बा अहिले क्षेत्रपाटीको चाक्सीबारीमा बनेको, यो पुरानो मोडेलको स–सानो दरबारजस्तो घरमा हुनुहुन्न । ८१ वर्षको उमेरमा, बिनापदचाप, कसैलाई सुइँकोसम्म नदिई बा यो घर छाडेर अनन्त यात्रामा लीन हुनुभयो । उहाँ यो लोकमा नहुनु भएको तीन दशक बित्न लागिसक्यो । तर, आभास अहिले पनि यस्तो हुन्छ : बा अहिले बिहान पनि टाउकोमा घरबुनाको गम्छा बेरेर चाक्सीको बोटमुनि राखिएको बेतको कुर्सीमा बसिरहनुभएको छ ।
आफू सहरबाट बाहिर गएको बेलामा पनि बा त्यसरी नै चाक्सीको बोटमुनि बसिरहनुभएको होला जस्तो लाग्थ्यो हामीलाई । ‘वहम’ त यो पक्कै थिएन । यसलाई झझल्को भन्नुपर्ला । बाको झझल्को भन्दा अझ राम्रो सुनिएला । अहिले पनि बा यो घरमा प्रत्यक्ष उपस्थित हुनुहुन्न भन्ने सोच्नै मन लाग्दैन । किन हो किन ? बाका निकट रहेका व्यक्तिलाई बा कि त बगैंचामा, कि बैठकमा हुनुहुन्छ होला जस्तो लागिरहन्छ । अथवा, बा घरको नयाँ लंगपट्टि बनेको ट्वाइलेटको कमोडमा आरामसँग बसेर अखबार पढ्दै पेट खलास तुल्याउने प्रयत्न गर्दै हुनुहुन्छ कि ?
बा सधैं काठमाडौंबाट प्रकाशित हुने प्रायः सबै अखबार पढ्नुहुन्थ्यो । कहिलेकाहीँ पढेर एक्लै मन्द मन्द हाँस्ने गर्नुहुन्थ्यो । त्यो घरमा पुग्दा अहिले पनि अनायास लाग्दछ ट्ठ कतै बा अखबार पढ्दै पो हुनुहुन्छ कि ? प्रायः उहाँलाई कब्जियतले सताएको समयमा अक्षर पढ्न जान्ने केटाहरूले बाथरुम बाहिर बसेर अखबार पढेर सुनाउँथे अलिकति चर्को स्वरमा । उहाँको आनीबानी थाहा पाउनेहरू भन्थे : बाको त्यस्तै हो ।
अखबार पाएपछि अरू केही चाहिँदैनथ्यो बालाई । अखबारमा लेखिएका समाचार र विचारमा बाको विश्वास एकदमै धेरै भएर होइन । राज्य आफैंले चलाएको अखबारमार्फत झुटा कुरा फैलाउने हुनाले उहाँ नियमित निस्किने सबै अखबार पढ्ने गर्नुहुन्थ्यो । सानो आकारको, ठूलो आकारको, साप्ताहिक र मासिक । हाँस्नका लागि पनि बालाई कुनै बहाना चाहिँदैनथ्यो । अतीतका कुरा सम्झेर हाँस्नु, अतीतका घटनामा रमाउनु बाको बानी थियो । त्यो पनि, फिस्स । तर, बाको फिस्स हाँसो बडो चमकदार हुन्थ्यो । कहिलेकाहीँ मात्र निस्किन्थ्यो ।
७५औं जन्मदिन मनाउँदासम्म बाको आँखा निकै चम्किला र तीखा थिए । अलि टाढैको रंगीन साइनबोर्ड पनि सजिलै पढ्न सक्थे बाका तीक्ष्ण आँखाले । बालाई देवनागरी लिपिमा अंग्रेजी भाषाको शब्द लेखेको र अंग्रेजी लिपिमा नेपाल भाषाको शब्द लेखेको पटक्कै मन पर्दैनथ्यो । साहित्य चेतना प्रचुर थियो बामा । भाषा बिगारिएको देखेपछि भन्नुहुन्थ्यो, ‘यो के गाईजात्रा गरेको होला ?’
