अमेरिकाको अलाबामामा थुप्रिए अध्यागमनका मुद्दा, एक दशककै उच्च विन्दुमा पुग्यो ग्रीन कार्ड आवेदन



प्रकाशित मिति : ३० असार २०८३, मंगलबार


‘म्यानिफेस्ट ल’को नयाँ प्रतिवेदन अनुसार, सन् २०१७ मा अलाबामा राज्यको एकमात्र अध्यागमन कार्यालय मोन्टगोमेरीमा स्थापना भएयता पारिवारिक आधारमा दिइने ग्रीन कार्डका विचाराधीन आवेदनहरू ७५ प्रतिशतले बढेका छन्।

अलाबामामा आर्थिक वर्ष २०२५ को अन्त्यसम्ममा ३,९३० वटा मुद्दाहरू विचाराधीन थिए, जबकि नौ वर्षअघि यो संख्या २,२४५ मात्र थियो।पारिवारिक ग्रीन कार्डले अमेरिकी नागरिकका नजिकका नातेदार रहेका आप्रवासीहरूलाई कानुनी रूपमा स्थायी बसोबासको अनुमति दिन्छ।

मोन्टगोमेरीको क्षेत्रीय कार्यालयले आर्थिक वर्ष २०२५ मा करिब १,१०० पारिवारिक आवेदन प्राप्त गर्‍यो। यो संख्या सन् २०१७ मा प्राप्त २,१५१ आवेदनको तुलनामा झण्डै आधा मात्र हो।

सन् २०२५ मा यहाँ १,२६० वटा पारिवारिक प्रायोजनका आवेदन स्वीकृत भए, जुन सन् २०१७ को  तुलनामा ३५ प्रतिशतले कम हो।

यद्यपि, राज्यले आवेदन अस्वीकृत गर्ने दरमा पनि कमी आएको छ। सन् २०१७ मा १३८ जना पारिवारिक आवेदकको फाइल अस्वीकृत भएकोमा सन् २०२५ मा यो संख्या घटेर मात्र ३० पुगेको छ।

गत वर्ष अलाबामामा प्राप्त आवेदनहरूमध्ये पारिवारिक श्रेणीकै बाहुल्यता थियो। राज्यमा दर्ता भएका कुल आवेदनको विवरण,पारिवारिक आवेदन: १,०९५,रोजगारीमा आधारित आवेदन: १८०,मानवीय आधारका आवेदन: ४५९,अन्य आवेदन: २ रहेका छन्।

सन् २०२५ मा अलाबामामा पुराना विचाराधीन मुद्दाहरूको ठूलो चाङ थियो। सो वर्ष राज्यले नयाँ प्राप्त गरेको १,१०० आवेदनको तुलनामा पुरानासहित झण्डै १,३०० आवेदनउपर निर्णय गरेको थियो।

यता राष्ट्रिय स्तरमा भने, युएससीआईएसले आर्थिक वर्ष २०२५ मा पारिवारिक ग्रीन कार्डका लागि कीर्तिमान कायम गर्दै ५,४३,४८६ आवेदन प्राप्त गर्‍यो, जुन सन् २०१५ को तुलनामा १८० प्रतिशत बढी हो। यो संख्या अन्य सबै प्रकारका आवेदनको तुलनामा उच्च हो।

कुल स्वीकृत आवेदनहरूमध्ये ५८ प्रतिशत करिब ४,३३,००० पारिवारिक आधारकै थिए। यस्तै मानवीय आधारका झण्डै १,७८,००० र रोजगारीमा आधारित १,०८,००० आवेदन स्वीकृत भएका थिए।

पारिवारिक ग्रीन कार्डका विचाराधीन आवेदनहरू विशेष गरी धेरै विदेशी मूलका नागरिक बसोबास गर्ने राज्य र शहरहरूमा केन्द्रित छन्। करिब १ करोड आप्रवासी जनसंख्या भएको क्यालिफोर्नियामा सबैभन्दा बढी चाप छ, जहाँका क्षेत्रीय कार्यालयहरूमा ४८,००० भन्दा बढी मुद्दा विचाराधीन छन्। यसको तुलनामा पछिल्लो जनगणना अनुसार अलाबामामा विदेशी मूलको जनसंख्या करिब १,७७,००० मात्र छ।

टेक्सासका केही स्थानीय कार्यालयहरूमा पारिवारिक मुद्दाको सबैभन्दा ठूलो चाङ देखिएको छ। आर्थिक वर्ष २०२५ मा १२,७०० मुद्दासहित डलास पहिलो र १२,६०० मुद्दासहित ह्युस्टन दोस्रो स्थानमा रहे। यी शहरका विचाराधीन मुद्दा अलाबामाको कुल संख्याभन्दा करिब १२ गुणा बढी हुन्। ब्याकलॉगको सूचीमा अलाबामा देशैभरमा २३ औँ स्थानमा पर्दछ।

प्रतिवेदनका अनुसार सन् २०२४ देखि लागू भएको युएससीआईएसको नयाँ शुल्क तथा प्रशासनिक नियमले अध्यागमन दर्ता प्रक्रिया महँगो बनाउनुका साथै भुक्तानी प्रणालीमा पनि फेरबदल ल्याएको छ।

सन् २०२५ मा ५५,००० भन्दा बढी विचाराधीन मुद्दा रहेको फ्लोरिडा राज्यका आवेदकहरू यस नियमबाट सबैभन्दा बढी प्रभावित हुन सक्छन्। यसैगरी ४८,०२८ विचाराधीन आवेदनसहित क्यालिफोर्निया दोस्रो, ३९,१८३ मुद्दासहित टेक्सास तेस्रो र ३५,९१९ मुद्दासहित न्युयोर्क चौथो स्थानमा छन्।

युएससीआईएसले प्रक्रियागत बाधाहरू हटाउन र फर्स्यौट अवधि घटाउन विभिन्न सुधारका उपायहरू लागू गरे पनि राष्ट्रिय रूपमा उच्च संख्यामा आवेदनहरू स्वीकृत भइरहँदा अझै पनि हजारौँ आप्रवासीहरू आफ्नो अन्तिम निर्णयको पर्खाइमा छन्।





Source link

Leave a Comment

Translate »