प्रकाशित मिति : भाद्र ११, २०८१ मंगलबार

टेक्सासको ह्युष्टनमा नेपाली विद्यार्थी मुना पाण्डे गोली लागेको अवस्थामा मृत भेटिएकी छिन् । उनी सोमबार साँझ छातीमा गोली लागेको अवस्थामा अपाटर्मनेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । सोमबार बेलुका ५ बजेर ३५ मिनेटमा प्रहरी घटनास्थलमा पुग्दा उनलाई मृत अवस्थामा भेटाएको ह्युष्टन प्रहरीले खसोखासलाई जानकारी दिएको छ ।
घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली वेष्ट एयरपोर्ट ब्लुभार्डमा रहेको घटनास्थलमा पुगेको र त्यहाँ पुग्दा २१ बर्षकी महिला मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । अहिलेसम्म घटनामा कोहीपनि संदिग्ध फेला नपरेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । गोली लागेको अवस्थामा भेटिएको शव पोष्टमार्टमका लागि पठाइएको र अहिलेसम्म घटनासँग सम्बन्धित कसैलाई पक्राउ नगरिएको प्रहरीको भनाई छ ।
नेपालको भोजपुरकी पाण्डे ह्युस्टन कम्यूनिटी कलेजमा अध्ययनरत थिइन् । उनी ३ बर्ष अगाडि सन् २०२१ मा अध्ययनका लागि अमेरिका आएको र उनकी काठमाडौंमा रहेकी आमा अनिता पाण्डे अधिकारीलाई घटनाबारे जानकारी दिइसकिएको नेपाली एसोसिएसन अफ ह्युस्टनका प्रथम उपाध्यक्ष द्रोण गौतमले खसोखासलाई जानकारी दिए ।
उनी परिवारमा एकमात्र सन्तान रहेको जनाइएको छ । उनको शनिबारदेखि नै फोन अफ रहेकाले घटना शनिबार नै भएको हुनसक्ने आशंका गरिएको छ । तर घटना कहिले र कसरी भएको हो भन्नेबारे अझै पुष्ट विवरण प्राप्त भएको छैन । घटनास्थलमा कुनै हतियार पनि नभेटिएको प्रहरीले जनाएको छ । घटनाको उद्देश्य के थियो भन्नेबारे पनि केही जानकारी प्राप्त नभएको प्रहरीको भनाई छ ।
उनी अपार्टमेन्टमा एक्लै बस्दै आएकी थिइन् वा अरु कोही थियो भन्नेबारे केही खुलाइएको छैन । तर शनिबारदेखि फोन अफ हुँदापनि घटनाबारे कसैले थाहा नपाएकाले र खबर नगरेकाले उनी घटना भएको बखत अपार्टमेन्टमा एक्लै भएको हुनसक्ने अनुमान गरिएको छ ।