News Summary
Generated by OK AI. Editorially reviewed.
- उदयपुरको कटारी नगरपालिका–५ भोर्लेमा हायसको ठक्करबाट शिक्षक सुमन श्रेष्ठको मृत्यु भएपछि स्थानीयवासीले दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गर्दै बुद्धचोकमा सडक अवरुद्ध गरेका छन्।
- प्रदर्शनका कारण मदन भण्डारी राजमार्ग अवरुद्ध हुँदा काठमाडौंबाट पूर्वतर्फ जाने यात्रुहरू समस्यामा परेका छन्।
- प्रहरीले हायस चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
१ कात्तिक, उदयपुर । उदयपुरको कटारी नगरपालिका–५ भोर्लेमा हायस गाडीको ठक्करबाट स्थानीय शिक्षक सुमन श्रेष्ठको मृत्यु भएपछि दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयवासीले आइतबार कटारीको बुद्धचोकमा प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीले मदन भण्डारी राजमार्गअन्तर्गत कटारीको बुद्धचोकमा बिहानैदेखि सडक अवरुद्ध गरेका हुन्। सडक अवरुद्ध हुँदा काठमाडौँबाट पूर्वतर्फ जाने यात्रुहरू समस्यामा परेका छन्।
स्थानीयवासीले मृतक शिक्षकको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र दुर्घटनामा संलग्न हायस चालकलाई कानुनी कारबाही गर्नुपर्ने माग राखेका छन्।
प्रहरीका अनुसार शनिबार राति करिब ११ बजे पूर्वबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६८४४ नम्बरको हायस गाडीले कटारी नगरपालिका–५ भोर्लेमा को १ प ९६६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक स्थानीय भुल्के स्कुलका शिक्षक श्रेष्ठ घाइते भएका थिए।
घाइते श्रेष्ठलाई उपचारका लागि कटारी प्रादेशिक अस्पताल लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए। स्थानीय मधु धमलाका अनुसार घर फर्किँदै गरेका शिक्षक श्रेष्ठ सवार मोटरसाइकललाई हायस गाडीले ठक्कर दिएको थियो।
इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) उपेन्द्र खरेलले हायस चालकलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।
शिक्षकको मृत्युपछि स्थानीयवासीले सडक अवरुद्ध गरेर प्रदर्शन गरेपछि राजमार्गमा यातायात प्रभावित भएको छ।