जब भारतीय भूमिमा नेपाली राष्ट्रिय गान गुञ्जियो

जब भारतीय भूमिमा नेपाली राष्ट्रिय गान गुञ्जियो


करीव तीन महिनाअघि म मेरो विद्यालयबाट भारत भ्रमणमा गएकी थिएँ । अघिल्लो वर्ष शैक्षिक भ्रमणमै चीन जाने मौका मिलेको थियो ।

त्यो भ्रमण मेरा लागि असाध्यै स्मरणीय ‘ट्रीप’ बन्न पुगेको थियो । मैले त्यो यात्राबारे लेखेको ब्लग पढ्दा चीन भ्रमणका याद ताजा हुन्छन् । फेरि पनि जान पाए हुन्थ्यो भन्ने मनमा लाग्छ ।

म कक्षा ९ मा पुगेको एक महिनापछि नै भारत भ्रमणको कुरा आयो । चीन जाँदाका अनुभव, रमाइला पल मनमा ताजै थिए । भारत गैसकेको देश त हो भन्ने पनि लाग्यो सुरुमा ।

तर, साथी, शिक्षक लगायत विद्यालय परिवारसँग जाने मौका फेरि कहाँ आउँछ र भन्ने सोचेर उत्साह बढेर गयो । यसपालिको शैक्षिक भ्रमण जाने कुरा घरमा पनि तुरुन्तै ‘पास’ भएको थियो । साथीहरू, अब म तपाईंहरूलाई मेरो भारत यात्राको दैनिकी पेश गर्छु ल !

पहिलो दिन

सन् २०२४ को जुन ७ तारिखको बिहान म छिटै उठें । यात्राको उमङ्गले खास निदाउन पनि सकेकी थिइनँ । यताउता तयारी गर्दागर्दै बिहानको ९ बजे विमानस्थल पुग्न हतार भैरहेको थियो । बाबाले समयमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगि दिनुभयो । त्यहाँ साथीहरू आउने क्रम केहीबेर चलिरह्यो ।

हामी प्रिन्सिपल बुनु कार्की थापा म्यामको नेतृत्वमा ४ जना शिक्षक टोली र दुई दर्जन बढी सहपाठी भ्रमण टोलीमा थियौं । सबै जुटेपछि फोटो सेसन चल्यो केहीबेर । त्यसपछि हामी बोर्डिङ पास लिएर सुरक्षा जाँच सकाएर यात्रु प्रतिक्षालय पुग्यौं । प्रतिक्षालयमा निकैबेर पर्खिंदा सबै साथी जहाज चढ्न व्यग्र देखिन्थे ।

अब प्रतिक्षाको समय सकियो । हामी हुल बाँधेर जहाजभित्र प्रवेश गर्‍यौं । तीन सिटको लहरमा हामी तीन साथी सुनिष्का, यशस्वी र म बसेका थियौं । गीत सुन्दै यात्रा गर्दा आकाशको साढे एक घण्टाको यात्रा निकै छोटो लाग्यो । नयाँ दिल्लीको इन्दिरा गान्धी अन्र्तराष्ट्रिय विमानस्थलबाट बाहिर निस्कँदा तातो हावाको मुस्लो आयो । बाफ्रे ! कस्तो गर्मी हो । एकै छिनमा ठूलो एसी बसमा पसेपछि सितल मन भयो ।

हामी सिधै अक्षरधामको यात्रामा निस्केका थियौं । अक्षरधाम निकै फराकिलो, ठूलो र आकर्षक मन्दिर रहेछ । भिड पनि उल्कै थियो । जता पनि मानिस मात्रै । गर्मी पनि हपहपी । तर सुन्दर मन्दिर परिसरले यात्रा र गर्मी बिर्साइरहेको थियो ।

