जब बर्खा आउँछ । नेपालमा बाढीपहिरोले कहालीलाग्दो कहर लिएर आउँछ । घनघोर वर्षासँगै पहाड पहिरोको चपेटामा पर्छ, तराई बाढीमा चुर्लुम्म डुब्छ । हरेक वर्ष बाढीपहिरोका कारण सयौं मानिसको ज्यान जान्छ । हजारौं घरहरू भत्किन्छन्, लाखौं मनहरू भत्किन्छन् । तर, सरकारले यो गर्छौं, त्यो गर्छौं भनेर जति गफ लगाए पनि विगतदेखि नै बाढीपहिरो नियन्त्रणमा कुनै ठोस कदम चालेको देखिँदैन । निवर्तमान गृहमन्त्री रवि लामिछाने त झनै गफाडी निक्लिए ।
हिमाल, पहाड र समथर तराई मिलेर बनेको नेपालमा बाढी, पहिरो र डुबानको समस्या सामान्य समस्या होइन । यो समस्या अवैज्ञानिक, मनपरिको निर्माण र विकासले झनै बढ्दै गएको देखिन्छ । पहाडमा वैज्ञानिक अध्ययनबिनै आआफ्नो अनुकूल बाटाहरूको विस्तारले पहिरोको जोखिम बढेको छ भने तराईमा उचित ढलको व्यावस्था नहुँदा, खोलानालामा बलियो तटबन्धको व्यवस्था नहुँदा डुबाउनमा परेको छ । नदी तथा खोलानाला मिचेर अन्धाधुन्द रूपमा घरटहराको निर्माणले पनि यस्ता समस्या पैदा भएका छन् ।
हरेक वर्ष नेपालमा बाढीपहिरोले ठूलो जनधनको क्षति गर्छ नै । जनधनको क्षतिसँगै जनमानसमा भय, डर, त्रास र आतंक छोड्छ । यस किसिमको जबरजस्त भय, डर , त्रास र आतंकले यस्ता विपत्तिमा परी बालबाल बचेका, घाइते भएका तथा अंगभंग भएका मानिसमा मात्र होइन, सकुशल जोगिएकामा समेत अनेक मानसिक समस्या देखिन सक्दछ । बाढीपहिरो, भूकम्प तथा युद्ध आदिको चपेटामा परेका मानिसमा देखिने प्रमुख मानसिक समस्या भनेकोे पोस्ट ट्राउमाटिक स्टे«स डिसअर्डर (पीटीएसडी) हो ।
साधारण शब्दमा भन्ने हो भने मानिसको मनमस्तिष्कले थेग्नेभन्दा बढी मानसिक आघात (ट्राउमा)का कारण यदि व्यक्तिमा एक्कासी आघातको कहालीलाग्दो स्मृति, निरन्तर भय, छटपटी, आतंक तथा तनाव देखापर्छ भने त्यसलाई ट्राउमाटिक स्टे«स डिसअर्डर (पीटीएसडी) भनिन्छ । सजिलोका लागि ट्राउमाटिक स्टे«स डिसअर्डरलाई दुई वर्गमा विभाजित गर्न सकिन्छ । ती हुन् ः एक्युट स्टे«स डिसअर्डर । पोस्ट ट्राउमाटिक स्टे«स डिसअर्डर (पीटीएसडी) ।
एक्कासी र बारम्बार आघातपूर्ण घटनाका दृश्य मानसपटलमा आउने (फ्ल्यासब्याक), अनि उत्तेजना र छटपटी एकदम बढ्ने (हाइपरअराउजल) र मुटुको धड्कन तथा श्वासप्रश्वासको गति बढ्ने, शरीर काँप्ने तथा घबराहट बढ्ने, तथा त्यो स्मृतिलाई हटाउन खोज्ने, तर हटाउन पूर्णरूपमा सफल नहुने जस्ता लक्षणहरू यदि घटना घटेको तुरुन्त वा एक महिनाभित्र देखाप¥यो भने त्यसलाई एक्युट स्ट्रेस डिसअर्डर भनिन्छ भने तीन महिनापछि यस्ता लक्षणहरू देखिए भने त्यसलाई पोस्ट ट्राउमाटिक स्टे«स डिसअर्डर (पीटीएसडी) भनिन्छ । एक्युट स्टे«स डिसअर्डरको समयावधि एक महिनाको हुन्छ । एक महिनापछि पनि यस्ता लक्षणहरू देखिएमा त्यसलाई पीटीएसडी मानिन्छ ।
