वातावरण संरक्षण सबैको दायित्व : RajdhaniDaily.com

वातावरण संरक्षण सबैको दायित्व : RajdhaniDaily.com


गत ४ असारमा पाठ्यक्रम विकास केन्द्र तथा यूएसएआईडीको संयुक्त आयोजनामा स्टाफ कलेज जाउलाखेलमा सम्पन्न वायु प्रदूषण न्यूनीकरण तथा स्वच्छ हावा सम्बन्धमा भएको छलफल तथा कार्यशाला गोष्ठीमा सहभागिता जनाउने अवसर मिल्यो । कार्यशालामा पाठ्यक्रम विकास केन्द्रका निर्देशक, अधिकृत, विभिन्न नगरपालिकाका वातावरण प्रमुखहरू, सिभिल सोसाइटीका प्रतिनिधिहरू, त्रिभुवन विश्वविद्यालय वातावरण विभाग प्रमुख, यूएसएआईडीबाट नेपालका लागि चुनिएका प्रतिनिधि, विज्ञान तथा प्रविधि पढाउने शिक्षकहरू, सामुदायिक स्कुलका केही विद्यार्थीहरू, शिक्षा विभागका अधिकृत, स्थानीय तह तथा गाउँपालिका र नगरपालिकाका प्रमुखहरूलगायतका अन्य थुप्रै विज्ञहरूको उपस्थिति थियो ।

पाठ्यक्रम विकास केन्द्रमा काम गर्ने विज्ञहरूले १ देखि ४ कक्षासम्म मेरो सेरोफेरो तथा ५ देखि १० कक्षासम्म विज्ञान तथा प्रविधिलगायत सामाजिक शिक्षा, अंग्रेजी, स्वास्थ्य तथा शारीरिक शिक्षालगायतका धेरैजसो पुस्तकहरूमा हावापानी, वातावरण प्रदूषण वनजंगल तथा जडिबुटीको महत्व, दिगो विकास, प्राकृतिक प्रकोप, अम्ल वर्षा, हरित गृह, विश्वव्यापी तापमानमा वृद्धिका कारण, असर तथा न्यूनीकरणका उपायहरू उल्लेख गरेको जनायो । त्यसैगरी यूएसएआईडी स्वच्छ हावा परियोजना एफएचआई–३६० को नेतृत्वमा अन्य तीनवटा संस्थासँग साझेदारी गर्दै २०७८ सालदेखि देखि ५ वर्षका लागि कार्यान्वयन भइरहेको रहेछ ।

पाठ्यक्रम विकास केन्द्र तथा यूएसएआईडी स्वच्छ हावा परियोजनाको एउटै उद्देश्य हावालाई कसरी स्वच्छ राख्न सकिन्छ तथा प्रदूषणबाट कसरी बच्ने भन्ने पाइयो । पाठ्यक्रम विकास केन्द्रले देशभरि नै कसरी वायु प्रदूषण न्यून गर्ने भन्ने कुरा पाठ्यक्रमका माध्यमबाट सिकाउने रहेछ भने यूएसएआईडी स्वच्छ हावा परियोजनाले पहिले काठमाडौं उपत्यकाका पाँच नगरपालिका तथा बिस्तारै सबै १८ नगरपालिकामा योजना विस्तार गर्ने रहेछ ।

पाठ्यक्रम विकास केन्द्र, यूएसएआईडी स्वच्छ हावा परियोजना, नेपाल सरकार, जनसंख्या तथा वातावरण मन्त्रालय, विभिन्न संघ संस्थाहरू, स्कुल, कलेज, वातावरण शाखामा कार्यरत सबैले आ–आफ्नो ठाउँबाट वायु प्रदूषण न्यूनीकरणका लागि काम गरेको जनाए पनि यसै वर्ष नेपालको राजधानी काठमाडौं विश्वकै एक नम्बर प्रदूषित सहरमा गनियो । १ देखि १२ कक्षासम्मकै पाठ्यक्रममा वातावरण जोगाउने उपायहरू राखिएका छन् । त्यसैअनुसार सोसियो इको क्लबलगायतका विद्यार्थीहरूले स्कुल तथा घरमा वृक्षारोपण गरिरहेका छन् । गाउँघरतिर पनि मान्छेको बसोबास घट्दै गएकाले वनजंगलको क्षेत्रफल बढ्दै गएको छ ।

