News Summary
Generated by OK AI. Editorially reviewed.
- धनकुटा-९ मुलघाटस्थित विश्रान्ति वृद्धाश्रममा वरिष्ठ लोकगायक तुलसी पराजुलीको नेतृत्वमा २० जना कलाकारले देउसीभैलो, गीत र नृत्य प्रस्तुत गरेका छन्।
- कलाकार टोलीले वृद्धाश्रममा आश्रित ३६ जना ज्येष्ठ नागरिकलाई मनोरञ्जनसँगै २२ हजार रुपैयाँ नगद, खाद्यान्न र फलफूल सहयोग गरेको छ।
- कार्यक्रममा ज्येष्ठ नागरिक सुशीला वैद्य र सीता तामाङ गीतमा नाचेर रमाएका थिए, भने केही सहभागी भावुक बनेका थिए।
२४ कात्तिक, धनकुटा। छेउमै निरन्तर सुसाइरहने तमोर नदी । नजिकै छ विश्रान्ति वृद्धाश्रम । जीवनको उत्तरार्धमा परिवार र आफन्तबाट टाढिएर बस्न बाध्य ज्येष्ठ नागरिकका लागि चाडपर्वका खुसीहरू प्रायः सम्झनामै सीमित हुने गर्छन् । तर, यस वर्षको तिहारमा भने धनकुटाको मुलघाटस्थित विश्रान्ति वृद्धाश्रममा फरक रौनक छायो ।
धनकुटा नगरपालिका-९ मुलघाटस्थित वृद्धाश्रममा बाजागाजासहित पुगेको कलाकार टोलीले देउसीभैलो, गीत तथा नृत्य प्रस्तुत गर्दै त्यहाँ आश्रित ३६ जना ज्येष्ठ नागरिकलाई खुसी बाँडेका छन् । कलाकारहरूको गीत र संगीतमा वृद्धाश्रमका जेष्ठ नागरिक पनि रमाउँदै नाचेका थिए । केहीका आँखा रसाए, केहीका ओठमा मुस्कान छायो ।
वरिष्ठ लोकगायक तुलसी पराजुलीको नेतृत्वमा २० जना कलाकार वृद्धाश्रम पुगेका थिए । टोलीमा ७६ वर्षीया गायिका टिकादेवी पराजुलीसहित मेघराज घिमिरे, दुर्गा पराजुली, नगेन्द्र कटुवाल, मेखराज कार्की, रमेश अधिकारी र तारा ढकाललगायत कलाकार सहभागी थिए । गायक पराजुलीले देउसीभैलोसँगै आफ्ना चर्चित गीत ‘खोटाङ जिल्ला दिक्तेल बजार’, ‘कान्छीको छाता ढल्काइदेऊ यता’ र ‘सालैज्यू सालैज्यू’ लगायत करिब एक दर्जन गीत प्रस्तुत गरे । कलाकारहरूको प्रस्तुतिले वृद्धाश्रमको वातावरण निकै उल्लासमय बनेको स्थानीय संयोजक रमेशचन्द्र अधिकारीले जानकारी दिए ।
‘परदेशबाट फर्की आयौँ, आफ्नै देशको माटो सम्झेर…’ भन्ने गीत गुञ्जिरहँदा विश्रान्ति आमा समूहकी सक्रिय सदस्य उर्मिला श्रेष्ठ भावुक बनिन् । गीतका शब्दले उनलाई यति छोयो कि उनी आँसु रोक्न सकिनन् । गायक पराजुलीको प्रस्तुतिमा वृद्धाश्रमका ज्येष्ठ नागरिक तथा सहभागीहरू नाच्दै र गाउँदै रमाए । गायिका टिकादेवी पराजुलीले ७६ वर्षको उमेरमा हालै रेकर्ड गराएको गीत प्रस्तुत गर्दा सबैले उत्साहपूर्वक साथ दिए । मेघराज घिमिरेले हुर्रा भाकाका गीतमार्फत सहभागीलाई नचाए भने गायक दुर्गा पराजुलीले पनि आफ्ना चर्चित गीत सुनाएर मनोरञ्जन प्रदान गरे ।
वृद्धाश्रममा डेढ दशकदेखि बस्दै आएकी चितवनकी सुशीला वैद्यका लागि यो कार्यक्रम अविस्मरणीय बन्यो । आफन्तजन हुँदाहुँदै पनि भेटघाट गर्न नआउने गरेको पीडा सुनाउँदै उनले लामो समयपछि मनैदेखि खुसी हुने अवसर पाएको बताइन् । ‘म यहाँ आएको यत्तिका वर्षपछि आज मनदेखि नै खुसी भएर रमाइलो गर्न पाएँ,’ उनले भनिन्, ‘कयौँ चाडपर्वमा नदी किनारमा बसेर आफन्त सम्झँदै आँसु खसाल्दा मन हलुका बनाएकी छु ।’
वाकरको सहायताले हिँडडुल गर्ने वैद्य पनि गीतको तालमा हात हल्लाउँदै कलाकारलाई साथ दिइरहेकी थिइन् । भोजपुर घर भएकी ७५ वर्षीया सीता तामाङले भने प्रायः सबै गीतमा नाचेर आफ्नो उत्साह देखाइन् । उनी पनि केही वर्षदेखि वृद्धाश्रममै बस्दै आएकी छन् । विगतका तिहारमा अन्यत्र देउसीभैलो खेल्दै आएका कलाकार यस वर्ष वृद्धाश्रमका आमाबुबासँगै रमाउन पाउँदा आफूहरूलाई विशेष आत्मसन्तुष्टि मिलेको बताउँछन् । ‘परिवारबाट टाढिएका व्यक्तिहरूको अनुहारमा खुसी ल्याउन पाएको महसुस भएको छ,’ गायक तुलसी पराजुलीले भने, ‘उहाँहरूसँगै देउसी खेल्न पाउँदा मनैदेखि खुसी लागेको छ। आत्मसन्तुष्टि मिलेको छ ।’

वृद्धाश्रमलाई सहयोग
मनोरञ्जनसँगै कलाकार टोलीले वृद्धाश्रमलाई आर्थिक तथा खाद्य सामग्री सहयोगसमेत गरेको छ । टोलीले २२ हजार रुपैयाँ नगदसहित खाद्यान्न र फलफूल वितरण गरेको हो । गायक पराजुलीको परिवारका तर्फबाट ११ हजार १ सय रुपैयाँ सहयोग प्रदान गरिएको थियो । समाजसेवी प्रताप थापा, सुमन तामाङलगायतले पनि वृद्धाश्रमका लागि आर्थिक सहयोग गरेका थिए । सहयोगी दाताहरूलाई विश्रान्तिका सल्लाहकार स्वामी विजयानन्द सरस्वती, व्यवस्थापक पद्मप्रसाद काफ्ले, कार्यवाहक महासचिव पुष्करप्रसाद जोशी र क्रियाशील सदस्य दिनेश श्रेष्ठले सम्मानपत्र प्रदान गरेका थिए । वृद्धाश्रमका तर्फबाट कलाकार टोलीलाई समेत सम्मान गरिएको थियो ।