मुस्ताङको मुटुः मार्फा

मुस्ताङको मुटुः मार्फा


झट्ट सुन्दा मुस्ताङ जिल्ला भन्ने बित्तिकै जो कोहीले पबित्र तीर्थस्थल मुक्तिनाथ सम्झने गर्दछन्। तर मुस्ताङको परिचय यति मात्रैले कदापि पुरा हुन सक्दैन्। यहाँ अनगिन्ती बिबिधताहरु छन जसले मानिसलाई सधै आनन्दित गर्न सक्दछ। मुक्तिनाथ मन्दिरको दर्शन गर्ने मात्र उद्देश्य राखेर मुस्ताङको यात्रा गर्नु भनेको यहाँको बारेमा अपुरो हुनु हो।

लोकसेवा आयोग लगायत नेपालको सरकारी तथा अन्य संघ संस्थामा रोजगारीको अवसरको निम्ति लिखित परीक्षा लिने निकायले बनाउने  प्रश्नहरुमा मुस्ताङको बारेमा नै एउटा प्रश्नपत्र तयार हुन्छ। छिमेकी मित्र राष्ट्र चीनसँग सीमाना जोडिएको मुस्ताङ गण्डकी प्रदेशको सबैभन्दा उत्तरमा पर्ने जिल्ला हो। मरुभूमीको जिल्ला, नेपालमा सबै भन्दा कम पानी पर्ने, हिमालपारी र विशिष्ट खालको भौगोलिक बनावट भएको जिल्ला आदि नामबाट परिचित मुस्ताङ धौलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको उत्तरमा अवस्थित छ।

यस जिल्लाको ऐतिहासिक आधार र भौगोलिक अबस्था आदि हेर्दा धरै अघि यो क्षेत्र नेपाल र तिब्बत बीचको मुख्य व्यापारिक नाका रहेको बुझिन्छ। मुस्ताङ जिल्लाको उत्तरी सीमाना तिब्बतसँग जोडिएको लोमान्थाङ हँुंदै छोसेर कोरलासम्म उच्च पहाडी र हिमाली श्रृंखला मिलेर बनेको छ। तर, सीमापारी चीनको स्वसासित क्षेत्र तिब्बतको भूभाग नेपालको तराई जस्तो समथर (पठार) भूभाग रहेको छ।  

मुस्ताङ जिल्लाको पूर्वमा मनाङ, पश्चिममा डोल्पा, दक्षिणमा म्याग्दी र उत्तरमा तिब्बत पर्दछन्। यसको उत्तर–दक्षिण लम्बाई करिब ८० र चौडाई ४५ किलोमिटर छ। यो जिल्ला अन्नपूर्ण हिम श्रृंखलाको उत्तरमा पर्ने भएको र  माथिल्लो मुस्ताङ लगायतका स्थानमा वन जंगल नभएको हुंँदा कम पानी पर्दछ। तर तल्लो मुस्ताङ, जोमसोम, कोवाङ, लेते र घासा लगायतका स्थान २७ सय मिटर भन्दा कम उचाईमा अबस्थित रहेको र केही हदसम्म जंगल पनि रहेको हुंँदा माथिलो मुस्ताङको तुलनामा यहाँको तल्लो भेगको भौगोलिक बनावट अलि फरक छ।  

पर्यटकीय सहर पोखराबाट सडक यातायातको सर्वसुलभ उपलब्धता रहेको कारण पोखरा देखि बस तथा जीपमा सवार भई करिब साढे छ घण्टामा कास्कीको पर्यटकीय तथा रमणीय स्थल सराङकोट, लुम्ले, पर्वत जिल्लामा रहेको बन्जी जम्प र बाग्लुङ जिल्लाको प्रसिद्ध बाग्लुङ कालिका मन्दिर, प्रसिद्ध धार्मिक स्थल पञ्चकोट र म्याग्दी जिल्लामा रहेको गलेश्वर महादेव, तातोपानी लगायतका स्थानको रमणीय आनन्द लिंदै कालीगण्डकी किनारैकिनार विविध प्राकृतिक छटाको अवलोकन गर्दे कच्ची र पक्की सडकको करिब ११४ किलोमिटर यात्रा पार गर्दा मुस्ताङ जिल्लाको सीमाना घासामा पुग्न सकिन्छ।

