२५ वर्षमा बदलिएको बर्दिवास 


२२ असोज, जनकपुरधाम । दोलखा तामाकोशी गाउँपालिका–४, च्यामाकोशीका ५१ वर्षीय नारायण घिमिरे २०६९ सालमा महोत्तरीको बर्दिवासमा बसाइँ सरे । बर्दिवास नगरपालिका–३, गौरीबाडामा बस्दै आएका घिमिरेको बजार चोकमै गौरीशंकर होटल एण्ड लज सञ्चालनमा छ ।

बसाइँ सर्नुअघि उनी काठमाडौंमा मोटर व्यवसायमा आबद्ध थिए । व्यापारिक दृष्टिकोणले बर्दिवास उपयुक्त लागेकोले दोलखाबाट यहाँ बसाइँ सरेको उनी बताउँछन् । ‘म मोटर व्यवसायी थिएँ । विभिन्न ठाउँ घुम्नुपर्थ्यो । यहाँको शान्त वातावरण, व्यापारको सम्भावना र अन्यत्र जाने सुविधाले ठाउँ उपयुक्त लाग्यो’, उनले भने ।

घिमिरे भन्छन्, ‘यहाँ केही आफन्तहरू पनि बसेकाले अपनत्व महसुस भयो । अनि दोलखाको घरघडेरी बेचेर सरें ।’ बुवा फौदसिंह घिमिरे र हजुरबुबा मानबहादुर घिमिरे पनि पाँच दशकअघि बर्दिवास हुँदै घरमा पैदल खाद्यान्न र नुन बोकेर लैजान्थे । जसले गर्दा उनी बर्दिवासको बारेमा धेरथोर परिचित थिए ।

बर्दिवास आएपछि घिमिरेलाई कुनै असहज भएन । अहिलेसम्म उनका चार जना आफन्त पनि दोलखाबाट यहाँ सरेका छन् । साहिंलो भाइ कुबेर, कान्छो भाइ कमल, जेठान नारायण फुयाल र जेठी छोरी सविता घिमिरेको परिवार पनि यहाँ बसाइँ सरेको छ ।

दोलखाको तामाकोशी गाउँपालिका–४, च्यामाकोशीबाट सरेर बर्दिवासको गौरीबाडामा बसोबास गर्नेहरूले आफ्नो टोलको नाम नै ‘च्यामालीटोल’ राखेका छन् । यो बस्तीमा करिब ५० परिवारको बसोबास छ ।

****

पर्साको वीरगञ्ज महानगरपालिका–१४ का मनिराज खतिवडा र उनको परिवार २०७३ सालमा बर्दिवास वडा नम्बर १ मा स्थायी रूपमा बसाइँ सरे । २०४० देखि २०७१ सम्म जनकपुर–जयनगर रेल्वेमा स्टेशन मास्टरको रूपमा काम गर्दा उनले आफ्नो परिवारलाई धनुषाको खजुरी र त्यसपछि जनकपुरमा रेल्वेको आवासमा राखेका थिए ।

अवकाशपछि परिवारसँग सल्लाह गरेर वीरगञ्ज फर्कने कि अन्यत्र बस्ने भन्ने निर्णय लिनुपर्ने थियो । अन्ततः पाँच जनाको परिवारले बर्दिवास रोज्यो । मनिराजले बर्दिवासको नमूना टोलमा १० धुर जग्गा किनेर घर बनाएका छन् ।

‘अवकाशपछि जनकपुर बस्ने कि वीरगञ्ज फर्कने वा काठमाडौं जाने भन्ने विकल्प थियो । तर, २०७२ को मधेश आन्दोलनमा पनि बर्दिवास शान्त थियो । बन्द–हड्ताल केही भएन । त्यसैले हामीले यो ठाउँ रोज्यौंं’, मनिराज भन्छन् । उनको घर भएको ‘नमूना टोल’ अहिले बाक्लो बस्तीमा बदलिएको छ ।