मन्दिर परिसरमा क्यामरा, फोन लिन पाइँदो रहेनछ । त्यसैले मन्दिरको सुन्दरता आँखामै सीमित भयो । फोटो खिच्न पाइएन । अक्षरधाम स्वामीनारायणका लागि बनेको लेखिएको थियो ।

स्वामिनारायणको जीवनी, उहाँका राम्रा काम र सोच अनि ज्ञानका बारेमा थाहा पायौं । मन्दिरभित्र विभिन्न सजावट र व्यवस्थापन राम्रो रहेछ । मन्दिर परिसरमा पानीको फोहराको ‘फाउन्टेन शो’ हेर्‍यौं । फूल, आगो, हावाहुरी जस्ता प्रदर्शनी पानीबाटै गरिएको थियो ।

अँध्यारो बढ्दै गएपछि अक्षरधाम मन्दिर झन् धपक्कै बल्नेरहेछ, बत्तीको झिलिमिलिले भव्य ! मनै आनन्दित बनाउने गरी हेरिरहूँ लाग्ने । त्यसपछि हामी होटल पुगेर अबेरसम्म साथीहरू मिलेर पहिलो दिनको रमाइलो साँझ गफिंदै बितायौं ।

दोस्रो दिन

दोस्रो दिन करीब करीब गाडीको यात्रामै बित्यो । बिहानै खाजा खाइवरी हामी देहरादुनका लागि निस्क्यौं । गीत गाउँदै, नाच्दै बाटो काट्दा दिनभरको यात्राले पनि हामी थाकेका थिएनौं, रमाइरहेका थियौं । बाटो पनि फराकिलो र सुन्दर नजारासहितको थियो । खाल्टाखुल्टी कतै थिएन । बीचबीचमा कतिपय साथीहरू निंदमा झुमेका देखिन्थे ।

जब भारतीय भूमिमा नेपाली राष्ट्रिय गान गुञ्जियो

गजब रमाइलो त त्यतिबेला भयो जब शिक्षकहरू पनि नाचगानमा सहभागी हुनुभएको थियो । साँझ पर्नैलाग्दा हामी देहरादुन पुग्यौं । बाटैमा बलभद्र कुँवर मेमोरियल रहेछ, भित्र प्रवेश गर्‍यौं । उक्त ठाउँमा बलभद्रले आफ्नो देश नेपालका लागि लडेका रहेछन् ।

होटल पुगेर हामी लगत्तै स्थानीय बजार घुम्न निस्कियौं । बाटो साँघुरो भएकाले निकै ट्राफिक जाम थियो । अनि गाडीको ‘हर्न’ को आवाजले साह्रै कोलाहल थियो । जता गए पनि गाडीको प्याँ प्याँले तर्साइरह्यो । मानिसको भिड अनि कोलाहलसँगै बजारमा ‘ब्याड टच टाइप’ को अनुभव गरेका थियौं केही साथीहरूले ।

हामी धेरैबेर बजारमा रमाउन सकेनौं अनि छिटै होटल फर्कियौं । चीनमा भन्दा भारतमा निर्धक्क हिंड्न अहिल डर लागेजस्तो महसुस भएको थियो ।

तेस्रो दिन

आज हामी अर्को नयाँ ठाउँ जाँदै थियौं । खाजा खाएर अर्को शहर मसुरीको यात्रा सुरु भयो । सडकको दुवैतर्फ रुखैरुख भएको सुन्दर सडकमा यात्रा गर्न अनुपम आनन्द आउँदो रहेछ । अनि गाडीमा गीत गाउँदै ताली बजाउँदै साथीभाइसँगको यात्रा झन् यादगार भैरहेको थियो ।

मसुरीमा सानो गाडी भाडामा लिइएको थियो । दिल्लीबाट आएको हाम्रो बस निकै ठूलो र सुविधाको थियो । स्थानीय रुटमा त्यो बसमा यात्रा गर्दा साँघुरो बाटो र पार्किङ समस्या हुने भएर सानो लोकल बस लिने निर्णय गरिएको थियो ।