मुलुकमा वनजंगलको भू–भाग ३९ प्रतिशतबाट ४५ प्रतिशत पुगिसकेको छ । देशमा प्रयोग हुने काठ आयात भइरहेको छ । वनजंगलको सही उपयोग घटेको छ । उपयोग गर्ने जनसंख्या नै बिदेसिएपछि डढेलो बढेको छ । यस वर्ष मात्रै देशका ७७ मध्ये ६७ जिल्लामा डढेलो लागेको थियो । जसका कारण हावा प्रदूषित हुन गई एक सातासम्म नेपाली भू–भागमा घामको किरण पर्न सकेको थिएन । बर्सेनि करिब ४० हजार हेक्टरको वन क्षेत्र डढेलोले विनाश हुने गरेको छ ।

विश्वका ९९ प्रतिशत मानिसले अस्वस्थकर हावामा सास फेर्ने गरेका छन्

घर तथा विद्यालयमा विद्यार्थीहरूले सरसफाइ गर्ने गरेका छन् । बेलाबेलामा स्कुल वरिपरिसमेत सरसफाइ गर्ने गर्छन् । कुहिने तथा नकुहिने फोहोर पनि छुट्याएर राख्ने गरेका छन् । तर, फोहोर उठाउन आउने गाडीले सबै एउटै ठाउँमा राखेर उठाउँदा विद्यार्थीहरू निरुत्साहित हुने गरेका छन् । विश्वका अरु देशहरू जस्तै नेपालले पनि कहिलेदेखि फोहोरलाई मोहोर बदल्न सक्ला ? कसले फोहोरको उचित व्यवस्थापन गर्ला ? हुन त जसले फोहोर बनायो, उसले नै सफा पनि गर्नुपर्छ । तर, सहरमा भाडामा बस्ने लाखौं मानिसहरूले फोहोरलाई मल बनाएर प्रयोग गर्न सक्दैनन् । घर मालिकले त कुहिने फोहोरलाई सदुपयोग गर्नसकेका छैनन् । एउटा सानो बगैंचा बनाउने ठाउँसमेत उनीहरूको घरभित्र हँुदैन । अव्यवस्थित सहरीकरणका कारण चाहेर पनि यस्ता धेरै समस्या सुल्झाउन सकिएका छैनन् ।

फेरि उही प्रश्न उठ्छ ? अव्यवस्थित सहरीकरण हुनुमा कसको हात छ ? जथाभावी घरको नक्सा पास गर्ने, बिनामापदण्ड घर बनाउनेहरूले समस्या थपेका छन् । टाढाका विद्यार्थीहरू स्कुलको ठूलो बसमा आउजाउ गर्ने गर्छन् भने नजिकका विद्यार्थीहरू हिँडेर वा साइकल चढेर पनि स्कुल जाने गर्छन् । शैक्षिक भ्रमण वा परियोजना कार्यका लागि स्कुलले लगेका ठाउँहरूमा पनि विद्यार्थीहरूले शिक्षकको निर्देशनअनुसार सम्बन्धित ठाउँमा लगेर फोहोर फाल्ने गर्छन् । वातावरण प्रदूषण बढाउनमा १ देखि १२ कक्षासम्मका विद्यार्थीहरूको खासै भूमिका देखिँदैन ।