****

रामेछाप नगरपालिका–२ बाट बसाइँ सरेर बर्दिवास–३ पाटुमा आएका राजन रोक्कालाई यहाँको वातावरण आकर्षक लाग्छ । उनले बर्दिवास बजार चोकमै सटर भाडामा लिएर संगीता जुस एण्ड लस्सी सेन्टर सञ्चालन गरेको तीन वर्ष भयो । परिवार राम्रै गरी चलिरहेको छ ।

राजन रोक्का

६ वर्ष मलेसियामा श्रम गरी घर फर्केका राजनले शान्त र व्यावसायिक सम्भावना बोकेको ठाउँको खोजीमा बर्दिवास रोजे । उनको घर र जुस सेन्टर बीचको दूरी चार किलोमिटर छ । चार जनाको परिवार सहज रूपमा चलिरहेको छ ।

‘बर्दिवास राम्रो लाग्यो, त्यसैले रामेछापबाट यहाँ सरें’ उनी भन्छन्, ‘आफ्नै जुस पसलले खान–लाउन पुग्छ । आवतजावत गर्न पनि सजिलो छ । अब यही ठाउँमा स्थायी रूपमा बस्ने सोच छ ।’

यसरी बासाइँ सरेर आउने घरपरिवारहरूको संख्या धेरै छ यहाँ । व्यापार व्यवसायको राम्रो स्थल, मधेशी तथा पहाडी समुदाय एवं विभिन्न जातजातिको मिश्रित बस्ती लगायतका कारणले बर्दिवास पछिल्लो समय मधेश प्रदेशकै एक आकर्षक स्थल बन्न पुगेको छ ।

देश संघीयतामा रूपान्तरण भएपछि साविकको आठ वटा गाउँ विकास समिति समावेश गरी बर्दिवास नगरपालिका बनेको हो । जसमा साविक गाविसहरू बर्दिवास, गौरीबास, माइस्थान, किसाननगर, हतीलेट, बिजलपुरा, पशुपतिनगर र खयरमारा छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार बर्दिवास नगरपालिकाको घरधुरी संख्या १६ हजार ८२४ छ भने जनसंख्या ७४ हजार ३६१ ।

बसाइँ सरी आउनेको लर्को

पछिल्लो ६ वर्षको तथ्यांकले बर्दिवासको आकर्षण कस्तो छ भन्ने बुझ्न सकिन्छ । नगरपालिकाको पञ्जीकरण शाखाले उपलब्ध गराएको १ वैशाख २०७५ देखि १३ असोज २०८१ सम्मको तथ्यांकमा वडा नम्बर १, २, ३ र १४ मा बसाइँ सरी जाने भन्दा आउनेको संख्या तेब्बर छ । यो अवधिमा यी चार वडामा बसाइँ सरी आउने घरपरिवारको संख्या ६६६ छ भने अन्यत्र जाने परिवारको संख्या १८९ ।

२५ वर्षमा बदलिएको बर्दिवास 
बर्दिवास चोक

पञ्जीकरण शाखाकी कर्मचारी इन्दिरा पहाडीले उपलब्ध गराएको तथ्यांक अनुसार, वडा नम्बर १ मा सो अवधिमा २११ घरपरिवार अन्यत्रबाट बसाइँ सरी आएका छन् भने यहाँबाट ६० घरधुरी अन्यत्र गएका छन् । यस्तै वडा नम्बर २ मा १८१ बसाइँ सरी आए भने २९ परिवार अन्यत्र बसाइँ सरी गए । वडा नम्बर ३ मा १८६ घरधुरी आए भने ६५ घरधुरी अन्यत्र सरे । यस्तै वडा नम्बर १४ मा ८८ घरपरिवार आए भने ३५ घरधुरी अन्यत्र सरेका छन् ।

