफ्नी आमालाई।

उपन्यासले कताकता विवाह संस्थामा नै प्रश्न चिह्न खडा गरेको पनि अनुभूति हुन्छ पाठकलाई । सिमोन दि वेभोले आफ्नो पुस्तक ‘द सेकेण्ड सेक्स’ मा विवाह भनेको महिलालाई शोषण गर्न स्थापना गरेको एउटा संस्था हो। महिला शोषणको प्रमुख कारक तत्त्व विवाह नै हो भनेर दावा गरेकी छिन्। यस उपन्यासले महिला र पुरुष दुवैको खुसी र व्यक्तिगत स्वतन्त्रता खोस्ने सामाजिक बन्धन हो विवाह भन्ने किसिमको विचार पस्किएको छ।

उपन्यासको कथा न मन्दाक्रान्ता र धनरुपको वैवाहिक सम्बन्धमा आएको समस्या र त्यसबाट तिनको सन्तान सम्बतको जीवनमा देखापरेको जटिलतामा अघि बढेको छ। विवाह खुसीको स्रोत नभएर दुःखको कारक बनेको छ। पैयुँ र गोगने जस्तै बेग्लाबेग्लै परिवेशमा रमाउने बेग्लाबेग्लै इच्छा भएका व्यक्ति विवाह गरेर एक हुन खोज्नु सम्भव छँदै छैन।

जबसम्म यो कुरा मन्दाक्रान्ताले बुझ्न सक्तिनन् र विवाहलाई बचाउने सङ्घर्ष गरी बस्छे, तबसम्म उसले आफ्नो समस्यालाई पहिचान गर्न सक्दिनन्। उसले आफ्नो खुसी ठम्याउन सक्दिनन्। पैयुँ र गोगनेझैँ यी दुई दम्पती एउटै परिवेशमा रमाउनै सक्दैनन्। उपन्यासको दावा छ, क्षणिक आकर्षण जीवनभर मायाको ताप सृजना गर्न समर्थ छैन। त्यसले कालान्तरमा आफ्नो अस्तित्व जोगाउन गोगने आफ्नो अनुकूलको माटो खोजेको छ धनरुपलेझैँ। तर, मन्दाक्रान्ता जो समाजले थोपरेको नियमले आक्रान्त बनेकी छे। यो कुरा बुझ्न सक्तिनन्।

धनरुपले भनेको छ, ‘लेकमा बनाएको घरले मलाई जीवनमा सुख दिए जस्तो लाग्दैन। के पाइन्छ र घर बनाएर ? अझ यस्तो मुर्दा लेकमा।” त्यसैले उसले आफ्नो जीवनलाई लेकको चिसोबाट कठ्याङ्ग्रिन नदिने सोच बनाएको छ। उसले जीवनको चिठीलाई आफू सुहाउँदो खामभित्र हालेर आफ्नै नाममा पठाउने जमर्को गरेको छ।” उसको यस निर्णयलाई लेखकले खुलेर न त समर्थन गरेका छन्, न त विरोध नै।

सम्बत आमाबुबाको बीचमा आएको दूरीको कारण खोजिरहन्छ। उसलाई लाग्छ कि जमिनको दूरी ठुलै कुरा हो। यसले मायाको दूरी घटाउने होइन, बढाउँदै पो लैजान्छ। उसलाई लाग्छ कि स्थायी कुरा होइन प्रेम । मायालुपिच्छे भिन्नाभिन्नै हुन्छ। कसैको माया अलिक लामो बाँचिरहला। कतिको माया ढिलोछिटो मर्छ, मरेकै हुन्छ। मनोवाद शैलीमार्फत नजानिँदो किसिमले मानिस आफ्नो पार्टनरसँग किन दूरी सृजना गर्छ भन्ने विषयमा पाठकलाई समेत उपन्यासले सोच्न बाध्य पारेको छ।

गृहस्थमा लगातार चलेको चिसो यामलाई छेक्न, जीवनबाट खस्तै गरेको खुसीलाई त्यो जोगाउन मनदाक्रान्ता पैयुँको बोटझैँ दह्रोगरी उभिएकी छ। उसले समाजमा महिला भएकै कारण गरिने भेदभावजन्य व्यवहारविरुद्ध आवाज उठाएकी छ। आफ्नो अधिकारको लडाइँ अनवरत लडेकी छे तर, पनि आफूभित्रको शक्ति र सामर्थ्यलाई बुझ्न भने असमर्थ देखिन्छे।

आफ्नो जीवनको उज्यालो र न्यानोपनको निम्ति लोग्नेमा भर पर्नु, आफ्नो निजत्वको अनुभूति गर्न नसक्नु सरासर उसको कमजोरी हो भन्ने सन्देश उपन्यास सिमसाराले अभिव्यक्त गरेको छ। तर, जुन क्षण उसले धनरुपबाट आफ्नो अस्तित्वलाई अलग्याएकी छ, त्यही क्षण उसले थाहा पाएकी छ धनरुप त केवलउसको जीवनको चिसो स्याँठ रहेछ। अनि उसले आफ्नो शक्ति अनुभूत गरेकी छ आफूमा निहित तापलाई महसुस गरेकी छ।

“मेरो घरलाई म राम्रोसँग धुँवाउँछु। आगो बाल्छु। एक्लै भए नि न्यानो पारेर बस्छु। आपसमा मिल्दै नमिली समाजका अघिल्तिर देखावटी नाटक गरेर पनि कहीँ न्यानो हुन्छ र घर ! बरु एक्लै भए पनि खुसी भएर बस्यो भने आत्माको न्यानो घरमा सरिजान्छ नि।

अठारौं शताब्दीमा उपन्यास लेखन सुरु भएको इङ्गल्याण्ड करिब एक शताब्दीसम्म समालोचकहरूद्वारा यसलाई निम्न कोटीको साहित्यको दर्जामा राखियो, महिलाहरुको निम्ति मनोरञ्जनको खुराक मात्र ठानियो यसलाई। तर, अहिले आएर उपन्यास समाजले भोगिरहेको तर, बहसमा आउन नसकिरहेको विषयलाई उठान गर्ने र त्यसमा केन्द्रित बहस सृजना गर्नै माध्यम बेनको छ। समाजमा छोपछाप पारेर राखेको विषयलाई सिमसारा उपन्यासले बहसको चौतारामा ल्याएर उभ्याइदिएको छ।

सिमसाराले समाजमा भुसको आगोझैँ भित्रभित्रै सल्किरहेको विवाहेत्तर सम्बन्धको मुद्दामा नजानिँदोगरी बहस चलाएको छ कलिलो किशोर सम्बतलाई जीवनदर्शनको भारी बोकाउँदै र त्यो भारी लेखक स्वयम्ले घरीघरी बोक्न सघाउँछन् उपन्यासकार जर्ज इलियटले झैँ।

प्रकाशित: १५ मंसिर २०८१ २०:१९ शनिबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School