तर, घरैपिच्छे खोलिएका सटरहरूमा बिक्री हुने चाउचाउ, लेज, कुरकुरेजस्ता जंकफुडका नकुहिने ¥यापरहरूले भने सडक फोहोर हुने माटो तथा पानी प्रदूषित हुने गरेको छ । केही दिनअघि चौधरी ग्रुपको लगानी रहेको चाउचाउमा लिडको मात्रा चाहिने भन्दा १२ गुणा बढी भएकाले शरीरका लागि हानिकारक भन्दै २ लाख जरिमाना गराएको थियो । अखाद्य वस्तुहरूले स्वास्थ्यसँगै हावाको पनि स्वास्थ्य बिगार्ने हुँदा सम्बन्धित निकायले किन यस्ता वस्तुहरू बिक्री वितरका लागि अनुमति दिन्छ ? किन समयसमयमा अनुगमन हुँदैन ? प्रश्न फेरि पनि उही नै उठ्छ ?

सहरमा वायु प्रदूषण हुने मुख्य कारणहरू पुराना तथा नयाँ यातायातका सवारीसाधनबाट निस्कने धुवा र चलाउँदाखेरि उड्ने धूलो, कलकारखाना, इँटाभट्टाबाट निस्कने धुवाँ, घरमा खाना पकाउँदा बाल्ने इन्धनबाट निस्कने ग्याँसहरू नै हुन् । गाउँघरमा खेतीपातीबाट बचेका रूख बिरुवाका, अन्नबालीका भागहरू बालेर पनि धुवाँ निस्कन्छ । जुन सहरमा दिनहुँ लाखौं यातायातका साधनबाट निस्कन धुवाँको तुलनामा धेरै कम हो । अहिले त किसानहरू पनि बुझ्ने र सचेत भएका छन् । खेतीपातीको फोहोर बाल्नुभन्दा कुहाएर मल बनाउन थालेका छन् । किसानहरूलाई केही चेतनामूलक कार्यक्रममा सहभागी गराइयो भने यस्ता समस्या पनि धेरै हदसम्म घटेर जानेछन् । वायु प्रदूषणको मुख्य कारक नै सहर हो । इन्धनबाट चल्ने यातायातका साधनलाई बिजुलीबाट चल्ने सवारीसाधनमा परिणत गर्नसक्यौं भने सहरमा हुने प्रदूषण यसै घटेर जानेछ । तर, सरकारले यस वर्षको बजेटमा बिजुलीबाट चल्ने सवारीसाधनमा कर बढाएको सुन्दा वातावरण क्षेत्रमा काम गर्ने तथा सबै सचेत व्यक्तिहरू अचम्मित भएका छन् ।

घरैपिच्छे खोलिएका सटरमा बिक्री हुने चाउचाउ, लेज, कुरकुरेजस्ता जंकफुडका नकुहिने -यापरहरूले माटो र पानी प्रदूषित पारेका छन्

प्रदूषणले सूर्यको प्रकाश नै पृथ्वीमा नपुग्ने अवस्था हुँदासम्म पनि हाम्रा सडकहरूमा साइकल लेनहरू कतै भेटिँदैनन् । तराईमा केही मात्रामा साइकलको प्रयोग हुने भए पनि बढ्दो गर्मीका कारण त्यसको प्रयोग पनि घट्दै गएको छ । नेपालका नदीनालाको पानीबाट पुरै एसियालाई पुग्नेगरी बिजुली निकाल्न सकिने अध्ययनले देखाएको छ । यस्तो हुँदाहुँदै पनि नेपालका भान्साहरूमा भारतबाट आयात हुँदै रसिया, खाडीमुलुकहरूको इन्धन प्रयोग भइरहेको छ । सस्तोमा नेपालमै उत्पन्न बिजुलीको प्रयोग कहिले होला नेपालीका भान्साहरूमा ? बूढीगण्डकी, पञ्चेश्वर, पश्चिम सेतीजस्ता ठूलाठूला विद्युत् परियोजनाहरू कहिले सम्पन्न होलान् ? समयमा खर्च हुन नसकेर बर्सेनि बजेट फ्रिज भइरहेको छ । धुलाम्मे तथा हिलाम्मे, खाल्टाखुल्टी परेका सडकहरू कहिले चिल्ला होलान् ?

