वातावरण प्रदूषण विश्वका विभिन्न ठूला राष्ट्र तथा विकासोन्मुख देशका प्रमुख सहरहरूमा प्रमुख समस्याका रूपमा रहेको छ, जसमा राजधानी काठमाडौंलगायत अन्य विभिन्न सहरहरू पनि अछूतो छैनन् । सहरीकरणको विस्तार, जनसंख्याको वृद्धि, अव्यवस्थित फोहोरमैला व्यवस्थापन, पानी प्रदूषण, वायु प्रदूषण र खासगरी सवारीसाधनबाट हुने प्रदूषण आदि व्यापक भइरहेको छ । प्रदूषणलाई नियन्त्रण गर्न अन्तर्राष्ट्रियस्तरमा ‘कमन ल’ पद्धतिका मुलुकमा जस्तै राष्ट्रहरूउपर दुष्कृति दायित्वको कानुन छ । तर, त्यस्तो कानुन हामीकहाँ छैन, भएको कानुन पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन ।
पृथ्वीको वातावरणीय तहमाथि करिब १५ देखि ३० किमीमाथि रहेको ओजोन एउटा रक्षात्मक कवच हो । जसले सूर्यका हानिकारक किरणलाई पृथ्वीमा सिधै छिर्नबाट रोक्छ । विभिन्न मानवीय क्रियाकलापले गर्दा अव्यवस्थित औद्योगिकीकरण, ज्यादा रसायनको प्रयोगले ओजोन तहहरूमा हानि पुगी विनाश हुन थालेको छ । सो न्यूनीकरणका लागि विश्व ओजोन तह बचाउ दिवस सन् १९९५ देखि मनाउँदै आएको हो । यो १६ सेप्टेम्बरमा मनाइन्छ । यस वर्षको विश्व ओजोन तह बचाउ दिवसको नाराले जलवायु परिवर्तनमा मोन्ट्रियल प्रोटोकलको सकारात्मक प्रभाव, ओजोन रिकभरी ट्र्याकमा छ र कसरी जलवायु परिवर्तन चुनौतीलाई समर्थन गर्न सकिन्छ भन्ने वैज्ञानिक मूल्यांकन प्यानलले हालै गरेको खोजलाई फेरि दर्साएको छ । प्राणीको रक्षाका लागि विश्वव्यापी सहकार्यको आह्वानका साथ यो दिवस मनाइँदै छ ।
ओजोन तह, अक्सिजनका तीन अणु र तीन परमाणुहरूसँग मिलेर बनेको एक ग्याँस हो । जुन वायुमण्डलमा धेरै कम मात्रामा पाइन्छ । यो तीखो गन्ध भएको अत्यन्त विषालु ग्याँस हो । यो हाम्रो वायुमण्डलको ३० हजार फिटमाथि स्थायी रूपमा तह बनेर बसेको हुन्छ । यसले सूर्यबाट आउने विभिन्न हानिकारक परावैजनी किरणहरूलाई पृथ्वीसम्म आइपुग्नबाट रोक्ने गर्छ । तर, पृथ्वीमा बढ्दो मात्रामा रहेका कार्बनडाईअक्साइड, कार्बनमोनोअक्साइड, सल्फरडाईअक्साइड, सीएफसीजस्ता हरितगृह ग्याँसका कारण ओजोन तह पातलिँदै गएको छ ।
वायुमण्डलीय आकाशमा करिब १५ देखि ३० किमीमाथिको तहमा रहेको ओजोन सिंगो पृथ्वीको रक्षात्मक कवच हो
पृथ्वीमा भएका अनेकौं तत्वहरूमध्ये एकको घटी वा बढीले अरूलाई समेत असर पार्छ । अन्य प्राणी, वनस्पति तथा समग्र जीवित प्राणी र मानव जातिको अस्तित्वमा समेत प्रश्नचिह्न खडा गर्न सक्छ । पृथ्वीमा भएका विविध तत्वका कारणले वातावरणको नियन्त्रणमा भएको उदासीनताले वातावरणको क्षेत्रमा चिन्तित हुनुपर्ने अवस्था छ । वातावरणमा देखिने असन्तुलनले मानिसका आर्थिक, सामाजिक, राजनीतिक, जैविकलगायतका समग्र क्रियाकलापमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित भएको वातावरण विनाश मानव बाँच्ने