भूकम्पले खोलामा झार्‍यो, खोलाले उठिबास


१९ असोज, काभ्रे (कलाती) । भूमेडाँडा रहेको पुर्ख्यौली घर ०७२ सालको भूकम्पले भत्काइदिएपछि सीता हुमागाईं (४१) को परिवार सुरक्षित ठाउँको खोजीमा थियो ।

त्यहीबेला गाउँमुन्तिर बग्ने कलाती खोला किनारैकिनार सडक आसपासमा बस्ती बिस्तार भइरहेको थियो । नदीको सिरानमा खुलेको क्रसर उद्योगका कारण कुनै समयको कृषि सडक पक्की भइसकेको थियो । पनौती बजारका स्कुलका बसहरु विद्यार्थी लिन आउन थाले । सडक, स्कुलको सुविधाले गाउँका धेरैलाई तान्यो ।

हेर्दाहेर्दै गाउँ पातलिन थाल्यो । सुनसान बन्दै गरेको ठाउँमा हुमागाईंको परिवार बस्न चाहेन । उनको परिवार ५ वर्षअघि गाउँको जग्गाजमिन बेचेर छापटोल आइपुग्यो ।

छापटोल बजार क्षेत्रबाट नजिक त पर्थ्यो, बाटो पनि पुगेकाले व्यापार गर्न पनि सजिलो थियो । हुमागाईं परिवारले १२ लाख रुपैयाँमा १३ आना जग्गा किनेर घर बनायो । छोरीले  १२ कक्षा पुरा गरिन्, अनि घरमै सिलाइकटाइ व्यवसाय गर्न थालिन् ।

कान्छी छोरी पानौतीमा पढ्न जान थालेकी थिइन् । अहिले उनी ७ कक्षामा अध्ययनरत छिन् । सीता पनि तरकारी खेती गरेर आयआर्जन गर्न थालेकी थिइन् । ५ जनाको परिवार हाँसीखुसी बसिरहेको थियो ।

तर ११ र १२ गतेको भारी वर्षासँगै आएको बाढी र पहिरोले हुमागाईंको उठिबास लागेको छ ।

सानो कलौती खोलामा आएको ठूलो बाढीले जग्गा मात्र होइन, आधा घर बगाइदियो । ‘भूकम्पपछि माथि गाउँ नै शून्य बनेपछि सबै बेचेर यहाँ घर बनाएका थियौं । सबै यहीं थियो नि ! घरअगाडि बाटो थियो, केटाकेटी लिन स्कुलको गाडी घरमै आउँथ्यो’, सीताले भनिन्, ‘तर अब यहाँ पनि बस्न नसकिने भयो ।’

सीताका अनुसार ११ गते शुक्रबार आधारात भारी वर्षा भइरहेका बेला सुरुमा पहिरो खस्यो । हिलो माटाहरु घरको छाना (जस्ता)मा पर्दा ठूलो आवाज आयो । हतारहतार बाहिर हेर्दा तलबाट खोलाले काटान गरिरहेको थियो भने माथिबाट पहिरो आइरहेको थियो ।

७० वर्षीया आमा (सासु), दुई छोरीलाई लिएर सीता सम्पत्ति सुरक्षित ठाउँ खोज्दै हिँडे । जतासुकै पहिरो र खोलाको कटान थियो । अरु  गाउले जस्तै सडकको एउटा छोउमा उभिएर रात कटाए ।

१२ गते शनिबार दिउँसो पानी कम भएपछि हेर्न आउँदा घरको आधा भाग खोलाले खाइसकेछ । १८ असोजमा हामी पुग्दा सीता दुई छोरीसँगै भत्किएको घर छेउमा टोलाइरहेकी थिइन् ।

‘केही निकाल्न पाइएन, हामी त भागेर ज्यान जोगायौं’ नजिकै रहेकी कान्छी छोरीतिर हेर्दै भनिन्, ‘अर्धवार्षिक परीक्षा चलिरहेको थियो । ड्रेस, किताब कापी केही नभएपछि त्यो पनि छुट्यो । ’

सीताको परिवार मात्र होइन, कलाती खोला किनारमा बसोबास गर्दै आएका थुप्रै परिवार असोज दोस्रो साता आएको बाढी र पहिरोमा घरबारविहीन भएका छन् । एकहप्ता अघिसम्म जहाँजहाँ बस्ती थियो, त्यो अहिले बगरमा बद्लिएको छ ।