यी चार वटा वडामा बसाइँ सरी आउने ६६६ घरपरिवारको कुल जनसंख्या २ हजार ३१८ छ भने सो अवधिमा बाहिरिने १९० घरधुरीको जनसंख्या ५९० छ । यद्यपि यी वडाहरूमा हाल कति घरधुरी छन् भन्ने तथ्यांक २०७८ को जनगणनापछि अद्यावधिक नभएको बर्दिवास नगरपालिकाका सोमकुमार फुयाल बताउँछन् ।

साविक गाविसहरू बर्दिवास र गौरीबास अर्थात् हालका वडा नम्बर १, २, ३ र १४ नम्बर वडाको राष्ट्रिय जनगणना २०६८ र २०७८ को तथ्यांकमा धेरै अन्तर पाइन्छ । जनगणना २०६८ अनुसार साविक बर्दिवास गाविसको जम्मा घरपरिवारको संख्या २ हजार ७१० थियो भने कुल जनसंख्या १२ हजार ५८४ ।

साविकको बर्दिवास गाविसको हालको नगरपालिकाको वडा नम्बर १, २ र १४ मा राष्ट्रिय जनगणना २०७८ अनुसार घरधुरी संख्या ४ हजार २८९ पुगेको छ । र तीनै वटा वडाको जनसंख्या १८ हजार ३०८ छ । साबिक बर्दिवासको १० वर्षको तुलनामा घरधुरी संख्या १ हजार ५७९ ले बढेको छ भने जनसंख्या ५ हजार ७२२ ले ।

राष्ट्रिय तथ्यांक कार्यालय थापाथली काठमाडौंका सूचना अधिकारी, मनोहर घिमिरेले उपलब्ध गराएको राष्ट्रिय जनगणना २०५८ मा तत्कालीन बर्दिवास गाविस अर्थात् हालको नगरपालिकाको वडा नम्बर १, २ र १४ को घरपरिवार १ हजार ६४३ थियो । जहाँ जम्मा जनसंख्या ८ हजार ८५९ थियो ।

तत्कालीन गौरीवास गाविस अर्थात् हालको वडा नम्बर ३ मा जम्मा घरपरिवार संख्या १,०९४ थियो भने जनसंख्या ५,७३२ । राष्ट्रिय जनगणना २०४८ अनुसार बर्दिवास गाविसको घरपरिवार १,०९० थियो भने जम्मा जनसंख्या ६,०४९ । यस्तै गौरीवास गाविस अर्थात् हालको वडा नम्बर ३ को घरपरिवार संख्या ८१० थियो भने जनसंख्या ४,३०८ ।

कसरी बन्यो बर्दिवास ?

अतीतमा महोत्तरीको दक्षिणी क्षेत्रका औरही, गौशाला, रामगोपालपुर लगायतका गाविस र छिमेकी भारतबाट मानिसहरू चुरे क्षेत्रका काठ ढुवानी गर्न बर्दिवास आउने गर्थे । बर्दिवास र गौरीवासको भूभाग चुरे क्षेत्र थियो । हालको बर्दिवास नगरपालिका–२ मा अवस्थित कामेश्वरनाथ महादेव मन्दिर र अगाडिको पोखरी वरिपरि विश्रामस्थल थियो ।

काठ ओसारपसार गर्न गोरुगाडा प्रमुख सवारी साधनको रूपमा प्रयोग हुन्थ्यो । पानीको कारण पोखरी वरिपरि मानिस र गोरुको वास हुन्थ्यो । मैथिली भाषामा गोरुलाई ‘बरद’ भन्ने गरिन्छ । बरद बस्ने ठाउँका कारण यो स्थानलाई ‘बरदवास’ भनिन्थ्यो ।

समयसँगै अपभ्रंश भएर ‘बर्दिवास’ नाम स्थापित भयो भन्ने जनविश्वास रहेको बर्दिवासका अग्रज पत्रकार गोपाल बराल सुनाउँछन् । उनका अनुसार अर्को कथन भारतबाट जागिर गरी फर्केका सिपाहीहरू यहाँ आउँदा बर्दी खोलेर बस्ने गरेका कारण यसको नाम ‘बर्दिवास’ रहन गएको हो भन्ने भनाइ पनि छ ।

