बाढीमा बेपत्ताका आफन्तलाई डीएनए परीक्षण गराउन आह्वान


News Summary

Generated by OK AI. Editorially reviewed.

  • रसुवाको भोटेकोशी नदीको बाढीपछि बेपत्ता नागरिक र फेला परेका शव तथा मानव अंगको पहिचानका लागि नेपाल प्रहरीले डीएनए परीक्षण प्रक्रिया अघि बढाएको छ।
  • नेपाल प्रहरीले स्वदेशका नजिकका आफन्तलाई नेपाल प्रहरी अस्पताल महाराजगञ्ज वा जिल्ला प्रहरी कार्यालयमा ताजा रगतको नमुना दिन आग्रह गरेको छ।
  • विदेशमा रहेका आफन्तले सम्बन्धित देशको फोरेन्सिक प्रयोगशालाबाट अटोसोमल एसटीआर डीएन प्रोफाइलिङ गराई सफ्टकपी नेपाल प्रहरीको आधिकारिक इमेलमा पठाउन प्रहरीले भनेको छ।

१८ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण बेपत्ता भएका नागरिकहरूको खोजी र फेला परेका बेवारिसे शव तथा मानव अंगहरूको पहिचानका लागि नेपाल प्रहरीले डीएनए परीक्षण प्रक्रिया अघि बढाएको छ।

गत भदौ १० गतेको भीषण बाढीपछि नदी किनार तथा तटीय क्षेत्रमा फेला परेका शव एवं शरीरका भागहरू पहिचान गर्न नेपाल प्रहरीले सूचना जारी गर्दै मृतकका रगतको नाता पर्ने आफन्तलाई डीएनए नमुना उपलब्ध गराउन आग्रह गरेको हो।

सूचनाअनुसार स्वदेश तथा विदेशमा रहेका बेपत्ता नागरिकका पहिलो पुस्ताका नातेदारले डीएनए परीक्षणका लागि प्रक्रिया पूरा गर्नुपर्नेछ।

स्वदेशमा रहेका आफन्तले के गर्नुपर्छ ?

बेपत्ता नेपाली तथा विदेशी नागरिकका सबैभन्दा नजिकको रगतको नाता (बाबु, आमा, छोरा वा छोरी) मध्ये कुनै एक जनाले २ प्रति पासपोर्ट साइजको फोटोसहित उपस्थित हुनुपर्ने नेपाल प्रहरीको सूचनामा उल्लेख छ ।

डीएनए प्रोफाइलिङका लागि ताजा रगतको नमुना दिनुपर्ने र यसका लागि नेपाल प्रहरी अस्पताल महाराजगञ्जको प्याथोलोजी ल्याब, काठमाडौं वा आफ्नो नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्ने प्रहरीले जनाएको छ ।

विदेशमा रहेका परिवारले के गर्ने ?

विदेशमा रहेका विदेशी वा गैरआवासीय नेपालीका हकमा पनि बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाले सम्बन्धित देशकै आधिकारिक फोरेन्सिक प्रयोगशालाबाट ‘अटोसोमल एसटीआर डीएन प्रोफाइलिङ’ गराउनुपर्नेछ।

उक्त प्रोफाइलको सफ्टकपी (डिजिटल प्रति) नेपाल प्रहरीको आधिकारिक इमेलमा पठाउन पनि प्रहरीले आग्रह गरेको छ ।

इमेल पठाउँदा सम्बन्धित व्यक्तिको पूरा नाम र राष्ट्रियता, राहदानी (पासपोर्ट) वा आधिकारिक परिचयपत्रको विवरण, व्यक्ति हराएको मिति र सम्भावित स्थान, मान्यताप्राप्त प्रयोगशालाको डीएनए प्रोफाइलिङ रिपोर्ट समावेश गर्नुपर्ने प्रहरीले उल्लेख गरेको छ ।

इमेलमा डीएनए दिने व्यक्ति र हराइरहेको व्यक्तिबीचको पारिवारिक नाता पनि खुलाउनुपर्नेछ ।

डीएनए परीक्षण तथा समन्वयका लागि नेपाल प्रहरीले दुई जना सम्पर्क अधिकारीसमेत तोकेको छ ।

प्रहरी निरीक्षक शम्भुबहादुर केसी : ९८४१६१६०९५

प्रहरी नायव निरीक्षक (सई) विष्णु घिमिरे : ९८५७०९१०१३

बाढीले ठूलो संख्यामा नागरिक बगाएको र कतिपय शव क्षतविक्षत अवस्थामा फेला परिरहेकाले वैज्ञानिक विधिबाट पहिचान गरी परिवारलाई बुझाउन यो प्रक्रिया अनिवार्य गरिएको प्रहरीले जनाएको छ।

हेर्नुहोस् सूचना :





Source link

Translate »