चीनमा नेपाली यू-१९ महिला क्रिकेट टोलीको दोस्रो जित


नेपालले बिहीबार भएको खेलमा हङकङलाई ९२ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.

  • चीनको जिङ्ग्सुमा जारी बेल्ट एण्ड रोड सिरिजमा नेपाली यू-१९ महिला टोलीले दोस्रो जित हात पारेको छ ।
  • नेपालले बिहीबार हङकङलाई ९२ रनले पराजित गर्‍यो ।
  • मनिषा चौधरी र रचना चौधरीले ३-३ विकेट लिएपछि १४७ रनको लक्ष्य पछ्याएको हङकङ ५४ रनमै अलआउट भयो ।

१८ कात्तिक, काठमाडौं । नेपाली यू-१९ महिला क्रिकेट टोलीले चीनको जिङ्ग्सुमा भएरहेको बेल्ट एण्ड रोड सिरिजमा दोस्रो जित हात पारेको छ ।

नेपालले बिहीबार भएको खेलमा हङकङलाई ९२ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित १९.५ ओभरमा सबै विकेट गुमाएर १४६ रन बनाएको थियो । नेपालका लागि कप्तान सोनी पाख्रिनले सर्वाधिक ४४ रन बनाइन् । २८ बल खेलेकी उनले ५ चौका र ३ छक्का प्रहार गरिन् । यस्तै ओपनर सावित्री धामीले २६ बल खेल्दै ८ चौका र ४ छक्का मदतमा ३६ रन जोडिन् ।

तृसना विकले १२ र रचना चौधरीले ११ रन जोड्दा एन्जिला पाठक १३ रनमा अविजित रहिन् ।

हङकङकी स्टोर्म पार्कले ३ विकेट लिइन् ।

१४७ रनको उच्च लक्ष्य पछ्याएको हङकङले नेपालको कसिलो बलिङ सामु निरिह रह्यो र १८ ओभरमा ५४ रनमै अलआउट भयो । वाङ तुन सो र मान केइ लेउङले समान १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

हङकङलाई अलआउट गर्न नेपालका लागि मनिषा चौधरी र रचना चौधरीले ३-३ विकेट लिए । साक्षी यादवले २ विकेट लिइन् ।

खेलमा नेपालकी कप्तान सोनी पाख्रिन प्लेअर अफ दि म्याच घोषित भइन् ।

नेपालले यसअघि पहिलो खेलमा थाइल्यान्डलाई पराजित गरेको थियो भने चीन विरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।

चार टोली सहभागि सिरिजमा हरेक टिमले एक अर्कासँग दुई-दुई खेल खेल्नेछ । नेपालले आफ्नो चौथो खेलमा शुक्रबार थाइल्यान्डसँग खेल्नेछ ।





Source link

Translate »