लगातार दोस्रो वर्ष विद्युतमा बाढी-पहिरो वितण्डा, ५ अर्बको क्षति


१३ असोज, काठमाडौं । नेपालको विद्युत् क्षेत्रले बाढी-पहिरोका कारण लगातार दोस्रो वर्ष अर्बौं रुपैयाँको क्षति बेहोरेको छ । यसपटक १० असोजदेखि परेको पानीले ऊर्जा सिँचाइ क्षेत्रमा करिब ५ अर्बको क्षति भएको र यो अझै बढ्न सक्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । त्यस्तै माथिल्लो तामाकोशी कार्यरत ४ जना कर्मचारी तथा सुरक्षाकर्मी हराइरहेका छन् ।

गत वर्ष नेपालको पूर्वी क्षेत्रमा परेको पानीका कारण बाढी पहिरोले विद्युत् आयोजना र प्रसारण लाइनलगायतमा १० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको थियो । जल तथा मौसम विज्ञान विभागले गरेको पूर्वानुमानमा आधारमा आवश्यक सतर्कता अपनाउँदा अपनाउँदै पनि यति क्षति हुन पुगेको ऊर्जामन्त्री दिपक खड्काले बताए ।

‘सबैतिरबाट विवरण आउन बाँकी छ । जल तथा मौसम पूर्वानुमान विभागले यस्तो बाढी आउने पूर्वानुमान गरेको र त्यसका आधारमा विद्युत् आयोजनाहरूलाई पहिल्यै जानकारी गराउँदा गराउँदै पनि यति क्षति भएको हो । पूर्वानुमान नआएको भए अझै ठूलो क्षति हुने थियो,’ ऊर्जामन्त्री खड्काले बताए ।

गत वर्ष पूर्वी क्षेत्रमा मात्रै आएको बाढीले करिब १० अर्ब रुपैयाँ बराबरको क्षति भएकोमा अहिलेको क्षति कम रहेको पनि ऊर्जामन्त्री खड्काले बताए ।

‘हामीले विद्युत् आयोजनाहरूमा रातमा नबसीदिने, यातायातका साधन नचलाउनेलगायत निर्देशन दिएका थियौँ, त्यसले क्षति कम भएको हो,’ उनले भने ।

बाढी पहिरोले विद्युत् आयोजना, प्रसारण लाइन तथा वितरण प्रणालीमा भएको क्षतिका कारण ११ सय मेगावाट विद्युत् उत्पादनमा अवरोध भएको मन्त्रालयले जनाएको छ ।

उत्पादन रोकिएका आयोजनामध्ये ६ सय २६ मेवावाट उत्पादन क्षमताका ११ वटा जलविद्युत् आयोजनाहरूमा क्षति भएको र आपतकालीन अवस्थामा अधिकांश विद्युतगृहहरूको उत्पादन बन्द समेत रहे अनुसार करिब ११०० मेगावाट बराबरको उत्पादन रोकिएको जानकारी ऊर्जा मन्त्रालयले दिएको छ ।

त्यस्तै कुल १ हजार १० मेवाजडित विद्युत् क्षमताको १५ वटा निर्माणाधीन जलविद्युत् आयोजनाहरूमा क्षति भएको उर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले बताए ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो तामाकोशीलगायत आयोजनामा ठूलो मात्रामा क्षति पुगेको र यसको यथार्थ विवरण आउन बाँकी रहेको बताए ।

माथिल्लो तामाकोशी आयोजनाको हेडवर्क्स ।

माथिल्लो तामाकोशी आयोजनाबाट नदीले बगाएका चार कर्मचारीहरू अहिलेसम्म पनि भेटिएका छैनन् । आयोजनाको बाँध स्थलमा अवस्थित कन्ट्रोल रुममा पूर्णरूपमा क्षति भएको, सेटलिङ बेसिन र बक्स बेसिन र बक्स कल्भर्टमा थुप्रिएको घिसिङले जानकारी दिए ।

‘यसको पुनर्निर्माण कहिले सम्पन्न होला भन्न सकिने अवस्था छैन । हिउँदसम्म पनि मर्मतसम्भार सकिएन भने ऊर्जाको व्यवस्थापनमा समस्या आउन सक्छ,’ उनले भने ।

