११ कात्तिक, काठमाडौं । बार्सिलोनाका लागि अक्टोबरको तालिका निकै चुनौतीपूर्ण थियो । च्याम्पियन्स लिगमा योङ ब्वाइ र बायर्न म्युनिख, अनि ला-लिगामा अलाभेस, सेभिया र चिरपरिचित प्रतिद्वन्द्वी रियल मड्रिड बार्सिलोनाका प्रतिस्पर्धी थिए ।
च्याम्पियन्स लिगको पहिलो खेलमा मोनाकोसँग हारेकाले बार्सिलोना दबाबमा थियो । त्यसमाथि योङ ब्याइजपछि जर्मन जाइन्ट बायर्न म्युनिखको सामना गर्नुपर्ने थियो । त्यसैले फुटबल विश्लेषकहरूले अक्टोबरको तालिका बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकको मुख्य परीक्षा मानेका थिए ।
यो परीक्षामा फ्लिक पास मात्रै भएनन्, १०० पूर्णाकमा १०० नै ल्याए भन्दा फरक पर्दैन । अर्थात जर्मन प्रशिक्षक फ्लिक आफ्नो रणनीतिमा सफल दरिए ।
२ अक्टोबरमा योङ ब्वाइलाई ५-० ले हराउँदै बार्सिलोनाले अक्टोबर तालिका सुखद् सुरुआत गरेको थियो । ६ अक्टोबरमा अलाभेस ३-० ले पराजित भयो । ला-लिगाको अर्को बलियो मानिएको टोली सेभिया पनि ५-१ ले बार्सिलोनासँग हार्यो ।
लगातार तीन खेलमा सानदार जित निकाल्दा पनि बार्सिलोनाको मुख्य परीक्षा बाँकी नै थियो । जहाँ थिए, दुई बलिया प्रतिद्वन्द्वी बायर्न म्युनिख र रियल मड्रिड।
२४ अक्टोबरमा भएको खेलको सुरुवात मिनेटमै पाहुना टोली बायर्नमाथि गोल गर्दै बार्सिलोनाले ४-१ को प्रभावशाली जित निकाल्यो । बायर्नविरुद्ध बार्सिलोनाको यो जित ९ वर्षपछि थियो । सन् २०१५ मा च्याम्पियन्स लिगमा हराएदेखि बार्सिलोनाले बायर्नमाथि जित्न सकेको थिएन । २०२० मा व्यहोरेको ८-२ को हारपछि त बायर्न म्युनिख भन्नेवित्तिकै बार्सिलोना दबाबमा आउने स्थिति थियो ।
तर, ४-१ को प्रभावशाली जित निकालेपछि बार्सिलोनाको मनोबल उच्च भयो । प्रशिक्षक फ्लिकले बायर्नविरुद्धको जित जितमात्रै नभएर अर्को जितको आधार समेत बनिसकेको बताएका थिए । किनकी तीन दिनपछि २७ अक्टोबरमा बार्सिलोना बलियो प्रतिद्वन्द्वी रियल मड्रिडविरुद्ध मैदानमा उत्रिंदै थियो ।
लियोनल मेसी बार्सिलोना र क्रिस्टियानो रोनाल्डो रियल मड्रिडमा रहेको समयमा सबभन्दा बढी हेरिने क्लब फुटबलको सूचीमा एल क्लासिको (बार्सिलोना भर्सेस रियल मड्रिड) थियो । अहिले पनि च्याम्पिसन्स लिगपछि बढी हेरिने म्याचमा पर्छ एल क्लासिको ।
फुटबलमा दुई क्लब कति नजिक छन्, त्यसका आधारमा कति नजिक छन् भन्नेले एउटा आधार तय गर्छ । त्यही कारण एउटै शहरका दुई क्लबको डर्बी भिडन्त समर्थकहरूका लागि महत्त्वपूर्ण हुन्छ । रियल मड्रिड र बार्सिलोना भने अपवाद हुन् ।
टाढा दूरीका दुई शहरका क्लबबीचको भिडन्त एकै शहरका दुई क्लबको भन्दा बढी हुन्छ । यो खेलमा विश्वभरका फुटबल प्रेमीहरू जोडिन्छन् । अनि दर्शकहरूबीच मड्रिडको केन्द्रीय शासन र क्याटलोनियाको स्वतन्त्रताको लडाइँ समेत त्यहाँ घुस्छ । यो सिजन सुपरस्टार केलियन एमबाप्पे र उदायमान स्टार लामिन यामल लगायतले एल क्लासिकोको पुरानो रौनकको झल्को दिएका छन् ।