आधार संख्याहरू नष्ट हुँदै गएर पग्लिँदो हिमशृंखला जल्दोबल्दो समस्यामा परिणत भएकाले वर्तमान समयमा वातावरणलाई वातावरणप्रेमीले अति महत्वका साथ हेर्न थाल्नु स्वाभाविकै हो । हाम्रो मुलुकका सन्दर्भमा योजना र नीति निर्माणहरू वातावरणलाई असर पार्ने तत्वहरूको पहिचान गरेर मात्र निर्णय लिने तथा विकास योजना बनाउने अवस्थामा नपुगेका कारण यो वातावरणीय दुर्दशा भएको हो ।
यसको असर ओजोन तहमा समेत परेको छ । जसको परिणाम विगत तथा हालमा मानिसले वातावरणप्रति गरेको परिणाम तथा त्यसले मानिसलाई पारेको नोक्सानीलाई हेर्दा वातावरणको यथोचित संरक्षणबिना दिगो विकास दीर्घजीवी हुन नसक्ने प्रस्ट छ । मानव जातिको समुन्नति एवं अस्तित्वकै लागि पनि वातावरणको महत्व प्रस्ट हुँदै गएको छ । तसर्थ, मानवजातिको सुख समृद्धिका लागि आर्थिक तथा सामाजिक क्रियाकलापको जति महत्व छ, त्यतिकै मात्रामा वातावरणको संरक्षण पनि अपरिहार्य छ । वातावरणीय विनाशले नेपाल र नेपालीहरूको वातावरणीय परिवेशमा नकारात्मक परिणाम ल्याई ठूलो धनजनको क्षति भई राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो असर परेको छ ।
मुख्यतः वातावरण तथा ओजोन तहको विनाशबाट जलवायु परिवर्तन भएको छ । जलवायु परिवर्तन विश्वव्यापी चुनौती र समस्याका रूपमा देखिएको छ । हरितगृह ग्याँस उत्सर्जनमा न्यूनीकरण नहुनाले तापमान वृद्धि भएको छ । नेपालमा पनि राजधानी काठमाडौंमा ३६ डिग्रीसम्म तापक्रम मापन गरिएको छ । यो जलवायु परिवर्तनको असर हो । नेपालको हिमाली क्षेत्रमा शून्य दशमलव ६ डिग्री सेल्सियसको दरले तापक्रम बढ्न गई हिमशृंखला पग्लनु, पानीको मुहान सुक्दै जानु, अनावृष्टि र अल्पवृष्टिजस्ता समस्या देखापर्नु, २ हजार मिटरको उचाईसम्म लामखुट्टे देखापर्नु, वन्यजन्तु लोप हुनु, विभिन्न महामारी, हैजाजस्ता रोग फैलनु, विनाशकारी आँधी र बाढी आउनु, नदीनालाको सतह घट्दै जानु आदि वातावरण तथा ओजोन तह विनाशबाट उत्पन्न परिणाम हुन् ।
६ दशकअघि नेपालको जनसंख्या करिब ५० लाख थियो भने हाल करिब ३ करोड पुगेको छ, तर वन, जंगल र जमिनको क्षेत्र बढेको छैन, जमिनको उत्पादकत्व पनि बढेको छैन । कृषि अकासे पानीमा निर्भरता, आयातीत बीउ, रासायनिक मल र कीटनाशक विषादीको प्रयोगबाट उत्पादन केही मात्रामा बढेको भए तापनि गुणस्तरीय र स्वस्थ खाद्यान्न पाउनु चुनौती भएको छ । सन् १९७०-०८० को दशकतिर अम्लीय वर्षाको समस्या चर्चामा थियो भने अहिले जलवायु परिवर्तनको चर्चा विश्वभर व्यापक छ । नेपालजस्तो कम विकसित देशमा औद्योगिक तथा सहरी विकासका क्रममा जल तथा वायु प्रदूषण र फोहरमैलाको समस्या र ग्रामीण भेगमा वनविनाश चुनौती बन्दै गएको छ । प्राकृतिक स्रोतको उच्च प्रयोगबाट सिर्जना भएको भू–क्षय, बाढी, पहिरो, कृषि उत्पादन र वनको उत्पादकत्वमा कमीजस्ता समस्याहरू वृद्धि भएका छन् । यी समस्याले जनस्वास्थ्यमा समेत प्रतिकूल असर परिरहेको छ । वन विनाश, भू–क्षय, बाढी, पहिरोका साथै प्रदूषण एवं जलवायुको असरजस्ता वातावरणीय समस्या ठूलो चुनौतीका रूपमा बढिरहेको छ ।
