बिहानैदेखि शहीद परिवारले खोजे बालेन, राति आयो एक वाक्यको श्रद्धाञ्जली


News Summary

Generated by OK AI. Editorially reviewed.

  • जेनजी आन्दोलनको एक वर्ष पुगेको दिन नयाँ बानेश्वरमा आयोजित स्मृतिसभामा प्रधानमन्त्री बालेन शाह अनुपस्थित रहँदा शहीद परिवारले सरकारलाई न्याय र संवादबारे प्रश्न उठाए।
  • शहीदकी आमा तथा रास्वपा सांसद रचना खतिवडा खत्रीले प्रतिनिधिसभामा ‘शहीदले न्याय कति वर्षमा पाउँछ सरकार ?’ भन्दै प्रधानमन्त्रीको अनुपस्थितिप्रति आपत्ति जनाइन्।
  • प्रधानमन्त्री शाहले साँझ ७ बजेर १८ मिनेटमा फेसबुकमा ‘प्रिय जेनजी, सुशासन कायम हुने नै छ, शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली ।’ भनेर एक वाक्यको सन्देश पोस्ट गरे।

२४ भदौ, काठमाडौं । जेनजी आन्दोलनको जगमा बनेको राजनीतिक परिवर्तनले बालेन शाहलाई प्रधानमन्त्रीको कुर्सीसम्म पुर्‍यायो। तर त्यही आन्दोलनमा ज्यान गुमाएका युवाको स्मृति दिवसमा भने प्रधानमन्त्री शाह आफैं उपस्थित भएनन्।

जेनजी आन्दोलनको एक वर्ष पूरा भएको दिन मंगलबार नयाँ बानेश्वरमा शहीद परिवार र घाइतेहरू भेला भए। उनीहरू आफ्ना सन्तानको सम्झना गर्न मात्रै होइन, आन्दोलनले उठाएका प्रश्नको जवाफ खोज्न पनि पुगेका थिए। कार्यक्रममा प्रधानमन्त्री शाहको खोजी भयो।

प्रधानमन्त्री भने कार्यक्रममा देखिएनन्।

दिनभर उनको औपचारिक उपस्थिति रहेन। अन्ततः साँझ सामाजिक सञ्जालमार्फत उनले लेखे, ‘प्रिय जेनजी, सुशासन कायम हुने नै छ, शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली ।’

एक वाक्यको यो सन्देश पनि प्रधानमन्त्री शाहकै चाहना र रुचिमा आएको होइन रहेछ भन्ने बुधबार संसद्‌मा शहीद परिवारबाट नै खुलासा भएको छ ।

रास्वपा सांसद तथा जेनजी शहीदकी आमा रचना खतिवडा खत्रीले प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्रीसँग प्रश्न गरिन्, ‘शहीदले न्याय कति वर्षमा पाउँछ सरकार ? शहीद र घाइते परिवारलाई भेट्न कति वर्ष लाग्छ अब ?’

उनका अनुसार शहीद परिवारले प्रधानमन्त्रीलाई कार्यक्रममा आउन पटकपटक आग्रह गरेका थिए। उनले भनिन्, ‘निमन्त्रणा दिएर कि त आइदिनुस्, केही त बोलिदिनुस्, जेनजी शहीदको नाममा केही त लेखिदिनुस् भनेर बिहान ७ बजेबाट भन्दा  बेलुकी ७ बजे स्टाटस त आयो । अन्तमा एक वर्षपछि शहीदलाई श्रद्धाञ्जली ।’

उनले भनेजस्तै प्रधानमन्त्री शाहको एक वाक्यको श्रद्धाञ्जली सन्देश रात छिप्पिन थालेपछि ७ बजेर १८ मिनेटमा पोस्ट भएको थियो ।

भोटेकोशी बाढीपछि हरेक दिन देशबासीलाई सम्बोधन गर्दै लामा लामा स्टाटस लेख्ने गरेका प्रधानमन्त्री शाहले जेनजीलाई लागि शहीद परिवारले पटकपटक आग्रह गरेपछि राति मात्र एक वाक्य खर्चिएको खुलासा गर्दै शहीदकी आमाले संसदबाटै सरकारलाई गम्भीर राजनीतिक र नैतिक प्रश्न गरेकी छन् ।

उनको प्रश्नले सरकारसँग खोजेको जवाफ हो- जसको बलिदानपछि बनेको राजनीतिक परिवर्तनको नेतृत्व गर्ने व्यक्ति, त्यही बलिदानको स्मृतिमा आयोजित कार्यक्रममा किन उपस्थित भएनन् ?

प्रधानमन्त्री शाहको फेसबुक स्टाटसमा ‘सुशासन कायम हुने नै छ’ भन्ने प्रतिबद्धता छ। तर जेनजी परिवारले अहिले प्रतिबद्धताको अर्को पोस्ट खोजिरहेका छैनन्। उनीहरू खोजिरहेका छन्, न्याय कहिले हुन्छ ?

