गोल्ड कोस्टमा जीसीएनपीएलको तेस्रो संस्करण हुँदै, पाँच टोली सहभागी हुने


News Summary

Generated by OK AI. Editorially reviewed.

  • गोल्ड कोस्ट नेप्लिज प्रिमियर लिगको तेस्रो संस्करण सन् २०२७ को मार्चमा गोल्ड कोस्ट, अस्ट्रेलियामा आयोजना हुने भएको छ।
  • प्रतियोगितामा हिमालयन हिट्स, यति स्ट्राइकर्स, गोल्ड कोस्ट सुपर किड्स, गोर्खा थन्डर्स र सगरमाथा टाइटन्स गरी पाँच टोली सहभागी हुनेछन्।
  • आयोजकले सन् २०२६ को डिसेम्बरमा अक्सन गर्ने तयारी गरेको छ र खेलहरू प्राकृतिक घाँसको पिचमा खेलाइनेछन्।

गोल्ड कोस्ट, अस्ट्रेलिया । गोल्ड कोस्ट नेप्लिज प्रिमियर लिग (जीसीएनपीएल) को तेस्रो संस्करण सन् २०२७ को मार्चमा आयोजना हुने भएको छ । जीसीएनपीएल निर्देशक किशोर तिवारीले २०२७ मार्चमा प्रतियोगिता गर्ने तयारी भइरहेको जानकारी दिए ।

अस्ट्रेलियाको क्विन्सल्यान्ड राज्यको गोल्ड कोस्टमा हुने प्रतियोगितामा हिमालयन हिट्स, यति स्ट्राइकर्स, गोल्ड कोस्ट सुपर किड्स, गोर्खा थन्डर्स र सगरमाथा टाइटन्स गरी पाँच टोली सहभागी हुनेछन् । सगरमाथा टाइटन्स यसै संस्करणबाट लिगमा थपिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताका खेलहरू प्राकृतिक घाँसको पिच (टर्फ विकेट) मा खेलाइनेछन् । आयोजकले खेलहरूको व्यावसायिक स्तरमा प्रत्यक्ष अनलाइन प्रसारण गर्ने र सामाजिक सञ्जालका इन्फ्लुएन्सरहरूसँग मिलेर प्रतियोगिताको प्रचार गर्ने तयारी गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी अविनाश बोहरा लिगका ब्रान्ड एम्बासडर छन् । यस्तै हिरोशी खनाल तेस्रो संस्करणमा ‘अफिसियल फेस’ को रुपमा नियुक्त भएका छन् ।

यस संस्करणमा क्विन्सल्यान्डभरका खेलाडीले सहभागी हुने अवसर पाउनेछन् । प्रत्येक टोलीले क्विन्सल्यान्डबाहिरबाट बढीमा एक जना खेलाडी समावेश गर्न पाउनेछ ।

जीसीएनपीएलका निर्देशक किशोर तिवारीले भने, ‘यसपटक हामी गोल्ड कोस्टसहित क्विन्सल्यान्डभरका खेलाडीलाई बढी अवसर दिन चाहन्छौं। स्थानीय खेलाडीले आफ्नो प्रतिभा देखाउने र क्रिकेटमार्फत यहाँका नेपाली समुदायलाई जोड्ने मञ्चका रूपमा यो लिगलाई अघि बढाइरहेका छौं ।’

खेलाडी छनोटका लागि सन् २०२६ को डिसेम्बरमा अक्सन गर्ने तयारी छ । अघिल्लो संस्करणमा सहभागी चार टोलीले गत वर्षको दर्ताका आधारमा गोल्ड कोस्ट र ब्रिस्बेनबाट एक-एक जना खेलाडीलाई टोलीमै राख्न पाउनेछन् । सगरमाथा टाइटन्सले ती चार टोलीले कायम नराखेका खेलाडीमध्ये दुई जनालाई अक्सन अघि छनोट गर्न पाउनेछ ।

सन् २०२५ मा चार टोलीको सहभागितामा सुरु भएको प्रतियोगिताको पहिलो संस्करणको उपाधि गोल्ड कोस्ट सुपर किङ्सले जितेको थियो । गोर्खा थन्डर्स उपविजेता बनेको थियो । सन् २०२६ मा सम्पन्न दोस्रो संस्करणमा यति स्ट्राइकर्सले उपाधि जित्दा हिमालयन हिट्स उपविजेता बनेको थियो ।

प्रतियोगिताको खेलस्थल र विस्तृत खेलतालिका तय हुन बाँकी रहेको आयोजकले जनाएको छ ।

गोल्ड कोस्टमा रहको किशोर तिवारीसहितको समूहले यस प्रतियोगिता आयोजना गर्न लागेको हो ।





Source link

Translate »