खोटाङबाट सिन्धुली हुँदै काठमाडौं आवतजावत गर्ने यातायात सेवा बन्द


News Summary

Generated by OK AI. Editorially reviewed.

  • सिन्धुलीमा बसले कारलाई ठक्कर दिँदा तीन जना नदीमा बेपत्ता भएपछि खोटाङका यातायात व्यवसायीले सिन्धुली हुँदै काठमाडौं चल्ने यातायात सेवा अनिश्चितकालका लागि बन्द गरेका छन् ।
  • पीडित पक्षले उचित क्षतिपूर्ति र दोषीमाथि कारबाहीको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध पारेपछि सेवा बन्द गरिएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए ।
  • बेपत्ताहरूको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर र नेपाल प्रहरीको टोली परिचालन गरिए पनि हालसम्म कसैको पनि अवस्था पत्ता लाग्न सकेको छैन ।

१९ साउन, खोटाङ । खोटाङका यातायात व्यवसायीले सिन्धुली हुँदै काठमाडौं आउजाउ गर्ने यातायात सेवा बन्द गरेको छ ।

सिन्धुलीमा बसको ठक्करबाट सुनकोसीमा कार खस्दा तीन जना बेपत्ता भएको विषयलाई लिएर पीडितले मध्यपहाडी लोकमार्ग अवरुद्ध पारेपछि व्यवसायीले अर्को सूचना जारी नभएसम्मका लागि यातायात सेवा बन्द गरेको हो ।

साउन १८ गते फिक्कल गाउँपालिका–२ नवलपुरमा सडक किनारमा रोकेर राखेको कारलाई बसले ठक्कर दिँदा सिन्धुपाल्चोकका दिलकुमार लामा, सिन्धुलीका गणेश थापा र सुजन बलमपाकी मगर नदीमा बेपत्ता छन् ।

पीडित पक्षले उचित क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै मध्यपहाडी लोकमार्ग अवरुद्ध पारेका कारण यातायात सेवा स्थगित गरिएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए । सडक अवरुद्ध गरिएका कारण पुर्वबाट काठमाडौं आउजाउने गर्ने सयौं यात्रु मारमा परेका छन् ।

खोटाङबाट काठमाडौं जाँदै गरेको प्रदेश ३–०१–०२४ च ९५७३ नम्बरको कारलाई काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१०–०१४४ नम्बरको बसले ठक्कर दिँदा कार सडकबाट करिब ३० मिटर तल नदीमा खसेर बेपत्ता भएको थियो ।

बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर र नेपाल प्रहरीको टोली परिचालन गरिएका छन् तर हालसम्म बेपत्ता फेला पर्न नसकेको प्रहरीले जनाएको छ ।





Source link

Translate »