बा कहिलेकाहीँ खिचा पोखरीको एउटा रेस्टुराँमा जाने गर्नुहुन्थ्यो मःम खान । उहाँका एक जना शेरचन मित्रको थियो यो रेस्टुराँ । महिनाको यति गते यति साथीभाइ समेतलाई मःम खुवाउने । रेस्टुरेन्टवाला बाको खुब इज्जत गर्दथे । उनी बालाई नेता मान्दथे । बा उनलाई साथी भन्नुहुन्थ्यो । बाले मःमको अर्डर दिएको बेला स्पेसल किमा तयार पारिन्थ्यो । डेजर्टका रूपमा दुई पिस खुवाको मःम बन्थ्यो बाका लागि । बाको पछि लागेर आउने सबैका लागि स्पेसल मःम बन्दथ्यो । बाको अघिपछि लागेर सँगसँगै हिँड्ने आधा दर्जन साथीहरू हुन्थे । त्यसपछि सरकारले बा कहाँ जानुहुन्छ, के गर्नुहुन्छ, कसकसलाई भेट्नुहुन्छ भन्ने जानकारी बटुल्न दुई जना सीआईडी पनि उहाँको पछिपछि खटाएको हुन्थ्यो । बाले आपूmसँग आएका जति सबैका लागि खाजा मगाउनुहुन्थ्यो मःम । सरकारको काम गर्ने गुप्तचरलाई समेत खाजा खुवाउने भनेपछि बुझ्नुपर्छ ट्ठ बाको सान नै अर्को थियो ।
उहाँले जे भने पनि उहाँ खुइलिनुभएको पक्कै थिएन । बाको मनमा असन्तोषको आगो दनदनी बलेर रातो फिलिंगोमा परिणत भइरहेको हुन्थ्यो । त्यत्रो इज्जतदार पुर्खाको सन्तान भएर पनि बाको मनमा ‘आफ्नै’ भन्ने कुनै कीर्ति आर्जन गर्न नसकेको ‘खिज’ थियो । अन्ततः बाको मनको त्यो ‘खिज’ बाको आफ्नै कारणले उड्यो
बाको आनीबानी पनि अचम्मलाग्दो थियो । बा ब्रम्हमूहूर्तमा देखिने बाग्मतीछेउमा अल्झिएका छायाहरूसँग एकाकार हुन सक्ने शक्ति राख्नुहुन्थ्यो । उहाँ मौन मिर्मिरेको आनन्दमा डुब्न सक्नुहुन्थ्यो । मानिसहरूको स–सानो हुलमा पनि अलप हुन सक्नुहुन्थ्यो । कहिलेकाहीँ बा मेरो बिछ्यौनामा पल्टिएको जस्तो लाग्दथ्यो मलाई । हामी परिवारका मानिसका लागि मात्रै होइन, सबै सहरियाका लागि बा शक्तिशाली हुनुहुन्थ्यो । कीर्तिपुर, भक्तपुर, ललितपुर र कान्तिपुर : यी चारै सहरमा बा चीनका माओत्सेतुग जत्तिकै शक्तिशाली हुनुहुन्थ्यो । माओ किन शक्तिशाली थिए भने उनले आफ्नो बिछ्यौना कहिल्यै कसैका लागि प्रयोग गर्न दिँदैनथे । उनलाई आफ्नो बिछ्यौना छाड्नुपर्ने परिस्थितिको सामना पनि कहिल्यै गर्नुपरेको थिएन । बा पनि माओ जत्तिकै शक्तिशाली हुनुहुन्थ्यो । ’cause उहाँले आफनो बिछ्यौना कहिल्यै, कसैका लागि छाड्नुभएन । माओत्सेतुंग आफ्नो घर छाडेर कतै जानुपरेको अवस्थामा आफूसँगै आफ्नो खाट र बिछ्यौना लिएर हिँड्थे । माओको खाट र बिछ्यौना उठाउन पाएर गदगद भएका कार्यकर्ता सारै चर्को आवाजमा नारा लगाउँथे ‘माओत्सेतुंग जिन्दावाद ।’ नारा जति चर्को लाग्दथ्यो त्यति नै बढी पुँजीवादको भित्तो चिराचिरा परेर चर्किन्थ्यो । तीमध्ये जुनसुकै चिराबाट सूर्यका राता किरण छिर्ने गर्र्थे । कुनैबाट घामका पहेलिँदै गरेका छाया चम्किने गर्दथे ।
बा पनि घर छाडेर बाहिर जाँदा गुन्टा कसेर लैजानुहुन्थ्यो । यो अत्यधिक आनन्दको समय हुन्थ्यो मेरा लागि । बा बेलाबेलामा आफू ‘लौह’ पुरुषबाट खुइलिएर ‘लौह भष्म’ पुरुष भएको कथा हाल्नुहुन्थ्यो । आफ्नो नियतिमाथि आफैं हाँस्नुहुन्थ्यो र भन्नुहुन्थ्यो, ‘देखो भाइ कुदरतका खेल, पढे फारसी और बेचे तेल ।’
