३० साउन, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री उमाकान्त चौधरीले पार्टीभित्रको गुटबन्दी, भागबन्डा, तदर्थवाद र आन्तरिक द्वन्द्वका कारण संगठन कमजोर बन्दै गएको निष्कर्षसहित वृहत्तर एकतामा जोड दिएका छन् ।
संस्थापन इतर समूहको जारी राष्ट्रिय भेलामा चौधरीले पेस गरेको सांगठनिक प्रतिवेदनमा पार्टीको संकट समाधानका लागि गुटबन्दी र नातावादभन्दा माथि उठेर विधि, पद्धति, योग्यता र क्षमताका आधारमा पार्टी सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ ।
‘पार्टीभित्र अवसरको नयायोचित वितरण नहुनु, विधि र विधानको हुबहु पालना नगरिनु र इमानदार कार्यकर्ताको मूल्यांकनमा कमी देखिनुले संगठनात्मक निराशा पैदा गरेको यथार्थलाई हामीले स्वीकार गर्र्नेपर्छ,’ चौधरीले प्रतिवेदनमा लेखेका छन्, ‘पार्टीभित्रका यी जायज असन्तुष्टि र फरक धारणाहरू नै वास्तवमा कांग्रेसलाई जीवन्त राख्ने ऊर्जा हुन् । तसर्थ, गुटबन्दी र नातावादभन्दा माथि उठेर विधि, पद्धति, योग्यता र क्षमताका आधारमा पार्टी सञ्चालन गरिनुपर्छ ।’
शीर्ष नेताहरूको आदर्शलाई स्मरण गरेर मात्र पार्टी रूपान्तरण सम्भव नहुने भन्दै प्रतिवेदनमा उनीहरूले स्थापित गरेको आन्तरिक लोकतन्त्र, न्याय र त्यागको भावनालाई पार्टीको व्यवहारमा उतार्नुपर्ने बताएका छन् ।
‘शीर्ष नेताहरूको आदर्शलाई कसम खाएर मात्र पुग्दैन, उहाँहरूले सिकाउनुभएको आन्तरिक लोकतन्त्र, न्याय र त्यागको भावनालाई चरित्र र व्यबहारमा उतार्न आजैका दिनदेखि पार्टीभित्र व्यापक रूपान्तरण र सुदृढीकरण अभियानको थालनी गर्नु यो भेलाको मुख्य उद्देश्य रहेको छ, प्रतिवेदनमा लेखिएको छ ।
संकटमा रहेको पार्टी, राष्ट्रियता, लोकतन्त्र, समाजवाद र संविधानको रक्षा गर्नका लागि कांग्रेसलाई एक ढिक्का पार्नु नै राष्ट्रिय भेलाको मूल उद्देश्य भएको पनि प्रतिवेदनमा जिकिर गरिएको छ ।
दलको जीवन्तता आदर्श, सिद्धान्त र विचारलाई जनताको घरदैलोसम्म पुर्याउने गतिशील सांगठनिक संरचनामा निर्भर रहने भन्दै प्रतिवेदनमा स्थापनाकालदेखि नै विचारको श्रेष्ठता र संगठनको व्यापकता कै बलमा नेपालका हरेक राजनीतिक आन्दोलनहरूको नेतृत्व गरेको स्मरण गरिएको छ ।
‘तर, आज इतिहासको त्यो गौरवमय विरासत र वर्तमानको सांगठनिक यथार्थबीच ठूलो खाडल देखिएको छ,’ प्रतिवेदनमा लेखिएको छ, ‘पार्टी संगठन केन्द्रदेखि वडा तहसम्म गुटबन्दी, भागबण्डा, तदर्थवाद र आन्तरिक द्वन्द्व देखिएको छ ।’