‘अहिलेसम्म हामीले पाकाहरूबाट सुनेको यही कुरा हो । अब यी दुई मध्ये नै एक हुन सक्छ । बरदवासबाट नै अपभ्रंश भएर बर्दिवास भएको हो भन्ने मेरो बुझाइ छ’, उनले भने ।

स्थानीय ८५ वर्षीय नारायण अधिकारी बर्दिवासको बिगत यसरी सम्झन्छन् । उनका अनुसार बुबा कालिप्रसादले २०२२ सालमा रामेछापको कठजोरबाट झरेर ४ हजार रुपैयाँ विघाले बर्दिवास चोक छेउमै साढे ४ बिघा जग्गा किनेका थिए । त्यसबेला बर्दिवासमा छिटफुट खरले छाएको फुसका घर मात्रै थिए ।

२५ वर्षमा बदलिएको बर्दिवास 
नारायण अधिकारी

२०२८ सालमा पूर्व–पश्चिम राजमार्ग बन्न थाल्यो । उनी त्यसबेला सरकारी जागिरे (खरिदार) थिए । जनकपुरमा बस्थे । बुबाले किनेको जग्गामा २०३५ सालमा घर बनाएर बस्न थालेको नारायण बताउँछन् । चोक नजिक २०३८ सालमा बनाएको पुरानो काठ र टालीले छाएको घर अझै छ । त्यतिबेला यो बर्दिवासकै सबभन्दा राम्रो घर भएको नारायण सम्झन्छन् ।

‘२०२२ सालतिर बुवाले जग्गा किन्दा बर्दिवासमा खरले छाएका फुसका घरहरू मात्रै थिए’ आफ्नो पुरानो घर देखाउँदै उनले भने, ‘यो नै बर्दिवासको सबभन्दा राम्रो र सुन्दर घर थियो । अब यो ठाउँमा मेरो उमेरको मान्छे र त्यो बेलाको घर विरलै भेटिन्छ ।’

यसकारण बढ्यो बर्दिवासप्रति आकर्षण

२०२८ सालमा पूर्व–पश्चिम महेन्द्र राजमार्ग खुलेपछि बर्दिवासमा जनसंख्या बढ्न थालेको स्थानीय शंकर भनिने दानविक्रम थापा बताउँछन् । २०५१ सालदेखि बर्दिवासमा चिया बेचिरहेका थापा १९ वर्षको हुँदा सिन्धुलीको रातमाटे खन्याखर्कबाट यहाँ आएका थिए ।

‘२०२८ सालतिरै बुबाले १५ कट्ठा जग्गा किन्नुभएको थियो । म यता आउँदा १९ वर्षको थिएँ । २०५१ सालदेखि चियापसल गरिरहेको छु’ उनले भने, ‘त्यतिबेलादेखि नै बर्दिवास शान्त ठाउँ हो ।’

२०५२ सालमा काठमाडौं जोड्ने गरी बर्दिवास धुलिखेल बीपी राजमार्ग बन्न थाल्यो । पूर्वी तराई जोड्न खुलेको बीपी राजमार्ग सञ्चालनमा आएपछि यो ठाउँ व्यावसायिक रूपमा चम्कियो । उनी भन्छन्, ‘बीपी राजमार्ग बनिसकेपछि यहाँ बसाइँ सरेर आउनेको संख्या ह्वात्तै बढ्यो ।’

२५ वर्षमा बदलिएको बर्दिवास 
शंकर भनिने दानविक्रम थापा

पूर्व–पश्चिम राजमार्ग, संघीय राजधानी जोड्ने बीपी राजमार्गले छोएपछि बर्दिवासमा धेरैको आँखा पर्न थाल्यो । मधेश प्रदेशकै बीचको तथा सुरक्षित शहरको रूपमा पनि बर्दिवास चिनिन्छ । खासमा बर्दिवासको चर्चा जोडतोडले चुलिएको २०७२ सालबाट हो ।