काबेली करिडोरका तीनवटा टावरमा क्षति भएको र त्यसका कारण पूर्वाञ्चलमा आउने २ सय मेगावाट विद्युत् बन्द हुन पुगेको घिसिङले बताए ।

लगातार दोस्रो वर्ष विद्युतमा बाढी-पहिरो वितण्डा, ५ अर्बको क्षति

‘त्यसबाट इलाम फिदिम ताप्लेजुङको आपूर्ति बन्द भएको छ । हामी दमकबाट ब्याकफिड गरी त्यस क्षेत्रमा आपूर्ति दिने प्रक्रियामा छौं,’ घिसिङले भने । त्यसलाई पुनर्स्थापनाका लागि टोली पठाउन खोजेकोमा हवाई टिकट नपाएकाले समस्या भएको उनले बताए ।

त्यस्तै खिम्ती लामोसाँघु खण्डमा एउटा टावर तामाकोशीले बगाएकोले २ सय मेगावाट विद्युत् लिन नसकिएको उनले बताए । यो काठमाडौंलाई पनि विद्युत् आपूर्ति गर्ने प्रसारण लाइन हो । साथै, त्यही क्षेत्रमा रहेको खिम्ती ढल्केबर २२० केभी प्रसारण लाइनको एउटा टावर निकै जोखिममा रहेको र त्यसमा क्षति पुगे ८ सय मेगावाट विद्युत् प्रसारण बन्द हुने घिसिङले बताए । त्यसलाई जोगाउने प्रयास भइरहेको उनले बताए ।

टावरमा क्षति पुग्दा त्यसको असर एउटा आयोजनामा पुगेको भन्दा बढी हुने उनको भनाइ थियो ।

‘एउटा आयोजनामा क्षति पुग्यो भने त्यसको मात्रै उत्पादन बन्द हुन्छ तर एउटा टावर ढल्दा धेरैवटा विद्युत् आयोजनाको विद्युत् प्रसारण हुन सक्दैन,’ उनले भने ।

वितरण लाइनहरुमा पनि धेरै ठूलो समस्या भएको उनले बताए । ‘पानी परिरहेका बेला वितरण प्रणालीमा पोल ढलेको, ट्रान्सफर्मरमा समस्या आएकोलगायत कारण मानवीय क्षति नहोस् भनेर विद्युत् आपूर्ति बन्द गरिएकोमा तीमध्ये अधिकांश खुलाइएको उनले बताए ।

विद्युत् निर्यातको मात्रा घट्यो

बाढी पहिरोको कारण विद्युत् उत्पादन र प्रसारणमा अवरोध आएपछि नेपालबाट भारत निर्यातको मात्रा पनि घटेको घिसिङले जनाए । यसअघि नेपालबाट करिब साढे ८ सय मेगावाट विद्युत् निर्यात गरिरहेकोमा अहिले २ सय ५० देखि ३ सय मेगावाट मात्रै विद्युत् निर्यात भइरहेको उनको भनाइ थियो ।

तर नेपालमा विद्युत् आपूर्ति गर्न नपुग्ने अवस्था आयो भने निर्यात बन्द गरेर भए पनि देशभित्रै वितरण गरिने उनले बताए ।

‘हिजो निर्यात गर्न भनेर हामीले करिब ८ सय मेगावाटको बिड गरेका थियौं । तर बाढी पहिरोका कारण आपूर्ति गर्न सकेनौं । त्यसबापत पेनाल्टी पनि तिर्नुपर्ने हुनसक्छ,’ उनले भने ।

पुनर्निर्माणमा सघाउन निजी क्षेत्रको माग

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानले गत वर्ष क्षति भएको आयोजनाहरूको पुनर्निर्माण र मर्मत गर्ने काम बाँकी रहेको अवस्थामा पुनः ठूलो नोक्सानी बेहोर्नुपरेको जनाएको छ ।

‘भ्याट छुट दिने विषयमा अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालयबीच जुहारी चलिरहेको छ । यो विषय चाँडै नटुंगिए निजी क्षेत्रले चाँडै आयोजना पुनर्निर्माण गर्न सक्दैनन् । त्यसो हुँदा यो विषय टुंगियोस्,’ इपानका अध्यक्ष गणेश कार्कीले बताए ।