मसुरीको बाटो साह्रै सुन्दर छ भनेर कतै सोसल मिडियामा पढेकी थिएँ, हो रहेछ । सुन्दर दृश्यपान गर्दै, गीत गाउँदै हामी मसुरी पुग्यौं । बाटोमा हेरी रहुँ लाग्ने हरियाली दृष्य देखिन्थ्यो । लोकल गाडीमा केम्पटी फल्स तिर लाग्यौं ।

‘केम्पटी फल्स’ झरना मनमोहक रहेछ । तर, झरना परिसरमा साह्रै भिड हुने रहेछ । यति धेरै मानिस थिए कि कुरै नगरौं । झरनाको सुन्दरताको स्वाद लिन खासै नपाइने रहेछ, मानिसको ठेलमठेल भिडले । एकपटकमा कति मानिसलाई झरनाभित्र छिर्न दिने भन्ने नियम हुनुपर्ने जस्तो लाग्यो । झरना नजिक ताल पनि रहेछ । तालमा बोटिङ गर्दा भने खुबै रमाइलो भयो । थकाई पनि निकै लाग्यो ।

त्यहाँको लोकल म्यागी नुडल्स खाजा खाएर हामीले नयाँ गन्तव्यको यात्रा समात्यौं । केवलकार मार्फत् जनहिल जाने भनिए पनि साह्रै भिड भएकाले त्यो कार्यक्रम स्थगित गरिएको थियो । छेउमै भएको ‘रेलर कोस्टर’ भने चढ्ने मौका मिल्यो । पूरै ३६० डिग्री घुमाउने त्यो राइडले दिमाग नै घुमाइदिए पनि मज्जा पनि आयो । त्यसपछि स्थानीय बजार घुमेर हामी फेरि देहरादून फर्कियौं ।

चौथो दिन

चौथो दिनको सेड्युल पनि दिनभरी गाडीमा यात्रा गर्ने थियो । बिहानै हामी खलङ्गा वार मेमोरियल अवलोकनका लागि गयौं । यो ठाउँ पहिले नेपाल नै थियो भनेर इतिहासमा पढेको ठाउँ थियो त्यो । जङ्गलको बाटोभित्र अलि माथि खलङ्गा वार मेमोरियल बनाइएको रहेछ ।

उक्त युद्धमा थुप्रै नेपालीहरूको ज्यान गएको इतिहासमा उल्लेख छ । यो ठाउँमा हाम्रो पूरै टीमले राष्ट्रियगान गायौं । देशको माया झन् बढेको अनुभव भयो त्यसबेला । अनि नेपाली भएकोमा गर्व महसुस भयो ।

जब भारतीय भूमिमा नेपाली राष्ट्रिय गान गुञ्जियो

अब हामी भारतको अर्को प्रशिद्ध ठाउँ अमृतसरको यात्रामा निस्क्यौं, उही दिल्लीबाट साथ लागेको सुविधासम्पन्न एसी बसमा । साथीहरू र शिक्षक सँग नाच्दै गाउँदै बाटो काटेको पत्तै भएन । लामो यात्रा र व्यस्त घुमफिरमा पनि सबै फुर्तिला देखिन्थे ।

खुसीको कुरा कसैलाई कुनै स्वास्थ्य समस्या पनि भएन । भारतका राजमार्ग पनि साह्रै राम्रा रहेछन्, नेपालको जस्तो खाल्टाखुल्टी कहिँ कतै नभएका । जता पनि चिल्ला र फराकिला राजमार्ग रहेछन् ।