पीटीएसडीमा उपर्युक्त लक्षणका साथै एक्लै बस्ने, समाजिक कार्यमा अभिरुचि नदेखाउने, चिन्ता बढ्ने, निद्रा नलाग्ने, घटनासँग सम्बन्धित डरलाग्दो सपना देख्ने, ध्यान एकाग्र नहुने, चिडचिडापना तथा क्रोध बढ्ने आदि लक्षणहरू पनि देखा पर्न सक्छन् । दैनिक जीवनमा देखा पर्ने घटनासँग सम्बन्धित कुराले स्थितिलाई झन् जटिल बनाउन सक्छन् । जस्तो कि बाढीबाट संयोगवश बाँचेका व्यक्तिमा बाढीपहिरो शब्दले मात्रै पनि तीव्र भय र आतंकको संवेग देखापर्नसक्छ र ऊ एक्कासी उत्तेजित भएको देखिन्छ ।
नदीनाला मिचेर अन्धाधुन्ध घरटहरा निर्माणले कहालीलाग्दो समस्या निम्त्याएको छ
मानिसले थेग्नेभन्दा बढी मानसिक आघात (ट्राउमा)का कारण नै पीटीएसडी पैदा हुन सक्दछ । युद्ध, यातना, भयंकर प्राकृतिक आपत्–विपत्, महाविनाशकारी भूकम्प, सुनामी, भयानक तुफान, बढीपहिरो, बलात्कार, बिभत्स दुर्घटना, टाउकाको चोट तथा अन्य हिंसात्मक आक्रमण आदिमा परेका, अंगभंग भएका तथा यस्ता घटनाहरू देखेका मानिसहरू यसबाट पीडित हुन सक्छन् । त्यसैले, अहिले नेपालमा आएको विनाशकारी बाढीपहिरोको चपेटामा परेका, त्यसलाई नजिकबाट देखेका व्यक्तिमा पनि पीटीएसडीलगायतका मानसिक समस्या देखिनु स्वाभाविकै हो ।
पोस्ट ट्राउमाटिक स्टे«स डिसअर्डर कुनै पनि उमेर समूहका व्यक्तिलाई हुन सक्दछ । यो रोगबाट सानासाना बालबालिकासमेत पीडित हुन सक्दछन् । एक अध्ययनअनुसार विश्वका ८ प्रतिशत मानिसहरू यस मानसिक समस्याबाट पीडित छन् । तर, द्वन्द्व प्रभावित ठाउँमा पीडितको संख्या निकै धेरै छ ।
नेपालमा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति हुन्छ । मानिसहरू बेघरवार हुन्छन्, आफन्तहरू गुमाउँछन् । पशुचौपाया तथा खेतबारी नै बाढीपहिरोले बगाएर लग्छ । बाढीपीडित बस्ने ठाउँ हुन्न । खाने कुरा हुन्न । बाढीपहिरोपीडितको पीडामाथि पीडा थपिन्छ, दुःखमाथि दुःख थपिन्छ । यस किसिमको आपत्–विपत्ले थुप्रै बाढीपीडितको मन भत्किन्छ । उद्धारमा सरकारको ढिलासुस्तीले गर्दा मनको चोट झन् गहिरो हँुदै जान्छ । त्यसैले, बाढीपीडितमा डिप्रेसन (उदासिनता) तथा मनोत्रास जस्ता मानसिक समस्याहरू पनि देखिने गर्छ ।
डिप्रेसनको मूल लक्षण भनेको उदासिनता तथा खिन्नता हो । डिप्रेसनबाट पीडित व्यक्तिको मन सधंै उदासी र निराशाले घेरिएको हुन्छ । कुनै पनि आनन्ददायक घटनाले उसलाई खुसी पार्दैन । डिप्रेसनको मनस्थिति आम रूपमा हुने उदासी र निराशाभन्दा फरक हुन्छ । हरेक मानिसको दैनिक जीवनमा उतारचढाव आउँछन्, केही समय रहन्छन्, तर सुखद घटनासँगै मन पुनः खुसी हुन्छ । तर, डिप्रेसनमा चाहिँ यस्तो हँुदैन । कडा खालको डिप्रेसनमा परेका व्यक्ति कहिल्यै खुसी देखिँदैनन् ।