त्यसअघि म्याग्दी जिल्लाको दानामा रहेको  प्रसिद्ध  ‘रुप्से झरनाको’ आनन्द लिन भने छुटाउनु हँुंदैन।   रुप्से झरनाबाट केहि दूरीको यात्रा पश्चात  म्याग्दी र  मुस्ताङको सीमानामा रहेको काभ्रेभीर नजिक कालीगण्डकी नदीमा अबस्थित गहिरो गल्छीको समेत भरपुर आनन्द लिन सकिन्छ।  कालीगण्डकीमा बनेको गहिरो गल्छि अबलोकन गर्नको लागि बनाइएको झोलुंगे पुलबाट तल हेर्दा कताकता मनमा डर पैदा भएतापनि प्राकृतिक बनोटको त्यो अद्भुत स्थल देख्न पाउदा मन उमंगले फुरुंग हुन्छ।  

मुस्ताङ जिल्लाको दक्षिणी प्रवेशद्वार घासा कट्ने बित्तिकै करिब ५ किमि यात्रा गरे पछि समुन्द्री सतहदेखि २१ सय १३ मिटरको उचाईमा रहेको प्रसिद्ध पर्यटकीय स्थल लेते पुग्न सकिन्छ। लेते मुस्ताङ जिल्लालाई चिनाउने एउटा विशिष्ट पर्यटकीय आधार बोकेको स्थान हो। यहाँबाट देखिने धवलागिरी र मानापाथी हिमालको दृश्य जो कोहीको लागि  आनन्दको पर्याय बन्न सक्दछ। अथवा लेते समुन्द्र सतहबाट ८ हजार १ सय ६७ मिटर उचाईको धवलागिरी र ६ हजार ३ सय ८० मिटर उचाईको मानापाथी हिमालको काखमा रहेको छ। मुस्ताङ घुम्न आउने जो कोही पनि एकपटक यहाँको दृश्यसंँग क्यामेरा वा मोबाइलको बिभिन्न पोजमा कैद नभई अगाडी बढ्न सक्दैनन्।

त्यसमा पनि बिहानको घामको पहिलो झुल्को धवलागिरी र मानापाथी हिमालमा पर्दाको दृश्य लेते बाट हेर्दा सुर्यले केहि समय आफ्नो गति रोकेर बसिदिए हुन्थ्यो भन्ने अनुभूति हुन्छ। बादल छेउमा नआइदिए हुन्थ्यो जस्तो अनुभूति पनि हुन्छ। त्यसैले त मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले बेलुकीको बास लेतेमै बस्न तछाड मछाड गर्ने गर्दछन। यहि कारण मुख्य सिजनमा यहाँका होटलहरुले पर्यटकको माग धान्न सक्दैनन।    

लेते बाट करिब १० किमी यात्रा गरे पछि  पर्यटकीय र ओखर खेतीको लागि प्रख्यात स्थल कोबाङ पुग्न सकिन्छ। केहि बर्ष अघिसम्म यहाँ बसोबास गर्ने मानिसको प्रमुख आय श्रोतको रुपमा स्याउ खेति रहेको थियो। जलवायु परिबर्तनको कारण अहिले कोवाङमा पहिले जस्तो पर्याप्त स्याउ फल्न छाडेको छ।  मानिसहरु  अहिले ओखर खेति तर्फ आकर्षित भएका छन्। जसको कारण यहांँका बासिन्दाले आफ्नो तथा परिवारको जिविकोपार्जनको अलावा ओखर बिक्रीबाट प्रशस्त आम्दानी समेत गर्ने गरेका छन्।

जोमसोम नपुग्दै मुख्य सडक मार्गको छेउमा पर्ने  प्रसिद्ध पर्यटकीय स्थल हो, मार्फा गाउँ। जुन समुन्द्र सतहबाट २ हजार ६ सय ८० मिटर उचाईमा अबस्थित छ। मार्फा  भन्नासाथ स्याउ उत्पादनका लागि प्रख्यात स्थान हो भन्ने पनि बुझिन्छ। थकाली समुदायको मूल थलो थाक खोलाको मौलिक वास्तुकला देख्न पाइने यो ठाउँ पर्यटकीय गन्तव्य पनि हो। यसलाई नेपालको राजधानी काठमाडौं शहरको असनसँग पनि तुलना गर्ने गरिन्छ, किनभने मार्फा गाउँको भित्री गल्ली असनकै जस्तो साघुँरा छन। मार्फाको भित्रि गाउँको बनोट यहाँको मौलिकतासँग अत्यन्त समीप छ।  