पाँचौ दिन

अमृतसरमा हामी यात्राको पाँचौ दिनमा थियौं । आज हामी धेरै जसो केटी साथीले कुर्ता सलवार लगाएका थियौं । सुरुमा ‘पार्टिसन म्युजियम’ गयौं । देश विभाजन बारे जानकारी दिने विश्वको पहिलो संग्रहालय रहेछ यो । यसमा भारत र पाकिस्तान अलग हुँदाका कहानीहरू, त्यसबेलाका विभिन्न वस्तुका फोटो र भिडियोहरू संग्रह गरिएको रहेछ । भारतबाट पाकिस्तान अलग हुँदा मानिसहरूले भोग्नु परेका पीडाका कथाहरू सुन्दा मन भरिएर आयो ।

जब भारतीय भूमिमा नेपाली राष्ट्रिय गान गुञ्जियो

त्यसपछि हामी नजिकै पर्ने गोल्डेन टेम्पल गयौं । यो शीख धर्म मान्ने मानिसहरूको असाध्यै महत्वपूर्ण मन्दिर रहेछ । तालको बीचमा यो मन्दिर सुन्दर रूपमा सजिएको छ । मन्दिरमा पूरै सुनको जलप लगाइएको छ । एकटकले हेरिरहन मन लाग्ने गरी मन्दिर सुन्दर रहेछ । यो मन्दिर परिसरमा जाँदा टाउको छोप्न पर्ने, फोटो खिच्दा पनि तोकिएको पोजिशनमा मात्र खिच्न पाइने रहेछ ।

नियम पालना नगरेको भनेर एकजना साथीले गाली खानु परेको थियो । मन्दिर परिसरको पवित्र तालको पानीमा हात चोबल्दै हामी शिख म्युजियमभित्र गयौं । म्युजियममा शिख धर्मको उदय र शिख राजाहरूका बारेमा सामग्री संकलित थिए । हाम्रो हिन्दू धर्मकै पृष्ठभूमिको शिख धर्मका बारेमा वुझ्दा मलाई चाखलाग्दो लाग्यो ।

अनि बिहानको खाना खाएर हामी थप अर्को ठाउँ पुग्यौं । यो झन् रोमाञ्चक ठाउँ थियो, वागा बोर्डर । यो ठाउँ भारत र पाकिस्तानको सीमा रहेछ । यो ठाउँमा एउटा ऐतिहासिक परेड हुने रहेछ । परेड सुरु हुनुअघि महिला जतिले नाच्न पाइने रहेछ । हामी पनि एक छिन नाँचमा सामेल भयौं । एकै छिनमा सीमा सुरक्षामा खटिएका सेनाले परेड देखाए ।

सेना मध्येका कसैले पाकिस्तानप्रति नराम्रो भावना व्यक्त गर्ने क्रियाकलाप गरिरहेका थिए । यो देखेर हामी त अचम्मित भयौं । डर लागे जस्तो पनि भयो । बीच बीचमा जय हिन्दको नाराले परेड स्थल आसपास गुञ्जायमान हुन्थ्यो । हामी तिर आँखा नलाउनु, ठिक हुन्न भन्ने सन्देश दिन खोजे जस्तो लाग्यो । त्यसपछि दुवै देशको झण्डासँगै राखेर सीमा गेट खोलियो ।

हामी पाकिस्तान पनि पुगेको ठानेर मख्ख पर्‍यौं । खासमा यो सीमा नाकामा दुई देशको मित्रताभन्दा पनि तिता विगत सम्झाइ राख्न खोजेको जस्तो अनुभूति भयो । समग्रमा यो अनुभव हाम्रा लागि असाध्यै नौलो र रोमाञ्चक भयो ।

यसपछि हामी रात्रीको गोल्डेन टेम्पलको दृश्यावलोकन गर्न फेरि त्यतै लाग्यौं । वाउ ! राती त गोल्डेन टेम्पल झन् कति भव्य र सुन्दर देखिंदो रहेछ । निकै भिड र मौसम गर्मी भए पनि मन्दिर चाहिं एकपल्ट पुग्नैपर्ने खालको सुन्दर रहेछ ।