बचेखुचेको घर पनि पहिरोले बस्न गाह्रो छ । घरबारबिहीन भएकाहरु त्यस्तै घरमा जोखिम नै मोलेर भएपनि आश्रय लिइरहेका छन् । यस्तै विपद्को बेला चाहिन्छ भनेर बनाएको सामुदायिक भवन पनि बाढीले क्षतविक्षत बनाएको छ । स्थानीय साधुराम हुमागाईं (५९) गाउँमा विपत होइन, राक्षस पसेको बताउँछन् ।

छोरा काठमाडौंमा भएकाले घरमा हुमागाईं दम्पत्ति मात्र थिए । सडकको बाँयातिर बसोबास गर्ने घर थियो भने दायाँ (खोलापट्टी) एकतले टहरामा पसल राखेका थिए । पानी दर्किएको थियो । एक्कासी छउकै घर पहिरोले पुर्‍यौं । घरमा भएकाहरुले भागेर जान जोगाए, तर २ वटा भैंसी र ५ वटा बाख्रा पर्‍यो ।

उर्लिएर आएको कलाती खेलाले पनि बस्ती कटान गन थाल्यो । साधुराम दम्पत्ति भागेर सडक छोउमा पुगे । बाढीले उनको पसलको भित्ता बाहेक सबै बगायो । ‘केही झक्न पाएनौं, धन्न ज्यान जोगियो । अब फेरि यहाँ कसरी बस्न होला ?’ उनले भने ।

भूकम्पले खोलामा झार्‍यो, खोलाले उठिबास

बाढीले घर, बाटोलगायत पूर्वाधार क्षतविक्षत् बनाएपछि कलौती खोला आसपासका गाउँ सम्पर्कविच्छेदको अवस्थामा छन् । बाढी गएकै दिनबाट गाउँको माथिल्लो भागमा फोन लाग्नै छोडिसकेको छ । बिजुली बत्ति नहुँदा गाउँ नै अन्धकार बनेको छ ।

स्थानीय भीष्म हुमागाईं एकहप्तापछि (शुक्रबार) पनौती बजार गएर मोबाइल चार्ज गरेर फर्किदै थिए । ‘गाउँको अवस्था यस्तो बन्यो कि जनप्रतिनिधि नै आएका छैनन् । म पनि बल्ल बल्ल पनौती पुगेर आउन सकें’, हुमागाईंले अनलाइनखबरसँग भने, ‘हामी त पूरै सम्पर्कविच्छेदको अवस्थामा छौं ।’

गाउँमा रहेको एउटा मात्रै इन्द्रादेवी आधारभूत स्कुलमा पनि बाढीले क्षति पुर्‍याएको छ । भूकम्पपछि नै बनाएको नयाँ हल कोठा बगरमा आइपुगेको छ । स्थानीय सुमन बजगाईंका अनुसार कक्षा ८ सम्म पठनपाठान हुने स्कुलमा घिसिङ गाउँ, मगर गाउँका बालबालिका समेत आउँथे । २०१७ सालमा खोलेको स्कुलमा माथिल्लो भेगका बालबालिकाले शिक्षादिक्षा पाउने राम्रो माध्यम बनेको थियो ।

भूकम्पले खोलामा झार्‍यो, खोलाले उठिबास

तर बाढीले क्षति पुर्‍याएपछि पठनपाठन बन्द छ । बाँकी बचेको भवनमा समेत पढाउन सक्ने स्थिति छैन ।

‘एकतिरबाट मात्रै क्षति पुर्‍याएको भए पो हुन्थ्यो । तलबाट खोलाले काटेको छ । माथिबाट पहिरो खसेको छ, यो त जतिबेला जे पनि हुने जोखिम बढ्यो’, बजगाईंले भने, ‘यस्तो ठाउँमा डराइडराई त के पढाइ होला र अब !’