मुस्ताङ जिल्लाको बिभिन्न स्थानमा घुम्न आउने जो कोहि पर्यटक पनि यहाँको मुख्य सडकमा गाडि रोकेर सुन्दर बस्तीको अबलोकन गर्न पैदल यात्रा गर्ने गर्दछन्। मार्फाको भित्रि गाउंँमा गाडि जान सक्दैन्। त्यसकारण यहाँको शौन्दर्य अवलोकन गर्न पैदल नै हिड्नु पर्ने हुन्छ।  बाह्य पर्यटकहरु माझ प्रिय अन्नपूर्ण र धौलागिरि पदमार्गका यात्रीहरु जोमसोम आइपुग्दा यो गाउँमा नघुमि फर्कदैनन्।  

मार्फा गाउँ धेरै हिसाबले प्रख्यात छ। यहाँ बनेका घरहरु एकै किसिमको मौलिकतामा आधारित छन्। वरिपरि पहाडले घेरिएको सुन्दर बस्ती मार्फाको अर्को विशेषता हो। छानो आकारका घरहरु यहा देख्न पाइदैन्। यहाँ चौडा छत भएका घरहरू मात्र देख्न पाइन्छ। घरको छत शहरमा जस्तो सिमेन्ट ढलान गरेर बनाइएको छैन। छतमा काठहरु ओछ्याई माथिबाट हिलो माटोले छोपेर बनाइएको छ। यहाँका घरहरुको अझ अर्को बिशेषता घरको छानामा दाउराले सजाएर राखिएको छ। जुन मार्फा  घुम्न आउने स्वदेशी तथा बिदेशी पर्यटकहरुको चासो र आश्चर्यको बिषय बन्ने गरेको छ।  

मार्फा गाउँको माथि पट्टी गगनचुम्बी पहाड लतमन्न परेर बसेको छ। समथर भूभागमा रहेको यहाँको सुन्दर बस्तीलाई स्याउको घना बगैंचाले सजाएको छ। गाउँको सबैभन्दा अग्लो स्थानमा सम्तेन छोलिङ गुम्बा छ, जुन मार्फावासीको आस्थाको धरोहर मानिन्छ।

मार्फा अहिले तरकारी उत्पादनको पनि केन्द्र बनेको छ। यहाँ आलु, साग, काउली, टमाटर लगायतका तरकारी मनग्गे उत्पादन हुने गरेको छ। मार्फामा रहेको नेपाल सरकार अन्तरगतको शितोष्ण बागवानी केन्द्रमा बिभिन्न तरकारीको उत्पादनको अलावा गाजर, मुला, बन्दागोपी, काउली लगायतका तरकारीको बीउले गण्डकी प्रदेशको मागलाई थोरै भएपनि धानेको छ। जोमसोम, कोवाङ, घासा, कागबेनी र मुक्तिनाथ तथा उपल्लो मुस्ताङमा समेत यहाँ उत्पादन हुने तरकारी पुग्ने गरेको छ। सिजनमा मार्फामा उत्पादन भएको तरकारी जोमसोमको अलावा म्याग्दीमा समेत पठाउने गरेको छ। अहिले मार्फामा उत्पादन हुने आलुले यहाँको स्याउले जस्तै ब्राण्ड स्थापित गर्न सफल भएको छ। यहाँ घुम्न आउने जो कोही पनि मार्फाको आलु खरिद गर्न मरिहत्ते गर्ने गर्दछन्।  

ुस्ताङ घुम्न आउने पर्यटकको पहिलो रोजाई हिन्दू र बौद्ध धर्माबलम्वीको धार्मिक धरोहरको रुपमा रहेको मुक्तिनाथसंँग जोडिएको छ। मुस्ताङ घुम्न आउने पर्यटकको रोजाइमा पर्ने मुक्तिनाथ, कागबेनी र लोमान्थाङ  जाने बाटोमै मार्फा पर्छ। कालीण्डकी करिडोरको जोमसोम जाने मुख्य सडक मार्फा गाउँभन्दा केहि तलबाट जाने हँुंदा मार्फा पर्यटकीय हिसाबले ओझेलमा परेको हो की भन्ने भान हुन्छ।  मार्फामा उत्पादित स्याउले ब्राण्ड स्थापित गरेको छ।