वायुसँगै माटो तथा पानी प्रदूषणको अर्को मुख्य कारण वषौंसम्म नकुहिने प्लास्टिक पनि हो । प्रयोग गर्दा सजिलो मानिए पनि कुहिन २० देखि ५ सय वर्षसम्म लाग्ने प्लास्टिकहरू जताततै प्रयोग भइरहेका छन् । केही प्लास्टिकहरू सूर्यको प्रकाश (परावैजनी किरण) परेर कुहिए पनि कुहिने प्लास्टिकको केही मात्रा भने पृथ्वीमा लामो समयसम्म रहिरहन्छ । यदि यस्ता प्लास्टिकका झोलाहरू बजारमा नआउने हो भने मानिसहरूले बाध्य भएर कपडाको झोला बोक्नुपथ्र्यो । यसले एकातिर घरमा पुराना भएका लुगाहरू फेरि पनि प्रयोगमा आउँथे भने अर्कोतिर प्रदूषण पनि कम हुन्थ्यो । किन आफ्नो देशमा प्लास्टिकहरूको प्रयोग बन्द गर्न सक्दैन सरकारले ? बाधा अड्चन के हो ? केले रोकेको होला यस्ता कामहरूलाई ?

वायुलगायतका अन्य प्रदूषणहरू कम गर्न एक जनाले वा एउटा संस्थाले मात्रै गरेर हुँदैन । यसमा प्रत्येक व्यक्तिदेखि राष्ट्र नै संवेदनशील हुनुपर्छ । घरको कुहिने फोहोर घरमै प्रयोग गर्ने, नकुहिने फोहोर फेरि प्रयोगमा ल्याउनेगरी कलकारखानामा पठाउने, प्लास्टिकको सट्टा कपडाका झोलाहरू प्रयोगमा ल्याउन सकिन्छ । जताततै फोहोरहरू बाल्ने, वनजंगलमा आगलागी गराउने जस्ता कार्यहरूमा प्रत्येक व्यक्ति सचेत हुनुपर्छ । एउटा सभ्य नागरिकलाई आफूले गरेको नराम्रो कार्यको असर अरू मात्रै होइन, आफूले पनि भोग्नुपर्छ भन्ने जानकारी हुनुपर्छ ।

त्यसैगरी, सरकारले पनि नेपालमा देखिने वायु प्रदूषण नेपालमा मात्रै हुने क्रियाकलापहरूले गर्दा हो भन्ने ठान्नुहँुदैन । भारतमा पड्काएको पटाकाको धुवाँले नेपालमा असर गर्छ, चीनका कलकारखानाबाट निस्कने धुवाँले नेपालका हिमालहरू पगाल्छ भन्ने कुराको हेक्का राखी यस्ता देशहरूसँग आफ्ना देशका जनताको हकहितका लागि लडनुपर्छ, आवाज अठाउनुपर्छ । विश्वव्यापी वायु प्रदूषण हुनुमा नेपालको हात १ प्रतिशतभन्दा पनि कम छ, तर हाम्रो जस्तो कम विकसित देशहरूमा ९० प्रतिशत मृत्युको कारण वायु प्रदूषण रहेको तथ्यांक यूएसएआईडी स्वच्छ हावा परियोजनाले देखाएको छ ।

विश्वका ९९ प्रतिशत मानिसहरूले अस्वस्थकर हावामा श्वास फेर्ने गरेका छन् भने विश्वमा झन्डै ७ मिलियन मानिसहरूको मृत्यु प्रदूषित हावामा श्वास फेर्नाले हुने गरेको भयावह स्थिति छ । देशमा हुने वायु प्रदूषण न्यूनीकरणका लागि सरकारले पनि कडा नियम कानुन बनाई लागू गर्ने तथा विश्वव्यापी तापमानमा वृद्धिको कारण नेपालमा परेको असरका ’boutमा सम्बन्धित देशहरूसँग खुलेर छलफल गर्नु अबको आवश्यकता हो ।

(Visited 4 times, 1 visits today)





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School