बजगाईं आफू स्वयं १२ गतेको बाढी पीडित हुन् । बाढीले उनको घर, गाडी बगाएको छ नै, गर्दै आएको प्रांगारिक मलको व्यापार समेत चौपट बनाइदिएको छ ।

उनको परिवार पनि २०७२ वैशाखको विनाशकारी भूकम्पपछि नै घिसिङ गाउँमा कलाती खोला किनार झरेको थियो । गाउँको घर भूकम्पले क्षति पुर्‍याएपछि अनुदानको रकममा जोडजाड पारेर नयाँ ठाउँमा घर बनाएका थिए । इन्द्रादेवी स्कुल नजिकै कृषि फार्म खोलेका उनले गाउँभरिको प्रांगारिक मल संकलन गरेर पनौती, बनेपा पुर्‍याउने व्यवसाय चलाइरहेका थिए ।

भूकम्पले खोलामा झार्‍यो, खोलाले उठिबास

त्यसलाई बजारसम्म पुर्‍याउन आफैं ट्रक चलाउँथे । उनको ट्रक खोलाको बीचमा क्षतविक्षत अवस्थामा छ । उनीसँग केही थान भैंसी र केही थुप्रो मल बाहेक केही छैन । ‘राहतको ३ लाख र आफ्नो ७ लाख गरेर १० लाख जतिमा नयाँ घर बनाएको थिएँ । त्यही ७/८ वर्षजति भएको थियो होला !’ सुमनले भने ।

यो क्षेत्रमा बाढी र पहिरोको क्षति नखेपेको कोही छैन । कसैको खोलाले घर बगाएको छ, कसैको पहिरोले गाइबस्तुसहित घरगोठ पुगिएको छ । एक साता भइसक्दा पनि मरेका चौपायको व्यवस्थापन गर्न नसक्दा दुर्गन्ध फर्लिएको छ ।

कृष्णप्रसाद हुँमागाईं (४१) को गाई, भैसी, खसीबाख्रा सबै पहिरोमा परेको छ । दैनिक १८/१९ लिटर दुध बेच्ने उनको गोठमाथि पहिरो खस्दा सबै चौपाय मरे । ‘टवाइलेट गएका श्रीमती र छोरा झण्डै परेनन्’, उनले भने, ‘बाँच्न त बाँचियो, तर यहाँ बस्न पनि गाह्रो छ । पशुपालन गर्न सक्ने अवस्था रहेन ।’

उनलाई अब छोराछोरीलाई छाडेर वैदेशिक रोजगारीमा जानु पर्ने हो कि भन्ने डर छ । साउदी र कतार गएर हाल गाउँमा कृषि फार्म चलाइरहेका उमेश हुमागाइँ (३६) पनि फेरि विदेश पलायन हुनुपर्ने अवस्था आएको बताउँछन् ।

धामीगाउँ नमुना कृषि फर्म चलाइरहेका उनले दिनमा ३० लिटरसम्म दुध बोचेका थिए । ‘यसै पनि कृषि पेशा गरेर जिविको पार्जन गर्न मुस्किल भइरहेको थियो’, उनी भन्छन्, ‘अब त विदेश पलायनको अर्को विकल्प देखिन्न ।’

अनपेक्षित रुपमा आएको बाढीपहिरोले कलाती खोला किनारका बस्तीहरुमा ठूलो क्षति पुर्‍याएको छ । स्थानीय बासिन्दाका अनुसार भूकम्पपछि बनेका अधिकांश नयाँ घरमा असर पुर्‍याएको छ ।

किनकी बस्ने घरगोठ छैन, गरीखाने खेतबारी रहेन । पहिरोको डर उस्तै छ । ७९ वर्षका बाबु र बालबच्चा लिएर अब कहाँ जाने भन्ने चिन्तामा छन्, राजन हुमागाईं पनि ।

खोला किनारमा १० रोपनी क्षेत्रफलमा फैलिएको फाँट थियो, थोरै माथि घर । तर ७२ सालको भूकम्पले घर चर्काइदिएपछि रंगलाल हुमागाईंका तीन छोरा राजन, विनोद र राजकुमारले लहरै नयाँ घर बनाएका थिए । सरकारले दिएको ३ लाख रुपैयाँ राहतमा थपथाप पारेर सडकको छेउमा घर बनाएका थिए ।

तर ११ गते राति बाढीपहिरो सँगसँगै आउन थालेपछि सबै राजन (जेठा)को घरमा जम्मा भए । त्यहाँ पनि बस्न नसक्ने भएपछि गाउँलेले सबैलाई सुरक्षित ठाउँमा लगे । घर पछाडि पाखोमा आएको पहिरोले पुरानो घर क्षतिग्रस्त बनायो, अनि खोला पारीबाट आएको पहिरोले दुई भाइको घरगोठ हान्यो ।

