विवादास्पद इन्फ्लुएन्सर एन्ड्रयू टेट र उनका भाइ अमेरिकामा पक्राउ,बेलायत सुपुर्दगी गर्ने तयारी



प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार

विवादास्पद इन्फ्लुएन्सर एन्ड्रयू टेट र उनका भाइ अमेरिकामा पक्राउ,बेलायत सुपुर्दगी गर्ने तयारी

विवादास्पद इन्फ्लुएन्सर एन्ड्रयू टेट र उनका भाइ ट्रिस्टनलाई बेलायती अधिकारीहरूले ३८ वटा नयाँ अभियोग जारी गरेपछि अमेरिकामा पक्राउ गरिएको छ। बेलायतको क्राउन प्रोसिक्युसन सर्भिसका अनुसार एन्ड्रयूमाथि थप सात वटा बलात्कारका आरोप, यौन तस्करी तथा बालबालिकाको आपत्तिजनक/अश्लील तस्बिरसँग सम्बन्धित मुद्दाहरू लगाइएको छ।

त्यस्तै, ट्रिस्टनमाथि दुई वटा बलात्कार र यौन शोषणका लागि मानव तस्करीको प्रबन्ध वा सहजीकरण गरेको तीन वटा आरोप लागेका छन्। बेडफोर्डशायर र हर्टफोर्डशायर प्रहरीका अनुसार यी दाजुभाइ विरुद्ध दर्ता भएका कुल आरोपहरूको संख्या अब ५९ पुगेको छ।

यी कथित अपराधहरू जुलाई २०१० देखि अगस्ट २०१७ को बीचमा भएको बताइएको छ। टेट दाजुभाइले भने यसअघि नै आफूहरूले कुनै पनि गलत काम नगरेको भन्दै यी आरोपहरूको खण्डन गरिसकेका छन्।

उनीहरूको पक्राउ लगत्तै अभियोजकहरूले यी दाजुभाइलाई बेलायत सुपुर्दगी गर्न कानुनी प्रक्रिया सुरु गर्ने सीपीएसले जनाएको छ। टेट दाजुभाइ बेलायत र अमेरिकाका दोहोरो नागरिक हुन्। सीपीएसको विशेष अपराध डिभिजनका प्रमुख माल्कम म्याकहाफीले बेडफोर्डशायर प्रहरीबाट थप प्रमाणहरू प्राप्त भएपछि यो निर्णय लिइएको र यस मुद्दामा कथित पीडितहरूको कुल संख्या सात पुगेको जानकारी दिएका छन्।

अमेरिकी मार्सल्सले टेट दाजुभाइलाई हिरासतमा लिइएको पुष्टि गरेका छन्। अमेरिकी जस्टिस डिपार्टमेन्टका प्रवक्ताका अनुसार यो पक्राउ सुपुर्दगी प्रक्रिया अन्तर्गत नै गरिएको हो। पक्राउ परेपछि टेट दाजुभाइका वकिल जोसेफ म्याकब्राइडले एक विज्ञप्ति जारी गर्दै एन्ड्रयू र ट्रिस्टन निर्दोष छन् भन्ने कुरा संसारलाई थाहा भएको दाबी गरेका छन्। उनले बेलायतको नयाँ आरोपलाई राजनीतिक प्रहारको संज्ञा दिँदै अमेरिकाले बेलायतको राजनीतिक स्वार्थका लागि काम नगर्ने जिकिर गरेका छन्।





Source link

Leave a Comment