८ असोज, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका चार स्थानीय तहमा आज र भोलि सबै विद्यालय पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेका छन्।
बनेपा, बेथानचोक, मण्डनदेउपुर र रोशी गाउँपालिकाले वर्षा, बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै आफ्ना क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।
बाँकी रहेका धुलिखेल, पनौती, खानिखोला, तेमाल, नमोबुद्ध, पाँचखाल र चौँरीदेउरालीमा जोखिमयुक्त विद्यालयलाई आवश्यकताअनुसार बन्द गर्ने अधिकार सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई दिइएको शिक्षा विकास तथा समन्वय इकाई काभ्रेका प्रमुख सविता दंगालले जानकारी दिए ।
कबमसरकारी विद्यालयको हकमा पालिकामा जोखिमको अवस्था हेरेर विद्यालय बन्द गर्न सकिने व्यवस्था गरिएको छ ।
त्यस्तै महाभारत र भुम्लु गाउँपालिकामा भने आज विद्यालय बन्द गरिएको छैन । मौसमको अवस्था हेरेर भोलि आवश्यक निर्णय गर्ने तयारी गरिएको छ ।
सम्भावित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै काभ्रे प्याब्सन अन्र्तगतका विद्यालय दुई दिन बन्द हुने भएका छन्।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काभ्रेपलाञ्चोकले असोज ८ र ९ गते विद्यालय बन्द गर्ने निर्णय गरेको हो । प्याब्सनका अध्यक्ष श्याम भुजेलका अनुसार मौसमी पूर्वानुमान र स्थानीय तहसँगको समन्वयमा प्याब्सन अन्तर्गतका संस्थागत विद्यालय बन्द गरिएको जानकारी दिए ।
असोज १० गते शनिबार र ११ गते आइतबार परेकाले निजी विद्यालयमा चार दिन पठनपाठन हुने छैन। विद्यालयहरू असोज १२ गते सोमबारदेखि नियमित रूपमा सञ्चालन हुने भुजेलले जानकारी दिए ।