News Summary
Generated by OK AI. Editorially reviewed.
- विश्वकपमा २८ वर्षपछि फर्किएको नर्वेको टोलीलाई समर्थन गर्न समर्थकहरूले ‘भाइकिङ रो’ नामक विशेष सांस्कृतिक अभियान सञ्चालन गरेका छन् ।
- नर्वेका सांसदहरूले समेत संसद बैठकमा भाइकिङ रो प्रदर्शन गर्दै आफ्ना खेलाडीहरूको उत्साह बढाउन राष्ट्रिय गौरवको यो अभियानमा सक्रिय सहभागिता जनाएका छन् ।
- प्राथमिक विद्यालयका शिक्षक ओले फ्रोयस्तादले परिकल्पना गरेको यो अभियान फुटबल मैदानबाट सुरु भएर अमेरिका र युरोपका जनजीवनमा समेत फैलिएको छ ।
न्यूयोर्क टाइम्स स्क्वायरमा मान्छेहरूको बाक्लो उपस्थिति छ । यो भीड सधैंको जस्तो अस्तव्यस्त छैन । रातो जर्सी लगाएका थुप्रै मान्छेहरू सिँढीमा छन् । यो माहोलमा एउटा ठूलो हर्नको आवाज गुञ्जिन्छ ।
भाइकिङको जस्तो सिंह भएको टोपी लगाएका एक व्यक्तिले ड्रममा ताल ठोक्छन् । त्यसपछि जे देखिन्छ, त्यो धेरैका लागि रोमाञ्चक थियो – ती सबै जना एकैसाथ भुइँमा बस्छन् । र, काल्पनिक रूपमा डुङ्गा चलाएको महसुस गर्दै एउटै लयमा सबै चिच्याउँछन् – रो ! रो !! रो !!!
त्यो कुनै फिल्मको सुटिङ थिएन । धार्मिक अनुष्ठान पनि थिएन । त्यो २८ वर्षपछि विश्वकपको मञ्चमा फर्किएको नर्वेको टोलीको उत्साहमा जोडिन उसका समर्थकहरूले गरेको ‘भाइकिङ रो’ थियो ।
अहिले नर्वेको टोली आफूले जित्ने हरेक खेलपछि भाइकिङ रो गर्दै आइरहेको छ । यो समयसम्म आइपुग्दा भाइकिङ रो मैदानभन्दा बाहिर देखिन थालेको छ । नर्वेका फ्यानहरू एक साथ भेटिँदा होस् अथवा कुनै जमघटमा – भाइकिङ रो सुरु भइहाल्छ जस्तो अवस्था छ ।
यतिसम्म कि यसअघि ८ असारमा नर्वेको संसदमा सांसदहरूले समेत भाइकिङ रो गरे । सांसदहरूले आफ्नो नियमित बैठक नै रोकेर भाइरल भएको भाइकिङ रो गरेका थिए । सदनका अध्यक्ष मासुद घाराहखानीले त्यसको नेतृत्व गरेका थिए । उनीहरूले आफ्नो देश विश्वकप पुगेपछि टोलीलाई उत्साह दिन त्यसो गरेका थिए ।
त्यस्तै ‘राउन्ड अफ ३२’ मा आइभरी कोष्टसँगको खेलअघि काठमाडौंमा अवस्थित रोयल नर्वेजियन एम्बेसीले पनि भाइकिङ रो गरेर सामाजिक सञ्जालमा भिडियोमा राखेको थियो ।
त्यससँगै विश्वकप सुरु हुनुअघि नर्वेले यसलाई ‘भाइकिङ अभियान’ को रूपमा घोषणा गरेको थियो । र अहिले, यो अभियानले अमेरिका, मेक्सिको र क्यानडाका रंगशालाहरू मात्र नभएर सामाजिक सञ्जाल र सडकहरूमा समेत एउटा सांस्कृतिक हुरी चलाइदिएको छ ।
के हो त भाइकिङ ?