 यहाँको स्याउबाट उत्पादित ‘मार्फा’ ब्राण्डको ब्राण्डी र वाइन स्वदेशमा मात्र होइन बिदेशमा पनि  प्रख्यात छ। तर जलवायु परिवर्तनको असर यहाँको स्याउ उत्पादनमा पनि परेको छ। पहिले जस्तो स्याउ उत्पादन हुन छोडेको छ। मार्फा सडक सञ्जालले जोडिएको र मुस्ताङ घुम्न आउने पर्यटकहरुको संख्या दिनानुदिन बढ्दै गैरहेको कारण सडकको किनारमा रहेका प्रसस्त स्याउ फल्ने जमीन मासेर अहिले नयाँ सहरीया शैलीका होटेलहरु धमाधम निर्माण भइरहेका छन्।  जसले गर्दा यहाँको मौलिकता हराउदै जाने हो कि भन्ने चिन्ता मार्फाली माझ बढ्दो छ।  

खास गरि मुस्ताङको मार्फामा २०२३ साल भन्दा अगाडी स्याउ खेति गर्ने प्रचलन थिएन। मुस्ताङ जिल्लाको मार्फा लगायतको स्थानमा स्याउको सम्भाब्यता भएको कारणले गर्दा नै होला २०२२ सालमा तत्कालीन सरकारको पालामा मार्फाको जमीन अधिकरण गरि राखिएको थियो।

त्यसैताका तत्कालीन राजा महेन्द्र बीरबिक्रम शाहदेव फ्रान्स भ्रमणमा गएको अबस्थामा नेपालको पुर्व घर भएका एक जना सुब्बा थरका मानिसले मजदुरको रुपमा त्यहाँको वाइन फ्याक्ट्रीमा काम गरेको देखि निजलाई मुस्ताङमा स्याउ उत्पादन गर्ने काममा सहयोग गर्न आव्हान गरेपछि निज तत्कालै फ्रान्सबाट नेपालआई मुस्ताङको मार्फामा स्याउको विरुवा उत्पादन लगायतको काम गर्न थालेको र  पछि २०२३ सालमा कृषि बिशेषज्ञ बुद्धिरत्न शेरचन लाई स्याउ खेतिको उत्पादन तथा प्रर्वद्धनको लागि तत्कालिन सरकारले मार्फामा पठाए पश्चात मार्फामा ‘स्याउ खेति फर्म’ स्थापना गरि स्याउ खेति गर्न थालिएको भन्ने छ। त्यसपछि क्रमशः जिल्लाको अन्य स्थानहरुमा पनि यसको खेतीले प्रचारता पाएको हो। यस अर्थमा मार्फा नै मुस्ताङ जिल्लाको स्याउ खेतीको प्रमुख आधार बिन्दू हो भन्दा मिथ्या नहोला।  

सामान्यतया मुस्ताङ घुम्न जाने पर्यटकहरुले प्रमुख गन्तब्य भन्दा अन्य स्थानहरुको बारेमा जानकारी नलिई मुख्य  गन्तव्यस्थल जाने गरेको कारण पनि मार्फा ओझेलमा परेको हो कि भन्ने अर्थ रहन सक्छ। कहिलेकाँहि मुक्तिनाथ तथा जोमसोममा पर्यटकले अत्यधिक भरिभराउ हुँदा बास बस्न समेत मुस्किल हुने हुँदा यसको वैकल्पिक बासस्थान मार्फा हुन सक्छ। यसैगरी जोमसोममा कहिले काहिँ मौसम प्रतिकूल हुँदा हवाइजहाजको यात्रा गर्ने यात्रुहरुको लागि घुमघामको अबसर मार्फाले जुटाइदिन सक्छ। आन्तरिक पर्यटक सामान्यतया सुनेका गन्तव्यहरूमा मात्र जाने गर्दछन्। यसकारण मुस्ताङ घुम्न जाने पर्यटकहरुले कम्तीमा पनि त्यहाँ रहेका गन्तब्य स्थानहरुको बारेमा पूर्ण जानकारी लिई गएको खण्डमा कम्तिमा पनि मुस्ताङको मुटुको रुपमा रहेको मार्फा जस्ता स्थानहरु ओझेलमा पर्ने थिएनन्।  

प्रकाशित: २३ जेष्ठ २०८१ १२:१४ बुधबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School