इजिप्टको कायरोस्थित नेपाली राजदूतावासमा नेपालसम्बन्धी तस्बिर प्रदर्शनी



प्रकाशित मिति : असार १४, २०८१ शुक्रबार

कायरोस्थित नेपाली राजदूतावासको समन्वयमा सोही दूतावासमा इजिप्टका कलाकारद्वारा नेपाली मुहार चित्रण शीर्षकमा कला तथा तस्बिर प्रदर्शनी आयोजना भएको छ ।

नेपाल–इजिप्ट द्विपक्षीय सांस्कृतिक आदानप्रदान प्रवर्द्धन कार्यक्रमअन्तर्गत तार, काठ र ढुङ्गाबाट सृजना गर्ने इजिप्टका कलाकार गलाल गोमाको प्रमुख आतिथ्यमा भएको प्रदर्शनीमा फोटो पत्रकार तथा वृत्तचित्र निर्माता अशरफ तलात र फोटोग्राफर यासेर अला मुबारकले नेपालमा खिचेका तस्बिर र मुहार चित्र एवं फौजी मोर्सीलगायत १८ जना कलाकारका मुहारचित्र राखिएको उक्त दूतावासका तृतीय सचिव माधवराज काफ्ले जानकारी दिनुभयो ।

प्रदर्शनीमा अशरफ तलातले गत मार्च र मेमा मुस्ताङ र लुम्बिनीमा खिचेका तथा यासेर आलाले गत शिवरात्रिमा पशुपतिनाथ मन्दिरको वरिपरि खिचेका तस्बिर समावेश गरिएका थिए ।

त्यस अवसरमा इजिप्टका सांसद डा माई अल–बत्रानले नवीन अवधारणाको प्रयोगसहितको कला प्रदर्शनीले दुई मुलुकबीचको जनस्तरको सम्बन्धलाई सुदृढ गर्न टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो ।

इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले नेपालको विविधतापूर्ण परिदृश्य र सांस्कृतिक सम्पदा तथा नेपाली मुहारलाई जीवन्त रूपमा चित्रण गरेकामा फोटोग्राफर र कलाकारप्रति आभार व्यक्त गर्नुभयो । उहाँले कलाकारका सृजनाले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई प्रवर्द्धनमा योगदान पुग्ने बताउनुभयो । साथै उहाँले सहभागी कलाकारलाई कदरपत्र प्रदान गर्नुभयो ।

प्रदर्शनीमा सहभागी फोटोपत्रकार अशरफ तलत र यासेर अलाले आफूहरूको नेपाल भ्रमणबारे वर्णन गर्दै दुई देशबीच जनस्तरमा भ्रमण आदानप्रदान बढ्दै गएको बताउनुभयो ।

प्रदर्शनीमा कलाकार गलाल गोमाको तार मूर्तिकलाका साथै फौजी मोर्सी, खालेद अल मार्सफी, खालेद सलाह, शिमा शफेई, अहमद गेसा, मारवा इब्राहिम, नौरा मकराम, सफिया याह्या, हानी हसन अब्देलगा, हनी हसन अब्देलगाको क्यारिकेचर कलाको विविध सङ्ग्रह प्रदर्शन गरिएको थियो ।

प्रदर्शनीमा व्यङ्ग्य चित्रकारहरूद्वारा सृजना गरिएका राजर्षि जनक, पासाङल्हामु शेर्पा र सन्दुक रुइतलगायत १५ जनाभन्दा बढी नेपालीप्रति समर्पित ‘क्यारिकेचर’ समावेश गरिएको थियो ।

इजिप्टको कायरोस्थित नेपाली राजदूतावासमा नेपालसम्बन्धी तस्बिर प्रदर्शनी

कायरोस्थित युनाइटेड ओइल कम्पनीमा कार्यरत नेपाली वैज्ञानिक डा प्रकाश अधिकारीले विदेशमा नेपालबारे प्रचारप्रसार गर्न आयोजित यस्ता प्रदर्शनीले सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा कलाकार तथा कलाप्रेमी, कूटनीतिज्ञ, स्थानीय पत्रकार, विद्यार्थी, नेपाली समुदायका सदस्यसहित एक सय जनाको सहभागिता थियो ।





Source link

Leave a Comment