थाइल्याण्डको बैंकक स्थित एक पबमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु



प्रकाशित मिति : २८ असार २०८३, आइतबार

थाइल्याण्डको बैंकक स्थित एक पबमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु

Photo: Hans/Unsplash

थाइल्याण्डको राजधानी बैंककस्थित एक पबमा सोमबार बिहान सबेरै भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन्। अग्निनियन्त्रकहरूले आगोलाई नियन्त्रणमा लिनुअघि उक्त घटना भएको अधिकारीहरूले जनाएका छन्।

उद्धारकर्मीहरूले सामाजिक सञ्जालमा सेयर गरेको भिडियो फुटेजमा उत्तरी बैंककमा रहेको ‘ना लाडप्राओ’ पबको मुख्य ढोकाबाट आगोको ठूलो ज्वाला र धुवाँको मुस्लो निस्किएको देखिन्छ। बाक्लो कालो धुवाँ आकाशतर्फ फैलिरहँदा भित्र रहेका मानिसहरू ज्यान जोगाउन भागदौड गरिरहेका देखिन्थे। उद्धारकर्मीका अनुसार मध्यरातको आसपासमा आगलागी भएको खबर प्राप्त भएको थियो।

घटनास्थल पुग्नुभएका थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चानविराकुलले सञ्चारकर्मीहरूलाई दिएको जानकारी अनुसार आगलागीमा परी २७ जनाको ज्यान गएको छ। उनले आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताए।

प्रधानमन्त्री अनुटिनका अनुसार पबमा प्रस्तुति दिइरहेका एक संगीतकारले स्टेज नजिकै रहेको सर्किट ब्रेकरबाट धुवाँ निस्किएको र लगत्तै बत्ती निभेको बताएका थिए। बत्ती निभेलगत्तै ठूलो विस्फोटको आवाज सुनिएको र पबभित्र ह्वात्तै बाक्लो धुवाँ फैलिएको थियो। ज्यान गुमाउनेमध्ये धेरैजसो पबको पछाडि रहेको शौचालयमा भेटिएका थिए।

बैंककका गभर्नर चाडचार्ट सिट्टिपुन्टले घाइते भएका ६३ जनालाई अस्पताल भर्ना गरिएको र तीमध्ये २२ जनाको अवस्था गम्भीर रहेको जानकारी दिए। धेरैजसो पीडितहरूसँग परिचयपत्र नभएको र कतिपय अचेत अवस्थामा रहेकाले उनीहरूको पहिचान खुलाउन अधिकारीहरू लागिपरेका छन्।

अग्निनियन्त्रकहरूलाई आगो नियन्त्रणमा लिन करिब आधा घण्टा लागेको थियो। आगलागीपछिका तस्बिरहरूमा पबभित्रका टेबल, कुर्सी र भित्री भागहरू जलेर नष्ट भएको देखिन्छ। आफ्ना आफन्तहरू खोज्दै घटनास्थल आइपुगेका परिवारका सदस्यहरूको विवरण संकलन गर्न त्यहाँ एक दर्ता केन्द्र समेत स्थापना गरिएको छ।

थाइल्याण्डमा यस्ता दुःखद आगलागीका घटना पहिले पनि भएका छन्। यसअघि सन् २०२२ मा पूर्वी थाइल्याण्डको एक म्युजिक पबमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको थियो। त्यस्तै, सन् २००९ को जनवरी १ मा बैंकककै सान्टिका नाइटक्लबमा नयाँ वर्षको उत्सव मनाउने क्रममा इन्डोर आतिशबाजीका कारण भएको भीषण आगलागीमा ६६ जनाको मृत्यु भएको थियो भने २०० भन्दा बढी घाइते भएका थिए।





Source link

Leave a Comment