सहकारी ठगीमा जोडिएका जीबीका परिवार र आफन्त अझै फरार

सहकारी ठगीमा जोडिएका जीबीका परिवार र आफन्त अझै फरार


१२ मंसिर, काठमाडौं। काठमाडौं उपत्यका र बाहिरका जिल्लामा गरी विभिन्न पाँच वटा सहकारी ठगी प्रकरणमा मुछिएका जीबी (गीतेन्द्रबाबु) राई त फरार छन् नै, उनको परिवार पनि अहिलेसम्म समातिएको छैन।

सहकारी ठगी प्रकरणमा उनीसँगै जोडिएका पूर्वगृहमन्त्री रवि लामिछानेदेखि पूर्वडीआईजी छविलाल जोशीसम्म हिरासत रहँदा जीबीको परिवारका ९ सदस्यविरुद्ध कुनै थप कारबाही अघि बढेको छैन।

ती सबैविरुद्ध पक्राउ पूर्जी जारी भएको छ, तर एक जना पनि पक्राउ परेका छैनन् । सहकारी ठगीको मुख्य योजनाकार जीबी रहेको भन्दै संसदीय विशेष छानबिन समितिले उल्लेख गरेयता उनको सिंगो परिवार नै फरार रहेको छ ।

विभिन्न सहकारी ठगी प्रकरणमा जीबीका साथै उनकी पत्नी भगवती बम्जन (निशा), जेठा दाइ अनन्तबाबु, माइला दाइ देबेन्द्रबाबु, जीबीका ठूलोबुवाका छोरा भुपेन्द्रबाबु, जीबीका काइँला जेठान ज्ञानबहादुर बम्जन तामाङ, साढु भाइ दीपक लामा, जेठान तेजबहादुर बम्जन तामाङ र जीबीका जेठी सासु नन्दाकुमारी बम्जन फरार छन् ।

तेजबहादुर र नन्दाकुमारी क्रमश शिवशिखर सहकारी र क्रमश कल्याण उपकार सहकारी अपचलनमा संलग्न रही फरार व्यक्तिहरु हन् । नन्दाकुमारी कल्याण उपकार सहकारीका अध्यक्ष लिलाबहादुर गुरुङकी पत्नी हुन् ।

जीबी राईको ससुरालीमा २ वटी आमाका ९ छोरा र ७ छोरी गरी १६ जनाको परिवारमध्ये अधिकांशजसो सहकारीमै आबद्ध थिए । ज्ञानबहादुर बम्जनले बनाएको सहकारीको एउटा नेटवर्कको जिम्मेवारी जीबीले लिएका थिए ।

ज्ञानबहादुर बम्जनले अर्को छुट्टै सहकारी नेटवर्क चलाएका थिए । ब्रिटिस गोर्खा गु्रपद्धारा प्रबद्र्धित सहकारी भनेर करिब दुई दर्जन सहकारीको नेटवर्क बनेको थियो । नेपाल राष्ट्र बैंकका प्रतिनिधिलाई बोलाएर सहकारी विभागले २०६६ देखि २०६९ सम्म गरेको करिब १५० सहकारी अनुगमनका क्रममा यो समूहले करिब दुई दर्जन सहकारी चलाएको भेटिएको थियो ।

ती अधिकांश सहकारीमा बचत रकम दुरुपयोग भएको त्यतिबेलाकै अनुगमन प्रतिवेदनमा उल्लेख छ । यो समूहको सहकारीमा प्रवेश सातदोबाटोको गोरखा सेभिङ एण्ड क्रेडिट को–अपरेटिभबाट सुरु भएको हो ।

यो समूहले काठमाडौंस्थित कालिमाटीको स्वर्णलक्ष्मी सहकारी, पोखराको सूर्यदर्शन सहकारी, साहारा चितवन, वीरगञ्जको सानो पाइला, बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोप छ ।

स्वर्णलक्ष्मीको अनुसन्धानलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंले तिव्रताका साथ अघि बढाएको छ । स्वर्णलक्ष्मी सहकारी ठगीको फाइल प्रहरी वृत्त कालिमाटीबाट ल्याएर परिसर काठमाडौंले अनुसन्धान अघि बढाउने क्रममा २४ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । यो सहकारी ठगी प्रकरणमा तीन चरणमा पक्राउ पुर्जी जारी भएको छ । पहिलो चरणमा प्रहरी वृत्त कालिमाटीकै अनुरोधमा सञ्चालक समितिका व्यक्तिहरुविरुद्ध २१ वैशाखमा पक्राउ पुर्जी जारी भएको थियो ।