अतः उदासीसँगै अरुचि पैदा हुनु, आत्मविश्वासमा कमी आउनु, इच्छाहरू मरेर जानु, ध्यान केन्द्रित गर्न गाह्रो हुनु, सम्झना शक्तिमा कमी आउनु, चिडचिडापना बढ्नु जस्ता मानसिक लक्षणहरू तथा निद्रामा गडबढी, शरीरको तौल घट्नु वा बढ्नु, थकान तथा कमजोरी महसुस हुनु, टाउको भारी हुनु, दुख्नु, खानामा रुचि कम हँुदै जानु वा धेरै खानु, यौन इच्छामा कमी आउनु, धड्कन बढ्नु, चक्कर लाग्नु आदि शारीरिक लक्षणहरूमध्ये तीन–चार लक्षणहरू देखिएमा डिप्रेसनको शंका गर्नुपर्ने हुन्छ । यसका साथै आत्महत्याको विचार मनमा आउनु तथा आत्महत्याको कोसिस गर्नु आदिले यो रोगको गम्भीरस्थितिलाई दर्शाउँछ ।
मनोत्रास (पैनिक अटैक) दृश्चिंता विकृतिको एक अर्को रूप हो । बिनाकारण एक्कासी पूर्वसूचना बिना डर लागेर आउने, मुटुको धड्कन तेज हुने, सास रोकिएला जस्तो हुने, हात खुट्टा लगलग काम्ने, रिंगटा लाग्ने तथा पसिना आउने समस्यालाई मनोत्रास भनिन्छ । मनोत्रासका बेलामा व्यक्तिलाई बेहोस भई पल्टिने वा मर्ने वा कुनै भयानक घटना घट्ने भय हुन्छ र ऊ अत्याहटलाई नियन्त्रण गर्न नसकी कराएर मानिसहरू एकत्रित गर्ने प्रयास गर्छ । मनोत्रासको यस्तो अवस्था अचनाक देखापर्छ र केही समयसम्म तीव्र भएर बिस्तारै स्वतः शान्त हुन पुग्छ ।
बाढीपहिरोपीडितको उपचारमा शारीरिक चोटपटकलाई ध्यान दिइए पनि मनमा लागेको चोटलाई ध्यान दिइँदैन
तर, एकपटक मनोत्रासको दौरा आएपछि मानिस फेरि पनि त्रास आउने हो कि भन्ने डरले भयभित भइरहन्छ । पटकपटक यस्तो अवस्था आएपछि मानिसले बाटोमा हिंड्न, बजार आदि ठाउँमा जान तथा सवारी साधान चलाउन समेत छोड्छ । धड्कन बढ्ने र मुटु हल्लिने हुँदा यस रोगबाट पीडित व्यक्तिले आफू हृदय रोगबाट पीडित भएको ठान्छ ।
प्रायः बाढीपहिरोमा परी घाइते भएकाको उपचारमा केवल शारीरिक चोटपटकलाई ध्यान दिइन्छ । तर, बाढीपीडतको मनमा परेको चोटलाई ध्यान दिइएको देखिँदैन । यसप्रति नेपाल सरकार तथा उपचारमा संलग्न चिकित्सकको ध्यानाकर्षण हुनु जरुरी छ । समयमै मनको चोटमा मलम लगाउने कार्य भएन भने थुप्रै नागरिकहरू पीटीएसडी, डिप्रेसन तथा मनोत्रास जस्ता मानसिक समस्याको सिकार बन्न सक्छन् । त्यसैले, छिटोभन्दा छिटो बाढीपहिरो प्रभावित क्षेत्रमा चिकित्सक, मनोचिकित्सक तथा मनोवैज्ञानिक आदिको समूहसहित पुनस्र्थापना केन्द्रहरू खोल्न र बाढीपहिरोले प्रभावितलाई आशा र भरोसा दिलाउनु आवश्यक छ ।
हो, मानिसहरूले आफ्नो जीवनमा अनेक किसिमका संकट तथा विपत्तिको समाना गर्नुपर्छ । भूकम्प, बाढीपहिरो, आँधीबेहरी तथा चट्यांक जस्ता प्रकृति प्रकोप र मानिसले आफंै निम्ताएका युद्ध जस्ता विपत्तिले मानिसको मानसिक स्वास्थ्यमा ठूलो असर पार्छ । यस्ता संकटबाट ग्रस्त मानिसले आत्महत्यासमेत गर्न सक्दछन् । त्यसैले, भूकम्प, बाढीपहिरो तथा युद्धमा परेका मानिसको उचित मनोवैज्ञानिक उपचार आवश्यक हुन्छ । मनोवैज्ञानिक उपचार पद्धतिमा बिहेभियर थेरापी तथा कग्निटिभ बिहेभियर थेरापी (सीबीटी) उत्तम मानिन्छन् । यसका साथै सहयोगी समूह (सर्पोट ग्रुप), ईएमडीआर, तथा सम्मोहन (हिप्नोसिस) आदि पनि अन्य उपयोगी चिकित्सा विधिहरू हुन् ।
(Visited 15 times, 1 visits today)