इतिहासको पाना पल्टाउँदा भाइकिङ शब्दलाई लिएर धेरै भ्रमहरू भेटिन्छन् । धेरैले यसलाई एउटा छुट्टै जाति वा राष्ट्रियताको रूपमा बुझ्ने गर्छन् ।
तर, इतिहासमा भाइकिङ कुनै एउटा निश्चित जातीय पहिचान थिएन । यो एउटा जीवनशैली र क्रियाकलाप थियो । प्राचीन नर्स भाषामा ‘भाइकिङ’ शब्दले विदेश यात्रा वा समुद्री अभियानमा जाने व्यक्तिलाई बुझाउँथ्यो ।
अझ रोचक कुरा त के छ भने भाइकिङ शब्दको उत्पत्ति पुरानो नर्स शब्द ‘भिक’ बाट भएको मानिन्छ । त्यसको अर्थ ‘खाडी’ वा ‘समुद्री प्रवेशद्वार’ हुन्छ । अर्थात्, ‘भाइकिङ’ को शाब्दिक अर्थ ‘खाडी क्षेत्रबाट आएर समुद्रमा साहसिक यात्रा गर्ने मानिस’ भन्ने हुन्छ।
भाइकिङ युग (लगभग सन् ७५० देखि १०५० सम्म) मा स्क्यान्डिनेभियालीहरूलाई संसारले ‘नर्सम्यान’ को रूपमा चिन्थ्यो । तीमध्ये जो व्यापार, अन्वेषण वा कहिलेकाहीँ लुटपाटका लागि जहाज चढेर टाढा-टाढासम्म पुग्थे, उनीहरूलाई मात्र ‘भाइकिङ’ भनिन्थ्यो ।
उनीहरूलाई इतिहासले प्रायः बर्बर आक्रमणकारी र लुटेराको रूपमा चित्रण गरे पनि वास्तवमा उनीहरू कुशल व्यापारी, कृषक, जहाज निर्माता र अन्वेषक पनि थिए ।
भनौं, उनीहरूको इतिहास युद्ध र लुटपाटको मात्र थिएन । त्यो एउटा यस्तो समाज थियो, जहाँ महिलाहरूलाई सम्पत्तिमा अधिकार थियो, उनीहरूले डिभोर्स गर्न सक्थे र पुरुषहरू बाहिर जाँदा घरको नेतृत्व गर्थे ।
नर्वेको छिमेकी र पुरानो प्रतिद्वन्द्वी स्वीडेनले पनि यसमा आफ्नो असन्तुष्टि पोखेको छ । स्वीडिस पत्रकारहरूका अनुसार भाइकिङ इतिहासमा डुङ्गा चलाउने काम नर्वेलीहरूले भन्दा बढी स्वीडिसहरूले गर्थे ।
नर्वेली भाइकिङहरूको इतिहास झनै विशेष छ ।
उनीहरूले नै एटलान्टिक महासागर पार गर्दै आइसल्यान्ड र ग्रिनल्यान्डमा मानव बस्ती बसाएका थिए । अझ गर्वको विषय त के छ भने नर्वेली अन्वेषक लीफ एरिक्सन, क्रिस्टोफर कोलम्बसभन्दा झण्डै ५०० वर्षअघि सन् १००० तिर नै उत्तर अमेरिकाको तटमा पुगिसकेका थिए ।
अहिलेको विश्वकपमा नर्वेलीहरूले यही इतिहासलाई हतियार बनाएका छन् । भनौं, नर्वेले अहिले यही साहसिक र न्यायपूर्ण समाजको छविलाई फुटबलको माध्यमबाट प्रस्तुत गर्न खोजिरहेको हो ।
नर्वेका प्रधानमन्त्री र राजपरिवारले समेत यसमा देखाएको चासोले के पुष्टि गर्छ भने यो एउटा खेलको रमाइलो बढी आफ्नो राष्ट्रिय पहिचानलाई विश्वव्यापी बनाउने एउटा रणनीतिक कदम हो ।
एक हजार वर्षअघिको ‘कटिङ एज’ प्रविधि