दोस्रो चरणमा २ भदौमा पक्राउ पुर्जी जारी भयो । र, अहिले तेस्रो चरणमा २ मंसिरमा रवि लामिछाने र छविलाल जोशीसहित गरी २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । पुर्जी जारी भएकामध्ये सुनिता नेवारलाई २० कात्तिकमा र कमल लामालाई २४ कात्तिकमा परिसरको टोलीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । तर जीबी राईसहित उनको समूहका भने कोही पनि पक्राउ परेका छैनन् ।

यता परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारी भने पक्राउ पुर्जी जारी भएकाहरुको हकमा खोजी जारी भइरहेको बताउँछन् ।

स्वर्णलक्ष्मी सहकारीले १ अर्ब ११ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोप छ । स्वर्णलक्ष्मी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए । जाहेरी परेको ९ महिनापछि बल्ल प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यता जीबी समूह जोडिएको अर्को सहकारी सहारा चितवनको दोस्रो चरणको अनुसन्धान पनि प्रहरीले अघि बढाएको छ । दोस्रो चरणमा रवि, छविसहित जीबीको परिवारका दीपक लामा, उनकी श्रीमती भगवती बम्जनसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

यो सहकारी ठगी प्रकरणमा यसअघि ८ भदौमा चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । त्यतिबेला जीबीसहित उनको परिवारका भुपेन्द्रबाबु, अनन्तबाबु, देवेन्द्रबाबुसहित १७ जनाविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको थियो ।

त्यतिबेला ४४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ अपचलन भएको निष्कर्ष निकाल्दै मुद्दा दायर गरिएको थियो । यो सहकारीमा जोडिएका जीबीका परिवारका सदस्यलाई फरार प्रतिवादी बनाउँदै मुद्दा दायर गरिएको थियो । अहिले पनि जीबी समूह पक्राउ बाहिरै रहेको छ ।

जीबी राईको समूहले काठमाडौंस्थित कालिमाटीको स्वर्णलक्ष्मी सहकारी, पोखराको सूर्यदर्शन सहकारी, साहारा चितवन, वीरगञ्जको सानो पाइला, बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोप छ ।

दोस्रो चरणको अनुसन्धान सुरु गरेका चितवनका एसपी गौतम मिश्र भने यसअघि मुद्दा दर्ता भएका र अहिले पक्राउ पुर्जी जारी भई फरार रहेका दुबैको हकमा खोजी भइरहेको बताउँछन् । ‘पक्राउ पुर्जी जारी भएकाको हकम खोजी भइरहेको छ । उनीहरूलाई कानूनी दायरामा ल्याउँछौं’ एसपी गौतमले भने ।

पोखराको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पनि जीबी समूह फरार छ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा १६ माघ २०८० मा कास्की अदालतमा मुद्दा दर्ता भएको थियो । त्यतिबेला १ हजार ३६ बचतकर्ताको १ अर्ब ११ करोड १ लाख हिनामिना गरेको निष्कर्ष निकाल्दै मुद्दा दायर गरिएको थियो ।

सो सहकारी ठगीका मुख्य योजनाकार जीबी समूहलाई फरार प्रतिवादी बनाउँदै मुद्दा दायर गरिएको थियो । स्वर्णलक्ष्मी सहकारीकै दोस्रो चरणको अनुसन्धान अहिले भइरहेको छ । दोस्रो चरणमा रवि, छविसहितका व्यक्ति पक्राउ परेर अनुसन्धान भइरहँदा जीबी समूह अझै फरार रहेको छ । जीबी समूह यो सहकारी ठगी मुद्दामा पनि जोडिएको छ ।

यता बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको अवस्था पनि उस्तै छ । जीबीको परिवार जोडिएको बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको मुद्दा रवि गृहमन्त्री रहेकै बेला ३ वैशाखमा अदालतमा दर्ता भएको थियो ।

त्यतिबेला १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । वीरगञ्जको सानो पाइलाको पनि अनुसन्धान बाँकी नै छ ।

पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा र वीरगञ्जको सानोपाइला सहकारीबाट ८ अर्बभन्दा बढी रकम अपचलन भएको छ ।

कहाँ छ जीबी समूह ?

