जनावरलाई हेर्ने मान्छेको दृष्टिकोणमा दयाभन्दा निर्दयीपन र स्वार्थीपन बढी देखिन्छ। मान्छेले अनेकथरी पशुपन्छी पाल्छ। पशुपन्छीपालनको धेय आम्दानी, मासु, दुध, मनोरञ्जन, सुरक्षा आदि बनाइएको हुन्छ। कहींकतै भोका, बिरामी, बेसहारा पशुपन्छीको उद्दार गरेको पनि भेटिन्छ तर अधिकांशतः पशुपन्छीपालनमा मानवीय स्वार्थ नै देखिन्छ। जंगलका फिरन्ते जन्तुलाई मान्छेले जेलभित्र बन्धक बनाउँछ चिडियाखानाका नाममा, आकाशमा उड्ने चरालाई पिँजडाभित्र बन्धक बनाउँछ मनोरञ्जनका नाममा।
मान्छेले दुध दिने बेलासम्म गाईभैंसीजस्ता दुग्धप्रदायक प्राणीलाई दुहुन्छ। जब गाईभैंसी बुढो हुन्छन्, दुध दिन छोड्छन्, मान्छे जीवनभर दुध खुवाएका तिनै जन्तुलाई काटेर मासु खान्छ। हामी सानोमा आमाको दुध खाएर बाँच्यौं, हुक्र्यौं। आमाको दुध खान नपुग्दा गाईवस्तुको दुध आमाको दुधमा थपेर अघायौं। कुनै अपवित्र चिजलाई पवित्र बनाउन गाईको दुध सिञ्चन गर्यौं। दुध दिने महानता आमाहरूमा मात्र हुन्छ। दुध दिने यी प्राणी पनि हाम्रा आमा हुन्। गोरसदाता गाईभैंसीलाई काटेर मासु खानु भनेको आमाको मासु खानुजस्तै होइन र?
हरेक देशको प्रकृति–संस्कृति अनि संविधानले केही जनावरलाई विशेष महत्त्व दिएको हुन्छ। त्यस्तो महŒव दिनुमा परम्परा, धर्म, संस्कृति, जातजाति, उपयोगिता आदि जुनसुकै कारक हुन सक्छन्। साउदी अरबमा सुँगुर, स्पेनमा साँढे, पाकिस्तानमा मारखोर, रुसमा खैरो भालु, अमेरिकामा चिल, चीनमा पान्डा, भारतमा बाघ, जर्मनीमा आडइल, फ्रान्समा कुखुरा, बंगलादेशमा बाघ, बेलायतमा रोबिन रेडब्रेस्ट, न्युजिल्यान्डमा किवी, जापानमा आइबिस, अस्ट्रेलियामा कंगारु आदि यसका उदाहरण हुन्।
नेपालमा गाई, डाँफे यस्तै महत्त्वका जन्तु हुन्। यिनलाई कानुनले नै तुलनात्मक रूपमा अन्य पशुपन्छीभन्दा विशेष महत्त्व प्रदान गरेको छ। यद्यपि यी पशुपन्छीलाई किन महत्त्व दिनुपर्यो? हाम्रा लागि दुध दिने भैंसी, जंगलमा रमाउने मयुर जति महत्त्वपूर्ण छन्, गाई र डाँफेको महत्त्व पनि त्यति नै छ भन्ने वर्ग पनि ठुलो छ। त्यो वर्गले कानुनमा भैंसी, राँगा, कुखुरा, खसीबोकाको मासु खान वर्जित नगर्ने तर गाईगोरुको मासु खान वर्जित गर्नुपर्ने कारण के ? भन्ने प्रश्नको उत्तर खोजिरहेको छ।
गाईसम्बन्धी संवैधानिक अवधारणा
नेपालको संविधान २०७२, धारा ९, उपधारा (३) मा ‘नेपालको राष्ट्रिय जनावर गाई हुने छ’ भनी उल्लेख गरिएको छ। यो व्यवस्था २०१९ सालदेखि लगातार संविधानमा रहँदै आएको देखिन्छ। यस्तो संवैधानिक व्यवस्थाले गाई नेपालको राष्ट्रिय पहिचानसँग जोडिएको जन्तु हो भन्ने देखाउँछ। गोवध र वृषभवध नेपालको कानुन प्रणालीमा निषेधित देखिन्छ।
संविधानमै नेपालको राष्ट्रिय जनावर गाई भएको उल्लेख भएको सन्दर्भमा गाईलाई धर्मसँग मात्र जोडेर हेर्नु उपयुक्त हुँदैन। नेपालको संविधानको धारा ४ मा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्दै स्पष्टीकरणमा ‘धर्मनिरपेक्ष भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ’ भन्ने उल्लेख छ।
