रोजगारमा आधारित तेश्रो श्रेणीका ग्रिनकार्डको कोटा पूरा,यो आर्थिक बर्षमा थप भिसा जारी नगर्ने



प्रकाशित मिति : श्रावण ३२, २०८१ शुक्रबार

रोजगारमा आधारित तेश्रो श्रेणीका ग्रिनकार्डको कोटा पूरा,यो आर्थिक बर्षमा थप भिसा जारी नगर्ने

कोटा पूरा भइसकेको भन्दै अमेरिकाले चालु आर्थिक बर्षमा रोजगारमा आधारित तेश्रो श्रेणीका थप भिसा जारी नगर्ने भएको छ । युएससीआईसँग नजिकबाट सहकार्य गरिरहेको विदेशमन्त्रालयले आर्थिक वर्ष २०२४ को लागि रोजगारमा आधारित तेस्रो श्रेणीका योग्य र योग्यता नभएका कामदारको कोटिहरूका लागि कानूनी रूपमा उपलब्ध सबै भिसाहरू जारी गरेको जनाएको छ ।

अमेरिकाको आप्रवासन र राष्ट्रियता ऐनले रोजगारीमा आधारित भिसाहरूको बार्षिक संख्यामा कोटा तोकेको छ । रोजगारमा आधारित तेश्रो श्रेणीका लागि रोजगारमा आधारित कुल भिसाको २८ दशमलव ६ प्रतिशतमात्र प्रयोग गर्न पाउने प्रावधान रहेको छ ।

उक्त कोटा अनुशार चालु आर्थिक बर्ष २०२४ का लागि रोजगारमा आधारित तेश्रो श्रेणीका लागि उपलब्ध सबै भिसाहरू प्रयोग भइसकेकाले अमेरिकी दूतावास र कन्सुलेटहरुले आर्थिक वर्षको बाँकी अवधिमा रोजगारमा आधारित तेश्रो श्रेणीमा भिसा जारी गर्न नसक्ने अमेरिकी विदेश मन्त्रालयले प्रष्ट पारेको छ । फलस्वरूप रोजगारमा आधारित तेश्रो श्रेणी तुरुन्तै अनुपलब्ध भएको छ भने सेप्टेम्बर ३० मा यो श्रेणीमा भिसा जारी गरिनेछैन ।

अक्टोबर १ मा आर्थिक बर्ष २०२५ सुरु भएपछि भने वार्षिक सीमा रिसेट हुनेछ। त्यसपछि अमेरिकी दूतावास र कन्सुलेटहरुले योग्य आवेदकहरूलाई यी कोटीहरूमा आप्रवासी भिसा जारी गर्न पुन सुरु गर्न सक्नेछन् । अक्टोबरका लागि कुन प्राथमिकता मिति भएकाले भिसा पाउन सक्नेछन् भन्ने विवरण आगामी महिनाको भिसा बुलेटिनमा सार्वजनिक गरिनेछ ।

आप्रवासी भिसा वा ग्रिनकार्ड जारी नभएपनि प्राथमिकता मिति करेन्ट भएका श्रेणीका सन्दर्भमा युएससीआईएसले अगस्ट र सेप्टेम्बरका लागि पनि आई ४८५ आवेदन स्वीकार भने गर्नुपर्छ । यद्यपि ती आवेदनहरु अक्टोबर १ भन्दा अगाडिसम्म विचाराधिन अवस्थामा नै राखिनेछन्।

त्यस्तै ग्रिनकार्डका लागि युएसीआईएसमा अन्तरवार्ताको मिति तय भइसकेका आवेदकहरुले पनि सोही मितिमा नै अन्तर्वार्तामा उपस्थित हुने योजना बनाउनुपर्छ । तर अन्तर्वार्ता भए पनि भिसा नम्बर उपलब्ध नभएसम्म आवेदन भने विचाराधिन अवस्थामा नै राखिनेछ भने भिसा नम्बर उपलब्ध हुनासाथ निर्णय गरिनेछ ।





Source link

Leave a Comment