पारी भित्तामा रहेको बाँसको झ्याङ, रुख बिरुवासहित डिस्को घरगोठमाथि थुप्रिएको छ । भाइहरुको गोठमा रहेको दुइटा भैंसी मरे, एउटा गाईलाई घाइते अवस्थामा उद्धार गरे ।

पानी पर्न थालेपछि कलाती खोलामा सिंगो सिंगो रुख सुलुलुलु बगेर आएको राजनले सुनाए । वन फुटेर आएको बाढीमा क्रसर थपिएपछि ठूलो क्षति भएको उनलाई लाग्छ । वनले मात्र बिनास गरेको होइन’, उनले भने, ‘माथि खानी छ, खानीको ग्राबल आयो । त्यसले खोलाको धार नै परिवर्तन गर्दा धेरै क्षति भयो ।’

अब यहाँ बस्न नसक्ने निष्कर्षमा उनी पुगेका छन् । ‘अस्तिको बाढी र पहिरोपछि राम्रोसँग सुत्न पनि सकिराखेको छैन । आज राति (शुक्रबार) पनि दुई पटक झस्केर उठेर खोला हेरें’, राजनले अनलाइनखबरसँग भने, ‘यहाँ त केही नहोला भनेको, यो ठाउँ पनि छोड्नु पर्ने भयो । कहाँ जाने थाहा छैन ।’

भूकम्पले खोलामा झार्‍यो, खोलाले उठिबास

अनपेक्षित रुपमा आएको बाढीपहिरोले कलाती खोला किनारका बस्तीहरुमा ठूलो क्षति पुर्‍याएको छ । स्थानीय बासिन्दाका अनुसार भूकम्पपछि बनेका अधिकांश नयाँ घरमा असर पुर्‍याएको छ ।

दजर्नौं परिवार घरबारविहीन भएका छन् । छापगाउँमा पहिराले घर पुर्दा २ जनाको मृत्यु भएको थियो २ जना घाइते भएका थिए । घरको भग्नाबशेषमा आधा पुलिएको अवस्थामा हात हल्लाइरहेको देखेपछि बल्लबल्ल निकालेका थियौं’, सुमन बजगाईंले भने ।

तलबाट बाढीको कटान र माथिबाट पाखो नै क्षतविक्षत हुने गरी खसेका पहिरोले गाउँ नै असुरक्षित बनेका हुन् । भीष्म हुमागाईंका अनुसार बाढी र पहिरोले सबैभन्दा बढी छापगाउँ, घिसिङ गाउँ, धामी गाउँ लगायतमा धेरै क्षति पुर्‍याएको छ ।

‘पहिरोले कोही पाखो सुरक्षित छैनन् । यो ठाउँमा त अझै पनि पहिरो झर्ने जोखिम छ । धामी गाउँमा त ठूलाठूला ढुंगा आएर बसेको छ,’ भीष्म भन्छन्, ‘त्यो झर्‍यो भने तल्लो गाउँमा क्षति झन् पर्ने देखिन्छ ।’

स्थानीयका अनुसार बाढी र पहिरोले कलाती खोला आसपासका बस्तीमा यतिधेरै क्षति पुर्‍याएको छ कि टहरो वा पाल टाँगेर बस्न पनि कुनै ठाउँ ओभानो छैनन् ।

तिलकुमारी हुमागाईं (७०) आफ्नो जीवनकालमै यति ठूलो प्राकृतिक विपत्ति पहिलो पटक देखेको बताउँछिन् । ‘पहिले भूकम्पको बेला पनि हाम्रै घर ढलेको थियो । त्यतिबेला पनि बाँचियो, आज यस्तो देख्नलाई रै’छ’, तिलकुमारीले गहभरी आँशु पारिन्, ‘भूकम्पले घर ढालेपछि माथि (भूमेडाँडा) बाट तल (छापगाउँ) झरेका थियौं । यो बुढेशकालमा घरबारविहीन हुनुपर्ने भएर रै’छ ।’

भूकम्पले खोलामा झार्‍यो, खोलाले उठिबास भूकम्पले खोलामा झार्‍यो, खोलाले उठिबास

भूकम्पले खोलामा झार्‍यो, खोलाले उठिबास भूकम्पले खोलामा झार्‍यो, खोलाले उठिबास भूकम्पले खोलामा झार्‍यो, खोलाले उठिबास भूकम्पले खोलामा झार्‍यो, खोलाले उठिबास

तस्वीरहरुः चन्द्रबहादुर आलेमगर/अनलाइनखबर





Source link

Leave a Comment