सुशासनको पक्षमा, भ्रष्टाचारविरुद्ध र प्रविधिमैत्री राज्य सञ्चालनको पक्षमा नवपुस्ताले उठाएको मागलाई राज्यले समयमै सम्बोधन गरोस् भनेर २३ भदौ २०८२ मा काठमाडौंमा प्रदर्शन भएको थियो ।
उक्त प्रदर्शनको उद्देश्य पवित्र भएपनि प्रदर्शनलाई उत्तेजित बनाएर हिंसा भड्काउन विद्यार्थी र नवपुस्तालाई ढाल बनाउँदै दुरुपयोग गरिएको प्रतिवेदनमा दाबी गरिएको छ ।
‘जसका कारण शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउन सरकारविरोधी षडयन्त्रकारी तत्वहरूले भूमिका खेले,’ प्रतिवेदनमा भनिएको छ, ‘भदौ २४ गते अप्रत्यासित रुपमा अकल्पनिय घटना भयो ।’
जेनजी आन्दोलनलगत्तै तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले मानवीय संवेदनशीलतालाई समेत ख्याल नगरी अस्वभाविक र प्रतिकूल व्यवहार देखाएको आरोप प्रतिवेदनमार्फत लगाइएको छ ।
‘संकटको बेला आफ्नो पदीय जिम्मेवारीलाई समेत निर्वाह नगरी नेपाली कांग्रेसलाई एकढिक्का बनाउनुको सट्टा घाइते भई उपचाररत पार्टी सभापतिको स्वास्थ्य लाभको कामन समेत नगरी राजीनामा माग्दै विशेष महाधिवेशन माग गर्नु नै पार्टीलाई विभाजित र कमजोर बनाउने सुनियोजित षडयन्त्र रहेको देखियो,’ सांगठनिक प्रतिवेदनमा भनिएको छ ।
आमनिर्वाचन घोषणा गरिसकेको अवस्थामा पार्टीभित्र वृहत एकतालाई मध्यनजर गर्दै निर्वाचनमा होमिनुपर्ने समयमा तत्कालीन महामन्त्रीद्वयबाट पार्टी कब्जा गर्ने बदनियतपूर्ण उद्देश्यले विधानविपरीत विशेष महाधिवेशन आयोजना गरिएको पनि प्रतिवेदनमा उल्लेख छ ।
कांग्रेसलाई कमजोर र विभाजन गर्ने उद्देश्यले आयोजना गरिएको विशेष महाधिवेशनलाई षडयन्त्रपूर्वक प्रभावमा परेर निर्वाचन आयोगले बदनियतपूर्वक मान्यता दिएर कानुनी राज्यको उपहास गर्ने दुष्प्रयास गरेको पनि प्रतिवेदनमा लेखिएको छ ।
‘विशेष महाधिवेशनकै कारण संघीय संसद्को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले लज्जास्पद हार बेहोर्नुपरेको छ,’ त्यसमा लेखिएको छ, ‘संगठनलाई ठूलो आघात पुगेका कारण नेपाली कांग्रेस कमजोर भएको छ । साथै देशभरका नेता तथा कार्यकतामा विचलन, दुविधा, अन्योलता र निरासा छाएको छ ।’
३८ सिटमा खुम्चिनुपरेको अवस्थाले कांग्रेसलाई अन्तिम चेतावनी दिएको पूर्वसहमहामन्त्री चौधरीको भनाइ छ ।
‘अब पनि हामीले संगठनलाई परम्परागत शैलीमा चलाउने कोशिस गर्यौं भने इतिहासमा फेरि संकट भोग्नुपर्ने हुन्छ,’ उनले भनेका छन्, ‘कांग्रेस कमजोर भएको बेला देश र जनताको अधिकार खोसिएका नजिरहरू छन् । अहिलेको अवस्थामा पार्टी, राष्ट्रियता, लोकतन्त्र र समाजवाद र संविधान रक्षाको लागि सबैभन्दा पनि पार्टी भित्रको वृहत्तर एकता जरुरी छ ।’