आज अमृतसर छोड्ने दिन थियो । साँझको खाना खाने वित्तिकै हामी रात्री यात्रामा निस्क्यौं । रातभरी बसमा गुडेर बिहान दिल्ली फर्किने योजना थियो । बसमा मज्जाले निदाएरै हामी दिल्ली पुग्यौं ।

छैटौं दिन

रातभरि यात्रा गरेर सिधै होटलमा पसेका थियौं । रातभरीको यात्राको थकानभन्दा पनि नयाँ ठाउँ घुम्ने अभिलाषाले ऊर्जा थपिदिंदो रहेछ । हामी फटाफट तयार भएर निस्किहाल्यौं । दिल्लीमा आजको पहिलो गन्तव्य नेहरू प्लानेटेरियम थियो । सुरुमा नेहरू संग्रहालय गयौं जहाँ स्वतन्त्र भारतका पहिलो प्रधानमन्त्री नेहरू र देशका बारेमा धेरै जानकारी राखिएको रहेछ । जवाहरलाल नेहरूको इतिहास बताउने उहाँको बस्ने कोठा लगायत धेरै सामग्री हेर्न राखिएको छ ।

त्यसपछि हामीले प्लानेटोरियमको ‘शो’ हेर्‍यौं । उक्त शोमा पृथ्वी कसरी बन्यो, अरु ग्रहहरू कसरी बने लगायतका पृथ्वीका रहस्यहरू बारे सोफामा बसेर मज्जाको स्क्रिनमा हेर्न मिल्दो रहेछ ।

त्यसपछि हामी नेशनल विज्ञान संग्रहालय गयौं । त्यहाँ मानव शरीर लगायतका बारेमा विभिन्न जानकारी देखाइएको थियो । यो संग्रहालय मलाई रोचक लाग्यो । यसमा मानिसको शरीरका विभिन्न अङ्ग र विज्ञानसँग सम्बन्धित सिक्न मिल्ने धेरै कुरा थिए ।

विज्ञान संग्रहालयको अवलोकनपछि हामी दिल्लीको सबैभन्दा ठूलोमध्येको एक डीएलएफ मल गयौं । हामी सबैले कपडा लगायत सपिङ गर्‍यौं । मैले इण्डियन तयारी खानेकुरा किन्न पनि जोड दिएँ । हाम्रो यात्रा टुंगिनुभन्दा अघिल्लो दिन यसरी बित्यो । लगातारको यात्राको धपेडीमा भए पनि हामी थाकेका थिएनौं ।

सातौं दिन

हामी नेपाल फर्कने दिन । घुमघामको रमाइलो अनि घरको यादको चेपुवामा परे जस्तो मन भएको थियो । अन्तिम दिन घुमघामको व्यस्तता थिएन । इण्डिया गेट, महात्मा गान्धीको समाधिस्थल राजघाट र राष्ट्रपति भवन आसपास अवलोकन गरेर हामी सिधै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल तर्फ लाग्यौं ।

जब भारतीय भूमिमा नेपाली राष्ट्रिय गान गुञ्जियो

कालो संगमरमरबाट बनाइएको समाधिमा गान्धीद्वारा बोलिएको अन्तिम शब्द ‘हे राम..’ उद्धृत गरिएको रहेछ । यो स्थान एउटा सुन्दर बगैंचा जस्तो बनेको रहेछ । इण्डिया गेट भारतीय सेनाको सम्मानमा बनाइएको रहेछ ।

दिल्लीमा गर्मी खुबै भए पनि घुमघाम रमाइलो भएको थियो । फर्कने दिन एअरपोर्टभित्रै खाना खाने कार्यक्रम बनेको थियो । अनि त्यहींभित्रको ‘ड्युटी फ्री’ पसलहरूमा केही किनमेल गर्‍यौं । यस्ता पसलमा ब्राण्डेड सामान मात्र पाइन्छन् । महंगै भए पनि कर नलाग्ने बनाएर केही राहत दिइएको हुनेरहेछ ।