भाइकिङहरूको सफलताको मेरुदण्ड उनीहरूको जहाज निर्माण कला थियो । आजभन्दा एक हजार वर्षअघि उनीहरूले विकास गरेको जहाज निर्माण प्रविधिलाई त्यो समयको ‘कटिङ एज’ प्रविधि मान्न सकिन्छ । उनीहरूका ‘लामो जहाजहरू’ ओकको काठका तखताहरू एकमाथि अर्को खप्ट्याएर बनाइन्थ्यो ।
यी जहाजहरूको डिजाइन यति वैज्ञानिक थियो कि नदीको उथलो पानी र समुद्रको गहिरो छाल दुवैमा उत्तिकै चल्न सक्थे । जहाजहरू ‘डबल-एन्डेड’ हुन्थे, जसको अर्थ जहाजलाई नघुमाइकन सिधै पछाडि पनि लैजान सकिन्थ्यो ।

यो सुविधाले गर्दा समुद्री हिउँ वा चट्टानहरूका बीचमा जहाज चलाउन सजिलो हुन्थ्यो । एक सक्षम भाइकिङ टोलीले यी जहाजहरूलाई १५ देखि १७ नट्सको गतिमा दौडाउन सक्थ्यो, जसले गर्दा उनीहरूले आफ्ना शत्रुहरूलाई अचानक आक्रमण गरेर चकित पार्थे ।
त्यस्तै जहाजमा बसेर डुङ्गा चलाउने (रोइङ) काम नै आजको विश्वकपमा ‘भाइकिङ रो’ को प्रेरणा बनेको हो ।
विश्वकप २०२६
नर्वेले यस पटकको विश्वकपलाई फुटबल प्रतियोगिताको रूपमा मात्र लिएन । २८ वर्षको रिक्ततालाई भर्न उसले एउटा ठूलो ‘ब्रान्डिङ’ को सहारा लियो ।
विश्वकप सुरु हुनुअघि नै नर्वेली फुटबल संघले आफ्ना खेलाडीहरूलाई भाइकिङ योद्धाको रूपमा प्रस्तुत गर्यो । स्टार स्ट्राइकर एर्लिङ हालान्डलाई हातमा तरबार र ढाल बोकेको, लामा कपाल फिँजाएको पूर्ण भाइकिङ अवतारमा देखाइयो ।

टोलीको घोषणा गर्ने क्रममा नर्वेका राजा हाराल्ड पाँचौँले नै प्रेरणादायी भाषण दिएका थिए, जसले यो अभियानलाई राष्ट्रिय गौरवको विषय बनाइदियो । खेलाडीहरूले भाइकिङ जर्सी र रुनिक लिपी प्रयोग गरेर आफ्नो ऐतिहासिक पहिचानलाई विश्वभर फैलाउने प्रयास गरे ।
मैदानमा पनि हालान्डको प्रदर्शन कुनै भोको भाइकिङ योद्धाको जस्तै देखिएको छ । उनले इराक र सेनेगलविरुद्धको खेलमा गोल गर्दै नर्वेलाई नकआउट चरणमा पुर्याए । र, आइभरी कोष्टविरुद्ध निर्णायक गोल गर्दै अर्को चरणमा पुर्याए ।
बारको नोटप्याडदेखि टाइम्स स्क्वायरसम्म
यद्यपि यो विश्वव्यापी सनसनीको पछाडि कुनै ठूलो मार्केटिङ एजेन्सीको भूमिका छैन । बरु एक प्राथमिक विद्यालयका शिक्षकको कल्पना छ ।
ओस्लोका शिक्षक ओले फ्रोयस्तादले एक वर्षअघि एउटा बारमा बसेर आफ्ना केही साथीहरूसँग यो अवधारणाबारे छलफल गरेका थिए । उनले केही यस्तो गर्न चाहन्थे जसले नर्वेलाई फुटबलको नक्सामा फरक रूपमा उभ्याओस् ।
उनले नर्वेली क्लब रोजेनबर्गको ‘रो-सेन-बोर्ग’ भन्ने पुरानो नारालाई परिमार्जन गरे र त्यसलाई भाइकिङ जहाज चलाउने गतिविधिसँग जोडिदिए।
यसको तरिका सरल छ । तर यसले दिने उर्जा अद्भुत छ ।
