न्यायाधीश भुवन गिरीकी श्रीमती आरतीले सर्वोच्च अदालतको इजलासमा अखाद्य वस्तु सेवन गरेपछि उपचारका लागि वीर अस्पताल लगिएको छ।
बुधबार न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा बहस चलिरहेको समयमा उनले अखाद्य वस्तु सेवन गरेकी थिइन्।
सर्वोच्च अदालत स्रोतका अनुसार उनले उक्त अखाद्य वस्तु गुट्खाको प्याकेटमा राखेर ल्याएकी थिइन्। ‘उहाँले बहस चलिरहेकै बेलामा केही सेवन गर्नुभएको थियो। तर के हो भन्ने चाँही खुलिसकेको छैन। त्यसपछि उहाँलाई उपचारका लागि वीर अस्पताल पठाइएको छ।’ स्रोतले भन्यो।
यता अस्पताल स्रोतले आरतीको अवस्था सामान्य रहेको जानकारी दिएकाे छ। ‘उहाँलाई साढे २ बजेतिर अस्पताल ल्याउनुभएको थियो। अहिले अवस्था सामान्य रहेको छ।’ अस्पताल स्रोतले भन्यो।
आरतीले श्रीमान्विरुद्ध वैवाहिक बलात्कारको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएकी थिइन्। गत वर्षको २८ चैतमा न्यायाधीश गिरीलाई काठमाडौंबाट पक्राउ गरेर कपिलवस्तु लगिएको थियो। पछि उनी धरौटीमा रिहा भएका थिए।
उनले आफूमाथि बलात्कार भएको दाबी गर्दै उनले श्रीमान्विरुद्ध जाहेरी दिएकी थिइन्। काठमाडौं जिल्ला अदालतले पनि उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
उक्त आदेशविरुद्ध आरती उच्च हुँदै सर्वोच्च पुगेकी थिइन्। सोही मुद्दाको सुनुवाइ हुने क्रममा इजलासमै उनले शङ्कास्पद वस्तु सेवन गरेकी हुन्।
प्रकाशित: २१ चैत्र २०८० १७:०६ बुधबार