त्यसबेला संविधान जारी हुन आँटेको बेला संयुक्त मधेशी मोर्चाले गरेको ६ महिना लामो मधेश आन्दोलनले बर्दिवासलाई कुनै असर पारेन । अन्य शहरहरू बन्द भए पनि भारतबाट साइकल तथा मोटरसाइकलमा आउने खाद्यान्न, डिजल, पेट्रोल, ग्याँस बर्दिवास हुँदै काठमाडौंसम्म पुगिरह्यो ।

त्यसबेला अन्यत्रका व्यवसायी पनि बर्दिवास केन्द्रित हुन थाले । मधेशी मोर्चाले पटक–पटक बर्दिवास बजार बन्द गराउन चाह्यो । तर, यहाँका बासिन्दाले त्यो सम्भव हुन दिएनन् । पहाडी र मधेशी समुदायको मिश्रित बसोबास रहेको यो ठाउँमा आन्तरिक द्वन्द्व पनि देखिएन ।

त्यसबेलादेखि नै बर्दिवासले शान्त शहर भन्ने आफ्नो परिचय बनायो । बर्दिवासको माइस्थानमा सशस्त्र प्रहरीको मधेश प्रदेश गण, नेपाली सेनाको मधेश प्रदेश स्तरीय मध्यपूर्वी पृतना, चोकमै जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरी, गौरीबाडामा इलाका प्रहरी कार्यालय छ ।

बर्दिवासका पुराना होटल व्यवसायी हीरा गौतमका भनाइमा पछिल्लो समय बर्दिवास होेल व्यवसायको ‘हब’ बनेको छ । बाहिरका पर्यटक यहाँ बस्न रुचाउने हुँदा व्यापार–व्यवसाय फस्टाएको छ । उनी भन्छन्, ‘राजमार्गहरूको हिसाबले यो शहर सुविधासम्पन्न छ । मधेशको बीच भागमा पनि पर्छ । यसैले होला मधेश प्रदेशका कार्यक्रमहरू बर्दिवास केन्द्रित हुन थालेका छन् ।’

स्थानीय समेत रहेका नेकपा एमालेका नेता शंकर महतो राजमार्ग, व्यवसाय, वातावरणसँगै पछिल्लो समय शिक्षाको हब पनि बनेकाले मानिसको आकर्षण बढेको बताउँछन् । ‘शान्त र बस्ने सुविधा छ । सँगसँगै शिक्षाका लागि पनि राम्रो अवसर छ । पछिल्लो समय बर्दिवासका विद्यालय तथा कलेजहरूमा राम्रो पठनपाठनले पनि मानिसहरूको ध्यान तानेको छ’, उनी भन्छन् ।

वडा नम्बर १ का वडाध्यक्ष भोला खड्का बर्दिवास नमूना शहरको रूपमा विकास हुँदै जानुमा यहाँको समाज सहिष्णु हुनुलाई कारक मान्छन् । उनी भन्छन्, ‘विभिन्न जातजाति, वर्ग, लिंग, समुदायका मानिस बीचको सद्भाव नै बर्दिवासको आकर्षणको विशेषता हो ।’

‘बर्दिवास जाँदा सुरक्षित भइन्छ भन्ने बुझाइले मानिस यहाँ आइरहेको हुनुपर्छ’, वडाध्यक्ष खड्का भन्छन् । उनका अनुसार २५ वर्षअघिसम्म पानीको समस्या, सर्प–बिच्छीको बिगबिगी रहेको भनेर मानिस यहाँ आउन चाहन्नथे तर, बीपी राजमार्ग सञ्चालनपछि बर्दिवास शहर जस्तो भएको छ । खड्काका भनाइमा अहिले बर्दिवासमा ५० देखि ६० जिल्लाका मानिसको बसोबास हुनसक्छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School