यसमा पहिला भाइकिङ हर्न फुकेर सबैलाई तयार हुन संकेत दिइन्छ । त्यसपछि सबै समर्थकहरू भुइँमा वा सिटमा भाइकिङ जहाजमा बसेको जस्तो गरी लाइनमा बस्छन् । अब ड्रमको तालमा सबैले ‘रो’ भन्दै हात अघि र पछि चलाउँछन् । सुरुमा बिस्तारै हुने यो गतिविधि ड्रमको गतिसँगै तीव्र हुँदै जान्छ र अन्तमा सबैजना जुरुक्क उठेर उत्सव मनाउँछन् ।
यो अभियानलाई अझ बलियो बनाउन संगीतकार जोनास थोमासेनले ‘भाइकिङ ब्लोड’ नामक रक गीत तयार पारे । यो गीतमा भाइकिङहरू कोलम्बसभन्दा ४०० वर्षअघि नै अमेरिका पुगेको गौरवगाथा गाउँछ । अहिले यो गीत यतिबेला नर्वेको स्पोटिफाई चार्टमा नम्बर एकमा छ।
सबैलाई समेट्ने एउटा लहर
‘भाइकिङ रो’ को सबैभन्दा सुन्दर पक्ष यसको समावेशिता हो । किनकि नर्वेमा मात्र होइन, अमेरिकाका सडकमा पनि मान्छेहरू यसमा झुम्मिएका छन् । बोस्टनको एउटा एस्केलेटरमा नर्वेली समर्थकहरूले गरेको ‘रो’ को भिडियो ४ करोड बढी पटक हेरिसकिएको छ ।
यसो भनौं, यो लहर रंगशालाबाट निस्किएर जनजीवनका हरेक क्षेत्रमा पुगेको छ । अहिले गुगलमा ‘भाइकिङ रो’ सर्चमात्र गर्दा पनि धेरै भिडियोहरू भेट्न सकिन्छ ।
यसरी डालसका प्रहरी अधिकारीहरूले धावनमार्गमा नर्वेको विमानलाई स्वागत गर्दा होस् वा एनएफएलका स्टार खेलाडीहरूले यो शैली सिक्दा होस्, भाइकिङ संस्कृतिले यतिबेला अमेरिकामा एउटा फरकको छुट्टै प्रभाव पारेको छ । जसलाई हामीले नर्वेको ‘सफ्ट डिप्लोमेसी’ को रूपमा पनि लिन सकिन्छ ।
विवाद र आलोचना : के यो नक्कल मात्र हो ?
हरेक ठूला अभियान जस्तै यसका पनि आलोचकहरू छन् । केहीले यसलाई सन् २०१६ मा आइसल्यान्डले प्रदर्शन गरेको प्रसिद्ध ‘भाइकिङ क्ल्याप’ को नक्कल भएको आरोप लगाएका छन् ।
नर्वेली फुटबल पत्रकार अलेक्जेन्डर शाउले त यसलाई ‘अन्तर्मुखी व्यक्तिहरूका लागि एउटा दुस्वप्न’ समेत भनेका छन् । यसमा सहभागी नहुनेहरूलाई सामाजिक सञ्जालमा आलोचना गरिने डर हुने उनको भनाइ छ ।
नर्वेको छिमेकी र पुरानो प्रतिद्वन्द्वी स्वीडेनले पनि यसमा आफ्नो असन्तुष्टि पोखेको छ । स्वीडिस पत्रकारहरूका अनुसार भाइकिङ इतिहासमा डुङ्गा चलाउने काम नर्वेलीहरूले भन्दा बढी स्वीडिसहरूले गर्थे । किनकि उनीहरू नदीहरूमा यात्रा गर्थे । तर नर्वेलीहरूले यो आलोचनालाई वास्ता नगरी आफ्नो अभियानलाई जारी राखेका छन् ।
यद्यपि अब नर्वेको यो ‘भाइकिङ अभियान’ आफ्नो गौरवशाली इतिहासलाई संसारसामु चिनाउने एउटा सशक्त माध्यम बनेको छ । कप्तान मार्टिन ओडेगार्डले भने झैँ यसले उनीहरूलाई ऊर्जा दिन्छ । र, समर्थकहरूसँग जोड्छ ।