मंगलबार जेनजी स्मृतिसभामा सहभागी एकसाथ विभिन्न कारणले निरास देखिए । पहिलो त- कार्यक्रममा प्रधानमन्त्री उपस्थित भएनन् । सँगै, कार्यक्रमको मञ्चमा विवादित पात्रहरू देखिए । गृहमन्त्रीले प्रश्न गर्नेहरू र प्रतिपक्षलाई धम्कीको भाषामा सम्बोधन गरे । प्रश्न गर्नेलाई कार्यक्रम स्थलमै दमन भएका भिडियोहरू बाहिरिएका छन् । कार्यक्रमको व्यवस्थापन त्यस्तै भद्रगोल त थियो नै ।

सँगै, सरकारको कार्यप्रगतिले पनि शहीद परिवारलाई त्यति सन्तोष दिएको थिएन । कार्यक्रममा सहभागी युवाहरूले यो कुरा खुलस्त राखे ।

त्यसो त, प्रश्न प्रधानमन्त्री शाहले प्रधानमन्त्रीको हैसियतमा कति बजे श्रद्धाञ्जली दिए, जेनजी स्मृतिसभामा शहीद परिवारहरूले कर गर्दा पनि किन आएनन् भन्ने मात्रै होइन, प्रश्न उनले आफूलाई सत्तामा पुर्‍याउने आन्दोलनका शहीद परिवारसँग कति पटक संवाद गरे ?

जेनजी आन्दोलनको एउटा प्रमुख माग सुशासन र जवाफदेहिता थियो। प्रधानमन्त्रीको पछिल्लो चार लाइनको सन्देशमा पनि त्यही शब्द छ, ‘सुशासन कायम हुने नै छ।’

बिर्सन नहुने कुरा, शहीद परिवारले राज्यसँग न्याय खोज्दा राज्य उनीहरूको अगाडि उभिनु पनि सुशासनकै हिस्सा हो।

शहीदका तस्वीरमा फूल चढाउनु औपचारिकता हुन सक्छ। ढिलो-चाँढो, चाहेर-नचाहेर, चार लाइन श्रद्धाञ्जली लेख्नु पनि सजिलो हुन सक्छ।

तर ‘शहीदले न्याय कति वर्षमा पाउँछ सरकार ?’ भन्ने शहीदकी आमाको प्रश्नको जवाफ दिनु सजिलो छैन। र यही प्रश्नले अहिले प्रधानमन्त्री बालेन शाहलाई पछ्याइरहेको छ।

शहीदकी आमाले संसदबाटै यसरी प्रश्न उठाउँदा अरू थप प्रश्नहरू उठेका छन् । कि सरकारले आफ्नै नेता कार्यकर्ताले पनि चित्त बुझाउन सक्ने गरी काम गर्न सकिरहेको छैन । कि सरकारले आफूले के गरिरहेको छु भनेर आफ्नै नेताहरूसँग पनि संवाद गरिरहेको छैन, कुरा बुझाउन सकिरहेको छैन ।

यो संवादहिनताको कारण जेसुकै होस्, लोकतान्त्रिक मूल्य, मान्यता, विधि र संस्कार अनुकूल भने छँदैछन् ।

प्रधानमन्त्री शाह, प्रश्नहरूलाई नजरअन्दाज नगर्नुस् । अझ शहीदकी आमाको प्रश्नहरूलाई त नजरअन्दाज गर्दैनगर्नुस् ।

यही संवादहीनतामा हो जुनसुकै शक्तिले पनि स्थान लिने ।

उदाहरण मंगलबारकै स्मृतिसभाका केही दृश्य र अभिव्यक्ति काफी छन् ।

स्मृतिसभाको अग्रभागमा बसे- विवादास्पद ‘धर्मगुरु’हरू । उनीहरू मन्त्रीहरू मात्र होइन, विवादित धर्मगुरुहरूको अनुसन्धान गरिरहेका प्रहरी महानिरीक्षकलाई पनि पछाडि धकेलेर मञ्चको अघिल्लो पंक्तिमा बसे ।

अघिल्लो पंक्तिमा मात्र बसेनन्, प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीलाई नै चुनौती दिनेगरी चुनौती दिए, धम्क्याए ।

यसले गृहमन्त्री सुधन गुरुङको अनुहारमा केहीक्षण कान्ति थप्योहोला तर आफूभन्दा अग्रभागमा बसेर प्रधानमन्त्रीलाई चुनौती दिने ती पात्रहरूलाई ती निरीह बनाइएका प्रहरीले कसरी अनुसन्धान गर्नसक्ला ? कस्तो अनुसन्धान गर्ला ?

जवाफ (संवाद) हरूको अनुपस्थितिमा थप प्रश्नहरू थपिँदै जानेछन् । यसको मूल्य कस्तो हुन्छ ? जवाफ निकटविगत इतिहासहरू स्मरण गरेर खोजौं ।





Source link

Translate »