उहाँले जे भने पनि उहाँ खुइलिनुभएको पक्कै थिएन । बाको मनमा असन्तोषको आगो दनदनी बलेर रातो फिलिंगोमा परिणत भइरहेको हुन्थ्यो । त्यत्रो इज्जतदार पुर्खाको सन्तान भएर पनि बाको मनमा ‘आफ्नै’ भन्ने कुनै कीर्ति आर्जन गर्न नसकेको ‘खिज’ थियो । अन्ततः बाको मनको त्यो ‘खिज’ बाको आफ्नै कारणले उड्यो । राणाहरूको कुशासनविरुद्ध छाती फुकाएर उभिएपछि बा रातारात प्रसिद्ध हुनुभो । सहरमा जताततै उहाँको शौर्यको कथा सुनिन थाल्यो । उहाँको टोपी गर्वको अग्लो सगरमाथा बन्यो । सहरका नानीचाहरू बाको आँखामा एकपटक चम्किनका लागि झ्यालबाट चियाउन थाले । कतिको मनमा गुनकेशरीको गीत गुन्जियो होला । बाको चित्र इतिहासको पानामा चम्कियो ।
बा अहिले हुनुहुन्न । तर, समय समयमा उहाँ मानिसको सुनको मूल्य… तर्कनामा भेटिनुहुन्छ । बेलाबेलामा उहाँका आवाज प्रतिध्वनित हुन्छन् । बा सहरमा अलिकति अबेरसम्म हिँड्नुहुन्थ्यो । बाले सधैं टेक्ने गरेको कटवाँसको लौरोको ‘ट्वाकट्वाक’ निकै चट् किलो र निकै टड्कारो सुनिन्थ्यो । त्यो सुनेपछि सहरियाहरू भन्दथे, हो । ऊ… हाम्रो देशमा लोकतन्त्र ज्युँदो छ ।
पहिलेपहिले बा लेख्नुहुन्थ्यो पनि । अचेल लेख्नुहुन्न । मुड हुँदैन रे बुढाको । त्यसबखतको हिराकाजी अलि बदमास थियो । जवानीको हावाले अलि बढी नै छोएको । सम्झिने शक्ति कमजोर भई नसकेका बुढापाका सम्झिन्छन् : पहिलेपहिले आधा धार्नी बँदेलको मासु खुब मीठो मानेर एक्लै खानुहुन्थ्यो रे बा । त्यसबाहेक दुईवटा कुखुरा र डेढ माना च्युरा त उहाँलाई खाजा नै चाहिने । पछि संघर्षमा लागेपछि उहाँका तृष्णाहरू त्यसै मेटिएर गए रे । ठाँटिएर हिँड्ने कलामा पोख्त हुनुहुन्थ्यो बा । ७ सालमा मन्त्री हुनुभयो । त्यसबेला कसैले उहाँलार्ई ‘कम्प्लिमेन्ट’ दिएको थियो, यूआर दि वन्ली मिनिस्टर हुम आई अल्वेज सी इन पर्फेक्ट ड्रेस ।
बालाई थाहा थियो, देशका मानिस बलेको आगो ताप्छन् । बालाई थाहा थियो, देशका बहुसंख्यक मानिस सत्ताकै पक्षमा लाग्छन् ।
बालाई थाहा थियो, तानाशाहले मुर्दामाथि शासन गर्दछ । बालाई थाहा थियो, लोकतन्त्रमा जनताले आफ्नो शासन आफैं गर्दछ ।
बालाई थाहा थियो, बलेको आगो ताप्ने राजधानीको प्रवृत्तिले डेमोक्रेसीको खिल्ली उडाउँछ ।
बाले कहिल्यै पनि ‘आजको दिन सजिलैसँग बित्यो’ भन्न पाउनुभएन । प्रजातन्त्र आएपछि उहाँलाई लाग्यो, ‘छोरा नपाउन्जेल कसरी पाऊँ, पाएपछि कसरी हुर्काऊँ ?’ बाले नेताको ‘पोज’ त लिनुभयो । तर, त्यो पोज नै बिस्तारै उहाँका लागि बोझ हुन थाल्यो । बालाई थाहा थियो, लोकतन्त्रका विरोधीका लागि अव्यवस्था एकदमै उपयोगी हुन्छ । यो अवस्थामा फस्टाउनेहरू कि फासिस्ट हुन्छन् कि एकाधिकारवादी । बालाई आफ्नो लट्ठी भुइँमा ठोकिएपछि त्यसबाट आउने आवाजको महत्व थाहा थियो । बा त बा हुनुहुन्थ्यो । बा साँच्चैको बा हुनुहुन्थ्यो, सबैका बा ।
(Visited 22 times, 1 visits today)