प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार

अमेरिकाको २५०औं वर्षगाँठमा जर्ज वासिङ्टनको डेस्कबाट सम्बोधन गर्दै न्यूयोर्कका मेयर जोहरान माम्दानी। तस्बिर: अन्ना कोनर्स/एपी/रासस
न्यूयोर्क सिटीका मेयर जोहरान माम्दानीले साँचो देशभक्तिले राष्ट्रका आदर्शहरूका साथै उसका त्रुटिहरूलाई पनि दृढतापूर्वक सामना गर्नुपर्ने तर्क गरेका छन् । अमेरिकाको २५०औं स्थापना दिवसको पूर्वसन्ध्यामा शुक्रबार एक भाषण दिँदै उनले उक्त विचार व्यक्त गरेका हुन।
राष्ट्रपति डोनाल्ड ट्रम्पले माउन्ट रसमोरमा गर्न लागेको सम्बोधनको विपरीत धार प्रस्तुत गर्ने उद्देश्य राखिएको मेयर माम्दानीको यो भाषण प्रतीकहरूले भरिएको थियो, जसमा अध्यागमनलाई मुख्य विषयवस्तु बनाइएको थियो। युगान्डामा जन्मिएका र पछि अमेरिकी नागरिकता लिएका भारतीय मूलका माम्दानीले जर्ज वासिङ्टनले प्रयोग गरेको ऐतिहासिक मेच-टेबुलमा बसेर भाषण दिएका थिए। त्यस क्रममा उनको वरिपरि अमेरिकी झण्डा समातेका अन्य अङ्गिकृत आप्रवासीहरू उभिएका थिए।
आफ्नो सम्बोधनका क्रममा माम्दानीले केही “शक्तिशाली” स्वार्थ समूहहरूमाथि प्रहार गरे, जसले अमेरिकाको उपलब्धि र अवसरहरूमाथि सीमित मानिसहरूको मात्र अधिकार हुनुपर्छ भन्ने मान्यता राख्छन्।
उनीहरूको दृष्टिकोणमा, अमेरिकाले जति धेरै मानिसहरूलाई स्वागत गर्छ, यो देश त्यति नै कमजोर बन्दै जान्छ,” माम्दानीले भने। उनीहरूका अनुसार अमेरिका केवल सही लवज वा सही रङ भएका मानिसहरूको मात्र हो। बाँकी हामीजस्ता मानिसहरू त यहाँ आउन पाएकोमा मात्रै कृतज्ञ हुनुपर्छ भन्ने उनीहरूको जिकिर रहन्छ।
माम्दानीले यो भाषण न्यूयोर्क सिटी हलमा दिएका हुन्, जुन स्थान ऐतिहासिक रूपमा महाद्वीपीय सेनाका सामु पहिलो पटक अमेरिकाको स्वतन्त्रताको घोषणापत्र पढेर सुनाइएको ठाउँभन्दा केही कदम मात्र टाढा पर्दछ।
ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पसँग दुई पटक भेट गरिसकेका माम्दानीले आफ्नो भाषणमा राष्ट्रपतिको नाम भने सिधै उल्लेख गरेनन्। यद्यपि, उनका भनाइहरू ट्रम्प प्रशासनका नीतिहरूप्रति स्पष्ट रूपमा आलोचनात्मक थिए। उनले अमेरिकालाई आप्रवासी, अभियन्ता र सर्वसाधारण नागरिकहरूले निरन्तर नयाँ स्वरूप दिँदै आएको राष्ट्रका रूपमा चित्रण गरे, जसले देशलाई दुई शताब्दीभन्दा अघि स्थापित मार्गदर्शक सिद्धान्तहरू अनुरूप अघि बढ्न निरन्तर घचघचाईरहेका छन्। उनले आफ्नो परिवारसँग अमेरिका बसाइँ सरेर आउँदा विमानबाट पहिलो पटक स्वतन्त्रताको मूर्ति देखेको क्षण पनि स्मरण गरे।
हामीले मुखुण्डो लगाएका एजेन्टहरूले हाम्रा सडकहरूमा सन्त्रास फैलाएको देखिरहेका छौं। तिनै एजेन्टहरू हाम्रा कागजातविहीन छिमेकीहरूले पकाएको खाना खान्छन् र पछि तिनै छिमेकीहरूलाई अज्ञात भ्यानहरूमा हालेर बेपत्ता पार्छन्, माम्दानीले थप्दै भने। हामीले यस्तो राष्ट्र देखिरहेका छौं जसको अथाहा सम्पत्ति कठोर श्रम गर्ने, हिलो-मैलोमा काम गर्ने, कलकारखानामा पसिना बगाउने र ढुङ्गा काट्ने हातहरूले बनाएका हुन्। तर दुःखको कुरा, आज त्यही देशको ठूलो धन सम्पत्ति केवल केही सीमित सम्भ्रान्त वर्गका नरम हातहरूमा मात्र केन्द्रित हुन दिइएको छ।
गत जनवरीमा कार्यभार सम्हालेयता मेयर माम्दानीको यो भाषणलाई राष्ट्रिय स्तरमा उनको बलियो उपस्थितिका रूपमा हेरिएको छ।
एक लोकतान्त्रिक समाजवादी नेताका रूपमा परिचित माम्दानीले न्यूयोर्कको हालैको प्राथमिक निर्वाचनमा आफूले समर्थन गरेका उम्मेदवारहरूको जितपछि डेढोक्र्याटिक पार्टीभित्र आफ्नो प्रभाव निकै बढाएका छन्। आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचन र सन् २०२८ को राष्ट्रपतीय निर्वाचनका लागि डेमोक्र्याटहरूको नीति तय गर्न आफूले अझ ठूलो भूमिका खोजिरहेको उनले खुला रूपमा बताउँदै आएका छन्।
तर अमेरिकी संविधान अनुसार, जन्मजात अमेरिकी नागरिक नभएका कारण माम्दानीले राष्ट्रपति वा उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिन पाउने छैनन्। आफूलाई राष्ट्रपतिको दौडमा सामेल हुन योग्य बनाउने गरी संविधान संशोधन गरिनुपर्छ भन्ने खालका चर्चालाई मेयरले अस्वीकार गर्दै भनेका छन्,अमेरिकी संविधान जस्तो छ, अहिलकै अवस्थामा राम्रो छ।