हिउँ पग्लनु, पानीका मुहान सुक्नु, अनावृष्टि, अल्पवृष्टि हुनु, हिमाली क्षेत्रमा लामखुट्टे देखापर्नु, वन्यजन्तु लोप हुनु, महामारी फैलनु आदि ओजोन तह विनाशका परिणाम हुन्
वातावरण संरक्षण हावा, पानी, माटो आदि जैविक वस्तुहरूको अस्तित्वका लागि अति आवश्यक हुन्छन् । यी जैविक वस्तुहरूमा भएको वातावरण विनाशको मात्राले पनि बृहत् रूपमा प्रभाव पार्छ । जीवजन्तु, वनस्पति र स्वयं मानिस पनि वातावरण विनाशको मात्राबाट अलग रहन सक्दैनन् । मानवको अस्तित्व उसको वरिपरिको वातावरण तथा पर्यावरण एवं परिस्थितिमा निर्भर गर्छ । मानिसको अस्तित्वका लागि वनजंगल, जल आदिमा पाइने प्राणी तथा वनस्पति आवश्यक हुन्छन् । वनजंगल, जल आदिको अस्तित्व संकटमा पर्नु भनेको मानव जीवन नै पूर्ण संकटमा पर्नु हो । मानिसको आफ्नो अस्तित्वका लागि प्रकृतिबाट धेरै वस्तुहरू ग्रहण गर्छ, जुन वातावरणीय विकासबाट ग्रहण गर्नु राम्रो हुन्छ, न कि वातावरणीय विनाशबाट ।
अनियन्त्रित रूपमा डोजर चलाई प्राकृतिक स्रोतसाधनको दोहन, होहल्ला, आवाज तथा हर्न, कारखानाको ध्वनि, सिमेन्ट, गिटी उद्योग, इँटा उद्योग आदिले वातावरण विनाश भई सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पारेको छ । फोहोरमैला व्यवस्थापनका लागि उचित ल्यान्डफिल साइड नहुनु पनि वर्तमान वातावरणको विनाशको एक प्रमुख तत्वका रूपमा लिन सकिन्छ । घरायसी प्रयोजन, कारखाना, अस्पताल तथा सडेगलेका वस्तुहरूबाट, वायु जल, माटो आदिमा हानिकारक तथा घातक फोहोरमैला निस्कन्छ ।
यसको उचित व्यवस्थापनको अभावले पनि वातावरणमा हानि पु¥याउँछ । यस्तै, भू–क्षय, हरितगृह प्रभाव, ओजोन तह विनाश, अम्लीय वर्षा, वन विनाश, सवारीसाधन, अव्यवस्थित सहरीकरण, औद्योगिकीकरण, जनसंख्या वृद्धि, जनचेतनामा कमी आदि कारक तत्वबाट वातावरण विनाश भई पग्लिँदो हिमशृंखला जल्दोबल्दो समस्या आदि वातावरण विनाशको कारक तत्वको उपज होइन र ? वातावरण विनाशबाट जलवायुमा परिवर्तन भई वर्षायाममा वर्षा नभई धान, मकै, आलुजस्ता कृषि उत्पादनमा ठूलो असर परेको छ । जनचेनतनामा वृद्धि, वन संरक्षण, बढ्दो सवारीसाधनको नियन्त्रण, भू तथा जलाधारको संरक्षण, जनसहभागितामा वृद्धि, विद्यार्थीहरूको भूमिका, गैरसरकारी संस्थालाई उचित प्रयोग, नैतिक शिक्षा, आमसञ्चार दिगो संरक्षणका मुख्य तत्वहरू हुन् । नयाँ नेपाल निर्माणका लागि व्यवस्थित सहरीकरण प्रमुख आवश्यकता हो । सन्तुलित र दिगो विकासका लागि वातावरण सुधार गरी ओजोन तह बचाउनु आवश्यक छ ।
(Visited 2 times, 1 visits today)