बनाउँदै गरेका सामान बगाएर लगेको छ जुन तत्काल आयात गर्नुपर्ने छ, त्यसो हुँदा भ्याटको विषय चाँडै टुंगिनुपर्ने उनले बताए । सडक र पुलमा पनि ठूलो मात्रामा क्षति पुगेकाले परियोजना समयमा सम्पन्न नहुने जोखिम रहेको उनले बताए । उसमा मन्त्रालय र प्राधिकरणले सहजीकरण तथा पुनर्कर्जा प्रदान गर्न सहजीकरण गरिदनुपर्ने उनले बताए ।

मन्त्री खड्काले आयोजनाको पुनर्निर्माण गर्न सरकारले सहजीकरण गर्ने बताए । आयोजनाहरूले पाउनुपर्ने बीमाको भुक्तानी दिलाउन पनि पहल गर्ने उनले बताए ।

कुन विद्युत् आयोजनामा कस्तो क्षति ?

 

आयोजनाको नामजिल्लाजडित विद्युत् क्षमता (मेगावाट)बाढी पूर्वको अवस्थाभौतिक क्षतिको विवरणक्षतिको अनुमानित वित्तीय लागत
अपर तामाकोशी जलविद्युत् आयोजनादोलखा४५६सञ्चालनमा रहेकोबाँध स्थलमा अवस्थित कन्ट्रोल रुममा पूर्णरुपमा क्षति भएको, सेटलिङ बेसिन र बक्स बेसिन र बक्स कल्भर्टमा थुप्रिएको, ४ जना कर्मचारी सम्पर्कविहीनयकिन हुन बाँकी
अपर त्रिशूली-१ जलविद्युत् आयोजनारसुवा२१६निर्माणाधीनक्याम्प हाउस, पहुँचमार्गमा क्षति र ३ वटा कन्टेनर बगाएको१० करोड रुपैयाँ
बागमती साना जलविद्युत् आयोजनामकवानपुर२२संचालनमा रहेको(पाँच सय वर्षमा एकपटक आउने किसिमको बाढी) विद्युत् गृह पूर्णरूपमा डुबेको१ अर्ब रुपैयाँ
तल्लो हेवा खोला जलविद्युत् आयोजनापाँचथर२२.१गत वर्षको बाढीबाट पनि प्रभावितविद्युत गृह डुबानमा परेको२५ करोड रुपैयाँ
हेवा खोला एपाँचथर१४.९गत वर्षको बाढीबाट पनि प्रभावितपुनः निर्माण सकेर संचालनमा आउनै लाग्दा पुनः क्षतिग्रस्त भएकोयकिन हुन बाँकी
सोलु दुधकोशी जलविद्युत् आयोजनासोलुखुम्बु८६संचालनमा रहेको(एक हजार वर्षमा एकपटक आउने किसिमको बाढी) हेडवर्क्समा क्षति भई उत्पादन बन्द रहेको, करिब दुई दिनमा सुचारु हुने अनुमान रहेकोयकिन हुन बाँकी
माइखोला क्यासकेड जलविद्युत् आयोजनाइलामसंचालनमा रहेकोबाँध र टेलरेसमा क्षति भई उत्पादन बन्द रहेको५ करोड
माइखोला जलविद्युत् आयोजनाइलाम९.६संचालनमा रहेकोबाँध र प्रसारण लाइनमा क्षति भई उत्पादन बन्द रहेको७ करोड
फेमे खोला जलविद्युत् आयोजनापाँचथरसंचालनमा रहेकोबाँध र विद्युतगृहमा पूर्णरूपमा क्षति भएको१० करोड
सिउरी खोला जलविद्युत् आयोजनालमजुङसंचालनमा रहेकोटेलरेस, इन्टेक र टनेलमा क्षति भएको२ करोड
सुपरन्यादी जलविद्युत् आयोजनालमजुङ४०निर्माणाधीनपहुँचमार्ग र प्रोटेक्सन वालमा क्षति भएकोयकिन हुन बाँकी
इलेप खोला तातोपानी जलविद्युत् आयोजनाधादिङ२५निर्माणाधीनपहुँचमार्गमा क्षति भएकोयकिन हुन बाँकी
हेवा खोला जलविद्युत् आयोजनासंखुवासभानिर्माणाधीनक्रसर पुरिएको, पहुँचमार्गमा क्षति, प्रसारणलाइनको टावर ढलेको, पावर हाउसमा जडान गर्न ल्याइएका सामाग्री बगाएको१० करोड
सभाखोला बी जलविद्युत् आयोजनापाँचथर१५.१