संविधानको धारा २६ मा धार्मिक स्वतन्त्रताको हकबारे उल्लेख गर्दै धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसारको धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुने कुरा प्रत्याभूत गरिएको छ। यसबाट प्रलोभन वा बाध्यात्मक रूपमा नभई स्वैच्छिक रूपमा जुनसुकै धर्मलाई अवलम्बन गर्न छुट देखिन्छ। यद्यपि सनातनदेखि चलिआएको धर्मसंस्कृतिको संरक्षणको कुरा संविधानविपरीत नभई धर्म निरपेक्षताको एक आयामका रूपमा संविधानमा स्वीकार गरिएको रहेछ भन्ने बुझिन्छ।
धर्म–संस्कृति, सम्पदाको संरक्षण हुँदा समुदायको अस्तित्वका आधारहरू सुरक्षित र संरक्षित हुन्छन्। यही सुरक्षित संस्कृतिभित्र व्यक्ति र समुदायले स्वस्थ र सजीव रूपमा हुर्कन, परिपोषित हुन र आफ्नो व्यक्तित्वको विकास स्वतन्त्र रूपमा गर्न सक्छ।
मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २९० मा पशुपन्छीप्रति निर्दयी व्यवहार गर्न नहुने उल्लेख छ। कानुनतः कुनै पनि प्राणीलाई निर्दयी व्यवहार गर्न पाइँदैन। अन्य प्राणीका तुलनामा कानुनमा गाईगोरुको सन्दर्भ अझै विशेष रूपमा आएको छ। संवैधानिक रूपमा नै गाई राष्ट्रिय पहिचानसँग जोडिएको छ। साथै गाई नेपाली संस्कृति, सभ्यता र परम्पराको अभिन्न अंग भएकाले पनि गौरक्षा गर्नु नेपालीको राष्ट्रिय दायित्व हो।
भावनात्मक रूपमा हेर्दा त कुनै पनि प्राणीलाई मारेर मासु खानु पनि ती प्राणीको बाँच्न पाउने हकमाथिको निर्मम प्रहार हो। जनावरको मासु खाने विषयलाई खुला बनाउनुभन्दा संकुचन गर्नु नै जनावरको बाँच्न पाउने हक र मानवीय स्वास्थ्य दुवै दृष्टिकोणले राम्रो हुन्छ।
नेपालमा अनादिकालदेखि चलिआएका चाडपर्वमा समेत गाईवस्तुको पूजा गर्ने चलन छ। तिहारमा गाईका साथै काग, कुकुर, गोरु, भैंसीको समेत पूजा गर्ने र अरू दिनभन्दा बढी मिठोमसिनो खान दिने प्रचलन छ। यस परम्पराले यो धर्ती मान्छेका साथै सबै पशुपन्छीको पनि हो, यहाँ सबैले सम्मान पाउनुपर्छ भन्ने दर्शाउँछ। त्यसैले हामीले सबै प्राणीलाई सम्मान गर्नुपर्छ। नेपालको राष्ट्रिय जनावर गाईलाई त राष्ट्रिय पहिचानका रूपमा पूर्णतः सम्मान गर्नैपर्छ।
गाईको व्यावहारिक उपयोगिता
गाई बहुउपयोगी जनावर हो। प्राचीनकालदेखि आजसम्मको कृषि अर्थतन्त्रको महत्त्वपूर्ण आधार गाईपालन भएको पाइन्छ। जोत्ने–बोक्ने यन्त्र आउनुभन्दा पहिला पनि मान्छेले सुखशान्तिमय जीवन बिताएकै थिए। त्यतिबेला गोरु मानव सभ्यताको अभिन्न अंग बनेको थियो। अन्न उब्जाउन, सामान ओसारपसार गर्न गोरुको भूमिका विशेष रहन्थ्यो। शरीरको मुख्य पौष्टिक तत्त्व गाईको दुध, दही, घिउ, मही नै थियो। आम्दानीको मुख्य स्रोत पनि यिनै दुधजन्य वस्तुहरूको बेचबिखन गर्नु थियो। त्यतिबेलाका मान्छेको स्वास्थ्यको राज पनि यस्ता खानेकुरा तथा शारीरिक अभ्यास थियो।
गाईको मूत्र, दुध, घिउजस्ता चिज स्वास्थ्यका लागि राम्रा मात्र नभई औषधी नै मानिन्छन्। गाईको गोबर र गहुँतले पोतिएको घरमा शान्ति छाउने मान्यता छ। हाल गहुँत, गोबरले नपोतिएका घरमा कलह तथा अशान्ति बढी देखिने कुरासमेत उठेको पाइन्छ।
गाउँमा भन्दा सहरमा कलह, सम्बन्धमा दरार, अशान्तिजस्ता कुरा बढी भएको पाइन्छ। नेपालको तुलनामा विदेशमा यस्तो अशान्ति झनै धेरै देखिन्छ। कारण यस्तैयस्तै पनि हुन सक्छन्। किटाणु मार्न, लामखुट्टे–झिँगा भगाउनसमेत गाईको मलमूत्रको प्रयोग गर्ने गरेको पाइन्छ। गाईको गोबरको प्रयोग गरेर इन्धन (गुइँठा) बनाउन सकिन्छ। गाईका व्यावहारिक उपयोगिता यस्ता कैयौं छन्।
