सांसदले सडकमै गाडी तेर्स्याए, प्रहरी लगाएर यात्रु समाते


News Summary

Generated by OK AI. Editorially reviewed.

  • मकवानपुरबाट निर्वाचित रास्वपा सांसद प्रकाश गौतमले भीमफेदीको जुरिखेतमा जामबीच आफ्नो गाडी तेर्स्याएर यात्रुसँग विवाद गरेका छन् ।
  • गौतमको भनाइमा पछाडिको इभी चालकले भिरबाट खसालिदिने धम्की दिएपछि उनले सडकमा गाडी रोकेर प्रहरीलाई यात्रु नियन्त्रणमा लिन लगाए ।
  • सुसन भ्लोनले आफूलाई भैंसे प्रहरी चौकीमा करिब दुई घण्टा राखिएको बताउँदै सांसद गौतमले घुमाउरो तरिकाले धम्की दिएको आरोप लगाएका छन् ।

२४ भदौ, हेटौंडा । मकवानपुरबाट निर्वाचित रास्वपा सांसद प्रकाश गौतमले बीच सडकमै गाडी तेर्स्याएर आक्रोश पोखेका छन् । त्यति मात्र नभई आफूसँग भनाभन गरेको भन्दै यात्रुलाई प्रहरी लगाएर समात्न लगाएका छन् ।

त्रिशूली नदीको बाढीले कृष्णभिरमा पहिरो गएपछि पृथ्वी राजमार्ग बन्द हुँदा पश्चिम नेपालतर्फ जाने साना सवारी साधन हेटौंडा–कुलेखानी–फर्पिङ–बल्खु सडकखण्डबाट चलिरहेका छन् ।

अत्यधिक सवारी चापका कारण यो छोटो मार्गमा जाम भइरहेका बेला मकवानपुर–१ का सांसद गौतमले सडकमा आफ्नो निजी गाडी तेर्स्याएर यात्रुसँग विवाद गरेको र एक यात्रुलाई प्रहरी लगाएर नियन्त्रणमा लिन लगाएका हुन् ।

मंगलबार दिउँसो करिब ३ बजेतिर भीमफेदी बजारमाथि जुरिखेतस्थित सडकमा सवारी जाम भएको थियो । भीमफेदीदेखि कुलेखानीसम्मको करिब १६ किलोमिटर सडक साँघुरो रहेकाले उक्त खण्डमा अत्यधिक सवारी चापका कारण जाम हुने गरेको छ ।

त्यही जामका बीच मनहरी गाउँपालिका–७ का सुसन भ्लोन हेटौंडातर्फ आउँदै थिए । सांसद गौतम भने परिवारसहित निजी गाडीमा काठमाडौं जाँदै थिए ।

सवारी जामकै अवस्थामा गाडी अगाडि बढाउने क्रममा आवेगमा आएका गौतमले आफ्नो गाडी सडकमा तेर्स्याएको अनलाइनखबरलाई प्राप्त भिडियोमा देखिन्छ । गाडी तेर्सिएपछि सडकको दुवैतर्फका सवारी साधनसमेत अघि बढ्न नसकी सडकमै रोकिएका थिए ।

गाडीबाट ओर्लिएपछि गौतम मोटरसाइकल तथा चारपाङ्ग्रे सवारीका चालकतर्फ जाइलागेको प्रत्यक्षदर्शी भ्लोनले बताएका छन् । उनी लामो समयसम्म सडकमा उभिएर चर्को स्वरमा बोलिरहेका थिए ।

आफ्नो गाडी हटाएर जाममा फसेका यात्रुलाई गन्तव्यतर्फ जान दिने वातावरण बनाउन भ्लोनसहितका यात्रुले आग्रह गरेका थिए । त्यस क्रममा भ्लोनसहित अन्य यात्रु र गौतमबीच भनाभन भएको थियो ।

भनाभनकै क्रममा भ्लोनले आफूलाई गालीगलोज गरेको भन्दै सांसद गौतमले प्रहरी प्रशासन लगाएर उनलाई भैंसे प्रहरी चौकीमा समात्न लगाएको खुलेको छ । परिवारका एक सदस्यको मृत्यु भएपछि मानसिक तनावमा रहेका बेला आफू यात्रा गरिरहेको र प्रहरीले आफूलाई चौकीमा करिब दुई घण्टा राखेको भ्लोनले अनलाइनखबरलाई बताए ।

भैंसे प्रहरी चौकीका इञ्चार्जको फोनबाट भ्लोनले सांसद गौतमसँग फोनमै कुराकानी गरेका थिए । त्यस क्रममा आफूले गल्ती गरेको प्रमाणित गर्न चुनौती दिँदै प्रहरीले लगाएर समात्न लगाउनुको कारण माग गरेको उनले बताए ।

‘धेरै बेरसम्म कुरा भएपछि सांसद गौतमले ‘ल, तिमीलाई छोडिदिएँ मैले, जाऊ अब तिमी’ भने । मैले मेरो गल्ती भए कारबाही गर्न चुनौती दिएँ,’ भ्लोनले भने । आफूलाई सांसद गौतमले घुमाउरो तरिकाले धम्की दिएको महसुस भएको र त्यसपछि मानसिक तनावमा रहेको भ्लोनको भनाइ छ । प्रहरीले उनलाई पछि छाडेको थियो ।

भिरबाट खसालिदिने धम्की दिएपछि गाडी रोकें : सांसद गौतम

सांसद गौतमले भने आफूभन्दा पछाडि रहेको इभी गाडीका चालकले आफूलाई भिरबाट खसालिदिने धम्की दिएको र मोटरसाइकल चालकहरूले अश्लिल गालीगलोज गरेपछि बीच सडकमै गाडी रोकेर ओर्लिएको बताएका छन् ।

आफूले इभी गाडी र मोटरसाइकलको नम्बरसमेत टिपोट गरेको उनले बताएका छन् । यात्रुसँग सामान्य भनाभन भएकै आधारमा भैंसे प्रहरीबाट समात्न लगाएर दुई घण्टासम्म राख्न लगाएको विषयमा प्रश्न गर्दा गौतमले त्यति लामो समय नराखिएको दाबी गरे ।

‘बढीमा १० मिनेट हो, त्यसरी त राखेको छैन । उहाँले पनि मलाई अश्लिल शब्द प्रयोग गर्नुभयो । के रहेछ, उहाँको पनि फोन नम्बर लिएर छोडिदिनु न भनेको हो ।’

गौतमले बाटोमा सबैसँग जुधेर साध्य नहुने भन्दै पाँच मिनेट कुरेर सुरक्षित यात्रा गर्न आग्रह गर्दा भिरबाट खसाल्ने धम्की र अश्लिल शब्द प्रयोग गर्न नहुने बताएका छन् ।

मकवानपुरका प्रहरी प्रमुख एसपी श्यामबहादुर खत्रीले जुरिखेतमा सांसद गौतम र यात्रुहरूबीच वादविवाद भएकोबारे आफूलाई जानकारी रहेको बताए ।

आफ्नो गन्तव्यतर्फ हिँडिरहेका यात्रुलाई सांसदको भनाइका आधारमा प्रमाणित कसुरबिना प्रहरीले घण्टौंसम्म राख्नु उचित हो कि होइन भन्ने प्रश्नमा एसपी खत्रीले कुनै जवाफ दिन चाहेनन् ।

उनले सडकमा अत्यधिक सवारी चाप रहेकाले सहज र सुरक्षित सवारी सञ्चालनका लागि प्रहरी प्रशासन खटिएर काम गरिरहेको बताए ।





Source link

Translate »