 

निर्माणाधीनपहुँचमार्ग, पावरहाउस पुरिएको, बाँधमा क्षति र अस्थायी पुल बगाएको७ करोड
सभाखोला सी जलविद्युत आयोजनापाँचथर६.३निर्माणाधीनपहुँचमार्गमा क्षति३ करोड
लान्द्रुक मोदी जलविद्युत् आयोजनाकास्की८६.५९निर्माणाधीनपहुँचमार्गमा क्षति८ करोड
सुपर त्रिशूली जलविद्युत् आयोजनानुवाकोट१००निर्माणाधीन२ वटा स्काभेटर बगाएको, २ वटा लोडर र ३ वटा ट्रिपर बगाएको, बेलीब्रिज बगाएको, पावर हाउस स्काभेसन पुरिएको२५ करोड
लाङटाङ खोला जलविद्युत् आयोजनारसुवा२०निर्माणाधीनबाँध, क्याम्प हाउस र पहुंचमार्गमा क्षति भएकोयकिन हुन बाँकी
खानी खोला जलविद्युत् आयोजनाललितपुरसंचालनमा रहेकोपावर हाउस डुबेको, प्रसारणलाइनको टावर ढलेको, स्वचयार्डमा क्षति, ड्याम र हेडरेस टनेल र पहुँचमार्गमा क्षति१० करोड
टुङ्गुन ठोस्ने जलविद्युत् आयोजनाललितपुर४.३६संचालनमा रहेकोपावर हाउस डुबेको, प्रसारणलाइनको टावर ढलेको, स्वचयार्डमा क्षति, ड्याम र हेडरेस टनेल र पहुँचमार्गमा क्षति१५ करोड
माया खोला जलविद्युत् आयोजनासंखुवासभा१४.९निर्माणाधीनबाँध र पहुँचमार्गमा क्षति२ करोड
लाप्चे खोला जलविद्युत् आयोजनादोलखा९९.४निर्माणाधीनपहुँच मार्ग, अडित रोड र क्याम्प क्षेत्रमा क्षति भएकोयकिन हुन बाँकी
भोटेकोशी-१ जलविद्युत् आयोजनासिन्धुपाल्चोक४०निर्माणाधीनसुरुङ मार्गमा क्षति भएकोयकिन हुन बाँकी
तल्लो सोलु जलविद्युत् आयोजनासोलुखुम्बु८२निर्माणाधीनविद्युत गृह र बाँधस्थलमा पहिरो गएकोयकिन हुन बाँकी
तनहु जलविद्युत् आयोजनातनहुँ१४०निर्माणाधीनभारी वर्षाका कारण निर्माण स्थलमा पानी जमेको र क्रेनमा क्षति भएकोयकिन हुन बाँकी
रसुवा भोटेकोशी जलविद्युत् आयोजनारसुवा१२०निर्माणाधीननिर्माण सामग्रीहरूमा क्षति पुगेकोयकिन हुन बाँकी

प्रसारण तर्फ

सि.नं.प्रसारण लाइनसर्किट संख्याटावर नं.क्षतिको विवरणक्षतिको अनुमानित लागतकैफियत
काबेली कोरिडोर अन्तर्गतको दमक-गोदक १३२ केभी प्रसारण लाइन५०, ५१, ५२टावरमा क्षति५ अर्ब २५ करोडयस कोरिडोर अन्तर्गत गोदक सबस्टेसनमा जोडिएको ९.६ मेगावाटको सुपरमाई ए जलविद्युत् आयोजनाको ३३ केभी लाइनको करिब १० वटा पोल बगाएको र सुपरमाई ए क्यास्केड जलविद्युत् आयोजनाको ३३ केभी लाइनको ३ वटा पोल बगाएको, काबेली बी-१ क्यास्केडको ३३ केभी लिनको एउटा पोल ढलेको
खिम्ती-लामोसांगु १३२ केभी प्रसारण लाइनटावरमा क्षति१ अर्ब ५० करोड
सोलु कोरिडोरप्रमुख लाइनमा क्षतिको विवरण प्राप्त नभएको तथापि सो सँग आबद्ध केही सबस्टेसनमा क्षति भएकोयस कोरिडोरअन्तर्गत तिङला सबस्टेसनमा जोडिएको १२ मेगावाटको सोलु दुधकुण्डको  ३३ केभी लाइनको ३ वटा पोल ढलेको र तारमा क्षति भएको

