प्रकाशित मिति : असार १, २०८१ शुक्रबार
![न्युयोर्क सिटीको क्वीन्सको किसेना पार्कमा १३ बर्षीया बालिकाको बलात्कार, संदिग्धको स्केच जारी न्युयोर्क सिटीको क्वीन्सको किसेना पार्कमा १३ बर्षीया बालिकाको बलात्कार, संदिग्धको स्केच जारी](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2024/06/NYC-Crime-scaled.jpg?fit=2560%2C1306&ssl=1)
न्युयोर्क सिटीमा एकजना व्यक्तिले चक्कु निकालेर १३ वर्षका बालबालिकालाई जङ्गलको क्षेत्रमा लगेको र उनीहरुको सेल फोन खोसेर बाँधेर राखेपछि बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ। बिहीबार क्वीन्स पार्कमा दुई बालबालिकालाई देखाएर बाँध्ने लुट्ने र आक्रमण गर्ने व्यक्तिको खोजी भइरहेको अधिकारीहरुले बताएका छन् ।
१३ बर्षका केटा र केटी फ्लसिङस्थित किसेना पार्कमा दिउँसो करिब ३ः३० बजेतिर गएका थिए । उनीहरुलाई एकजना अपरिचित व्यक्तिले देखेपछि चक्कु निकालेर उनीहरुलाई जङ्गलको क्षेत्रमा लगेको थियो । त्यसपछि उनीहरुको सेल फोन पनि जर्बजस्ती लिएको थियो भने उनीहरुलाई बाँधेर राखेको थियो । त्यसपछि उक्त व्यक्तिले घटनास्थलबाट भाग्नुअघि बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
![न्युयोर्क सिटीको क्वीन्सको किसेना पार्कमा १३ बर्षीया बालिकाको बलात्कार, संदिग्धको स्केच जारी न्युयोर्क सिटीको क्वीन्सको किसेना पार्कमा १३ बर्षीया बालिकाको बलात्कार, संदिग्धको स्केच जारी](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2024/06/Screenshot-2024-06-14-at-5.06.08 PM.png?resize=720%2C314&ssl=1)
कालो घुमाउरो कपाल भएको संदिग्ध व्यक्ति २० वर्षको हाराहारीमा रहेको र करिब ५ फिट ५ इन्च अग्लो रहेको बताइएको छ । उसलाई पछिल्लो पटक हरियो झोला बोकेको र रातो जुत्ता लगाएको देखिएको थियो । उसको छातीमा रातो आँखा भएको बँदेल वा गोरुको ट्याटु रहेको प्रहरीले जनाएको छ । उक्त व्यक्तिले दाँतमा ब्रासहरु लगाएको र हिस्पानिक मुलको भएको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त व्यक्तिको स्केच समेत सार्वजनिक गरेको छ । यस घटनाको सम्बन्धमा जानकारी भएका जो कोहीलाई प्रहरीको क्राइम स्टोपर्स हटलाइनमा सम्पर्क गर्न आग्रह गरिएको छ । प्रहरीले यस बलात्कार घटनाको बारेमा जानकारीको लागि १० हजार डलर सम्मको पुरस्कार समेत घोषणा गरेको छ ।
स्केच: एनवाईपीडी