नेपालका लागि नेपाल एअरलाइन्सको जहाज चढ्यौं । प्लेन चढेपछि एक साताका भ्रमणका एकएक सम्झना मनमा आए । रमाइला दृश्यले मन चंगा भयो ।

यसरी एक साताको शैक्षिक भारत भ्रमण सकियो । यो यात्राबाट मैले धेरै कुरा सिकें । यात्राले अझ बढी परिपक्व बनाएको अनुभूति भयो । यात्राका क्रममा भारतका भिन्न शहर र तिनको अलग अलग विशेषताको अनुभव भयो । ठाउँ अनुसारको संस्कृति, रहनसहन र खानाको स्वाद अनुभव भयो ।

लामो यात्राका क्रममा आफ्नो सरसामानको तयारीले बाटोमा हुने सहजता वा असहजता र सुरक्षा ध्यानका बारेमा सिकाइ भयो । हिन्दी भाषा मलाई ठिकै आउने भएकाले यात्राका क्रममा कुराकानी गर्न सहज महसुस भएको थियो । नेपालीसँग भेट भैरहन्थ्यो । विदेशमा नेपाली भेटिंदा आफ्नै मानिस भेटे जस्तो लाग्ने रहेछ ।

गत वर्षको चीन भ्रमणका बेला जस्तै सम्पूर्ण यात्रा अवधिभर कुशल र स्नेही नेतृत्व प्रदान गर्ने युलेन्स स्कुल काठमाडौं टीमलाई विशेष धन्यवाद । उहाँहरूको कुशल संयोजन र व्यवस्थापनले हामीलाई यात्रा अवधिभर सुरक्षित, सहज र ज्ञानोपयोगी बनायो । यात्राका क्रममा विद्यालयमा दिउँसो मात्र साथमा रहने साथीभाइबीच २४ सै घण्टा र केही दिन साथमा रहन पाउँदा पनि धेरै कुरा बुझ्न र एकअर्काबाट सिक्न पाइँदोरहेछ ।

मेरा सबै रमाइला साथीहरूलाई पनि म यसै ब्लग डायरी मार्फत् मिठो याद गर्न चाहन्छु । यो ब्लग लेखिरहँदा सुनिष्का, यशस्वी, शुभश्री, प्रिशा, मिजला लगायतका सबै साथीहरू बीचका रमाइला पल झल्झल्ती सम्झिरहेकी छु ।

अबेरसम्म नसुती नसुती हामी गफिन्थ्यौं । अनि आर्थिक अप्ठेरोका बीच पनि केही सिकोस् भनेर मलाई भ्रमणको तारतम्य मिलाइदिने आदरणाीय बाआमाप्रति नमन छ ।

लगालग चीन र भारत भ्रमणमा गएपछि मलाई के लाग्यो भने हाम्रा दुई विशाल छिमेकी देशबाट हामीले धेरै सिक्न र सहयोग लिन सक्छौं ।

भौतिक विकासमा हामी भन्दा दुवै छिमेकी निकै माथि रहेछन् । आफ्ना नजिकका छिमेकी देश देख्न र बुझ्न मिलेसम्म भ्रमण गर्न मौका मिलोस् सबैलाई भन्ने कामना पनि छ । मेरो यात्रा डायरी ब्लगको गन्थन अब रोक्छु । तपाईंहरूलाई कस्तो लाग्यो ? आशा छ रमाइलो लाग्यो होला ।

केही सुझाव भए कमेन्ट्स लेख्नु होला है !

फेरि यसैगरी कतै घुम्ने मौका मिले म तपाईंलाई ब्लग लेखेर भेट्न आउँला है । तपाईं आफ्नो ख्याल गर्नुहोला । म विदा हुन्छ ल !

(संस्कृति युलेन्स स्कुल काठमाडौंमा अध्ययनरत कक्षा ९ की विद्यार्थी हुन् । )





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School