पक्राउ पुर्जी जारी देखि रेड नोटिस जारी हुँदा समेत जीबी राई र उनको परिवार पक्राउ परेको छैन । जीबी परिवारविरुद्ध पोखरा, चितवन र बुटवलमा मुद्दा दर्ता भइसकेको छ । बाँकी दुई वटा सहकारी स्वर्णलक्ष्मी (काठमाडौं) र सानो पाइला (वीरगञ्ज) मा भने अनुसन्धान भइरहेको छ ।

नेपाली कांग्रेसको प्रमुख सचेतक रहुन्जेलसम्म रमेश लेखकले सहकारी ठगी प्रकरणविरुद्ध संसदमा निरन्तर आवाज उठाए । छानबिन समितिको समेत माग भयो । अन्ततः एमाले सांसद सूर्य थापा नेतृत्वमा संसदीय छानबिन समिति समेत बनेर प्रतिवेदन बुझाएको साढे दुई महिना भइसकेको छ ।

यसअघिसम्म यी पाँचवटा सहकारी ठगीका मुख्य अभियुक्त जीबी र उनको सिंगो परिवारलाई पक्राउ नगरेको भन्ने आरोप लगाउँदै आएको कांग्रेस नै अहिले सरकारमा छ । सोही पार्टीका नेता लेखक अहिले गृहमन्त्री छन् । तर अहिलेसम्म सहकारी ठगीको केन्द्रमा रहेका व्यक्ति जीबी र उनको परिवार भने पक्राउ पर्न सकेका छैनन् ।

जीबी र उनका दाजु भुपेन्द्रबाबुविरुद्ध त रेड नोट नोटिस नै जारी भएको छ । उनीहरु मलेसियामा रहेको सार्वजनिक रुपमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले समेत बताएका थिए । उनीहरुविरुद्ध इन्टरपोलले १३ माघमा डिफ्युजन नोटिस जारी गरेको थियो ।

डिफ्युजन नोटिसमात्रै जारी हुँदा जीबीलाई नेपाल ल्याउने प्रक्रिया लामो हुने भन्दै नेपाल प्रहरीले रेड नोटिसका लागि पत्राचार गरेपछि २१ फागुनमा इन्टरपोलले रेड नोटिससमेत जारी गरेको थियो । त्यसपछि कूटनीतिक नोट पठाउँदासमेत मलेसियामा रहेका जीबीलाई अहिलेसम्म नेपाल ल्याउन सकिएको छैन ।

गत भदौको पहिलो साता एसपी नरहरि रेग्मीसहित २ जनाको टोली मलेसिया पठाएर जीबीलाई ल्याउनेबारे पहल समेत गरिएको थियो । जीबी मलेसियामै रहेको भन्ने पूर्ण जानकारी पाएर मलेसिया गएको रेग्मीको टोलीलाई भने जीबीसँग भेट समेत नगराई मलेसियन टोलीले फिर्ता पठाइदिएको थियो ।

पाँचवटा सहकारी ठगीका मुख्य अभियुक्त जीबी र उनको सिंगो परिवारलाई पक्राउ नगरेको भन्ने आरोप लगाउँदै आएको कांग्रेस नै अहिले सरकारमा छ । सोही पार्टीका नेता लेखक अहिले गृहमन्त्री छन् । तर अहिलेसम्म सहकारी ठगीको केन्द्रमा रहेका व्यक्ति जीबी र उनको परिवार भने पक्राउ पर्न सकेका छैनन् ।

सो क्रममा मलेसियन प्रहरीले एक मलेसियन महिलाको केश समेत उठाएको प्रहरी स्रोत बताउँछ । नेपाली युवासँग प्रेम सम्बन्धमा रहेपछि क्वालालाम्पुरकी ५७ वर्षीया माला भेल्लो नाम गरेकी महिला १२ वर्षअघि २४ मार्च २०१२ मा नेपाल आएकी थिइन् ।

भिजिट भिसामा नेपाल आएकी भेल्लो र ती युवक २ वर्षसम्म काठमाडौंमा सँगै बसेका थिए । त्यसपछि ती युवाले भेल्लोसँग विवाह नगरी उनलाई छाडेर दुबई गए ।

यता काठमाडौंमै रहेकी भेल्लोमाथि सामुहिक बलात्कार र यातना यातना दिने र ओभरस्टे भन्दै जेल समेत पठाएको विषय मलेसियन प्रहरीले उठाएको गृहस्रोत बताउँछ । त्यसपछि ती महिलालाई नेपाल फिर्ता पठाइएको थियो । अहिले सकारात्मक प्रयास भइरहेको गृह स्रोत बताउँछ ।

जीबीका जेठान ज्ञानबहादुर बम्जन तामाङ भने अमेरिका पुगेको स्रोत बताउँछ । शिवशिखर सहकारी ठगीमा मुछिएका जीबीका अर्का जेठान तेजबहादुर बम्जन तामाङ युरोप पुगेको बताइन्छ। सहकारी छानबिन समितिले विदेशबाट नेपाल ल्याउनुपर्ने १८ जनाको नाम दिँदा उनीहरु दुई जना पनि परेका थिए । जीबीको परिवारका अन्य केही भने नेपालमै लुकेको आशंका गरिएको छ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School