सिजनको पहिलो एल क्लासिकोमा आइतबार रियलले घरेलु मैदानमा दर्शकले भरिभराउ रंगशालामा बार्सिलोनालाई हराउँदै अंक दूरी बराबरी गर्ने लक्ष्य लिएको थियो । तर रियलसँगै एमबाप्पे (जसको पहिलो एल क्लासिको) का लागि खेल बिर्सन लायक रह्यो । बार्सिलोनाले ४-० को राबाफिलो जित निकाल्यो ।
बायर्न जितलाई अर्को जितको आधार मानेका फ्लिकका लागि रियलविरुद्ध जित निकाल्न सहज भने थिएन । च्याम्पियन्स लिगमा समेत २-० ले पछि परेको स्थिति समेत उल्टाएर जित निकाल्न सक्ने टिमको छवि बनाएको रियलले आफ्नो घरेलु मैदानमा खेल्ने भएकाले बार्सिलोनामथि हावी हुनसक्ने अनुमान थियो ।
तर सानदार जित निकाल्दै रियल मड्रिडको ४२ खेलको अपराजित यात्रामा समेत बार्सिलोनाले पूर्ण विराम लगाइदियो । ला-लिगामा सबैभन्दा बढी ४३ खेल अराजित टिमको रेकर्ड बार्सिलोनाको नाममा छ । बार्सिलोनाले २०१७-१८ मा ४३ खेलमा अपराजित भएको थियो । बार्सिलोनाले आफ्नो यो कीर्तिमानलाई समेत जोगाएको छ ।
बार्सिलोनाको जितमा लेवान्डोस्कीले दुई गोल गर्दा राफिन्हा र यामलले एक/एक गोल गरे । यामलले त एल क्लासिकोको इतिहासमा सबैभन्दा कम उमेर १७ वर्ष १०६ दिनमा गोल गरेर रेकर्ड समेत आफ्नो नाममा राखे ।
बार्सिलोनाले चिर प्रतिद्वन्द्वी रियलमाथि सानदार जित निकाल्नुका पछाडि विभिन्न कारण छन् । विशेषगरी रियलको डिफेन्स लाइन सोचेअनुसार मजबुत देखिएन, अनि दोस्रो हाफमा बार्सिलोना हाभी हुँदा खेल आफ्नो पक्षमा पार्यो ।
चलाखीपूर्ण रिप्लेस
पहिलो हाफमा दुवै टिमले आफ्नो रणनीति अनुसार नै खेलेका थिए । तर दोस्रो हाफको सुरुमा नै बार्सिलोनाका प्रशिक्षक फ्लिकले रणनीतिक चाल चाले । उनले फिर्मिन लोपेजको स्थानमा फ्रेन्की डि जोङलाई मैदान प्रवेश गराए ।
बायर्नविरुद्ध दुई असिस्ट गरेकाले फ्लिकले उनमाथि विश्वास राख्दै सुरुवाती रुपमै मैदान उतारेका थिए । उनले राम्रै खेलेका थिए, तर बार्सिलोनाको डिफेन्स लाइन दबाबमा थियो । त्यसैले फ्लिकले दोस्रो हाफको सुरुमै लोपेजको स्थानमा डि जोङलाई ल्याए । डि जोङ बल होल्ड गरेर खेल्न सक्छन्, जसले गर्दा पेड्रीले अगाडि बढेर आफ्नो खेल खेल्न पाए ।
डिजोङ डिफेन्स लाइनसम्म झरेर पनि खेल्छन् । त्यसले मार्क कसाडोले पनि डिफेन्समा धेरै चिन्ता लिनु परेन, आफ्नो शैलीको खेलमा ध्यान दिन पाए । पहिलो गोलमा त्यही भयो । जब उनले रियलमको डिफेन्स लाइनमा स्पेश देखे, बल पास गरे ।
लेवान्डोस्कीको उच्च फर्म
मार्क कसाडोकै पासमा लेवान्डोस्कीले गोल गरे । गत सिजनको खेल हेर्दा यस्तो लाग्न थालेको थियो कि लेवान्डोस्की अब बुढो भए । उनले आफ्नो पुरानो लय भेट्टाउने छैनन् । तर, फ्लिक आएसँगै उनको लय पनि फेरिएको छ । उच्च फर्ममा रहेका लेवान्डोस्कीलाई रोक्न विपक्षी डिफेन्डरलाई निकै गाह्रो हुने गरेको छ । रियल मड्रिडको खेलमा पनि त्यही भयो ।