वितरण तर्फ

प्रादेशिक वितरण केन्द्रक्षति सम्बन्धी विवरणकैफियत
हाई टेन्सन पोललो टेन्सन पोलट्रान्सफरमरलाइनको लम्बाइ
गण्डकी१५ वटायकिन हुन बाँकी
लुम्बिनी४११०२करिब ७०० मिटरयकिन हुन बाँकी
कर्णाली२१२२६०करिब १.३८ करोड
सुदूरपश्चिम४२३७यकिन हुन बाँकी
कोशी१८२१६१यकिन हुन बाँकी
मधेश१४८१८०करिब ३५०० मिटरयकिन हुन बाँकी
बागमती३९४३७२१५यकिन हुन बाँकी

सिँचाइ र नदी नियन्त्रणमा डेढ अर्बको क्षति

मन्त्रालयका अनुसार सिँचाइ र नदी नियन्त्रणतर्फ बाढी पहिरोका कारण करिब डेढ अर्बको क्षति भएको छ । सुनसरी मोरङ सिँचाइ आयोजना अन्तर्गतका १० वटा शाखा नहरहरूको टेल करिब ५ करोड रुपैयाँको क्षति भएको अनुमान रहेको सिँचाइ मन्त्रालयका महानिर्देशक सञ्जीव बरालले बताए ।

त्यस्तै बाग्मति सिँचाइ आयोजनामा पूर्वी मूल नहर र पश्चिम मूल नहर एवं शाखा नहरहरूमा क्षति पुगेको र त्यसको लागत ५ करोड ४० लाख रुपैयाँ रहेको उनले बताए ।

झाँझ सिँचाइ आयोजना अन्तर्गतको नहरमा ३ करोड रुपैयाँको अनुमानित क्षति भएको जनाइएको छ । कोशी पम्प चन्द्र नहर आयोजनामा माहुली खोलाले क्षति गरेको, कमला सिँचाइ व्यवस्थापन आयोजना अन्तर्गत बाँधको तल्लो क्षेत्रमा क्षति पुर्‍याएको पनि जनाइएको छ ।

घुर्मी नदीमा रहेको १४० मी लम्बाइको साइफनमा क्षति पुर्‍याएको र बताहा नदीमा रहेको साइफनमा क्षति पुर्‍याई उच्च जोखिममा रहेको र त्यसको अनुमानित क्षतिको लागत ५ करोड रुपैयाँ रहेको जनाइएको छ ।

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना, सिन्धुली अन्तर्गत निर्माणाधीन कफर ड्याम डुबानमा परेको छ । त्यहाँ ठूलो क्षतिको अनुमान भए पनि लागत अनुमान गर्न कठिन भएको महानिर्देशक बरालले जनाए ।

महाकाली सिँचाइ आयोजना, कञ्चनपुर लगायत अन्य क्षेत्रमा भदौ महिनामा आएको बाढीले ठूलो क्षति पुर्‍याई करिब १ अर्ब १४ करोडको क्षति पुर्‍याएको विभागले जनाएको छ ।

यसका साथै ११ र १२ असोजमा आएको अबिरल वर्षाले गर्दा विभिन्न क्षेत्रमा नदी कटान, डुबान तथा बाढीले नदी नियन्त्रण तर्फ करिब १ अर्ब १६ करोड २० लाख क्षति पुर्‍याएको मन्त्रालयले जनाएको छ ।

‘हालसम्म प्राप्त तथ्यांक अनुसार नदी नियन्त्रण तथा सिंचाई समेत गरी कुल करिब १ अर्ब ३५ करोड र विद्युत आयोजना तर्फ करिब ३ अर्ब गरि कुल करिब ४ अर्ब ३५ करोडको क्षति रहेको देखिन्छ,’ मन्त्रालयले उल्लेख गरेको छ ।





Source link

Leave a Comment