गाईसँग सन्दर्भित अनुसन्धान भइसकेका र अनुसन्धानयोग्य केही अन्य विषय पनि छन्। गहुँत सेवनबाट वात, पित्त, कफजन्य कयौं रोगको उपचार गर्न सकिने कुरा वैज्ञानिकहरूले प्रमाणित गरेका छन्। गाईको दुधले हृदय रोगबाट बचाउने, स्मरण शक्ति बढाउने कुरा चिकित्सा वैज्ञानिकहरूले बताएका छन्।
गाईको दुधमा हुने केरोटिन नामक पदार्थले आँखाको ज्योति बढाउने तथा दुध दिने बेला गाईको मूत्रमा लैक्टोसको वृद्धि हुने र यस तत्त्वले हृदयरोगबाट बचाउने बताइन्छ। गाईको गोबरको गन्धले धेरै रोगको किटाणु मर्ने जनविश्वास छ। गाईको दुधमा चिल्लो मात्रा कम तर शक्तिशाली हुने हुँदा यसले मोटोपन नबढाउने र स्त्रीरोग निवारणका लागि यस्तो दुध लाभदायक हुने पाइएको छ।
ठुला तथा विकसित देशले मोबाइलजन्य विद्युतीय यन्त्रबाट आउने घातक रेडियसनलाई रोक्न प्रयोग गर्ने चिप्सहरूमा गाईको गोबरको प्रयोग गर्ने गरेको पाइएको छ। गाईको मूत्रमा सुन, तामा, क्याल्सियम, पोटासियम, सोडियन, नाइट्रोजन, फास्फेट आदि लगभग २४ तत्त्व हुन्छन्। गहुँत सेवन स्वास्थ्यका लागि लाभदायक हुने र यसको उचित मात्राको उपयोगले धेरैखालका रोग निवारण हुने अध्ययनले देखाएको छ। यस्ता तथ्यहरूको पुष्टि जर्मन कृषि वैज्ञानिक डा. जुलिसुस एवम् डा. बुक, अमेरिकन वैज्ञानिक जेम्स मार्टिन, इटलीका वैज्ञानिक प्रा. जेई बिग्रेडलगायतले आफ्ना अध्ययनहरूमा पनि गरेका छन्।
निष्कर्ष
गाईलगायत सबै प्राणीको सम्मान गर्नु हाम्रो दायित्व हो। धार्मिक, सांस्कृतिक बहानामा कुनै पनि प्राणीमाथि अन्याय गर्नुहुँदैन। अझ राष्ट्रिय जनावर गाईमाथि त सदैव सम्मानभाव प्रकट गर्नुपर्छ। ज्यादा उपयोगी जनावर, वस्तुलाई सम्मान गर्नु पूर्वीय संस्कार तथा महानता नै हो।
उसो त कतिपय देशमा राष्ट्रिय जनावर भए पनि मार्ने चलन छ। अस्ट्रेलियामा बर्सेनि हजारौं कंगारु मारिन्छ। जापान, इन्डोनेसिया, आइसल्यान्ड, आइभरिकोस्टलगायतका दर्जनौं देशमा अहिले पनि राष्ट्रिय जनावरलाई आवश्यकताअनुसार मार्ने चलन छ। ती देशमा कानुनी तहमै अनुमति लिएर ती जनावरलाई मार्न छुट छ।
नेपाल र ती देशको सन्दर्भ फरक छ। नेपालको राष्ट्रिय जनावर गाई यहाँको बहुसंख्यक धार्मिक–सांस्कृतिक आस्थासँग जोडिएको जनावर हो र कानुनमै गौवध निधेष गरिएको छ। त्यसैले अरू देशमा राष्ट्रिय जनावरलाई मार्न पाइन्छ, नेपालमा पनि मार्न पाउनुपर्छ भन्नु न्यायोचित हुँदैन। धर्म निरपेक्षताको नाममा राष्ट्रिय जनावर गाईमाथि राजनीति गरिनुहुँदैन।
हामीले चौतारोको पीपल काट्न सक्दैनौं। बाध्यताले काट्नुपरेमा समेत क्षमा माग्छौं। हामीले पानीको मूलतिर फर्केर पिसाब गर्न सक्दैनौं वा कुनै प्रकारको फोहोर गर्न सक्दैनौं। पानीमा भगवान् छन्, नदी आमा हुन् भन्ने भावनात्मक छाप छ। यस्तो छाप रहनुमा यिनीहरूको बहुउपयोगिता नै हो। बढी उपयोगी वस्तुलाई सम्मान तथा संरक्षण गर्नु हाम्रो दायित्व हो। यस्ता चिजलाई देवता नै मान्नु जरुरी नहोला तर यी उपयोगिताका दृष्टिकोणले पूज्य हुन्छन्। राष्ट्रिय पहिचान तथा बहुउपयोगिताका दृष्टिकोणले गाई पनि पूज्य जनावर हो।
प्रकाशित: १० कार्तिक २०८१ ०८:४६ शनिबार