पहिलो गोल गरेको २ मिनेटपछि नै ५६ औं मिनेटमा अलेजान्द्रो बाल्डेको क्रस पासमा हेडमार्फत गोल गरे । डि जोङ आएपछि राफिन्हा थोरै सेन्टरमा खेल्न थालेका थिए । पेड्रीले दिएको पासमा डि जोङले बल बाल्डेलाई दिए । उनी निकै राम्रो पास दिन्छन् । त्यस्तै पासमा लेवान्डोस्कीले अर्को गोल गरे ।
जारी सिजन लेवान्डोस्कीले ११ खेलबाट १४ गोल गरिसकेका छन् । जबकि रियल मड्रिडको मुख्य तीन स्ट्राइकर एमबाप्पे (६), भिनिसियर जुनियर (५)र रोड्रीगो (३) ले मात्रै गोल गरेका छन् । यसका साथै राफिन्हा र यामल फ्याक्टर पनि जितका मुख्य आधार बने । यामलले पनि विपक्षीलाई निरन्तर दबाबमा राखे । दुवैले एक/एक गोल गरे । राफिन्हाकै पासमा यामलले गोल गरेका थिए ।
यान्की पेना
मुख्य गोलरक्षक मार्क टेर स्टेगन घाइते भएर पुरै सिजन गुमाउने पक्का भएपछि बार्सिलोनाले सन्यास लिइसकेका पोसिल गोलरक्षक स्क्यान्जीलाई अनुबन्ध गरेको छ । कतर स्क्यान्जीले बाउर्सिलोनाबाट डेब्यु गर्न बाँकी नै छ ।
अहिले दोस्रो रोजाइका गोलरक्षक पेनाले बार्सिलोनाको पोस्ट सम्हालेका छन् । पेनाले आफूलाई प्रमाणित पनि गरेका छन् । एम्बाप्पेको ‘वान भर्सेस वान’ बल समेत रोकेर पेनाले रियललाई सान्त्वना गोल समेत गर्न दिएनन् । रियलले बार्सिलोनाको पोस्टमा ९ वटा आक्रमण गरेको थियो, जसमध्ये ४ वटा अन टार्गेट थिए ।
अफसाइड ट्रयाप
बार्सिलोना जितको एउटा आधारमध्ये अफसाइड ट्रयाप पनि एउटा हतियार बन्यो । बार्सिलोनाका डिफेन्डरहरूले चलाखीपूर्ण खेल खेल्दै रियलका स्ट्राइकरहरूलाई अफसाइड ट्रयापमा पारे । कतिसम्म भयो भने एमबाप्पेले गरेका दुवै गोल अफसाइड भइसकेपछि भिडिओ असिस्टेन्ट रेफ्री (भार) मार्फत रद्द भयो ।
पहिलो हालमा ३४ औं मिनेटमा एमबाप्पेले गोल गर्दै रियललाई १-० ले अगाडि पारेपछि सेलिब्रेसन समेत गरिसकेका थिए । तर, उक्त बल अफ साइड भएपछि गोल रद्द भयो ।
एमबाप्पेकै अर्को गोल पनि भारमार्फत रद्द भएको थियो । बार्सिलोनाका डिफेन्डरले रियलका स्ट्राइकरलाई १२ पटक अफसाइड ट्रयापमा पारेका थिए । जबकि बार्सिलोनाका खेलाडी एक पटक मात्रै अफसाइड ट्रयापमा परेका थिए । यसका अलवा बार्सिलोनाका युवा डिफेन्डर कुबार्सी, मार्टिनेजले राम्रोसँग बल क्लियर गर्दै विपक्षीहरुलाई डि-बक्स नजिक खुलेर खेल्न दिएनन् ।
गत सिजन ला-लिगा च्याम्पियन रियल मड्रिडभन्दा १० अंकले पछि रहँदै बार्सिलोनाले लिग टुंग्याएको थियो । तर यस सिजन युवा खेलाडीका साथ मैदान उत्रिएको बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । ११ खेल सकिंदा १ मा हार र १० मा जित निकाल्दै ३० अंकका साथ शीर्ष स्थानमा छ । रियल मड्रिड भने बार्सिलोनाभन्दा ६ अंकले पछि रहँदै २४ अंकका साथ दोस्रो स्थानमा छ ।