प्रकाशित मिति : २० असार २०८३, शनिबार

तेहरानस्थित इमाम खोमेनी मुसल्ला मस्जिदमा शनिबार सर्वोच्च नेता आयातोल्लाह अली खामेनी र उनका परिवारका सदस्यहरूको अन्त्येष्टि समारोहमा श्रद्धाञ्जलि अर्पण गर्न शोकाकुल नागरिक भेला भएका छन्। तस्बिर: एपी/वाहिद सालेमी/रासस
इरानका पूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको अन्तिम संस्कारको पहिलो दिन राजधानी तेहरानको मुख्य मस्जिद बाहिर शोक मनाउन कालो लुगा लगाएका मानिसहरूको ठूलो भीड जम्मा भएको छ।
गएको फेब्रुअरी महिनामा अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा खामेनेई मारिएका थिए। युद्धका कारण झन्डै चार महिनाभन्दा बढी समय ढिलाइ भएपछि अन्ततः शनिबारदेखि उनको औपचारिक अन्तिम संस्कारका कार्यक्रमहरू सुरु भएका हुन्।
खामेनेईको पार्थिव शरीरलाई अहिले तेहरानको ‘ग्रान्ड मोसल्ला’ मस्जिदमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ। आगामी बिहीबार उनको गृहजिल्ला मशहदमा अन्तिम संस्कार गरिने कार्यक्रम छ।
इरान र इराकभरि हुने यस अन्तिम संस्कारका विभिन्न कार्यक्रमहरूमा डेढ देखि दुई करोड मानिसहरू सहभागी हुने अनुमान अधिकारीहरूले गरेका छन्। देशको कुल जनसङ्ख्याको अनुपातलाई हेर्दा यो इतिहासकै सबैभन्दा ठूलो अन्तिम संस्कार हुन सक्ने बताइएको छ।
शनिबार बिहानैदेखि इस्लामिक शासनका समर्थकहरूले तेहरानका सडकमा उत्रिएर अमेरिकाविरुद्ध नाराबाजी गर्दै खामेनेईको हत्याको बदला लिने घोषणा गरिरहेका छन्। अन्तिम संस्कारमा सहभागी ३७ वर्षीय प्राध्यापक रेजाले समाचार एजेन्सीसँग कुरा गर्दै भने:
हामी सर्वोच्च नेतालाई अन्तिम श्वाससम्म साथ दिने बाचा पूरा गर्न यहाँ आएका हौँ। लामो समयसम्म हामीले देशका लागि ज्यान दिने नारा लगायौँ, तर आज हाम्रा नेताले हाम्रा लागि आफ्नो ज्यान बलिदान दिनुभयो।
त्यस्तै ४० वर्षीय आरस राहिमीले भने,हामी यहाँ हाम्रा नेताको रगतको बदला लिन आएका हौँ। अमेरिकासँग हाम्रो रगतको दुश्मनी छ र यो सम्बन्ध कहिल्यै राम्रो हुन सक्दैन।
खामेनेईको पार्थिव शरीरसँगै सोही हवाई आक्रमणमा ज्यान गुमाएका उनका परिवारका अन्य सदस्यहरूको शवलाई पनि मोसल्ला मस्जिदमा तीन दिनसम्म राखिनेछ।
शवलाई तेहरानको दक्षिणमा पर्ने ‘कोम’ सहरमा लगिनेछ, जहाँ ‘जामकारान’ नामक पवित्र धार्मिक स्थलमा विशेष प्रार्थना गरिनेछ। शवलाई इराकको नजफ सहरस्थित इमाम अलीको मजारमा पुर्याइनेछ र कर्बलामा पनि शोक सभा गरिनेछ। अन्ततः इरानकै सबैभन्दा महत्त्वपूर्ण तीर्थस्थल मानिने मशहदको ‘इमाम रेजा’ मजारमा उनको शवलाई गाडिने छ।
खामेनेईको निधनपछि उनका छोरा मोज्ताबा खामेनेई इरानको नयाँ सर्वोच्च नेता चयन भएका छन्। तर, पद सम्हालेदेखि उनी अहिलेसम्म सार्वजनिक रूपमा देखा परेका छैनन्, जसका कारण उनको स्वास्थ्यलाई लिएर विभिन्न अड्कलबाजीहरू भइरहेका छन्। यो ६ दिने अन्तिम संस्कारका क्रममा उनी सार्वजनिक रूपमा देखा पर्छन् कि पर्दैनन् भन्ने कुरामा सबैको ध्यान केन्द्रित भएको छ।